Monday, March 31, 2025

तिम्रो नाममा एउटा पत्र

 

प्रिय तिमी,

चराहरुझै उड्नु र बादलहरुझै घुम्नु । यो खुल्ला आकाश र सिमाबिहिन नदीहरु तिम्रा हुन् । उड्रे पनि उत्रनु । पौडेर पनि डुब्न । हिमालझै अगल्नु र नदीझै डुब्नु । गहिराइ र उचाइ दुबै तिम्रा हुन् । यो धरती, आकाश यी खलीयानहरुले तिमी र मलाई नबाधेकोमा दुखी नहुनु । तिमी तिम्रो हृदयको राजा बन्नु म मेरो हृदयको रानी बन्नेछु ।

कुनै दिन लागेको थियो तिमी बेगरको म के म ? अहिले लाग्छ तिमी बेगरको म पो म । कहिलेकाही तिमीलाई नचाहिने बन्धनहरुमा बाधेझै गरेँ हुला त्यसको लागि माफी दिनु । म त आफूले आफैँलाई बाधेकोमा त दुखी छु तिमीलाई बाधेकोमा त कता कता । हृदयमा छौ र रहनेछौ । भेटेकोमा र छुटेकोमा पनि कुनै गुनासो रहनेछैन । तिम्रा क्षितिजहरु तिम्रा बनुन मेरा क्षितिजहरु मेरा बनुन् । यो दुर देशबाट क्षितिजहरु नाघेर मेरा सुभेक्षाहरु तिमीमाझ पुगुन् ।

तिमी तिम्रो हृदयको मालिक हौ । असिमितताको साम्राज्य । म मूर्ख थिएँ मैले बाध्न खोजेँ । तर मलाई तिमी नबाधिएको नै मनपर्छ । एक खुल्ला आकाशझै तिमी मेरो हृदयमा पस्यौ मलाई लाग्यो प्रेमलाई बन्धनहरुले बाध्नपर्छ । तर आकाशलाई समेट्नको लागि पनि आकाश नै चाहिन्छ म आकाश थिइन । तिमीलाई समेट्न सकिन । तर हृदयको आकाशमा तिमी सधैँ रहनेछौ ।

यो एक बिन्दुले एक असिमितताको साम्राज्यलाई गरेको प्रेम थियो । मेरा सिमानाहरु थिए । सिमितताहरु थिएँ । मैले मेरो स्वार्थको तिमी रोजेँ । तर तिमी त एक अर्को युग हौ । धेरै फराकिलो युग । मैले तिम्रो त्यो फराकिलो यूगलाई एक सिमित भूगोलमा समेटिरहन सकिन । र सक्दिन पनि । आफ्नै यूगमा बाच । 

तिमीलाई भेटेकोमा सधै कृतज्ञ हुनेछु । नबाधेकोमा अझ कृतज्ञ । तिमीले मलाई पखेटाहरु दियौ लाग्छ म अब उड्न सक्छु । कुनै दिन उडेर तिम्रो भूगोलमा आएँ भने अगाल्नु । तिम्रो अगालोले म फेरी उड्न सक्नेछु । उडेको म तिमी पनि हो । यीे प्रेमका अक्षरहरुले पनि म तिमीलाई बाध्न सक्दिन । यो भूगोल तिम्रो हो जस्तो बाच्न चाहन्छौ त्यस्तै बाचँ ।

उही म.......


Thursday, March 27, 2025

पुग्छु भनेर हिडेको बाटो


तिमी कहाँ पुग्यौ भनेर कसैले सोध्यो भने म झस्किने गर्छु । म कहाँ पुगेँ म आफैलाई सोध्ने गर्छु । अनि अनुत्तरीत भेट्छु । उत्तर र अनुत्तरीत हुनु बिच कहि कतै म छु । हिडेको बाटो कहाँ पुग्छ थाहा पनि छैन । कहाँ पुग्नु छ त्यो पनि थाहा छैन । बाटोमा नहिडेको पनि होइन । गन्तब्यहरु नभएका पनि होइनन् । तर पुगेर पनि सधैँ पुग्छु भनेको ठाँउ पुगेको छैन ।

बाटाहरु सधैँ खुल्ला देख्छु । पैतालाहरु थाकेका पनि छैनन् । तथापी पुग्छु भनेर हिडेको बाटो सधै अपुरो र अधुरोझै लाग्छ । कहाँ पुगेपछि बाटो टुङ्गिन्छ थाहा पनि छैन । हरेक दिन बिहानै बाटामा हिड्नेहरुको लर्को देख्छु । बिहानै मर्निङबाकमा जानेको लर्को । त्यसपछि झोला बाकेर बिध्यालय जानेहरुको लर्को । त्यसपछि फेरी काममा जार्नेहरुको लर्को । हिड्नेहरुलाई एकतमास हेर्छु । के उनीहरु हिडेको बाटो आफ्नो रोजाइको बाटो हो ? के मानिस त्यसै हिड्छ मन नलागी नलागी जसरी म पनि हिड्छु कहिलेकाही ?

कहिलेकाही  लाग्छ हिडेको बाटो बाटो मात्र हो तर मेरो बाटो होइन । आफ्नो नलागे पनि म हिडिदिन्छु । म अर्थ खोज्दिन । बिनाअर्थ हिड्नु छ र कही नपुगी फर्कनु पनि छ । हिडेको झै त मलाई यी किबोडहरुमा आफ्ना औला दौडाउँदा मात्र लाग्छ । नत्र बेअर्थ बिनामतलब बेपरर्वाहा हिडिदिन्छु ।

हिजो नै त हो । कुलेश्वर बल्खु किर्तिपुर बेअर्थ कुदेँ र आफ्नै गुणमा फर्के । बाटामा मानिसहरु मात्र होइन झरेका पातहरु, फूलेका फूलहरु र मुस्कुराएका रुखहरु भेटेँ । त्यो कहि पुग्छु भनेर हिडेको बाटो थिएन । के बरालिनु हिड्नु होइन । म त किबोडमा पनि बेअर्थ आफ्ना औलाहरु चलाउँछु । मलाई थाहा छैन मेरा अक्षरहरु कहाँ पुगे र कहाँ पुग्नेछन् । कहि पुगे भने त्यो संयोग हो । पुगेनन् भने ती मेरा हुन् । यो हिड्छु भनेर पनि गन्त्ब्य नतोकेको बाटो हो । 

ममि भन्नुहुन्थ्यो अक्षर भनेको नदी त्यसले तिमीलाई पर लग्नेछ । त्यो बिम्बमा थियो । मैले बुझिन पनि र बुझ्दैछु पनि । मेरी आमा र हजुरआमाले नहिडेको वा हिड्न नसकेको बाटो मेरो बाटो हो । म सँग बिना शब्दको इतिहास छ जसलाई म शब्दमा भन्न चाहन्छु । तर पुग्नु कहि छ भने त्यो कसैले नबोलेको क्षितिजमा पुग्नु छ र कोर्नु छ आफू हिडेको बाटो । तर म यो सब आमालाई भन्न सक्दिन । भन्छु त यिनै अक्षरहरुमा । 

कहिलेकाही लाग्छ पुग्नु र पाउँनु आफैँलाई रहेछ । बाटोमा गुमाउँनु पनि आफैँलाई रहेछ । आफ्नै प्रतिबिम्बले तर्साउँछ पनि । आफ्नै अहमले डराउँछ पनि । तर नि हिड्नु पनि छ र कहि पुग्नु पनि छ, पुगेपछि नपुगेझै महशुस गर्नु पनि छ । यो हिड्नुको एक प्रतिकात्मक वर्णन हो हिड्दैमा हिडिन्छ भन्ने पनि छैन । पुगेको ठाउँ आफ्नो हो भन्ने पनि छैन । 

हिडाइ र आफूविचको दुरीहरुलाई यदाकदा नाप्ने गर्छु । कहिलेकाही लाग्छ यी दुरीहरु मैले बचाइराखेका जीवनका अवशेषहरु हुन् । तर थाहा छैन कुने दिन यीनीहरुले सामिप्यता रोजेँ भने ..... यी विन्दुहरुझै हामी जोडिनेछौ वा रोज्नेछौ आफ्नै बाटो ।

Monday, March 24, 2025

स्मृति


झिसमिसे साँझ पर्दैछ । सायद घरअगाडीको आँपको रुखमा चराहरु बास बस्नको लागि चिरबिर गर्दै होलान् । आमा बाख्राहरुलाई खोर भित्र हुल्न लाग्दै हुनुहोला । घाम हिमाल नजिक पुग्यो होला । मस्र्याङ्दीको आवाज अझ चर्को सुनिन थाल्यो होला । झ्याउँकिरीहरु पनि आए होलान् । आज घर स्मृति बनेर फर्केको छ । जहाँ पुगे पनि सम्झने त घर नै रहेछ । यो घरमय साँझ हो । म घरको स्मृतिमा लिप्त छु ।

यसरी नै स्मृतिहरु फर्कन्छन् । यसरी नै तिमी फर्कन्छौ । कहिलेकाही समयले पनि पछाडीको यात्रा गर्छ । यात्रालाई फेरी फर्केर हेर्छ । तिमीलाई पनि म कहिलेकाही त्यसरीनै फर्केर हेर्छु । सायद हेरीरहनेछु । सायद हेर्नेछैन । सायद अर्को पटकबाट कहिल्यै हेर्नेछैन । दूई महिना हुन लागिसकेछ  सायद तिमी स्मृती बनिसकेछौ ।

दूई महिना अघि केही महिना यही समय म तिम्रो फोनको प्रतिक्षामा हुन्थेँ । त्यो स्मृति थिएन त्यो त समय थियो । अब त्यो रहेन । तर सम्झना नआउँने होइन । तर त्यो सम्झनामा बाचिरहँन सक्दिन । कहिलेकाही लाग्छ जीवनमा निमेशभरको यूफोरीया कहिल्यै नआओस् । मलाई जीवनका लामा यात्राहरु मनपर्छ । मिठा बिदाईहरु मनपर्छ । तुफानसरि आएका केही हलचलहरुले तुफाननै सरी छोडीजाँदा रहेछन् ।

सायद त्यो तिम्रो चाहना थियो । सायद त्यो बाध्यता थियो । सायद परिस्थति त्यस्तै थियो । म नियती र बाध्यताहरुलाई मज्जाले बुझ्छु । बुझ्दिन त तूफान र जीवनका आधिहुरीहरुलाई । र निमेशभरको शून्य बिदाईलाई । कहिलेकाही लाग्छ मानिस कसरी आयो भन्दा पनि कसरी जीवनबाट बिदा लियो भन्ने बढी महत्वको रहेछ । 

हो तिमी स्मृति बनिसकेछौ तर कस्तो स्मृति थाहा छैन । तिम्रो बिदाइसँगै केही चीजहरु आफ्नै लागि साचेर राखेकी छु । त्यो आफू नै हो । परिस्थितिलाई जोगाउँन भन्दा आफूले आफैँलाई जोगाउँन ग्राहो पर्दो रहेछ । पछिल्ला केही महिनाहरुमा महिले आफैँलाई जोगाएँ पनि र पाएँ पनि । सायद तिमी जानु र मैले आफैलाई भेट्नु एक संयोग मात्र हो ।

अब धुमिल भैसकेका छौ । म चम्किलो बनाउँन पनि चाहन्न । कतिपय रेखाहरु बिनाअर्थ कोरीन्छन् त्यसमा कुनै गुनासो पनि रहनेछैन । जानु आउनुको नियतीलाई मैले नबुझेको पनि होइन । सायद यो यात्रा हो । सायद जो पनि जोडिनसक्छ । जोडिनुको अर्थ नखोजेकै राम्रो । आजकल स्मृतिमा पुग्दा आफूले आफैँलाई यही भन्ने गर्छु 

 सायद कुनै दिन म लामो यात्रामा जानेछु । त्यस्तो यात्रा जसले मलाई भन्नेछ यो तिम्रो यात्रा हो । केही थान किताबहरु र मेरो पर्पल डायरी साथमा हुनेछ । मेरा परिधिहरु सिमानाहरुलाई तोक्ने कोही हुनेछैन । सबैले सोच्नेछन् उ किन गै । तर उनीहरुलाई थाहा हुनेछैन म फर्कनकै लागि गएकी हुँ उनीहरुको लागि जसलाई मैले पछाडी छोडेँ ।

Sunday, March 23, 2025

इलियाना



“ आकाशमा बादल हुनु नौलो होइन, परका इन्द्रेणीहरुले चिहाएझै गर्नु त्यो पनि अनौठो हौइन र पनि किन लाग्दैछ यो जानु, नआउनु र बिर्सिदिनुको बिम्ब अनौठो हो । हुन त अब तिमी नगएको भए अथवा तिम्ले सम्झिराख है भने पनि म तिम्लाई बिर्सनेनै थिए । अथवा सम्झेर पनि बिर्सिने कोसिस गर्ने थिएँ । मसँग स्नेह र प्रेमको मिलेको गणित कहिल्यै थिएन । आजकल लाग्छ म बेप्रबाह प्रेम र बेप्रबाह बिछिप्तता दुबैलाई चरमतामा महशुस गर्दी रहेछु । लाग्छ तिम्लाई सम्भmनु भन्दा बिर्सनुको बिकल्प अब म रोज्न सक्छु । गुडबाइ प्रिय मान्छे अब  तिमी मेरो स्मृतिमा पनि रहनेछैनौ । यो तिम्रो लागी मेरो अन्तिम सन्देश रहनेछ ।

–इलियाना ”

उसको इमेलले मलाई अनौठो चस्का दियो । चाहेको भए उसले मलाई नपठाउँन पनि सक्थि तर पठाइ । मन त हो .... कताकता लाग्छ नपठाएको भए पनि हुनेनी । तर ऊ जब्बर छे भन्ने कुरा मलाई पहिल्यै थाहा थियो । त्यही जब्बरतालाई महशुस गर्न म ऊ सँग नजिक भएँ । तर ऊ कठोरझैँ देखिएपनि  पनि कताकता नाजुक थिइ । उसको जब्बरताको म प्रेमी थिए तर समग्रतामा म ऊ प्रति के महशुस गर्छु भन्न सक्दिन । उसले के महशुस गरी म त्यसमा प्रष्ट छु । 

उसको नाम इलियाना भएकै कारण ऊ मेरो नजरमा परेकी पक्कै थिइन । तर मैले नेपाली केटीको नाम इलियाना पनि हुन सक्छ भनेर कहिल्यै सोचेको  थिइन । ऊ बारम्बार ब्रिटिस लाइब्रेरी धाउँथी तर किताब नपढी मान्छे हेरेर बस्थि । मैले उसलाई पहिलोपटक ब्रिटिस लाइबेरीमै देखेको हँु । मलाई अचम्म लाग्थ्यो  किन ऊ किताब नहेरी मान्छे हेर्छे ? उ किन नपढी बस्न लाइब्रेरी आउँछे ?पछि थाहा भो उसको नाम इलियाना रहेछ । केही समय पश्चात लाइबेरी बाहीर भेट्दा, “मेरो नाम संसार, तपाईलाई सधैँ लाइब्रेरीमा देख्छु” बोलेको थिएँ । त्यो बेला उसले बिनासंकोच म इलियाना भन्दै मलाई अंगालो हालेकी थिइ । मसँग पहिलो भेटमै अंगालो हाल्ने उ पहिलो केटी थी जो किताब नपढी मान्छे पढ्थी ।

बारम्बार लाइब्रेरीमै भेट्ने भएकाले उसँग मलाई कुराकानी सुरु गर्न गाह्रो भएन । एकदिन अचानक मैले सोधेको थिए, “ किन तिमी लाइब्रेरीमा आएर पनि किताब नपढी मान्छे पढ्छ्यौ ? ऊ भन्थी, “तिमीलाई लाग्छ किताब पढेर मान्छे बुझिन्छ, म त मान्छे पढेर पनि मान्छेलाई बुझ्न सकेको छैन ।” त्यसपछि मलाई ऊ अझ अचम्मकी लाग्न थाल्यो र अझ जब्बर पनि । अनि मान्छे नै बुझ्न चाहन्छेऊ भने तिमी किन लाइब्रेरी नै आउँछ्यौ , तिमी त भिडबाडमा जान सक्छ्यौ अझ धेरै मान्छे भेट्छ्यौ ।” 

“ मलाई थाहा थियो तिमीले यस्तै उत्तर फर्काउनेछौ भनेर , म यसको उत्तर अर्को कुनै दिन भन्छु ल आज मलाई हतार छ ।”

एकाएक उ फटाफट आफ्नो बाटो लागी म उसलाई हेरीराखे एकटक..... जसरी उ किताबमा आँखा गाडेका मान्छेहरुलाई हेर्थी ।



हामी दुबै ब्रिटिस लाइब्रेरी दिनहु जस्तो आउँथ्यौ कलेज भ्याएपछि । उसले भनेअनुसार ऊ सरस्वती कलेजमा होम साइन्स पढ्थी तर उ त्यहाँ मान्छे पढ्न आउँथी । म किताब पढ्थेँ, उ म जस्तै अनेकौँ मान्छेहरुलाई  अबलोकन गर्थी । कहिलेकाही मलाई ऊ देखेर झर्को लाग्थ्यो । तर ऊ झर्को नमानी मान्छेहरु हेर्थी । किन तिमी किताब कहिल्यै हेर्दिनौ म भन्छु, । उ भन्छे , “किनकी मलाई किताबहरु पनि मान्छे जस्तै बहुरंगी लाग्छ । देखाउँछन् एउटा हुन्छन् अको । त्यसैले म किताबको सट्टा मान्छेहरु हेर्छु । किताबहरु पनि मान्छेकै बहुरंगी अनुहारका उपजहरु हुन् । तिम्लाई लाग्ला यीनीहरुले तिमीलाई ज्ञानी बनाउँछन् होइन यीनीहरुले तिमीलाई म त ज्ञानी भएनी भनेर अरुलाई देखाउँन सिकाउँछन् । त्यसैले म किताबको सट्टा डाइरेक्ट मान्छे पढ्छु ।

उसको कुरामा सहमत नभए पनि म असहमत भने हुन सकिन । फेरी म उसँग तर्क गर्ने मनष्थितीमा थिइन । तर उसका तर्कहरु भने मलाई अबष्य तान्थ्यो । र पनि म उसँग तर्क गर्दैन्थेँ किनकी म किताबलाई प्रेम गर्थे । मलाई लाग्थ्यो किताबको अस्तित्वमाथी ति मान्छेहरु प्रश्न गर्छन् जो किताबलाई घृणा गर्छन् । मलाई लाग्थ्यो ऊ पनि त्यस्तै कोही एक हो ।

म त्यो समय रसियन उपन्यासहरु पढ्थेँ । मलाई लाग्थ्यो रसियन उपन्यासकारहरु संसारकै महान् लेखकहरु हुन् । एकदिन कुरैकुरामा मैले उसलाई भन्छु, “ तिमी अपढ र मूर्ख हौ त्यसैले लेखकहरुलाई बहुरंगी र मूर्ख ठान्छेउ ।” उ भन्छे “अनि तिमी कसरी ज्ञानी भयौ जसले किताबको एकाङ्कीपनलाई मात्र संसार मान्छौ भने ?” त्यसदिन म  केही भन्दिन तर उसँग सहमत हुन सक्दिन ।

यसरी उसका र मेरा तर्क र कुतर्कका श्रृङ्खलाहरु बढ्दै थिए । उ किताबको अस्तित्वलाई मान्छेहरुको अंहमता र हैकमबादी चरित्रको उपज ठान्थि ।  त्यसैले पढ्छु भन्ने किताबको एकलबादी अस्तित्वमा बिस्वास गर्ने लाइब्रेरीमा दिनहुँ धाउनेलाई  बुभ्न चाहन्थी । उसलाई सबैभन्दा कुरुप विचारधारी तिनै आइब्रेरीमा बस्ने र पढ्नेहरु लाग्थ्यो । उ भन्थी, “ मलाई पढ्न नजान्नेहरु सँग केही समस्या छैन । उनीहरुको अनुहारमा चिस्चलता भेटिन्छ  । तर म पढ्नेहरुलाई सजिलै बिस्वास गर्न सक्दिन उनीहरु सधै भ्रममा बाचेँजस्तो लाग्छ । र उनीहरु बारे अरुलाई पनि भ्रममा राखेजस्तो लाग्छ ।” उसका विचारहरुले मेरो कितावबादी अस्तित्वलाई एकैछिनमा  ठालिदिन्थ्यो । 

उसका यि यस्तै विचारहरुले गर्दा म उस्लाई बुझ्न चाहन्थे ।  उसको जब्बरता र आफ्नो बिचार प्रतिको अडानलाई देखेर मलाई उ प्रति ईष्या पनि लाग्थ्यो । बिस्तारै म उसँग बढि समय बिताउँदै थिएँ । कहिलेकाही मलाई उ जिज्ञासु बालिका जस्तो लाग्थ्यो त कहिलेकाही एक सन्त बृद्वाजस्तो ।  र पनि उ आफ्नो बिचारमा यति अडिक थिइ कि ऊ प्रत्येक दिन लाइब्रेरी जान छोड्दैनथी । मैले उसलाई कहिल्यै अरु ठाउँमा मानिसहरुलाई अबलोकन गरेको भेटिन ऊ त सधै लाइब्रेरी नै जान्थी । एकदिन उसले भनेकी थिई, “ मलाई किन किन लाइब्रेरीमा बस्नेहरु आफ्नै अंहमतामा अल्झिएका कुरुप मानब स्बरुपहरु लाग्छन ्। मेरो पहिलो र अन्तिम प्रेमी जसले मलाई प्रेम  गर्छु भन्यो ऊ पनि तिमीहरु जस्तै लाइब्रेरी म्यान थियो । उ भन्थ्यो तिमी मेरो दोस्रो प्रेमिका हौ मेरो पहिलो पे्रमिका पुस्तकनै हो । प्रेमिका पनि कसरी दोस्रो हुन सक्छे । फेरी उ पहिले नै कसैको प्रेममा छ भने फेरी अर्कोको प्रेममा छु भन्नु कतिको जायज हो । बिस्तारै मलाई लाग्दै गयो उसले मलाई गर्ने प्रेम किताबी प्रेम रहेछ  ।” अनि एकदिन मैले दुखको साथ भन्नुपयार्,े “कृपया अबदेखि मलाई प्रेमिका नभन म कसैकी दोस्रो प्रेमको लागी जन्मेकी होइन । मलाई बैकल्पिक प्रेमिका बन्नु छैन ।” उसको कुरालाई नर्कादै मैले भने तिम्रो प्रेमीले तिमीलाई गर्ने प्रेम र पुस्तकलाई गर्ने प्रेम फरक पो हो की । तर उ मेरो कुरा पत्याउन तयार भैन,  “त्यसो भए किन उसले दोस्रो प्रेमिका भन्यो त के तिमी तिम्री आमालाई पे्रमिका भन्छौ ?” बस उसले यति भनी अनि सरासर आफ्नो बाटो लागी ।

उसको पहिलो प्रेमीसँग उसका हजारौ गुनासाहरु थिए त्यसैले ऊ लाइब्रेरी छिर्नेहरुलाई बुझ्न चाहन्थी । उ बम्किँदै भन्थी , “उसले मलाई प्रेम गर्छु भन्यो तर किताबको एक अमूक पात्रलाई प्रेम गथ्यो । भन्ने गथ्योै त्यो पात्र पनि म जस्तै  छ । यदि पात्रनै म जस्तो भए किन उ मेरो उपस्थिति चाहन्थ्यो आफ्नो जीवनमा । मलाई उसको यहि कुरा मन पर्दैन्थ्यो ।” तिमीहरु, लाइब्रेरी धाउँनेहरु सबै मलाई त्यस्तै लाग्छ । त्यसैले म तिमीहरुको ढोङ्गिी मनस्थितिलाई बुझ्न चाहन्छु । 

उ यस्तै यस्तै कुरा गर्थी जोसँग म सहमत हुन सक्दैनथेँ तर उसको मेरो जीवनमा रहेको उपस्थितीलाई नर्कान सक्दैनथे । उ बोल्थी म सुन्थेँ म पढ्थे उ अबलोकन मात्र गर्थी । समय यसरी नै बित्दै थियो । थाहा छैन एकदिन अचानक उस्लाई के लाग्यो भनी, “ के तिमी मबारे केही महसुस गर्छौ । “मलाई थाहा थिएन उसको प्रश्नको आसय के थियो तर उ मबाट केही आशा गर्दै छ भन्ने प्रष्ट थियो । मैले अचानक भनिदिएँ सायद म तिमीभित्रको जब्बरतालाई बुझ्न चाहन्छु मैले पढ्दै गरेको पुस्तकमा  पनि यस्तै एउटा पात्र छे  ।”

थाहा छैन त्यसपछि उसलाई के भयो उ अचानक हराइ । त्यो दिनपछि उसलाई मैले कहिल्यै लाइब्रेरीमा भेटिन । उ त मेरो मानसपटलबाट बिस्तारै धुमिल बन्दै थिइ ।ँ अचानक उसको इमेलले म नराम्ररी धमिलिएको छु । भित्रभित्र कुडिएको छु ।

Friday, March 21, 2025

डियर लिटल डग

 

प्रिय ओसन वोङ, कुनै दिन, केही बर्ष अघि, अनायासै किताब पसलमा तिमीलाई भेटेँ । तिमीले सजिलै भनिदियौ यो संसारमा हाम्रो उपस्थिती आंशिक रुपमा मात्र सुन्दर छ । त्यो अध्यारोको कथा थियो । भियतनाम यूद्घ चलिरहेकको  समयमा आफ्नो बाआमाले बनाइदिएको लोग्नेलाई छोडेर आफ्नो प्रेमी रोजेकी तिम्री हजुरआमाले नजन्मिदै तिम्रा लागि नयाँ बाटो रोजिदिएकी थिइन । आज तिमीले गर्ने अस्तित्वको प्रश्न, सायद उनले नै तिमीलाई सिकाएकी थिइन् । सिकाउँने तिम्री हजुरआमाले सायद अरु धेरै मानिसहरुझै अस्तित्वको प्रश्न नगरी बिदा भैन । हुन त उनी छोरी मान्छे थिइन उनलाई अस्तित्वको प्रश्न गर्न कसले पो सिकायो र? तर उनको नातीलाई उनले सिकाइन् । तिमीले बाचेको आंशिक सुन्दर जीवनको प्रतिबिम्ब उनले दिएको क्षितिजको मैदान हो ।

प्रिय ओसन, एक भियतनामीको अंग्रेजी लेखाइले  संसारलाई अचम्मीत बनाउँनु सानो कुरा होइन । एक अपठित आमाले शब्दको जादुगरलाई हुर्काउनु पनि सानो कुरा होइन । किताबमा तिमी आमालाई चिठी लेख्छौ र सजिलै भनिदिन्छौ म तिम्रो भावना र बिचारको अंग्रेजी अनुवादक हुँ । थाहा छैन कहिल्यै अक्षर नचिनेकी तिम्री आमाले तिम्रा अंग्रेजीका वाक्यहरुलाई कसरी लिइन र कसरी बुझिन् । कहिलेकाही लाग्छ संसार स्वार्थि छ । सबैभन्दा सुन्दर चिजहरु सबैभन्दा कठिन माध्यमबाट जन्मिन्छन् । जसको लागि तिम्ले किताब लेख्यौ उनले नै पढ्न र बुझ्न सक्दिनन् त्यो दूर्भाग्य हो । सायद जीवन दूर्भाग्यहरुकै संयोग हो ।

तिमीले अर्को पुस्तकमा भनिदियौ आमा भनेको समय हो । आमा नरहेपछि समय पनि बिस्तारै ओझेल पर्दै जान्छ । सायद तिमीले तिम्रो आमा र हजुरआमाले दिएको इतिहासलाई सम्मान गरेका थियौ । सायद आमाको त्यही सम्मानले तिम्रा शब्दहरु ममतामयी कोमल बनेका थिए । तर तिम्रा पात्रहरु निर्दा छन् । पुस्तकमा आफैँलाई तिमीले किन लिटल डग भनेर सम्बोधन गर्यौ । तिमीले आफूले आफैँलाई दिएको झिनो बिम्बले यदाकदा मलाई दुखी बनाउँछ । म आफैँ पनि सुस्मताको बिम्बमा कयौ बर्ष बाचेँ । म अरुको लागि मात्र होइन आफ्नै लागि पनि सानो मानिस थिएँ । मलाई सानो बिम्बमा आफू हेर्ने आफैँजस्ता लाग्छ । जसरी म आफूलाई सानो र बिनानामको बिम्बमा देख्न चाहन्न त्यसरीनै तिमीलाई पनि चाहन्न ।

यो एक पाठकले एक लेखकको लागि वा भनौ एक पात्रको लागि गरिएको कामना हो । जसरी तिमीले आफ्नो आमा माझ फेरी पुग्नको लागि लेख्ने गछौ वा अपठित आमाको अस्तित्व चिनाउँन म पनि आफ्नो अस्तित्वलाई आफैँले स्विकार्न लेखिरहेछु । कहिलेकाही लाग्छ फरक त हामीले बाचेको भूगोल मात्र हो कथाहरु त साझा हुन् । यूद्घका डोबहरुले जसरी तिमीलाई शब्दमा बोल्ने बनायो त्यो पनि आंशिक सत्य हो । सायद तिमी लेख्नकै लागि जन्मिएका थियौ । अथवा शब्दहरुको लय तिम्रो भागमा भागमा पर्यो ।  वा तिमीले त्यही रोज्यौ ।

प्रिय वोसन, तिमी लिटल थिएनौ र होइनौ । तिमी त शब्दका जादुगर हौ जसले लेख्न लागि मात्र लेखेन । यो परको भूगोलबाट तिमीलाई सम्झिराख्नको लागि धेरै कुरा छन् । म सम्झिन्छु र सम्झिरहनेछु ।

यो चिठीको पहिलो अंक थियो । म  यसलाई च्यात्न चाहन्थे । तर च्यातिन किनकी म लेखक बनेँ ।  म मेरो परिवारको कलेज पुग्ने पहिलो ब्यक्ति थिएँ । तर यो सबैले केही अर्थ राख्दैन । मलाई थाहा छैन म कसरी लेखक बनेँ, कसरी म कहिल्यै कसैले नभनेका सबै कुरा भन्न सक्ने भएँ ।

वोसन वोङ

Thursday, March 20, 2025

एक सान्नाटा एक कोलाहाल

 

मनको एक कुनामा सान्नाटा लुकेको छ । अर्को कुनामा कोलाहाल । मानौ ति दुई बिन्दु हुन् जसलाई जोडिनु छैन । वा उनीहरु जोडिन चाहँदैनन् । म बिचमा छु । न एकलाई स्विकार्न सक्छु न अर्कोलाई । मानौ ति मेरा इन्द्रचोकहरु हुन् जहाँ कोलाहल त छ तर कहि कतै सान्नाटा लुकेको छ । म आफूलाई इन्द्रचोक र असनको बिम्बमा मात्र भेट्छु । जीवनमा भेटिने र छुट्नेको लर्कोमा म आफूलाई एक बगरको रुपमा भेट्छु जसले अस्तित्वको लडाइ गर्दैन । जसलाई कहि पुगेको र भेटेकोमा कुनै आसक्ती पनि छैन । हो म त्यहि हो एक बगर । एक कोलाहाल । एक सान्नाटा ।

तर मनको कुरा हो । मन चन्चल छ । कहिलेकाही मेरा पूर्वसर्तहरुलाई म एकाएक तोडिदिन्छु ।  म फकिर  हुन पनि सक्दिन । म पूर्ण आशक्तिमा बाच्न पनि चाहन्छु बाच्न पनि सक्दिन । यो मनको लडाई हो । म आधा आधा बाच्छु । केही फकिर । केही आशक्त । केही बिल्कुल रिसाहा । केही बिल्कुल चन्चल । जस्तोकी  इन्द्रचोक । जस्तोकी असन ।

  म लेख्न पनि चाहन्छु । केही कुरा म नलेख्न पनि चाहन्छु । केही दिन लेख्छु मात्र । केही दिन पढ्छु मात्र । म अक्षरलाई अपनाउँछु पनि, अपनाउँदिन पनि । तर अक्षरको दुनिया मेरो दुनिया हो । सम्भव थियो भने त म सबैस्ाँग चिठिमा कुरा गर्थे । मलाई अक्षरका मानिसहरु आफ्ना मान्छेझै लाग्छ । मेरा लागि कोजिमा, सुम्निमा, स्परेन्जा , बेक सी, सकमबरी सबै आफ्ना हुन् । म आफ्नोझै उनीहरुको अस्तित्वलाई पनि स्विकार्न चाहन्छु । र बग्न चाहन्छु उनीहरुसँगै कतै पर ।

उसले बिदा लियो अर्कोले फेरी कहि कतैबाट हात हल्लायो मलाई लाग्यो म आधा र पूर्ण दुबै थिएँ र छु । कसैले बिदा लिँदैमा एक्लै भैइन्छ भन्ने पनि त रहेनछ । कसैले अस्विकार्दैमा कसैले नि स्विारर्दैन भन्ने पनि रहेनछ । हरेक दिन जाने र फेरी आउँनेको लर्कोमा जसरी इन्द्रचोक मस्त छ । सायद म पनि त्यसरीनै मस्त छु । जानेहरुलाई नजाउ कसरी भन्ने आउँनेहरुलाई नआउँ कसरी भन्ने । सायद संसार यही हो एक इन्द्रचोक । एक असन ।

मनको सान्नाटालाई म मनको कोलाहलसँग जोड्न सक्दिन । जानेहरुको सान्नाटामा म रमाउँन सक्दिन । आउँनेहरुको कोलाहललाई म रोक्न सक्दिन । हिजो नै कोही गयो आज नै कोही फेरी आयो । केही अमूर्तता केही मूर्तता । म भित्रको कोलाहललाई म चित्रमा भनुँला । वा अक्षरहले कविताझै केही कोरौला । त बर्षौ देखी मसँग रहेको सान्नाटा मसँगै रहनेछ । म सान्नाटाको केही अंश हुँ जो भिडलाई सधैँ कोलाहल ठान्छ । कहिलेकाही लाग्छ म क्यानभाषमा बिनामतलब कोरीएको चित्र हुँ । जसलाई अर्थ खोज्नु पनि छैन कसैलाई बुझाउँनु पनि छैन । 

एक अमूर्त चित्रझै आफ्नै कोलाहललाई आफ्नै शब्दहरुले पुर्छु । मानौ म एक बिन्दु हुँ जसले जे आकार पनि लिन सक्छ । तर म आफैँभित्रको असिमिततालाई स्विकार गर्दिन । र सिमिततालाई स्विकारर्छु ।  हो ..... म भित्रको कोलाहलले म भित्रको सान्नाटालाई सधैँ यसै भन्छ ।


Saturday, March 15, 2025

आकाश माथिको आकाश

 

घाम लागेको छ । आकाश खुल्ला छ । निलो आकाश नदेखेको धेरै भएको थियो । झ्यालबाट आकाश प्रष्ट देखिएको छ । सानोमा लाग्ने गथ्यो हाम्ले देख्ने आकाश माथि पनि अर्को आकाश छ । जहाँ जुन, तारा र भगवानहरु बस्छन् । हामी पनि त्यही आकाशबाट धरतीमा झरेका हौँ । अब त्यो त लाग्दैन र पनि आकाश माथिको आकाशमा कहि कतै बिश्वास लाग्छ ।

सायद बिश्वास यस्तै यस्तै कुरामा अडिएको हुन्छ । आज पनि संसारमा रहेका केही अद्भूत चिजहरु यस्तै पो हुन् कि भन्ने लाग्छ । सायद आकाश माथिको आकाश त्यो बिम्ब हो जसमा आज पनि म केही थान सपनाहरु सजाएर राख्छु । कहिलेकाही लाग्छ कल्पना नै नगरेका चिजहरु हुनु आकाश माथिको आकाश जस्तै हो । जो होइन वा छैन भन्ने पनि थाहा छ तर यदाकदा लाग्छ कतै छ कि ?

यो घमाइलो दिनमा बिश्वासको कुरा गर्दै छु । मन चंगा छ । पढ्ने लेख्ने जागर पनि छ । खुल्ला आकाश र फूलेका फूलहरुले अझ जीवनमा बहार थपेका छन् । आफैँ सँग खुसी छु । यस्तो अनुभूती सधै रहदैन दशकौमा एकपटका हुनेगर्छ । थाहा छ यो क्षणिक हो । तथापी यही क्षणिकतामा रमाउँदैछु ।  कहिलेकाही लाग्छ जीवन भनेको एक खाले यूफोरीया मात्र हो । संसारमा खुसीहरु छोटा हुन्छन् । यही छोटोपनलाई लामो र दिर्घकालिन सम्झेर हिड्र्नु राम्रो हो । 

यो बसन्तको मौसम हो । बसन्तले दिएको खुसी गृष्मले दिन सक्दैन । त्यसैले रमाउँन खोज्दैछु । वा रमाएको पनि छु । जे भन्दा पनि हुन्छ । खुसीहरुलाई समातेर राख्न सकिँदैन यी त बाफ झै हल्का हुन्छन् एकैछिनमा बिलाउँछन् । छोप्न चाहेको पनि होइन । तर यदाकदा लाग्छ यसलाई समातेर बसुँ । जान नदिउँ । तर पनि दुखको स्वागत नगरी बस्न सकिँदैन । जीवनमा जे पाइन्छ वा सिकिन्छ त्यो दुखले सिकाउँछ । दुखले सघर्ष सिकाउँछ । बाच्न सिकाउँछ । लड्न सिकाउँछ । आफ्नो बाटोमा हिड्न सिकाउँछ । सायद दुख बढी र कम सुखको संयोग हो जीवन । दुख ले जे दिन्छ त्यो सुखले कहिल्यै दिन सक्दैन ।

लेख्न पनि म प्राय दुखी भएकै बेला लेख्ने गर्छु । यदाकदाका अपवाद बाहेक । तर पनि खुसीको खोजी सधैँ रहन्छ । त्यसैले लेख्छु । त्यसैले पढ्छु । त्यसैले बिनामतलब बरालिन्छु । 

आज लेख्न चाहेको यो कुरा होइन । तर लेखेँ त्यसमा कुनै गुनासो पनि छैन । आज आकाश बारे कुरा गर्न चाहन्थेँ । सायद आकाश खुल्लापनको बिम्ब हो जसले हामीलाई संसारको बृहत्तता बारे बोल्छ । हाम्रा सपनाहरुका,े हाम्रा यात्राहरुको असिमितता बारे बोलिन्छ । त्यसैले हामी सजिलै भनिदिन्छौ आकाशको कुनै सिमाना हुँदैन । यो कसैको पनि होइन र सबैको पनि हो । यसले जीवनका पावन्धिहरुलाई तोडिन्छ । के हो, के होइनको परिभाषालाई पूर्नब्याख्या गरिदिन्छ । हुन त मैले चाहेको जीवन र आकाशको परिभाषा यहि हो । जहाँ बाधिएको महसुस नहोस् । तर त्यो मैले कल्पना गरको स्वस्न संसार हो । जुन जीवनको यर्थाथलाई नियाल्दा असम्भव छ ।

यो खुल्ला आकाशलाई साक्षि राखेर गरिएको जीवनबारेको उन्मूक्त ब्याख्या हो । यस समय मेरा औलाहरु कुनै सिमानाभित्र अटाएका छैनन् । यो एक अर्थमा आकाशमय लेखाइ हो । यसमा मैले कुनै संरचनात्मक विचारका पावन्धिहरु राखेकी छैनन् । लेखिकाले जे सोचि त्यही लेखी ..............................

Friday, March 14, 2025

जो थिएन पनि जो थियो पनि


यो बिहानीको कथा हो । कथालाई कथा मात्र मान्दा हुन्छ । वा यो कथा भन्दा पर केही हो मलाई थाहा छैन । बिहानै उज्यालो छ । नानीहरु झोलाहरु बोकेर सडकमा निस्किसकेका छन् । एक दर्जन पदचापहरु सडकको यात्रामा छन् । सायद हिड्रदैछन् वा हिडेझै गर्दैछन् । म झ्रयालबाट उनीहरुलाई हेर्दैछु । फूलहरु फूलीसकेका छन् । घाम उदाइसकेको छ । हातमा चियाको कप छ । टेबलमा इस्परेन्जा बसेकी छ । म उसँग वार्तालापमा छु ।

मनु मन्जिलको कविता “यो सहर कसको हो” पढिरहेको छु । सहरबारे म त्यती सोच्दिन यो कसको हो मलाई थाहा थिएन । हुन त गाउँ पनि मेरो थिएन म कहिको पनि थिइन । गाउँबारे मैले भन्ने, मेरा जस्ता लाग्ने दुई चिज मात्र छन् । ति हुन् नदी र हिमाल । त्यो बाहेक गाउँ मेरो थिएन । मस्र्याङ्दी किनारामा मेरा पदचाप पनि थिए तर केही समयमै मेटिए । त्यो मेरो माटो हो भनेर म दावी गर्न सक्दिन । न मेरा पूर्खाले मेरो नाम लिनेछन् न त्यो माटो मेरो हुनेछ । त्यो त मेरो आमाको पनि थिएन । त्यो त मेरो हजुरआमाको पनि थिएन । थियो त अरु कसैको थियो । आफ्नो नबनेको त्यो माटोमा म किन दावी गरुँ । त्यसैले यदाकदा भन्ने गर्छुृ म कहिको पनि थिइन र होइन ।

मसँग दावी नै गर्न मिल्ने केही छैन । स्परेन्जाले भनेझै घरको कल्पना म पनि गर्छु जुन कविता अघिको कागजझै शान्त हुनेछ । तर त्यो कल्पना मात्र हो । त्यो मेरो घर कल्पनाको घर हो । जो कुनैदिन मसँग हुनेछ वा हुनेछैन थाहा छैन । तर यो निराशाको कथा होइन । केही नहुनु सबैचिज हुनु पनि हो । कहिलेकाही लाग्छ मसँग नभएर नै पनि सबैचिज छ । खुल्ला आकास छ । म आकासको हु । मेरो लागि यो आकाश नै घर हो ।

आज के थियो मसँग र के थिएन मसँग भन्नेबारे बुझ्रदैछु । तर सबैचिज नभएर पनि धेरै चिज थियो । जब कोहीसँग अटाउँनको लागि बा भनौ आफ्नो हो भन्नको संरचनात्मक कुनै बक्स रहदैन तब उड्नको लागि खुल्ला मैदान रहन्छ । म कहिको थिइन भन्दाभन्दै पनि कहिलेकाही लाग्छ म जताततैको थिएँ । छोरी मान्छे हुनुका कतिपय यर्थाथहरु विश्वब्यापि हुन्छन् । हामीसँग पूर्खाले दिने बिरासत कहिल्यै रहँदैन । हामीले गरेको यात्रा हाम्रो मात्र हो । हाम्रो यात्रा पूर्खाको कुलिन इतिहासमा अटाउँनेछौ । हाम्रो यात्रा एक मजदुर यात्रा हो । ज्यालादारी पछि त्यो पदचाप कसको थियो कसैले सम्झनेछैन । 

कहिलेकाही लाग्छ सिकागोबाट स्परेन्जाले जे भन्छे त्यो मेरो पनि हो । मैले लेख्ने कथाहरु मेरा मात्र हुन् । मेरो इतिहास मेरो मात्र हो । छोरीमान्छे हुनु भनेको मजदुरी गर्नु हो । तपाईका पाखुराहरु चलुन्जेल त्यो तपाईको हो । त्यसपछि तपाइ एक बिर्सिएको कथानक हो । वा भनौ सम्झन अलाएक कथानक । 

बिना संरचनाका कथाहरु बोकेर म हरेक दिन किबोडमा आफ्ना औलाहरु दौडाउँछु । म मनमनै भन्छु यी औलाहरु र यी अक्षरहरु मेरा हुन् । यो मेरो इतिहासलाई मैले आफैँले गरेको अर्काइभ हो । म चाहन्छु यसमाथि मेरो पूर्णअधिकार रहोस् । अक्षरको इतिहासलाई मेट्न गाह्रो । यो एक मजदुरको दावी गर्न मिल्ने डायरी हो ।

Tuesday, March 11, 2025

फूटनोट


दिनभर बादल लाग्यो । मैले आफ्नो ओछ्यानलाई छोड्न सकिन । म चाहन्थे बादलझै म पनि बताससँगै बहकिउँ र रमाउँ । तर त्यस्तो भएन म रमाउँन सकिन । मलाई बादल मननपर्ने पनि होइन । बादलले कोर्ने चित्रहरु कहिलेकाही मलाई जीवनका चित्रहरुझै नलागेका पनि होइनन् । तर बादल लागेको दिन मलाई मन पर्दैन ।

यो फूटनोट हो यसलाई महत्वपूर्ण ठान्दा पनि हुन्छ नठान्दा पनि हुन्छ । कहिलेकाही लाग्छ जीवन एक फूटनोट हो । कसैलाई लाग्न सक्छ उसको जीवन महत्वपूर्ण छ कतिलाई नलाग्न सक्छ । 

कहिलेकाही फूटनोट सहितका पानाहरु पल्टाउँछु । लाग्छ यीनीहरुको उपस्थिति किन महत्वपूर्ण भएर पनि अमहत्वपूर्ण झै छ । लाग्छ जीवनका अधिकांश कुराहरु फूटनोट झै हुन् । चाहेर नचाहेर हामी अरु कसैको जीवनमा फूटनोट झै उपस्थित छौ र आफ्नो जीवनमा सिँगो टेक्स्ट झै  ।

यो फूटनोट झै लाग्ने दिनको ब्याख्या मात्र हो । ब्याख्या गर्नको लागि गरिएको ब्याख्या मात्र । यसलाई ब्याख्या नगर्दा पनि हुन्थ्यो । यसको उपस्थितिले केही अर्थ राख्दैन । जसरी हाम्रो मृत्यु र जन्मले राख्दैन । मलाई सधै बिना मतलब जन्मोत्सव मनाएको देख्दा अचम्म लाग्छ । फूटनोट झै लाग्ने जीवनलाई मानिस किन सिँगो टेक्स्ट सोच्छ ।

किनकिन लाग्छ आफ्नै जीवनको पनि फूटनोट बनिदिउँ । बिनाअर्थ बाचिँदिउ । के फूलले उसको जीवनको अर्थ खोजको छ ? के घामले खोजको छ ? के उनीहरु झै हामी पनि जीउँदा हुँदँैन ? कहिलेकाही लाग्छ उनीहरु झै बाचिदउँ । र उनीहरु झै बिदा भैदिउँ । किन अर्थ खोजूँ । अर्थ खोजेर के नै हुने बाला छ र ? के बाचेको नाउँमा बाँचिदिँदा हुँदैन र ? यस्तै सोचिरहेछु फूटनोट, बादल जीवन ।

साचैँ भन्दा यस्तै यस्तै सोच्नु म हुनु हो । सायद यस्तै यस्तै लेख्नु नै बाच्नु हो । किन लेखेको पनि थाहा छैन । किन बाचेको पनि थाहा छैन । तर सोचिबस्छु । र जे सोच्छु त्यही लेखिदिन्छु । लेख्न मनपर्छ त्यसैले लेख्छु । लेखिबस्ने कारण साच्दिन । सोचिबस्ने पनि कारण साच्दिन ।

सायद यसै यसै जीवन सक्किनेछ । कुनै दिन कथा झै अथवा कथा नभैकन संसारबाट बिदा लिने छु । बिनाअर्थ बिदा लिने यो संसारबाट किन अर्थ खाजिराख्नु । म फूटनोट हो र हुन पनि चाहन्छुु । किनारामै बस्न चाहन्छु । मलाई केन्द्रले पोल्छ । मलाई केन्द्रको मानिस हुनु पनि छैन । मेरा सपनाहरु बेअर्थका छन् । म बेअर्थमै अर्थ खोज्न चाहन्छु.........................................................................................

बिहानी नहुँदै

 

बिहान भैसकेको पनि हो । बिहानी नआइसकेको पनि हो । बाहिर अध्यारै छ । सडकमा केही जोर पैतलाहरु भित्रिएका छैनन् । नानीहरु रोएको आवाज सुनिएको छैन । फूलहरु फूलिसकेका छैनन् । घाम उदाइसकेको छैन । बिहानी भित्रिसकेको छैन तर बिहानी भैसकेको छ । 

सायद मेरो बिहानी हो । यसले मलाई आफू बन्ने स्वतन्त्रता दिन्छ । कहिलेकाही लाग्छ मैले यो समयको प्रहरलाई दावी गर्न सक्छु । बिहानै किबोडमा हातहरु सलबलाएका छन् । केही नभएको अवस्थामा पनि केही भएको छ भनेर म दावी गर्न चाहन्छु । सायद म दुनीयालाई भन्न चाहन्छु म बाच्दैछु ।

यसरी बाचेको झै गरेर मैले धेरै दिन बिताएको छु । म चाहन्छु म बाचुँ । तर सधैँझै म बाचेकोझै देखाउँन चाहने रहेछु । अब केही बेरमा मानिसहरु दौड सुरुहुनेछ । को सानो को ठूलो । को राम्रो को नराम्रो । को धनि को गरिव । दौड यस्तै नै हो । दौडेर मानिसहरु कहि पुग्दैनन् तर सबैलाई दौडनु छ अनि कहि पुग्नु छ ।

म पनि त्यहि दौडमा । मलाई थाहा छ म कहि पुग्दिन तर मलाई पनि कहि पुगेकोझै देखाउँनु छ । आफ्नै पाइलाहरु गन्नु छ र आफैलाई बिजेता घोषणा गर्नु छ । हिडिसकेका पाइलालाई जीवनका ठूला प्रहावहरु ठान्नु छ । कस्तो अनौठो भाष्य । कस्तो अनौठो प्रबृति । तर धेरैलाई यो नै जीउँनु हो ।

केही दिन अघि एक मित्रले आफ्नो जीवनको लक्ष्य २७ करोडको कमाउँन हो भनेर बताए । मैले आफूलाई फकिरको संज्ञा दिए त्यस्ता सपना नभएको बताएँ । कसरी सपनालाई पुजिँसँग मात्र कसरी तुलता गर्न सक्छौ । त्यसो भए आफ्नै घर र बैभव छोडेर यात्रामा निस्कने बुद्घ को थिएँ ? कबिर को थिएँ ? कसरी बैभव सपना बन्न सक्छ । कसरी कसैले मेरो यती करोडको सपना छ । तेरो छेन तँ सपना बिहिन झिनो मानिस हो भन्न सक्छ । आज म बिहानी भैनसकेको बिहानीमा त्यही सोचिरहेछु । मात्र त्यही सोचिरहेछु ।

Saturday, March 8, 2025

नेपथ्य


यो नेपथ्यको आवाज हो । जसलाई यो मेरो आवाज हो भनेर भन्नु छैन । अथवा भनेर पनि नभनेझै गर्नुछ । अथवा दावी गर्नु छैन । बाचेर पनि नबाचेझै गर्नु छ जसरी खाली पानाहरु गरीदिन्छन् । जसरी उडीरहेका पन्छिहरु गरिदिन्छन् । जसरी फूलीरहेका फूलहरु गरीदिन्छन् ।

किन मानिस मात्र आफ्नो अस्त्विलाई दावी गर्छ । कहिलेकाही पूर्नदावी पनि गरिदिन्छन् । तर प्रकृतिले त गर्दैन । के मानिस प्रकृतिको अंश होइन ? अथवा मानिससँग अरु केही छ जसले उसलाई मानिसझै बनाएको छ । .........

सोचिबस्नु बाहेक मसँग अरु केही छैन । म बाचेको झै गर्न सोचिबस्छु । समय छ त्यसैले सोच्छु । अथवा नभएको भए पनि सोच्ने गर्थे । तर म सोच्न चाहन्न । बाच्न चाहन्छु । आज पनि म बाच्न चाहन्थे तर सोचिरहेछु ।

शनिबारको बिहानीलाई मैले सदाझै स्वागत गरेँ । आज बिहानीलाई मैले होइन बिहानीले मलाई स्वागत गर्यो । शनिवार भएकाले नानीहरु बिहानै किताबकापी बोकेर बाहिर निस्केनन् जसरी म निस्कन्थे । एकलाशको बिहानीसँग चियाका चुस्की थिएँ । उनीहरुलाई मैले रित्ताए । उनीहरु रित्तिए । किताबहरु मेरा साथी हुन् सधैका साथी । आदि पढिसकेको पुस्तक निकालेँ तर पढिन । मोबाइ हेरेँ । बिहानै बिहानै मानिसहरु चर्का बहसमा थिए । आज नारी दिवस – आक्रोश र शुभकामनाका कयौ शब्दहरु । केही गाली, केही उत्साह केही दुखेसा । सायद संसार यसरी नै चल्छ । केही भन्नु थिएन । सायद कसैले भनिसकेको कुरा फेरी दोहोर्याउनु आवस्यक पनि थिएन ।

मैले शुभकामनाका शब्दहरु लेखिन । म समानता चाहन्छु । म नारीवादी पनि हुँ तर कस्तो नारीवादी थाहा छैन । महिला नै भएपनि म सँगैका छोरीमान्छेको जस्तो मेरो जिन्दगी रहेन । त्यसमा केही गुनासो पनि छैन । कट्टर नारीवाद नपढेको पनि होइन । तर मानिसझै बन्न नदिने कट्टरतामा म अब अडिरहन सक्दिन । अगाडी बढ्नु पनि छ इतिहासप्रति केही गुनासाहरु पनि छन् । इतिहासलाई दोहोर्याउनु पनि छैन ।

म दोधारमा छु समयसँगै म अल्लि बढी सहनशील भएकी पनि हुनसक्छु । तर मेरो ब्यक्तिगत नारीवादको अबधारणालाई सर्वमान्य बनाउँन म सक्दिन । मैले देखेको इतिहास एक पहाडी सामान्य लेखपढ गर्न सक्ने पढ्र्नुपर्छ भने पनि आफ्नै खाले सामाजिक परिबन्धलाई बोकेको इतिहास हो । मसँग जातले, संरचनाले, पारीवारीक बिरासतले दिएका केही अवसरहरु थिए । जो अरुसँग नहुन सक्छन् । अथवा मैले पाएको शिक्षाको कारण मस्ाँग अरु महिलाभन्दा केही दब्भ र आट पनि हुनसक्छ । अथवा मलाई अरु कम आटिला पनि लाग्न सक्छ । तथापी यो बिचारको लडाइ हो । समान कामको लागि समान ज्यालाको लडाइ हो । राजनैतिक अवसरका लागि बोलीने पृष्ठभूमी हो जसलाई नकार्न सक्दिन । नारीवाद कुनै बिशेष बाद होइन एक राजनैतिक बिचारधारा हो जसले समानता चाहन्छ । समानता सापेक्ष शब्द हो । यसका आफ्नै लुपहोलहरु हुनसक्छन् । 

अब लँैगिकता एक तरल अबधारणा हो । यो स्त्री पुरुषको कुरा मात्र होइन लँैगिक तथा यौनिक अल्पसंख्यकको कुरा पनि हो । नारीवादले पृत्तिसत्ताको बिरुद्घ बोले पनि, यसबाट पीडित महिलाहरु मात्र र यसका पिडक पुरुष मात्र होइनन् । यो तँ ठूलो कि म ठूलो भन्ने इगोको लडाइ होइन । यो त समानताको लडाइ हो । यो त खराब अबधारण बिरुद्घको एक साझा मोर्चा मात्र हो ।

  समाज कहिल्यै सपाट थिएन । शक्ति र सत्ताको यो हजारौ बर्षको इतिहासले हामीलाई सबैभन्दा बढी केही दिएको छ भने त्यो असमानता दिएको छ । यस बिरुद्घ कसरी लड्ने यसलाई कसरी लिने यो समाज र ब्यक्ति सापेक्ष कुरा हो । लडाइ र असमक्षदारीका तहहरु ब्यक्ति र समाज पिक्षे फरक हुनसक्छ ।

Thursday, March 6, 2025

एक मानिस एक कथा


“यो अंकको कथा होइन । तर मानिस पनि त अंक नै हो । के मानिसलाई अंक मान्दिँदा हुन्छ ? वा भनिदँदा हुन्छ तिमी अंक होइनौ अरु केही हौ ।” उ भन्छ– “मानिस कथा हो । मात्र कथा । एक मानिस एक कथा” 

उ सपनामा यस्तै यस्तै भन्छ । म सपनाबाट बिउँझन्छु । सोच्छु मानिस कथा हो वा अंक हो । वा केही होइन । उसले दिएका मानिस र जीवनका प्रतिकहरु बारे म किन सोचौ । तर उ सपनामा आइरहन्छ र यस्तै कुरा गर्छ । उ सपनामा किन आउँछ र किन यस्ता कुरा गर्छ । कयौ पटक सपनामै उसले मलाई तर्साएको पनि छ । म उ देखी डराएकी पनि छु । उ सपनाको मानिस हो । म यस्ता कुरा गने मानिस बिपनामा भेट्दिन । बिपनामा भेटौ भेटौ भन्ने नलागेको पनि होइन । तर भेट्दिन । दुखी छु उ सपनामा मात्र आउँछ ।

आज दिनभर घाम लागेन । कामबाट फर्के । लाग्यो बिना घामको दिनलाई साथ दिनु भन्दा बिना सिमानाको सपनालाई साथ दिउँ । आज दिउसै सपनामा उ आयो र यस्तै यस्तो कुरा गर्यो । किन किन आज मलाई सपनामानै लाग्यो किन तिमी बिपनामा आउँदैनौ । मैले उसलाई बिपनामा आउँन आग्रह गरेँ । उसले मेरो आग्रहलाई नकार्यो र भन्यो “एक सपना एक मानिस, म सपनाको मानिस हुँ “ । यति भनिसकेपछि म बिउँझे तर उ मसँग थिएन । उ त सपनाको मानिस थियो । उ सपनाबाटै बिदा भयो ।

फेरी सोचे किन उ सपनामा मात्र आउँछ र यस्तै यस्तै कुरा गर्छ । किन म बिपनामा उ झै अरु भेट्दिन । तर सोचिबस्छु किन उ सपनामा आउँछ भनि । सायद उसले भनेको ठिकै हो । उ कथा हो । उ कथाकै स्वरुपमा आउँछ र कथाकै स्वरुपमा बिदा हुन्छ । तर बिपना किन सपना झै हुँदैन । म  उसलाई बिपनामा नभेटेको मा दुखी छु । दुखी भन्दा बढी बेखुस छु । 

प्रिय सपनाको मानिस, 

सपनामा मात्र होइन बिपनामा पनि तिम्रो पर्खाइमा छु । सायद पर्खनु मेरो नियती हो । सायद पर्खाउँनु तिम्रो नियती हो । हुनसक्छ पर्खाउँनु पर्खिनु हामी दुबैको नियती हो । तिमीझै अरु कोही बिपनामा नभेटेकोमा दुखी छु । तिमीलाई सपनामा भेटेकोमा खुसी छु । म जीवनलाई अंक मान्छु । तिमी जीवनलाई कथा मान्छौ । थाहा छैन कुनै दिन मेरो अंक र तिम्रो कथा जोडिनेछ र हामी एक कथा बन्नेछौ  कि छैनौँ । म अंकको पर्खाइमा छु । हुनसक्छ तिमी कथाको पर्खाइमा छौ । तर म तिम्रो जीवनको कथा बन्न चाहन्न । म त अंक बनेर जोडिन चाहन्छु ।

 नोट टु बि नोटेड्– यो कथा पनि होइन । उ सपनामा आएको पनि होइन । तर लेखिका चाहन्छीन उ सपनामा आओस् । लेखिका त उ  बिपनामा आएको पनि देख्न चाहन्छीन् । यो लेखिकाको आफैँभित्रको मनोभाव मात्र हो । न जीवन अंक हो । न जीवन कथा हो ..............

Sunday, March 2, 2025

अब्यक्त

 

के पानाहरु खाली छोडिदिउँ कविता अघिको कागज झै । यो बिरक्ति होइन । निसारता पनि होइन । थाहा छैन यो के हो । ब्यक्त गर्न जति सजिलो छ बिना कुनै अभिब्यक्ति  बाच्न  पनि त गाह्रो छ । 

इस्परेन्जा आएकी छ सपनामा । उ चाहन्छे उ झै म पनि मेरो आफ्नो नामाकरण आफैँ गरु । हुन त म पनि उ झै बन्न चाहन्थेँ । उ सान्द्रा सिस्नेरोजको भूगोलबाट मेरो आगनमा आइपुगेकी म थिइ । पहिलोपटक उस्लाई भेट्दा लागेको थियो उ म नै हो । फरक यति हो उसको झै मेरो कपाल कुच्चो जस्तो छैन ।  उ झै म पनि कुनै दिन आफ्ना कथाका किताबहरु बोकेर पर भाग्न चाहन्थे र फेरी फर्कन चाहन्थे ।  तर त्यस्तो भएन म मेरा कथाहरुलाई बोकेर कही हिड्न सकिन । मेरा कथाहरु कहि कतै मेरो ल्यापटपको किबोडहरुमा चिप्किराखे जसरी रुखहरु जमिनमा चिप्कन्छन् । म कथा बोकेर कहि कतै पर भाग्न चाहन्थेँ । खै किन मैले भाग्ने भुगोल भेटिन ।

प्रिय स्परेन्जा सपनामा तिमी आउनु नौलो होइन । तर तिमी किन आयौ भन्ने कुराले यदाकदा मलाई झस्काउँने गर्छ । म कथाका किताबहरु बोकेर कहि कतै पर भुगोलमा अरु कुनै कथा खोज्न म जान सकिन । मलाई थाहा थियो मसँग त जन्मदै मस्र्याङ्दीको धुन थियो र साथमा किनारा पनि थियो । मसँग बग्ने डुब्ने दुबै स्वतन्त्रता थियो । मस्र्याङ्दीले मलाई भाषा र लय दुबै दिएको थियो । तर नदिको भाषा बुझ्न पनि नदिभन्दा पर पुग्नु पर्ने रहेछ । बिना दुरी त आफैँलाई पनि नदेखिदो रहेछ ।

तिमी झै थाहा छैन कुनै आफैँलाई खोज्दै निस्कनेछु र आफूलाई भेट्ने छैन । नभेटिएकी आफूलाई खोज्न खै कहाँ धाउँनेछु । सायद तिमीलेझै लेख्नेछु अनि लेखेकोमा लाज मान्नेछैन । कुनै दिन तिम्रा पानाहरु कहि कतै तिमीले भनेकी थियौ “सेम इज ब्याड यू नो” । सायद कुनै दिन मैले पनि आफूले आफैँलाई भन्नेछु । 

  तर थाहा छैन किन तिमी सपनामा आएर गएको दिन मलाई सधै लाग्छ  मैले आफैलाई भेटेँ । यो यत्रो दुनियामा आफूझै लाग्ने तिमीझै अरु कोही भेटेकी छैन । कथाहरु बोकेर कही कतै भाग्ने फेरी आफ्नो झै लाग्ने हामी दुबैका सपनाहरु हुन् । मैले पुरा गरे तिम्रो हुनेछ । तिमीले पुरा गरे मेरो हुनेछ । अनि   कसैले नि पुरा नगरे थाहा छैन हाम्रा सपनाहर अरु कसको हुनेछ । 

म यी सबै कुराहरु पानामा उतार्छु तर मेरो इतिहासले मलाई त्यति पिरोल्दैन । म लेख्छु – यदाकदा आँप सडकले मलाई अलबिदा भन्छ । उसले मलाई बाँधेर राख्दैन । मलाई उड्न दिन्छ, आफ्नै सपनाको उडानमा ।

एकदिन जब म आफ्ना किताबकापी पोको पार्नेछु र साँच्चिकै आँप सडकलाई अलबिदा भन्नेछु तब म उसलाई सदासदाका लागी हृदयमा राख्न सक्ने भैसकेकी हुनेछु । एकदिन म यहाँँबाट पर पुग्नेछु ।

साथीहरु र छिमेकीहरुले भन्नेछन्, के भयो यो स्पिरेन्जालाई ? किन ऊ किताबकापीसँगै गई ? किन ऊ यति पर गई ?
तर उनीहरुलाई थाहा हुनेछैन, म फर्कनकै लागि गएकी हुँ । उनीहरुका लागि जसलाई मैले पछाडि छोडेँ । उनीहरुका लागि जो यो सडकबाट कहिल्यै बाहिर निस्कन सक्दैनन् ।

Saturday, March 1, 2025

प्रिय फागुन,

 

यो सम्बोधनहरु बिचको सम्बोधन मात्र हो । म तिमीलाई अप्रिय पनि भन्न सक्थेँ तर भनिन । मलाई हुरी र बतासहरु कथा र सिनेमामा मात्र मन पर्छ । तिमीसँगै भित्रने बतासलाई म आज पनि अपनाउँन सक्दिन । यो अस्विकृतिलाई तिमीले स्विकानैर्छ ौ भन्ने मलाई लाग्छ । हुन त स्विकृती र अपनत्वबिना बाच्नु के हो मलाई थाहा छ । तर माघ सक्किने बेला हरेक बर्ष मलाई लाग्ने गर्छ तिमी नआइकन चैत आओस् वा बैशाख नै आइदियोस् ।

यो कठोर महिनाको कोमल दिन हो । दिनभर हुरी चल्यो तर घाम पनि लाग्यो । बतासले घामलाई लखेट्न सकेन । सायद साँझपख पानी पर्नेछ । पानीका थोपाहरु सुकेका सुख्खामाटाका डल्लाहरुमा पर्नेछन् र अनौठो बास्ना छाउनेछ् । हो म यहि पर्खाइमा छु । मलाई माटोको बास्ना सुघ्नु छ । मलाई फेरी माटोझै भएर धुमिलिनु छ र आफ्नै लयमा सग्लिनु पनि छ ।

आज म कथा लेख्न चाहन्थेँ कसको बारेमा तिम्रो बारेमा । तर के तिमी बारे लेख्दैमा तिमी मेरो प्रिय बन्नेछौ..... कदापी बन्ने छैनौ । तिमीसँगै उडेका म भित्रका केही स्थिरताहरु म आज पनि बोटल्न खोज्छु । तर सक्दिन । तिमीले उजाडेको सिँगो म फेरी कहिल्यै सिँगो हुनेवाला छैन । हरेक फागुनले मलाई फेरी अर्को पटक त्यही बिष्मृतिमा लग्छ जहाँ म कहिल्यै फर्कन चाहन्न । जहाँ म कहिल्यै पुग्न पनि चाहन्न तर प्रत्येक वर्ष पुग्ने गर्छु । 

तिमी बारे लेख्छु पनि मेट्छु पनि । कहिले मेट्छु अनि फेरी लेख्छु । तर प्रत्येक पटक बिम्बमा लेख्छु । कसैले नबुझुन् झै लेख्छु तर यदाकदा बुझुन भन्ने पनि लाग्छ । कहिलेकाही लाग्छ म मेरो भावनाको सबैभन्दा खराब अनुवादक हो । म चाहेर पनि म मेरा भावनालाई निष्बस्त्र नाङ्गै प्रस्तुत गर्न सक्दिन । म काँतर छु । कठोरतासित म कोमल भएर प्रस्तुत हुन्छ । हुरी बतासहरुलाई पनि केही सिँगारेर प्रस्तुत गर्छु । भावनाहरु नाङ्गा हुन्छन् तर यदाकदा तिनलाई पनि कोमल बिम्बमा प्रस्तुत गर्छु । सायद शब्दमा प्रस्तुत गर्दा पनि म आफू कम र शब्दहरुको लालित्यता बढी हुन्छ ।

यो तिमीलाई लेखेको अस्विकृती पत्र हो । म तिमीलाई स्विकार्न चाहन्न । मलाई तिमीसँगै भित्रने बतास, हुरी र असिनासँग डर लाग्छ । तर यो पढिरहँदा तिमीलाई प्रेम पत्रझै पनि लाग्न सक्छ । मैले पनि आजसम्म सबैभन्दा सुन्दर पत्रहरु अस्विकृति पत्र नै पाएकी छु । स्विकृती दिन सजिलो छ, प्रेम गर्न सजिलो छ तर प्रेमपूर्वक अस्विकृती ब्यक्त गर्न गाह्रो छ । सायद म त्यही गर्दै छु । म तिमीलाई जीवनबाट टाढा पठाउँन चाहन्छु तर प्रेमपूर्वक । सायद म घृणालाई प्रेममा ब्यक्त गर्न खोज्दै छु । 

प्रिय फागुन, फेरी पनि मेरो अस्विकृती पत्रलाई प्रेम पूर्वक स्विकार । चाहेर नचाहेर तिमीले जे दियौ त्यो मलाई स्विकार्य थिएन । म त यदाकदा आफैँलाई पनि स्विकार्दीन तिमीलाई त परको कुरा । म फेरी सिँगो हुन चाहन्छु । आफैँसँग जुध्न चाहन्छु । आफैँलाई भेट्न चाहन्छु । नदी र हिमालझै अग्लिन र डुब्न दुबै चाहन्छु । तिमी आएपछि मैले बिर्सेकी छु म त नदीकिनाराकी हुँ । मेरा डोबहरु क्षणिक हुन्  । मेरा पाइलाहरु, मेरा दुखसुख, मेरा पाइलाहरु सबैसबै निमेशभरका हुन् भनेर । म चाहन्न म टुक्रिएर बनेका चोइटाहरुले मलाई नै बिझाउँन । म त बाफ झै उड्न र नदी झै बग्न चाहन्छु । तर मलाई तिमीसँगै भित्रने बताससँग डर लाग्छ । के तिमी मलाई बर्षात् मात्र दिन सक्दैनौ ?

अन्तिम दिन

बर्षहरु चाडै बिदा लिन्छन् । तर दिनहरु बाकी रहन्छन् । थाहा छैन कुनै दिन दिनहरु सिद्घिए भने के रहनेछ ? घाम उदाउँने छ वा छैन । आकाश रहने छ वा...