Thursday, May 14, 2026

थेरापिष्ट सँगको कुराकानी

 


केही बर्षअघिसम्म मानसिक स्वास्थ्यबारे बिरलै छलफल हुने गथ्र्यो । अहिलेपनि कतिपय समाजमा मानसिक स्वास्थ्यलाई एक वर्जित बिषयको रुपमा लिइन्छ । यस बारे छलफल र कुराकानी त परको कुरामा मानसिक स्वास्थ्यको खराबिलाई पागलपनसँग जोडेर हेरिन्छ । तर पछिल्लो समय बिशेषतः सहरी समाजमा यसबारे छलफल र विचारविमर्श बढ्दै गएको छ । डिप्रेसन, एनजाइटी जस्ता समस्यालाई सामान्य रुपमा लिन थालिएको छ ।

केही बर्ष यता बिशेषतः कोभिड महामारी पछि मानसिक स्वास्थबारे छलफल मात्र होइन त्यसबारे साहित्य लेख्न थालिएको पनि छ । कोरीयन लेखक बेक सी आफ्नो पुस्तक “ आइ वान्ट टु डाइ बट आइ वान्ट टु इट टकोकी” यस्तै बिषयमा कलम चलाउँछिन् । कोरीयन भाषामा नै लेखिएको यस पुस्तकलाई  एन्टोन हुरले अंग्रेजीमा अनुवाद गरेका हुन् । सन् २०२२ मा अंग्रेजीमा अनुदिन यस पुस्तकको चर्चा बिश्बभरिनै छ ।

पुस्तक पढिरहँदा आख्यानझै लागे पनि पुस्तकमा उनी आफ्नो मानसिक स्वास्थ्यको यात्रा कहन्छिन् । केटाकेटी देखी नै लगातार दुखी हुने समस्या वा भनौ हल्का डिपेन्सनबाट जुधेकी उनले यस पुस्तकमा डिप्रेन्सबाट मूक्त हुन थेरापिस्टकोमा पुगेपछि, थेरापिस्टसँग भएको कुराकानीलाई पस्कन्छिन् । देख्दा सानो आकारको भएपनि पुस्तकले मानिसको भावनात्मक र मानसिक  यात्रालाई र त्यसमा आएको समस्यालाई बुझ्न मज्जाले सघाउँछ । 

पुस्तक उनको ब्यक्तिगत कथा हो । ब्यक्तिगत कथा भएपनि पढिरहँदा ब्यक्तिगत मात्र जस्तो लाग्दैन । बिशेषतः मानिसहरुले थेरापिस्टसँगको कुराकानीलाई असाध्दै गोपनिय कुरा ठान्छन् । सार्वजनिक स्थान र प्लयाटफममा यसबारे गफ गदैनन् । तर बेक सीले  ठिक उल्टो गरेकी छन् । जसलाई समाजले असाध्दै गोपनिय ठान्छ त्यसलाई उनले सार्वजनिक गरिदिएकी छन् । उनको त्यही हिम्मतले गर्दा पुस्तकले डिप्रेसनबारे बुझ्न र आफैलाई बुझ्न असाध्दै सघाउँछ । पुस्तकको भुमिकामा उनी लेख्छिन्, “किताबको भूमिका नै मलाई मनपर्ने सबैभन्दा सुन्दर भाग हो, जसलाई म बारम्बार पल्टाउँने गर्छु । म एकदमै निराश भएको बेलामा पनि साथीले सुनाएको चुडकिला सुनेर मज्जाले हाँस्ने गर्छु । त्यसपछि पेट खाली भएझै लाग्छ र टकोकी खान बाहिर निस्कन्छु । म त्यती निराश पनि लाग्दैन, खुसी पनि लाग्दैन । यस्तो लाग्छ म निराशा र खुसी बिच कहि कतै उभ्भिएकी छु । म त्यसकारण पनि बढी दुखी भएकी मलाई थाहा थिएन यी यस्तै बिरोधाभाष बिच पनि मानिस बाच्दछन् ।” यसरी पुस्तकको भुमिकाले उनले भोगेको समस्यालाई जानकारी दिने काम गर्छ ।

पुस्तकलाई उनले ब्राह भागमा बाडेँकी छन् । हरेक भागले उनले भोगेको निराशाको कथा र त्यसबारे उनको चिकित्सकसँग भएको कुराकानीलाई बोल्छ । पहिलो भागलाई उनले “स्लाइट्लि डिपे्रस” भनेर नामाकरण गरेकी छन् । जसमा उनले आफ्नो डिपे्रसनको तरिका र लक्षणहरु बारे बोलेकी छन् । आफू चरम निराशाको बिरामी नभई हल्का निराश भैरहने समस्याबाट जुधेको बताएकी छन् ।  सानैदेखी अन्र्तरमुखी र अल्लि बढी भावुक प्रकृतिकी उनी बिस्तारै कसरी निराश हुने बानिबाट प्रताडित भैन भन्नेकुरा पहिलो भागले बोल्छ ।

पुस्तकको दोस्रो भाग “एम आइ अ प्याथोलोजिकल लायर” मा बेक सी आफ्नो झुटो बोल्ने बानीबारे बोल्छिन् । त्यस भागमा उनी आफ्नो झुटो बोल्ने बानिबारे मात्र होइन पिउँने बानिबारे पनि लेख्छिन् । तर अन्त्यमा थेरापिष्ट सँगको कुराकानी पश्चात उनी भन्छिन्, “जब तिमी कठिन समयमा हुन्छौ तिम्लाई लाग्न यो स्ांसारकै सबैभन्दा कठिन समय हो । र त्यस्तो सोचाइ आउँनु कुनै अपराध होइन ।” पुस्तकको तेस्रो भागलाई “आइ एम अन्डर कन्स्ट्यान्ट सर्भिलियन्स” भनेर नामाकरण गरिएको छ । उक्त भागमा उनी सानैदेखी एकखाले छालारोगसँग जुधेको र त्यसले उनको आत्मास्वभाबिमानमा कस्तो असर पारेको छ भन्नबारे कुरा गर्छिन् । उक्त भागमा उनी लेख्छिन् , “ कहिलेकाही मलाई लाग्छ, पैंतिस बर्षिय म अठ्ठाइस बर्षिय मलाई देखेर खुसी छैन । यदि मसँग अठ्ठाइस बर्षिय मलाई भेट्ने मौका मिले भन्नेछु – सबै ठिक हुनेछ चिन्ता नलिएँ । तर त्यो भन्न जति सजिलो छ साच्चै गर्न त्यती सजिलो छैन ।” 

पुस्तकको चौथो भागलाई “माइ डिजाएर टु बिकम स्पेसल इज नट स्पेशल एट अल” भनेर भनिएको छ । उक्त भागमा उनी आफ्नो साथी बनाउँन नसक्ने बानी र त्यसले ल्याएको एक्लोपनबारे बोल्छिन् । र अन्त्यमा लेख्छिन्, “ मलाई लाग्छ मलाई माया गर्ने कोही होस् । र यो पनि चाहन्छु कोही त्यस्तो होस् जसले मलाई तँ एक्लै बस्नुपर्छ भनेर पनि भनिदियोस् ।” यसले उनको साथी पनि चाहँने र एक्लो हुन पनि चाहने बिरोधाभाषपूर्ण बानिबारे बोल्छ । 

पाँचौ भागलाई “द्याट गडड्याम सेल्फ इस्टिम” भनेर नामाकरण गरिएको छ । यस भागमा बेक सी अतिसंवेदनशील हुने बानीबारे लेख्छिन् । उनलाई लाग्छ उनको यहि बानीले उनलाई निराशा तर्फ धकेलेको हो । तर थेरापिष्टसँगको कुराकानी पश्चात उनी लेख्छिन्, “ भावना भनेको पनि कुनै एकतर्फि बाटो जस्तै हो । तिमीले नराम्रो भावनालाई रोक्यौ भने राम्रो भावना पनि आउँदैन ।” त्यसैगरी किताबको छैटौ भाग “ह्वाट सुड आइ डु टु नो माइसेल्फ बेटर”  रहेको छ । उक्त भागमा उनी आफ्नो लेखाइबारे बोल्छिन् । थेरापिष्टसँगको कुराकानी पश्चात उनले निराशा र खुसीलाई जीवनका आयामहरुको रुपमा मात्र लिनुपर्छ भनेर अन्त्य गर्छिन् ।

  सातौ भागलाई “ रेगुलेटिङ, जजिङ, बिइङ डिसापोइन्टेड, लिभिङ” भनिएको छ । यस भागमा लेखिकाले आफूले आफैँलाई कठिन रुपमा लिने बानिबारे बोल्छिन् । त्यसैगरी पुस्तकको आठौ भागमा औषधीको असरबारे थेरापिष्टसँग भएको कुराकानीबारे लेख्छिन् । नबौ भागलाई  “‘अब्सेसन बिथ यपिरेन्स एन्ड हिस्टोरिक परसनालिटि डिसअडर” भनेर नामाकरण गरिएको छ । यस भागमा बेक सीले उनी आफ्नो शारीरीक बनाबट र कस्तो देखिन्छुलाई लिएर अति चिन्तित र संवेदनशील रहने कुराबारे बोल्छिन्  । थेरापिष्टसँगको कुराकानी पश्चात उनी लेख्छिन्, “ म मोटी र कुरुप भएपनि म आफूलाई सम्बोधित र माया गरेको देख्न चाहन्छु ।”

पुस्तकको दशौ भागलाई “ह्वाइ डु यू लाइक मि ? विल यू स्टिल लाइक मि इफ आइ डु दिस ?”  भनिएको छ । यस भागमा उनी आफ्नो खस्कदै गएको आत्मास्वाभिमान बारे थेरापिष्टसँग कुरा गर्छिन् । कुराकानी पश्चात उनी भन्छिन्, “महत्वपूर्ण कुरा तिमीलाई माया मिल्छ वा मिल्दैन भन्ने होइन । महत्वपूर्ण कुरा त तिमीले प्राप्त मायालाई कसरी लिन्छौ भन्ने हो ।” एघारौ भागलाई, “आई डन्ट लुक प्रिटी” भनेर नामाकरण गरिएको छ । यस भागमा बेक सी आफूले आफैँलाई नराम्री ठान्ने र त्यो अनुभूतीबारे आफ्नो थेरापिष्टसँग कुरा गर्छिन् । र अन्तयमा कुराकानी पश्चात भन्छिन् , “ तिमीले साचेझै चिजहरु खराब हुँदैनन् ।  मलाई अहिले लाग्छ मैले त्यस्तो सोच्नु मैले आफैँले आफैँमाथी गरेको अन्याय थियो ।”

किताबको बाह्रौ भागलाई “रक बटम” भनेर भनिएको छ । यस भागमा  उनले आफूले खराब मानिस ठान्न थालेको अनुभूती आफ्नो थेरापिष्टलाई भन्छिन् । तेह्रौ भागलाई, “ इट इज बोके, दोज हु डन्ट फेस डार्कनेस क्यान नेभर एप्रिसेट द लाइट” भनिएको छ । यसमा उनले आफूले आफैँलाई उज्यालो नजरबाट हेर्नुपर्ने कुरा गर्छिन् । 

किताबको चौधौ अंकलाई, “फर्म वान इनकम्पलिटनेस् टु एनोदर” भनेर भनिएको छ । यस भागमा उनी आफूभित्र रहेका कमजोरीहरु र अपुरोपनबारे कुरा गर्छिन् । त्यसैगरी पुस्तकको पन्ध्रौ भागलाई “रिफ्लेटिङ अन लाइपm फलोइङ थेरापी” भनिएको छ । यस भागमा लेखिका बेक सी आफ्नो थेराफी अनुभवलाई फकेर हेर्छिन् । आफ्ना तिता मिठा अनुभवहरु जसले उनलाई निराशातर्फ धकेलेका थिए त्यसलाई पूर्न फर्केर चिहाउँछिन् ।  पुस्तको अन्तिम भागले उनको डिपरेसनको यात्रालाई एक खाले दृष्टिकोण दिन्छ ।

पुस्तकको अन्तिम भागमा टकोकी कसरी बनाउँने र खाने भनेर रेसिपि दिन्छिन् । सायद उनी पुस्तकको अन्तिम भागमा भन्न चाहन्छिन् – निराश हुनु कुनै असामान्य कुरा होइन , निराश ब्यक्तिका पनि आफ्नै इच्छाहरु हुनसक्छन् । यसरी आफ्नो निजात्मक अनुभवलाई बिटो मारेकी बेक सीको यस पुस्तकले डिप्रेसन जस्तो कठिन परिस्थितीलाई बुझ्न अवस्य सहयोग गर्नेछ । 


No comments:

Post a Comment

चौँतिस

राती राम्रो निद्रा परेन । रातभर डरलाग्दा सपनाहरुले छोडेनन् । हुन त सपनाहरुले कहिलेकाही दिउँसो पनि छोड्दैनन् । बिहानै सबेरै बिउँझे । त्यही ...