Tuesday, January 30, 2024

...........पर कतै

 

“पानाहरु खाली छन् । डायरी नयाँ छ तर भन्नको लागि केही छैन । भन्नेकुरा पनि सिद्विएपछि अरु केही बाकी रहँला र !” थाहा छैन किन यि यस्तै सोच्दै छु । ... निष्पट्ट अध्यारोमा आफूलाई अझ अध्यारो भेट्दैछु । कैसैले सोध्यो भने, “तिमी अध्यारो देखी डराउँछौ वा भिँड देखी” । म सजिलै भिडदेखी भनिदिनेछु । 

भिँड किन यति धेरै......भड्किलो छ । भिडको पछाडी किन यती धेरै धुलो छ । किन भिडले केही नदेख्ने बनाउँछ । थाहा छैन किन भिडले मलाई अत्याउँछ मात्र । कहिलेकाही त आफ्नो परिवार पनि भिडझै लाग्छ । यदाकदा त आफैँलाई भिड सम्झेर तर्सन्छु पनि । कुनै दिन भिडमा हराएँ भने मलाई खोज्न कोही आउँला कि नआउँला । वा म आफैँले आफैँलाई भेटुँला वा नभेटुँला ।

किन पत्रिका भिडझै लाग्छ । किन टिभिका मानिसहरु भिडझै कराउँछन् । किन सबैलाई लाग्छ उनीहरुले बोलेको कुरा सबैभन्दा अर्थपूर्ण छ । तर किन सबका आवाजहरु, शब्दहरु भिडको आवाज झै अष्पष्ट र कर्कश छन् । अधिर, अष्पस्ट्ट , र बेतालका यी आवाजहरुले म आतिएकी छु । तर बाधिएकी पनि छु । जान खोज्छु कहि पर.... किन यो भिडले मलाई बोलाएझै लाग्छ । र फेरी म भिडकै आवाजमा मिस्सिन पुग्छु ।

थाहा छैन किन मलाई कहिल्यै कसैले भनेन तिमी आफूझै बन्नु । सबैले भने तिमी अरुझै भइनौ । यसरी भने मानौ भिडझै नहुँनु पाप हो । अनि त्यही आफूझै नभएको भिडमा आफैलाई खोज्न थालेँ । यदाकदा लाग्यो भिडको रंग, भिडको आवाज, भिडका आँखाहरु, भिडको शरीर अलिअलि त मेरो झै नै रहेछ । तर किन मानीसहरुले भने त हामीजस्तो छैनस् । तर किन भनेनन् तँ तजस्तै हुनु पनि ठिकै हो । र बिस्तारै मलाई पनि लाग्न थाल्यो म पनि भिडझै हुनु छ । भिड त्यो बिन्दु बन्यो जसमा  पुगेपछि मेरो अस्तित्व स्विकारोक्तिको यात्रामा अगाडी बढ्छ । तर जब भिडमा आफैलाई खोज्न थाले म आफू आफैँ रहिन ।

यदाकदा भिडमा मिस्सिन खोज्छु । पत्रिकाका शब्दहरु, टिभि च्यानलका मानिसहरु, रेडियोका आवाजहरु सबैसबै अनौठा लाग्छन् । लाग्छ सबैको अनुहार उस्तै छ , सबैले एकै बोल्दैछन् , सबै ठाउँमा एकै मान्छेहरु कराइरहेछन् । यो एकरुपता किन मानिसहरुलाई मनपर्छ । किन लाग्छ सबै उस्तै हुनु राम्रो हो । तब आफैले आफैलाई खोज्न र हेर्न छोडिदिउँ झै लाग्छ । यस्तो लाग्छ यो भिडको अंश म पनि हुँ । 

यो अस्पष्टता मेरो आफ्नो हो वा मैले बाचेको समयको । यदाकदा प्रश्न गर्छु आफैलाई । के बाच्नु भनेको भिडझै हुनु हो । वा कोलाहललाई आफ्नोझै ठानेर बिनाअर्थका शब्दहरुलाई दोहोर्याउनु हो । वा चाहेर पनि आफूझै नहुनु हो । यी अष्पष्टता के सधै रहिरहनेछ । जीउँनुको नाउँमा के सधै हामीले भिडलाई नचाहेर पनि आफ्नो ठान्नु पर्नेछ ।

  सायद यी बेअर्थका प्रश्नहरु हुन् । तर अर्थपूर्ण हुने नाउँमा भिड जम्मा हुनु के  सबैभन्दा अर्थपूर्ण चिज हो । कहिलेकाही लाग्छ  यो समाज, संरचना, मान्यताहरु जसलाई हामी जीवन तत्वहरु ठानेर अपनाएका छौ । के यो भिडभन्दा केही फरक छ र ? के यसले मानिसलाई मानिसझै बाच्न दिएको छ र ?

प्रश्न आफैँलाई गर्छु तर कहिलेकाही लाग्छ  प्रश्न न समाजसँग छ । भिडमा भुलाउँने संरचनासँग छ । तर किनकिन लागिरहन्छ..... यो भिडभन्दा पर कहि कतै आफैलाई खोज्नु छ । भिडको बन्ने नाउँमा गुमेको आफू कहि कतै भेटिनेछ वा छैन । कुनै दिन भेटियो भने त्यो सायद सफलता बन्नेछ । सायद भेटिएँन भने यात्रा मात्र बन्नेछ । वा सायद जीउनुको नियती बन्नेछ ।

तिमी र म एक यात्रा


तिम्रो सिङ्गो उपस्थिती 

मेरो सिङ्गो आयू थियो 

तिम्रो उचाई देखेर 

मैले आफ्नो पुड्काई थाहा पाए

तिम्रो अग्लाइले मलाई बग्न सिकायो 

तिमी पग्लिएर बनेको गहिराइले 

मलाई डुब्न सिकायो 

फरक यति हो

तिमी परको हिमाल हौ 

म वरको नदि ।।

थाहा छैन तिमीले कहिल्यै बुझ्यौ वा बुझेनौं । सायद बुझेनौं वा कहिल्यै बुझ्ने छैनौ, यो म जान्दिन । तर यो कविता तिम्रो लागी थियो । हिमालको विम्बमा तिमी थियौ नदिको बिम्बमा म थिएँ । तिम्रो उचाई मेरो अस्तित्व बन्यो म तिम्रो अस्तित्वमा बाचेँ । कहिलेकाही लाग्छ म विम्बमा बाचें । तिमीलाई लाग्ला विम्बमा बाच्न सजिलो छ । छैन भन्न म सक्दिन, छ भन्ने मसँग साहस छैन ।

तिमीलाई लाग्ला म कवि भएँ र एक लहडी कविझै कवित्वमा बोल्दैछु । तिमीलाई लाग्नु ठिकै हो तर म कबि होइन म त प्रेमी हुँ । हुन त कवि र प्रेमी  हुनुको भिन्नता मलाई थाहा छैन । मैले जे लेखें कवि भएर होइन प्रेमी  भएर लेखें । आज आएर महशुस हुन्छ प्रेममा बाच्नु कवित्वमा बाच्नु रहेछ । सायद तिमी पनि प्रेम नभएर कबिता पो थियौ की ?

तिमी एक मौन कबिता बन्यौ मैले त्यो मौनतालाई नै प्रेम गरें । मौनतालाई प्रेम गर्नु एकतर्फबाट हेर्दा तिम्लाई होइन मेरो आफ्नै प्रतिबिम्बको तिमीलाई प्रेम गर्नु रहेछ । हुनसक्छ मैले तिमीमा आफूलाई नै भेटे । तिमी एक सादा क्यानभाष थियौ, तिम्रो अभिब्यक्ती शून्यतामा थियो । लाग्छ मैले त्यही  शून्यतालाई नै प्रेम गरें । केही नहुनुलाई सबथोक हुनु र सबथोक हुनुलाई केही नहुनु ठानें । तिमीलाई लाग्न सक्छ यो कुनै पग्ली लहडीको अभिब्यक्ती हो । सायद अस्तित्वमा रहेको सबैभन्दा बकमफूसे र बकवास अभिब्यक्ती प्रेमको अभिब्यक्ती नै हो । मैले त्यही गरें ।

हुन त मैले तिमीलाई प्रेम गर्छु कहिल्यै भनिन मलाई लाग्यो नदिले हिमाललाई  प्रेम गर्छु भन्नु अस्तित्वको नियतीलाई अस्विकार गर्नु हो । मैले स्विकार गरिन । लाग्यो म तिमीलाई प्रेमको अभिब्यक्ती नगरेरै पनि तिमीसँगै छु । तिम्रो उचाइमा मैले आफ्नो गहिराई नापेँ, मैले तिम्रो अस्तित्वलाई आफ्नै ठानेर स्विकार गरेँ । स्विकारोक्तिका यतिका वर्षहरुमा हलचलहरु आए तिमी पग्लियौ म बगें हाम्रा यात्राहरुमा दुरीहरु बढे ।

हुन त  हामी एउटै बिन्दुका रेखाहरु कहिल्यै थिएनौ । हामी त दुई बिन्दुबाट आफ्नै यात्रामा निस्केका दुई समानान्तर  रेखाहरु थियौ । देख्नेहरुले हाम्रो यात्रालाई नदिका दुई किनारा ठाने जो कहिल्यै एउटै गन्तब्यमा पुग्दैनन् । मैले पनि त्यही ठानेँ ।  त्यसैले मैले आफ्नो नियतीलाई सहर्ष स्विकार गरेँ । तिम्रो यात्रालाई कतै दोबाटोमा छुटेको मेरो आफ्नै यात्रा ठानेर परबाट हेरिराखेँ ।

यात्राको आफ्नै गन्तब्य हुँदो रहेछ जस्तोकी प्रेमको । प्रेम र यात्रालाई एउटै वृत्तमा राखेर हेर्ने  हो भने हामीलाई यी बिचको समानता पक्कै महशुस हुन्छ । यात्राको झै प्रेमले पनि हरेक समय  नयाँ सहयात्री भेट्छ  । तर हरेक सहयात्रीसँग बिताएको समय हर क्षण नदिमा बग्ने पानीको झै हिजोको जस्तो हुँदैन । सायद प्रेममा पनि त्यहि हो । यात्रामा झै सायद प्रेममा पनि एकको बदला अर्को हुन सक्दैन । 

मैले भनिसकेँ अब हामी दुरीका हिसाबले एक लामो खाडलको अन्तरमा छौ । अब चाहेरै पनि त्यो खाडल पुर्न ग्राहो छ । एक बिन्दुमा तिमी छौ अर्को बिन्दुमा म छु । मैले तिम्रो लागी लेखेको कबिताझै अब तिम्रो अस्तित्वमा म नभेटिन पनि सक्छु । हुन त गहिराइले उचाइको अस्तित्वलाई स्विकार्न सजिलो थिएन न उचाइले गहिराइको । साच्चै भन्दा एकले अर्काको अस्तित्वको कुरा गर्नु एक क्षितिजले अर्को क्षितिजलाई आफ्नै ठान्नु जस्तै हो । अब म त्यहि अडानमा बसिरहन पनि सक्दिन ।

तिम्रो उपस्थितिलाई आफ्नै आयू ठानेर मैले तिमी बिनाको आफूलाई नर्कान खोजेको पनि रहेछु । नर्कानु एउटा कुरा तर हकिकत अरु केही बन्दो रहेछ । भन्छन् नि समयको वृत्तमा हामी कोही अट्न सक्दैनौं । आज त्यस्तै लाग्दै छ ।  हेर्दाहेर्दै मैले तिमी बिनाको आफूलाई स्विकार्न थालिसकेको छु । थाहा छैन समयको यो सत्यतालाई स्विकार्नुलाई प्रेमको शास्त्रले कसरी परिभाषित गर्छ, सायद सच्चा प्रेम पो मान्दैन की तर म यसलाई यात्रा मान्छु । किनाराको यात्रा । जसमा रहने डोबहरु  किनारामा जस्र्तै अजम्बरी नबन्न सक्छन् । न म तिमीलाई अजम्बरी बनाउँँन चाहन्छु न आफूलाई न हाम्रो प्रेमलाई नै । मलाई लाग्छ सधै बगिरहने  नदि , सधैँ फूलिरहने फूल र हावाजस्तै  मैले तिमीलाई आफ्नो ठान्नु वा प्रेम गर्नु मानव अस्तित्व कुनै अनौठो भूल होइन । यो त हिजो पनि थियो  र भोली पनि रहिरहने छ । बस् तिमी र म रहनेछैनौ ।

मैले तिमीलाई प्रेम गर्छु पनि भन्न सक्थें तर मलाई लाग्यो प्रेम गर्छु भन्नु र प्रेमलाई अनुभूत गर्नु दुई भिन्न क्रिया रहेछ । मैले प्रेमको अनुभूत त गरेँ, तर तिमीलाई नै गरेँ म भन्न सक्दिन । सायद तिमीलाई आफ्नै प्रतिबिम्ब ठाने र आफैलाई प्रेम गरेँ । आज समयको यो अनौठो अन्तरालपछि  म तिमीलाई भुल्न पनि सक्थें । अथवा तिमीलाई एउटा नमिठो सपना ठानेर गालि पनि दिन सक्थें तर म त्यो गर्न सक्दिन ।  तिमी म भित्रको एउटा त्यस्तो यात्रा हौ जसलाई सम्झिनु मात्र पनि मेरो लागी आफैले पुनारोर्विति गर्न मिल्ने एउटा प्रेमिल यात्रा हो । अब त बिसर्नको लागि हजारौ र सम्झनको लागी थोरै चिजहरु मात्र छन् मसँग । सदाझै किनाराको यात्रा रोजेको छु कस्तो डोबहरुलाई सोध ।

Sunday, January 28, 2024

काठको पुतली



“अब तिमी ठूली भयौ यस्तो खेल्नु हुन्न । पुतलीसँग खेली राख्यौ भने तिमी कहिल्यै ठूली हुनेछैनौ” आमाले मेरो हातको काठको पुतली फालीदिँदै भन्नुभयो । “ तिमी त अप्सरा हौ, तिम्रो नाम पनि त अप्सरा हो । अप्सराहरु आफैँ पुतली हुन्छन् पुतली खेलाउँदैनन् ।” फेरी आमाले थप्नुभयो ।

म कक्षा सातको परीक्षा दिएर घरमा बसेकी थिएँ । म सँग बर्षौ देखी एउटा काठको पुतली थियो । साथमा उसका  लागि .....आमाका साडीका टुक्राहरु .......... साथमा अंगार..... कमेरो र रातो माटो  पनि थियो । उ मेरी सखी थिइ । म उसँग कसैले नदेख्ने गरेर गफ गर्थे । उ मेरो लागि सबै थिइ । कहिलेकाही बैनी ठानेर सिँगार पटार गरिदिन मिल्ने । कहिलेकाही सखा ठानेर गफ गरिदिन मिल्ने । कहिलेकाही आफैँ ठानेर आफैँ बनिदिन मिल्ने ।

आमालाई केही बर्षदेखी मैले पुतली खेलाएको मन पर्दैनथ्यो । म नछुनी हुन थालेपछि झन् मनपर्न छोडेको थियो । पहिलेपहिले म जाँतो पछाडिको सानो कोठीमा बसेर खेल्ने गर्थे । तर आमाको गालि खान थालेपछि काठको पुतलीलाई मैले मेरै खाट मुनी राख्न थालेँ । आमा मेलामा गएको बेलामा मलाई रमाइलो लाग्थ्यो । म उसँग खेल्न पाउँथे । आमाको आँखा छलीछली पुतलीसँग खेल्ने बानी मेरो गएको थिएन ।

आमाले पहिलेपहिले त खेलेको देखेर पनि नदेखेझै गर्नुहुन्थ्यो । तर खै किन किन  सात कक्षाको परीक्षा दिएपछि आमालाई मेरो पुतली देख्दै रिस उठ्न थाल्यो । खै किन त्यसपछि आमा सधैँ रिसाउँन थाल्नुभयो ।  आमालाई सबै देखेर रिस उठ्थ्यो मेरो पुतली देखेर मात्र पनि होइन । बासँग पनि आमा झनै रिसाउँन थाल्नुभएको थियो । कहिलेकाही आधा रातमा म बिउँझदा आमा र बा ठूलोठूलो स्वरमा कराएको सुन्थेँ । 

एकपटक निद्राबाट बिउँझेको बेला बाले भनेको सम्झन्छु, “ तेरै कारणले मेरो मन बिथोलिएको हो, यस्तै गरिस् भन,े म पनि कुन दिन घर छाड्छु मैलाई थाहा छैन ।” पहिलेझै बाआमा गफ गर्न छोड्नुभएको थियो । घरमा पहिलेझै बाआमाको हाँसिखुसी अनुहार त्यसपछि मैले कहिल्यै देखिन ।

बाआमाको झगडाले म झन् एक्ली भएकी थिएँ । बासँग केही भनु बा झर्किने । आमासँग केही भनु आमा झर्किने । बरीपरी अरु घर थिएनन् । एउटा भएको पुतली पनि आमाले फालिदिइ सक्नुभएको थियो । पारी पाखा पात बजाउँनेको बाहेक मैले अरु कसैको सुरीलो स्वर घरमा सुन्दैनथेँ । एउटा भएको दाइ पनि  एसएलसी दिएपछि काठमाडौँ गैसकेको थियो । कहिलेकाही आएको बेलामा पनि मसँग धेरै बोल्दैनथ्यो  ।

स्कुलमा पनि मेरा धेरै साथी थिएनन् । म मोटी भएकाले मलाई अप्सरा भनेर कोहीकोही ले मात्र बोलाउँथेँ । प्राय साथीहरुले मात्र होइन सरहरुले पनि मलाई मोटी नै भन्नुहुन्थ्यो ।  म पढ्न जान्नेनै थिएँ । मलाई म्याथ र साइन्स बिशेष मनपथ्र्यो ।  त्यसमा पनि अल्जेबरा अझै मनपथ्र्याे । थाहा छैन किनकिन मलाई अरुले मन नपराउँने मन नपराउँने चिज मनपथ्र्यो । अरुलाई नेपालीका कविताहरु मनपथ्र्यो । देबकोटाको यात्री कविता ठूलो ठूलो स्वरमा सुनाउँथे । तर मलाई नेपालीका कविता कहिल्यै मनपरेन । मलाई गणितका सुत्रहरु मनपथ्र्यो । मलाई गणितका सुत्रहरु कविताभन्दा बढी मनपर्थे । 

तर मलाई मेरो काठको पुतली असाद्वै मनपथ्र्यो ।  त्यो मसँग मैले थाहा पाएदेखी थियो । मलाई कहिल्यै लागेको थिएन कुनै दिन त्यस्तो आउँनेछ जुन दिनदेखी मैले आफ्नो पुतली पनि फाल्नुपर्नेछ । पुतली फालेका केही दिनहरु मेरा लागि रमाइला थिएनन् ।  म सँग मैलाई सुनिदिने उ बाहेक अरु कोही थिएन । म उस्लाई गुमाउँन चाहदैनथे । तर मैले चाहेझै केही भएन । केही पटक सम्झाउँदा पनि नलागेपछि एक दिन मेरो त्यो काठको पुतली आमाले अँगेनामा हालीदिनुभयो ।  सायद त्यो उसको अन्तेष्टी थियो मान्छेको जस्तै । र आमाले मतिर नहेरी भन्नुभयो , “अब देखी फेरी यस्तै खेलेको देखँ भने मैले जानेको छु । छोराछोरी खेलाउँने उमेर भैसक्यो पुतली खेलाउँछे ।” 

त्यसपछि मैले अर्को पुतली बनाउँन चाहिन । मलाई अरु कुनै काठको टुक्रा फेरी उ जस्तै अर्को पुतली बन्न सक्छ जस्तो कहिल्यै लागेन । मेरो पुतली जलेपनि त्यसले मात्र मेरी आमाको रिस शान्त पार्न सकेन । किनकिन बाआमाको सम्बन्ध पहिलेझै कहिल्यै भएन । बा र आमा बुढाबुढी झै त्यसपछि मलाई कहिल्यै लागेन । बिस्तारै उहाँहरुको ओछ्यान फरक हुन थाल्यो । अल्लि पछि कोठा पनि । दाइ आएको बेला अलिअलि मिलेझै गरेपनि अरु बेला उहाँहरु राम्रोसँग बोलेको हाँसेको मैले कहिल्यै भेटिन ।

बाआमाको सम्बन्ध त्यसरीनै चल्दैथ्यो । थाहा छैन के भयो एक दिन बा बेलुका घर फर्किनुभएन । गाईबस्तु लिएर गोठालो जानुभएको बा बेलुका गाइबस्तु मात्र फर्के बा फर्कनुभएन । कतिले भने तेरो बाउ तेरी आमाको कचकच सहन नसकेर चितौनको गाडी चढेर गएको छ । कतिले भनेँ नजिकै मस्याङ्दीको बगरतिर गाइबस्तु लगेको थियो हाम्फाल्यो होला । त्यस दिन रातभर आमाले र मैले  बालाई कुर्यौ र तर बा आउनुभएन । “मसँग रिसाएर गएका हुन् तेरा बा दुईचार दिनमा फर्कन्छन्” आमाले भन्नुभयो । भोलीपल्ट दाई आयो, पुलिस रिपोट लेख्यो, आफन्तलाई खबर गर्यो । तर हराएका बा फर्केनन् । आमा निराश भएझै त गर्नुभयो तर जति हुनुपर्ने थियो हुनुभएन ।

बा नफर्केपछि झन् घर निराश भयो । झन् म एक्ली भएँ । दाई काठमाडौँ तिरै जागिर खान थाल्यो । आमालाई घर धन्दाले फूर्सद हुन छाड्यो । तर बा नभएकोमा आमालाई कुनै गुनासो थिएन । एक तमासले काम गनुहुन्थ्यो । स्कुलका साथीहरुले मलाई साथी ठान्दैनथे । उनीहरुको लागि म अप्सरा होइन मोटी थिएँ । उनीहरु मुखै भन्थे “यस्ती मोटीलाई साथी भन्नेकी हात्ती भन्ने” । मैले जाँचमा सिकाइदिन भने उनीहरु  मलाई हात्ती भनेर बोलाउँथे । त्यसैले मलाई किताबको पानाहरुमा भेटिने हात्ती पनि मन पदैनथ्यो । म देख्ने बित्तिकै अर्को पाना पल्टाइहाल्थेँ ।

बा नभएपछि आमाको आफ्नै सुर थियो । मेलापाता गर्ने साथी थिएँ । कहिलेकाही गाउँको एसटिडी फोनमा गएर बोल्ने सानीमाहरु थिएँ । घर भएका बेलामा गाली गर्ने र थर्काउने गाइबस्तु र म थिएँ । तर मेरा कोही त्यस्ता थिएनन् । साथीहरुले साथी मान्दैनथेँ वा साथी लायक ठान्दैनथेँ । आमाले केटाकेटी ठानेर सुखदुख साट्नुहुन्थ्यो । 

बिस्तारै बर्खा लाग्यो । फेरी हिउँद लाग्यो । बर्खामा नफर्केपनि हिउँदमा बा फर्कनुहुन्छ कि भन्ने थियो । तर बाको अत्तोपत्तो भएन । आमाको एकसुरको जिन्दगी चलिराख्यो । बेलाबेलामा खोइ किन हो अल्लि बढी सुस्केरा हालेको हो कि भन्ने लाग्थ्यो । तर बाआमाको सम्बन्धमा के समस्या थियो आमाले कहिल्यै भन्नुभएन । मैले सोध्न सकिन । दाइ आएको बेला अल्लि घरमा चहलपहल बढ्थ्यो । तर उ पनि धेरै बस्न पाउँदैनथ्यो । भर्खरै १२ कक्षा भ्याएर बोडिङको मास्टर भएको थियो । बिदा कम पाउँथ्यो ।

यसरी नै कक्षा नौ सिद्वियो । यसरी नै कक्षा दश सिद्वियो । बा फर्कनुभएन । आमालाई फूर्सद भएन ।  दाई काठमाडौतिरै हरायो । साथीहरुले र सरहरुले हात्ती र मोटी बन्न छाडेनन् । कविता कथातिर मन फर्केन । 

बा हराएको पनि दुई बर्ष भैसकेछ  । एसएलसी मा फ्रस्ट डिभिजनमा पास भएकी छु । थाहा छैन अब म कहा पढ्ने हो के पढ्ने हो । आमालाई सोधौ केही थाहा छैन । बा भएको भए केही भन्नुहुन्थ्यो होला बा हुनुहुन्न । दाई भन्छ यहि स्कुलमा पढँ । एजुकेसन पढेपछि जागिर पाउँन सजिलो हुन्छ ।

मलाई मास्टर बन्न मन छैन । मलाई सेतो एप्रोन लगाएर ल्याबमा जान मन छ । तर म जिद्वि गर्न सक्दिन । आमालाई तपाईसँग बस्न मन छैन भन्न सक्दिन । मलाई पुराना साथीहरुसँग फेरी साथी हुन मन छैन । त्यही मस्र्याङ्दीका सुस्केराहरु फेरी सुन्न मन छैन । सायद त्यही काठको पुतली भएको भएको भए पनि म उसँलाई यो कुरा भन्ने थिएँ । उ पनि मसँग छैन ।

आमा मेरो एसएलसीको नतिजाले खुसी त हुनुहुन्छ तर मलाई स्याबास् भन्नुहुन्न । उहाँ मलाई रुखी लाग्छ । कहिलेकाही लाग्छ, त्यही रुखोपनका कारण बाले घर छोड्नुभयो । त्यही रुखोपनले मेरो पुतली जल्यो । त्यही रुखोपनको कारण बाको अभिभाकत्व गुम्यो । तर आमाको अगाडि मेरो सात्तो जान्छ । आमासँग मेरो धेरै गुनासो छ । सबैभन्दा धेरै गुनासो मेरो पुतलीलाई जलाइदिएकोमा छ । तर म उहाँसँग यो कुरा भन्न सक्दिन । 

पुतलीलाई फाल्नुअघि आमाले भन्नुभएको थियो तिमी पनि पुतली हुनेछ्यौ । आजकाल  मलाई पनि कहिलेकाही म पनि काठको पुतली नै  हो कि जस्तो लाग्छ । न उ स्वतन्त्र थिइ न म छु । अप्सरा, पुतली आमाले भनेका शब्दहरु सम्झन्छु  । सायद आमाले भनेझै हामी सबै मेरो काठको पुतली नै पो हौ की ?

रुपि कौरको “होम बडी” शरीररुपी घरको एक विम्बात्मक चित्र



मलाई थाहा थिएन ऊ को थियो

हुनसक्छ एक बलत्कारी जसलाई मैले पर छोडेँ

वा मैले एक अपराधीलाई प्रेमी माने 

उसले मलाई छोड्यो 

वा मैले अर्कोलाई भेटेँ

र उसलाई गुमाएँ

हुनसक्छ........ त्यो प्रेम थियो

वा मैले पाएको बिछोडको उपहार 

वा............

त्यो सब जो एकैसाथ मलाई मिलेको थियो ।

–जहाँबाट नैराश्यता सुरु भयो , रुपि कौर

नैराश्यतालाई ब्यक्त गर्न सजिलो छैन अझ विम्बमा । भोगाइको हिसाबले आधुनिक समाजमा नैराश्यताको उपस्थिती एक पुरानो दोहोरिरहने विम्बझै लागे पनि कवितामा यसको उपस्थिती खासै धेरै भेटिदैन । नैराश्यताको शुष्म स्वरुपलाई ब्यक्त गरिएका माथीका हरफहरु रुपि कौरको पछिल्लो कविताकृति “होम बडी” बाट लिइएको हो । किताबमा उनी मानव शरीरलाई घरसँग तुलना गर्छिन् जसले पाठकलाई शरीररुपि घरको कवितात्मक यात्रा गराउँछ । नैराश्यता, खालीपन, यौनर्दूब्यबहार, प्रेम, सम्बन्ध, मानव जीवनका यी यस्तै आयामहरुलाई उनले पुस्तकमा घरकै बिम्बको वरीपरी रहेर ब्याख्या गरेकी छन् । धेरैले भोगेका तर बोल्न हिचकिचाएका यी अनुभबजन्य तहहरुलाई उनका कविताले पत्रपत्र केल्याएका छन् ।

अंग्रेजी पत्रिका “ग्राडियन” मा प्रकाशित एक आलेखमा जे ग्रिफथले भनेका छन् – कविताले नैराश्यतालाई कम गर्न सहयोग गर्छ । उनी लेख्छन्, “ म प्राय कविता लेख्दिन । तर जब म नैराश्यतासँग जुध्दै थिए त्यो समय मैले कविताबाहेक केही लेखिन ।” थाहा छैन उनका यो पुस्तक ग्रिफथले भनेझै नैराश्यतामा पर भाग्ने औसधी थियो वा यसलाई ब्याख्या गर्ने प्रयास । तर यो प्रयासले मानव शरीरमा देखापर्ने नैराश्यताको एक्लो, मौन तर चर्को कोलाहलसँग केही परिचित भने पक्कै बनाएको छ ।  

मूलतः कविताको किताब भएपनि कविता सँगसँगै कविले उहि बिषयबस्तुमा कोरेका स्केच पनि पुस्तकमा  भेटिन्छन् । जसले पाठकलाई भिन्न कलाबिचको अनौठो कलेवरसँग परिचित गराउँछ । उनले प्रत्येक कवितालाई शिर्षक दिएकी छैनन् तर पुस्तक मूल रुपमा चार भागमा बिभाजीत छ । जसले हामीलाई कविले देखाउन खोजेको अथवा भन्न खोजेको संसारको छनक दिन्छ । माइन्ड, हाट , रेस्ट र अवेक्क नामाकृति चार भागहरुमा उनी शरीररुपी घरका आशा, भरोसा र निराशाका पहेलीहरुलाई कविताकै भाषामा अभिब्यक्त गर्छिन् ।

पुस्तकमा कविताका साथसाथै त्यससँगै गासिएको उनको अनुभव पनि सटिक रुपमा  प्रस्तुत गरीएको छ । नैराश्यता र एकप्रकारको खालिपनले मानिसलाई  कसरी आफ्नै शरीरबाट आफू अलग हुँ भन्ने अनुभूत गराउँछ भन्नेबारे उनी लेख्छिन्, “ जब आफ्नो शरीर आफ्नो लाग्दैन, आफ्नो शरीरमा आफेै अपरिचित अनुभव हुन्छ  । तब  आफ्नै जीवन टेलिभिजन स्क्रिनमा  हेरेजस्तो महशुस हुन्छ ।” यस्ता ब्यक्तिगत अनुभब भन्न  सजिलो छैन । तर उनले  यस कृतिमा यी यस्तै काव्यिक कठिनाइहरुलाई सजिलै छिचोलेकी छन् ।

जसरी नैराश्यलाई शब्दमा ब्यक्त गर्न सजिलो छैन त्यस्तै यौन र्दुब्यबहारलाई पनि । भित्रभित्रै दबिएको त्यो शारीरीक र मानसिक कोलाहललाई उनले खुलेर पोखिदिएकी छन् । उनी आफ्नो ब्यक्तिगत अनुभवलाई यसरी व्यक्त गर्छिन्, “ बाल्यकालमै यौन र्दुब्यबहारको सिकार हुनु मेरो जीवनको सबैभन्दा अबोधगाम्य अनुभव बन्यो ।  यौनलाई कुनै पूर्वजानकारी बिना बुझ्नुले मलाई धेरै बिथोल्यो त्यसबारे सजक बनाउनुको सट्टा ।” उनका यी यस्तै अनुभूतिहरु – नैराश्यता, खालिपन र यौन र्दुब्यबहारलाई कविताका ब्यक्त गर्न सफल बन्नुले किताबको पहिलो भाग “माइन्ड” लाई अझ महत्वपूर्ण र पठनिय  बनाएको छ ।

यदि कसैसँग हृदयनै छैन भने

तिमी उसलाई नजिकको ठानेर 

आफ्नो दिन सक्दैनौ ।

 पुस्तकको दोस्रो भागलाई “हाट” (हृदय) भनेर नामाकरण गरिएको छ । जसमा माथिको कवितामाझै प्रेम र प्रेमको नाममा भेटेका अपमानजनक सम्बन्धका र त्यस्ता सम्बन्धका अनेकौ मोडहरुलाई प्रस्तुत गरिएको छ  । उनी लेख्छिन् –

मलाई नसोध 

मैले उसलाई किन छोडिन भनेर

उससँगको सम्बन्ध यति साघुरो थियो की

मैले बाहिर निस्कने ठाउँ नै भेटिन ।

माथीका हरफहरुमाझै सम्बन्धको नाममा साघुरिएका र हिंसात्मक बनेका प्रेमका प्रसङ्ग र त्यसमाथी उनको बिद्रोही चेतले पाठकहरुलाई आधुनिक समाजका कुरुप सम्बन्धसँग परिचित गराउँछ । सम्बन्ध, प्रेम, आफूले आफैलाई गर्ने आत्माप्रेम जस्ता बिषयको बाहुल्यता रहेको दोस्रो भागमा यी बिषयमाथि कविको गहिरो आत्माआलोचना र चिन्तन भेटिन्छ । जस्तो कि 

किन सबै कुरा

कम सुन्दर बन्छ 

जब त्यो आफ्नो बन्छ ।

यी कबिताका तीन लाइनहरुले भन्न खोजेको र भन्न नसकेका सबैकुरा भनिदिन्छन् । अर्को त्यस्तै एक लाइनको कविता उनी बिनासंकोच लेखिदिन्छीन, “हस्तमैथुन भनेको ध्यान हो” भनेर ।  जसले महिलाको शरीर र त्यसमाथी बिध्यमान रहेका पूर्वनिर्धारित कयौ घेराहरुलाई तोडिदिन्छ । कवितामार्फत उनले यसरी तोडिदिएकी छन् लाग्छ यो कुनै सांसारीक मोहमायाबाट दिक्षित भिक्षुणीको उन्मूक्त अभिब्यक्ति हो ।

प्रेम र महिलाको शरीरमाथीका अनेकौ किस्साका साथसाथै प्रेम र सम्बन्धमा पनि किन आत्मासम्मान आवश्यक छ भन्नेबारे उनका कविताहरु खुलेर बोल्छन ्। उनी लेख्छिन्

म त्यस्तो बहाना गर्ने छैन

जसले मलाई भएभन्दा कम विद्धान देखाउनेछ

ताकी कोही पुरुष 

मेरो नजिक हुँदा सहज महसुस गरोस्

ऊ जसको लागी म योग्य छु

उसले त त्यसलाई मेरो खुबी मान्नेछ

र अझै माथी पुर्याउन खोज्नेछ ।

यी–यस्तै बिषयबस्तुले उनका कबितालाई खास बनाएको छ । धेरैले छोडेका, भन्न बिर्सेका, अथवा भन्न उचित नसम्झेका प्रेमका, सम्बन्धका र सम्बन्धको नाममा भएका हिंसाका किस्सा किताबको दोस्रो भागमा भेटिन्छ ।

किताबको तेस्रो अंश जसलाई “रेस्ट” आराम भनेर नामाकरण गरिएको छ । यसमा जीवनमा किन सबै चीजबाट आराम वा अलिकति दुरी आवस्यक छ भन्ने भावका कबिताहरु भेटिन्छ ।  उनी सुरुवात यसरी गर्छिन् –

मसँग कति वर्षहरु छन् 

जो अनिदा छन् ।

बर्षहरुलाई अनिदो भनेर सम्बोदन गर्नुले अहिलेको युगको भागदौडलाई इङ्कित गर्छ । आधुनिक समाजमा कामका पछाडि दौडदा किन हामी आफैलाई भुलिरहेका आफ्नाहरुलाई भुलिरहेका छौ कवि लेख्छिन्, “उत्पादनशील हुनु भनेको कहिले आराम गर्ने भन्ने बुझ्नु हो” । आराम र यसको आवश्यकता कुरा गर्दा कविले यससँग मानव उत्पादनशील र सृजनशीलतासँग पनि जोडेकी छन् ।

म आफ्नो जीवन आफ्नै तरिकाले जीउँछु भन्दा पनि कसरी आफ्नो जीवन सार्थक बन्यो भनेर प्रमाणित गर्न आत्तुर अहिलेको संसारलाई उनको कविता एक पाठ बन्न सक्छ ।  उनी कवितामै भन्छिन्, “म केबल पूर्ण छु किनकी म अपूर्ण छु” । यस्तै अर्को कवितामा उनी जीवनको अपूर्णताबारे यसो भन्छिन् 

मलाई पूर्णताको मतलब छैन 

बरु म जीवनरुपी उल्झनहरुमा

गुटुमुटु भइदिन सक्छु ।

जीवनका यी शुष्म पाटाहरुलाई उनका शब्दहरुले निकासका बाटाहरु देखाएका छन् । नैराश्यता, डर, चिन्ता, प्रेम, बिछोड सुन्दा सामान्य लाग्ने यि विषयमाथि उनको आत्माआलोचना र बेप्रबाह बिमर्शले जीवनको प्रेमिलता र कठोरता दुबैको अन्तिमबिन्दुसम्म पाठकलाई पुर्याउछ । तथापि यसरी नै जीउनुपर्छ जीवन यस्तो नै हुनुपर्छ भन्ने लाग्नेहरुलाई उनका कविता तरल र अमूत जस्ता पनि लाग्न सक्छन् ।

अब कुरा गरौ पुस्तकको अन्तिक र चौथो अंश बारे । जसलाई “अवेक्क” भनिएको छ यसलाई नेपालीमा जागेको अथवा ननिदाएको अथवा सुसुजित  भन्ने बुझिन्छ । यस अंशमा उनी बिद्रोह, शरीर र आफूले आफैलाई प्रेम गर्नुपर्छ भन्नेबारे बोल्छिन् । उनी लेख्छिन्

भविष्य..........

हाम्रो सपनाको संसार

इतिहासको कुरुपतामा 

अडाएर बनाउन सकिँदैन ।

यसलाई च्यात

कविको रुपमा यस अंशमा उनको उपस्थिती अल्लिबढी साधुसन्तको जस्तो रहेको छ । तथापी जीवन र जगतका अमूर्त विचारधारामा मात्र उनको काम सिमित भने कदापी छैन । शरीर कसरी कुनै ब्यक्तिको लागी पहिलो घर हो भन्ने कुरा यस भागमा बढी भेटिन्छ । जस्तो कि

म आफ्नै शरीररुपी कुवामा हाम फाल्छु

र अर्कै संसारमा पुग्छु 

मलाई जे चाहिएको छ 

त्यो त म भित्रै छ 

मलाई अन्त खोजीराख्न 

आवश्यक नै छैन ।

घर

पुस्तकको अन्तिम, यस भागमा “होम बडी” भनेर जसरी नाम दिइएको छ त्यस नामको सार्थकता महसुस हुन्छ । कवि भन्छिन्, “तिमी तिम्रो आत्मा हौ, संसार हौ, हृदय हौ । तिमी कहिल्यै एक्लै छैनौ । तिम्रा अंग, प्रत्यङ्ग, छाला, रगत सबै सबै चमत्कारीक रुपमा तिमीसँगै जोडिएका छन् ।” यो पढि सकेपछि हामीलाई पाठकको रुपमा कसरी हाम्रो शरीर नै हाम्रो घर हो भन्ने कुराको सार्थकता सहसुस हुन्छ ।

शरीर र राजनिति, शरीर र नारीवाद र मातृत्व प्रेम, बिद्रोह जस्ता बिषयले पुस्तकको अन्तिम अंशलाई अझ विषेश बनाएको छ । उनी भन्छिन्,

मलाई त्यो नारीवादमा चासो छैन

जसले महिलाको शरीरलाई सुन्दैन ।

उनको नारीवाद नारामा सिमित नारीवाद जस्तो छैन ।  नारी शरीरलाई नबुझी नारीबादको कुरा गर्नु ब्यर्थ छ , उनी कवितामै भन्छिन् आफ्नो शरीरलाई सुन, आफूलाई सुन , आफैलाई प्रेम गर तर आफ्ना आवाजहरुलाई नरोक –

कराउ

भन जे तिमीलाई भन्नु छ 

आफ्नो जीवनलाई पूर्नदावी गर्नु राम्रो हो 

यसरी हेर्दा यदाकदा उनका कविताहरु नारा जस्ता पनि लाग्न सक्छन् तर ति नाराजस्ता कविताहरुले पनि सृजनशीलताको र नबिनताको बाटो छोडेका छैनन् ।

आफ्नो लागी प्रेम गर, हृदयलाई सुन, तिमी आमा हौ, एक जादुगर र तिम्रो जीवनको मालिक कविताका यी स–साना अंशहरु जसलाई छुट्टाछुट्टै पढ्दा पनि उनको काब्यिक कौशलताको महशुस हामीलाई हुन्छ । साथै उनको यस पुस्तकमा जसरी शब्दमा बोल्न अप्ठ्यारा बिषयहरु  नैराश्यता, यौन र्दुब्यबहार, खालीपन, प्रेमलाई सजिलै बिम्बमा बोलेकी छन् यसले उनलाई कबिको रुपमा अझ माथिल्लो स्थानमा पुर्याएको छ ।

“होम बडी” नामको हिसाबले सार्थक कृति हो जसमा कविले शरीरलाई घरररुपी विम्बमा उभ्याएकी छन् । उनका अघिल्ला कृतिहरु भmै यसले पनि पाठकलाई भोगेका तर कवितामा विरलै उठ्ने जीवनका स–साना अनुभूतिहरुलाई अझ नजिकबाट चिहाउने अबसर दिएको छ । शरीर र शारीरीक अनुभूतिहरुलाई आज पनि हामी बिरलै सम्बोधन गर्छौ तर कविको रुपमा उनको सम्बोधन लोभ्याउने किसिमको छ । यसका साथै महिला शरीर त्यसमाथी हुने कयौ पहेलीहरुलाई यसले सार्वजनिक बहसको चौघेराभित्र धकेल्न सघाएको छ । अन्त्यमा रुपि कौर उनका अघिल्ला कृतिहरुमा झै बिषयबस्तु र काब्यकि चेत दुबैका हिसाबले यस कृतिमा पनि अझ प्रखर अझ मिहिन ढङ्गले प्रस्तुत भएकी छन् ।

Sunday, January 21, 2024

एक्ली छोरी

 

सान्द्रा सिस्नेरोज

यो लेखकको आफ्नै कथा हो, सान्द्रा सिस्नेरोजको कथा । लेखकको आफ्नै कथाले आप्रवासी, गरिव र  छ छोराहरु भएको परिवारकी एक्ली छोरी भएर लेखक बन्न चाहनु के रहेछ भन्ने बुझाउँछ । ब्यक्तिगत कथामात्र जस्तो  लाग्ने यस निबन्धको आयातन भने हामीले सोचेझै साघुरो छैन । यो आशा, निराशा र भरोसामा उभ्भिएको अक्षरको कथा हो । यस निबन्ध सन् १९९० मा ‘ग्ल्यामर’मा पहिलोपटक प्रकाशित भएको थियो ।

धेरै वर्ष पहिले जब म आफ्नो लेखन यात्राको सुरुवाती क्रममा थिएँ,  मलाई आफ्नै परिचय लेख्न भनियो । कथासंग्रहको लागि, जसमा मेरा कथाहरु पनि राखिएका थिए । मैले लेखेँ, “म छ जना छोराहरु भएको परिवारकी एक्ली छोरी हुँ ।”

अनि फेरी सोच्न थालेँ , हो यसले मेरो बारेमा धेरै कुरा भन्छ तर पाठकको लागी मैले लेख्नुपथ्र्याे, “म छ जना छोराहरु भएको मेक्सिकन परिवारकी एक्ली छोरी हुँ ।” वा, “म मेक्सिकन बाबु र मेक्सिकन अमेरिकन आमाकी एक्ली छोरी हुँ” अथवा “म नौ जनाको गरीव परिवारकी एक्ली छोरी हुँ ।” यी सबै कुराहरुले आज म जे हुँ त्यो हुनुको महत्व राख्छ ।

म केबल एक्ली छोरी हुँ र थिएँ, मात्र एक्ली छोरी । छ छोराहरु भएको परिवारको एक्ली छोरी हुनुले  मलाई आफैंसँग समय बिताउँन बाध्य बनायो । किनभने मेरा दाजुहरुलाई लाग्थ्यो केटीहरुसँग बाहिर खेल्यो भने सानो भैइन्छ । त्यो एक्लोपन र एकाङ्कीपन हुनेवाला लेखकको लागी सहि थियो । जसले मलाई सोच्न, कल्पना गर्न, र पढ्न रोकेन ।

मेरो बाको लागी एक्ली छोरी हुनु भनेको कसैको श्रीमती भएर अरुको घरमा जाने जात थियो । उहाँ त्यसैमा बिश्वास गर्नुहुन्थ्यो । तर जब म ५ कक्षामा पुगेँ मैले उहाँलाई म कलेज जाने योजना सुनाएँ । मलाई लाग्यो उहाँले बुझ्नुभयो । अझै सम्झन्छु उहाँले भन्नुभएको, “धेरै राम्रो” । त्यो मेरो लागि धेरै ठूलो कुरा थियो किनभने मेरा दाजुहरुलाई मेरा सपनाहरु बकमफूसे लाग्थे । तर त्यो समय मलाई के थाहा थिएन भने उहाँले कलेज जानु केटीहरुको लागी राम्रो हो भन्नु मेरो बिहेका लागि केटा खोज्न सजिलो हुन्छ भन्नु रहेछ । चार बर्ष कलेज र दुई वर्ष बिश्वविध्यालयमा बिताएपछि पनि म अबिवाहित भएपछि मेरा बाले शिर निहुराउँदै मैले उहाको लगानी सबै खेर फालेँ भन्नुभयो ।

आज आएर बिगतलाई हेर्दा लाग्छ, म भाज्ञमानी रहेछु, । मेरा बाले छोरीहरु अर्काको घरमा जाने जात हो भन्ने बुझ्नुभयो । यसको मतलब मैले अंग्रेजीजस्तो हाँस्उठ्दो विषयमा उच्च शिक्षा हाशिल गर्नुले केही महत्व राख्दैन । अन्ततोगत्वा, मैले राम्रो जागीरे भेट्नुपर्छ, होइन र ? यसले मलाई मेरा छोटा कविता र कथाहरुलाई बुन्ने स्वतन्त्रता बिना कुनै अबर ोधे ।

तर सत्य केहो भने, म उहाँको अबरोध चाहन्थेँ । मलाई लाग्थ्यो मेरा बाले मेरो परिचय मेरी एक्ली छोरी, लेखक भनेर दिनुहोस् । मेरी एक्ली छोरी भनेर मात्र होइन । “उ पढाउँछे शिक्षक पनि हो, प्राध्यापक हो” म चाहन्थे उहाँको मुखबाट यी शब्दहरु पनि निस्कउन् ।

एकप्रकारले भन्दा मैले जे लेखेँ उहाँकै लागि लेखेँ । उहाँको स्विकृती पाउँन लेखेँ । मलाई थाहा छ मेराबाले अंग्रेजी  पढ्न सक्नुहुन्न । मेरा बाको अध्ययनमा केही मेक्सिकन पत्रिका र म्याग्जिन पर्छन साथै फोटो भएका केही अघुउपन्यास जसमा बियोग र त्रास पात्रका मुखबाट निस्कन्छन् ।

मेरा बा ती अधिकांस मानिसको प्रतिनिधि हो जसलाई पढ्न रुचि हँुदैन । र पनि म उहाँकै लागी लेखिरहेछु । सायद केही ब्यक्तिगत सुखको लागी ।

सिकागोमा हुर्कदै गर्दा बाको कारणले हामी धेरै घुम्यौँ । मेक्सिकोको सम्झनाले उहाँलाई सताउँथ्यो । उहाँकै लागि हामीले सिकागोको त्यो फ्ल्याट छोड्नुपर्यो । सबै फर्निचर र भाडाकुडा आमाका इस्टमित्रकोमा छोड्यौ र मेक्सिको गयौ ।

हामी फेरी फक्यौ । सिकागोको अर्को फ्ल्याटमा, फेरी अर्को छिमेकी , अर्को क्याथोलिक स्कुल । तर हरेक पटक मेरा बाले जब अर्को क्रिस्चियन सास्चरलाई भेट्नुहुन्थ्यो स्कुल फिको छुटको लागी र सदाझै कराउनुहुन्थ्यो मेरा सातजना छोरा छन् । 

उहाँको मतलब सातवटा केटाकेटी भन्ने हुन्थ्यो तर उहाँले त्यसलाई सातजना छोरा भन्नुहुन्थ्यो र सबैलाई सुनाउनुहुन्थ्यो जसले उहाँलाई सुन्छन् । हामीलाई लुगाधुने मेसिन बेच्नेलाई, अण्डा र रोटी बेच्नेलाई जसकोमा बा बिहानको नास्ता गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो मेरा सातजना छोरा छन् । यसरी भन्नुहुन्थ्यो लाग्थ्यो त्यहि कारण अमेरिकी सरकारले उहाँलाई पदक दिनुपर्छ ।

म ढुक्क छु , मेरा बाले त्यो गलत अनुवाद गरेर अरु केही भन्नुभएको थिएन । तर किनकिन त्यस बखत मलाई आफू मेटिएको महशुस हुन्थ्यो । म उहाँको बाहुला तान्दै भन्थें, “ सात छोरा होइन बा, छ छोरा एक छोरी ।”

जब ठूलो दाईले मेडिकल स्कुलको डिग्री लिनुभयो । उहाँले मेरा बाको सपना पुरा गर्नुभयो किनभने हामीले मेहनत गरेर पढ्यौ– हातको सट्टा दिमाग चलायौं । अहिले पनि मेरा बाका हात मोटा र पहेँला छन् काटिँ र हतौडाको इतिहासले थिचिएका । “यो प्रयोग गर” आफ्नो हात टाउकोमा राख्दै बाले भन्नुभयो र यो होइन भन्दै बाले आफ्नो हात देखाउँनुभयो । उहाँ सधैँ थाकेको देखिनुहुन्थ्यो यसो भन्दैगर्दा ।

के कलेज एक प्रकारको लगानी थिएन ? के मैले यतिका वर्ष कलेजमै बिताइन ? तर मैले बिहे गरिन, त्यो सबै बिहेकै लागि थिएन ? किन कोही कलेज पुगेर पनि गरिब बन्न चाहन्छ ? बिशेषतः त्यो जो सधै गरिब नै थियो ।

दश वर्ष ब्यबसायिक रुपमा लेखेपछि, गत बर्षबाट  आर्थिक इनाम पनि मेरो पछि लाग्न थाल्यो ।  मेरो दोस्रो सलग्नता सुरुभयो कलासम्बन्धी फेलोसिपमा साथै अतिथि प्राध्यापन क्यालिफोरनिया र बुक्रलिन बिश्वबिध्यालयमा । साथै मेरो किताब न्यूओर्क प्रकाशनगृहमा अनुबन्धीत पनि भयो ।

क्रिसमसको दिन म घर गएँ । घर पुरै घनकिएको थियो सदाझै आमाले प्रेसरकुकरमा पकाउनुभएको परिकारले । अनि सबैजना – आमा, छ दाजुभाई, उनीहरुका श्रीमती र केटाकेटी र अरु आफन्तहरु ठूलो स्वरमा बोलिरहेका थिए फिल्नी चलचित्रमा जसरी किनभने त्यो हामी हुनु थियो ।

म माथि बाको कोठामा गएँ । मेरो एउटा कथा भर्खरै स्पेनिसमा प्रकाशित भएको थियो सिकागो लेखनको एउटा सग्रहमा र म त्यो पुस्तक उहाँलाई देखाउँन चाहन्थेँ । जब बालाई हृदयघात भयो तबदेखि उहाँ खालि समयमा उत्तानो परेर ओछ्यानमा पल्टनुहुन्थ्यो । त्यही भएर मैले उहाँलाई खिर खाएर  फिल्म हेरिरहेको भेटेँ ।

ओछ्यान नजिकैको टेबलमा एक गिलास दुध थियो । साथै औसधीका केही गोलीहरु पनि थिए । र भँुइमा कालो मोजा र पिसाबको पास्टिक थियो जो म हेर्न चाहन्नथेँ । फिल्ममा गीत घन्किरहेको थियो र बा हाँस्दैहुनुहुन्थ्यो ।

मलाई थाहा छैन  मेरो कथा स्पेनिसमा अनुदित भएर हो वा  मेक्सिकोबाट प्रकाशित भएर, खोइ किन हो कुन्नि बाले रिमोटले आवाज कम गर्नुभयो  र कथा पढ्न थाल्नुभयो ।

उहाँ नजिकैको अर्को पलङ्मा म बसेँ । उहाँले बिस्तारै पढ्नुभयो । लाग्थ्यो उहाँ प्रत्येक शब्द शब्द पढ्दै हुनुहुन्छ ।  प्रत्येक हाँस्नुपर्ने ठाउँमा उहाँ हाँस्नुभयो र मन परेका वाक्यहरु स–स्वर पढ्नुभयो साथै उहाँ प्रश्न गर्नुहुुन्थ्यो – किन यहाँ यस्तो ? मैले भने “हो” । तर उहाँ पढ्न रोक्किनुभएन । 

जब पढेर सिध्याउनुभयो, केही घण्टापछि मलाई हेरेर भन्नुभयो, “ इस्टमित्रको लागि अरु केही पुस्तकहरु कहाँ पाइन्छ ?”

यी सबै अद्भूत चीजहरु गत बर्ष मेरो जीवनमा भए । तर अन्तिम चाहि अझ बिशेष थियो ।

भन जे तिमीलाई भन्नु छ– पूर्नदावी


  पुसको महिना काठमाडौँ अप्रिय लाग्छ । चिसा दिनमा चिसोपनलाई नै साक्षी राखेर कहि कतै बरालिउँ झै लाग्छ । पुस १३ मा थाहा छैन किन दुई दिनको बिदामा काठमाडौँमै बिताउँझै लागेन । बिहान लिनुपर्ने आफ्ना कक्षाहरु भ्याएँ ममिलाई भने घर लाउँछु । ममिले भन्नुभयो बिदा भयो र ! होइन त्यसै पन्ध्र पुस मनाउँन । छोरीको घर आउँने खबरले सायद ममि खुसी नै हुनुभयो । 

एक दिनपछि पन्ध्र पुस थियो । गुरुङहरुको लोसार, लोसारमा घरमा जानु भनेको बर्षौ सम्म नदेखेको लोसार झाकीँ हेर्नु पनि हो । त्यसको लोभ पनि थियो । घर गएँ । पुस १४ को दिन मेरो चिनजानको एकजना साथी उतै हुनुहुन्थ्यो । एकपटक भेटौ भन्ने लाग्यो । भोलीपल्ट बिहानै ममिलाई भने दिउँसो एकपटक बेशिशहर जान्छु है साथीलाई भेट्नु छ । पहिले ममिलाई लाग्यो होला केटी साथी हो । पछि सोध्नुभयो केटी कि केटा ? मलाई लाग्थ्यो मेरी आमा अल्लि उदार छिन्, उ बेला गाउँकै सबैभन्दा धेरै पढेकी पढाउँने मान्छे । “केटा साथी” मैले भने । ममिको अनुहार अध्यारो भयो । मैले आफ्नी आमाको त्यती अध्यारो अनुहार कहिल्यै देखेको थिइन । “नजा भन्न सक्नुभएन जा पनि भन्नुभएन । अनि एकछिन पछि भन्नुभयो “काठमाडौँमा जे गर गर तर यता केटाहरुलाई नभेट” । ममिको यो वाक्यले चसक्क भिज्यो । रिस पनि उठ्यो । “किन नभेट्ने”े अल्लि ठूलो स्वरमा भने । त्यसपछि केही भन्नुभएन तर अनुहार उज्यालो भएन । म साथीलाई भेट्न त गएँ तर उहाँसँग बिताएका दुई घन्टामा आमाका दश वटा फोनकलहरु आए । पहिलोपटक जीवनमा नराम्रोसँग बाधिएको महसुस भयो । 

घर छोडेको सत्र बर्ष भै सकेछ । यतिका बर्षहरुमा मलाई घर यतिखेर आइज यसलाई नभेट भन्ने कोही रहेनछ । मैले कल्पना गरेको समाज पनि त्यहि यर्थाथमा आधारीत रहेछ । घर छोडेका यतिका वर्षपछि पहिलोपटक बाआमाको घरमै रहनु भनेको कति कुरामा बाधिनु रहेछ भन्ने महसुस भयो । आफ्नै भुगोलले आफैलाई कति धेरै बाध्छ भन्ने पनि महसुस भयो । बेलुका घर फर्के । त्यही कुरा बुवालाई र भाइलाई भनेँ । बुवा ममिसँग रिसाउँनुभयो । भाई हाँस्यो । तर किनकिन आफैलाई फर्केर हेर्दा, आमा र आफूबिच कोसौको दुरी रहेको महसुस भयो । त्यो दुरी सजिलै मेटिने दुरी थिएन। आफ्नै हिसाबले बाच्न सामर्थ राख्ने लाग्ने छोरीप्रति त आमासँग समाजको यति ठूलो डर रहेछ भने स–साना नानीहरुका लागि घरको पर्खाल नाघ्नु सजिलो कुरा रहेनछ ।

घर बसेका भन्दा घर छोडेका बर्षहरु धेरै भैसकेँ । आफैँलाई फर्केर हेर्दा अब घर कुुन हो तेरो भन्दा भन्दा गाह्रो पर्ने दिन आइसकेछ । आमाका लागि आज पनि कोही केटीले केटालाई भेट्नु राम्रो काम रहेनछ । समाजको अगाडी चिच्याएर भन्न जति सजिलो रहेछ आफ्नालाई बुझाउँन त्यति गाह्रो काम रहेनछ । यदाकदा मलाई मुनाले भन्ने पनि गर्थिन् कहिलेकाही जे महसुस गर्छेउ त्यो ममिलाई भन । तर यतिका बर्ष मेरा आफ्ना मसिना कुराहरु साथीहरुलाई भनेको रहेछु तर ममिलाई कहिल्यै भनेको रहेनछु । सायद बाआमालाई लाग्यो पढ्दैछ सब ठिक चल्दैछ तर ठिकझै देखीने ठिक नभएको दिनहरुको साक्षी म आफू मात्र भएकी रहेछु ।

भन्न सजिलो छैन । आज पनि छोरी मान्छेको लागि स–साना कुरालाई दावी गर्नु पनि कम छोरीमान्छे वा बिग्रेकी छोरीमान्छेझै हुनु हो । जस्तो कि कसैलाई प्रेम गर्छु भन्नु, कसैलाई मन पराउँछु भन्नु, कसैसँग गफ गर्न चाहन्छु भन्नु वा कसैलाई चिया खान भेटौ भन्नु । हामीलाई सानैदेखी दावी गर्न वा एप्रोच गर्न सिकाईएको रहेनछ । आफूलाई मनमा लागेको कुरा भन्न पनि कसैको स्विकृति वा मौन स्किारोक्तिको जरुरत महसुस हुँदोरहेछ ।

कहिलेकाही लाग्छ समयसँगै धेरै बद्लियो तर कहिलेकाही लाग्छ समयसँगै केही बद्लिएको छैन । तर सायद अब आफैले आफैलाई दावी गर्ने समय आएको छ । सायद गरेनौ भने फेरी पनि भनिनेछ तिम्रो आफ्नो पहलमा कसैलाई भेट्नु, कसैसँग बोल्नु वा कसैलाई चाहनु तिम्रो भागको चिज होइन । सायद यो बोल्ने समय हो र आफ्ना खुसीहरु आफैँले दावी गर्ने समय पनि हो ।

Tuesday, January 16, 2024

भो म फर्किन चाहन्न

 

  स्कुलबाट फर्किदै छु । पानी परेको छ । छोरी र म एउटै छातामा छौँ । मेरो एक पाखो निर्थुक भिजिसकेको छ । “मामू आज घर गएपछि मम खाने है” । छोरी भन्छे म केही बोल्दिन । “हस् भन्नुस् न” उ फेरी जोड दिन्छे । म हुन्छ भनेझै गर्छु ।

कोठामा आइपुग्दा झमक्क साँझ परेको छ । बिहान पकाएका र खाएका भाडाहरु बेसिनमा त्यसै छन् । बाहिर केही मानिसहरु आएझै लाग्छ । किचनको झ्यालबाट हेर्छु । चिनेका तर चिन्न नचाहँने केही अनुहारहरु छन् । बाहिर उनीहरु कसैलाई सोध्दै छन् , “पुनम बस्ने घर यही होइन र ?” बाहिर कसैले हो भन्दैछ । उनीहरु सरासर भित्र पस्छन् ।  म उनीहरुलाई नदेखेझै गर्न सक्दिन ।

म किचन नभएर सुत्ने कोठामा लग्छु । नानी अलमलमा पर्छे । आएकामध्धे एउटीले भन्छिन्, “नानी मलाई चिन्यौ म तिम्रो ठूलोमामू !” छोरी अलमल्लमा परेर मलाई हेर्छे  म केही नभएझै गर्छु । म उनीहरुसँग चाहेर पनि सहज हुन सक्दिन । “यतिका समयपछि किन सम्झनु भयो?” म अरु कुनै भूमीका नबाधी सोध्छु । किनकिन म छोरीले सबैकुरा सुनोस् भन्ने चाहन्न । म उस्लाई बाहिर खेल्न पठाउँछु । “पुनम, खै के भन्ने तिम्रो गल्ति भन्न पनि म सक्दिन । तर कि घर फर्क कि डिभोर्स देउ । यसरी रमेशको जिन्दगी बरबाद नबनाइदेउँ ।” म केही भन्न सक्दिन । अचम्म लाग्छ । छोरी दश बर्षकी भै उसले देखेको छैन । बर्बाद त उसको जीन्दगी पो भएको रहेछ । 

“ म अहिले केही भन्दिन दिदी जानुस्” म बिनम्र भएझै गरेर आग्रह गर्छु । उनीहरु भन्छन्, “तिम्रो कुरा केहो भन, यसरी अड्काएर नराख” । म केही नबोलेपछि उनीहरु जान्छन् । उनीहरु गएपछि बाहिर खेलेकी छोरी एकाएक भित्र पस्छे । “मामू उनीहरु को हुन्, म उनीहरु तेरा आफन्त पर्ने हुन् भन्न सक्दिन ।”

  जब छोरी गर्भमा आएको ६ महिना भएको थियो रमेश जापान गएको थियो । उसलाई कमाउँनुपर्ने बाध्यता थियो । आफन्तहरु उसको निर्धोपनलाई हाँसाकोे रुपमा लिने गर्थे । गर्भकी छोरी बढ्दै थिई उ बिदेशीने दिन नजिकिँदै थियो । मैले उसलाई नजाउ पनि भन्न सकिन । बढ्दै गरेको सन्तानलाई केही राम्रो हुन्छ कि भन्ने मलाई पनि लाग्यो । जाने अघिल्लो दिन हामी दुबै नराम्ररी रोयौ । उ गयो । उ गएसँगै त्यो घरमा मेरा आफन्त नरहेझै भयो । 

ससुरा नभएकी बुढी सासुलाई समाल्दा समाल्दै म आफैले आफैलाई समाल्न गाह्रो भएको थियो । जाँदा करीव १५ लाख रिन लागेको थियो । रिन चाँडै तिरौ भनेर पनि होला उ मसँग पनि कम बोल्थ्यो औपचारीकता मात्र । मलाई लाग्थ्यो उ बेस्त भएर होला । बिहान के छ कहिले कलमा कहिले सानो म्यासेज र बेलुका त्यस्तै हामी दुबैले गर्ने गफ त्यती मात्र हुन्थ्यो । म थाकेकी हुन्थेँ । आफैँ देखीेँ घर देखी । तर थाहा थिएन किन ति स–साना म्यासेजहरु पनि खै किन पातलिन थाले । 

त्यस बिचमा मलाई आफ्नो कुरा भन्ने साथी चाहिएको थियो । अशोक, मेरो केटाकेटी देखीको साथी थियो । अरु खास केही थिएन तर आफ्ना कुराहरु हार्मी एक अर्कालाई भन्ने गथ्यौ । रमेशलाई पनि उ मेरो साथी हो भन्ने बिहे अगाडी नै थाहा थियो । नानी जन्मने समय भैसकेको थियो एकदिन बिहानै रमेशको फोन आयो । त्यसरी बिहानै धेरै पछि फोन आएको थियो म खुसी नै भएकी थिएँ । तर उ अचानक चर्को स्वरमा बोल्यो , “को को नाठो सँग बोल्छेस् । म नभएपछि रण्डी हुन मन लागेको हो” । उसको कुराले म भूइमा खसेझै भएँ । आँखाबाट आसु रित्तिए । रमेशले मलाई त्यसअर्घि  कहिल्यै त्यसो भनेको थिएन । उसले त मलाई तँ पनि मायाले कहिलेकाही मात्र भन्थ्यो । हामीले माया गरेर एकअर्काका भएका थियौ । मलाई कहिल्यै लागेको थिएन उसले मलाई कुनै दिन त्यस्तो भन्नेछ ।  त्यो दिन मैले उसको उत्तरमा केही भनिन । मलाई उसले किन त्यस्तो भन्यो भन्ने पनि थाहा भएन ।

केही दिन पछि मेरो चलिरहेको फेसबुक चल्न बन्द भयो । मेरो फेसबुक उसको र मेरो दुबैको मोबाइलमा लगइन थियो । त्यसपछि मात्र थाहा भयो उसले किन भनेको रहेछ भन्ने । त्यसपछि मैले सम्पर्क गर्ने कोशिस गरिन । कहिलेकाही के छ कस्तो छ भनेर आमालाई फोन आउथ्यो । यसअघि मेरो खातामा आउँने पैसा पनि छुट्ठिएर बसेका जेठाजुको खातामा आउँन थालिसकेको थियो । मैले केही भनिन  न सासुलाई भने न जेठाजुलाई नै । मलाई लागेको थियो उ मलाई माया गर्ने मान्छे हो । बच्चा जन्मेपछि सबै सामान्य हुनेछ । 

त्यसपछि करिब दश दिनमा छोरी जन्मि । छोरी जन्मिएको दिनमा पनि मलाई छोरीको अनुहारको भन्दा रमेशको फोन कलको प्रतिक्षा थियो । सायद आमाले भन्नुभयो छोरी जन्मि भनेर तर उसले मलाई के छ भनेर पनि सोधेन । त्यस दिनपछि मैले चाहेर पनि उसलाई  माया गर्न सकिन । छोरीको नरन गरेपछि म आफ्नो माइती फर्के । थाहा छैन उसले कहिल्यै आफ्नी छोरीको अनुहार देखेको छ वा छैन । 

दिनहरु बिस्तारै बिस्दै गए । आमा भएपछि सन्तान भन्दा ठूलो अरु केही नहुँदो रहेछ । मेरो जीवन छोरीको लागि बन्दै गयो । म फेरी उसको घरमा बिना उसको कुनै उपस्थििती फर्कने मोडमा थिइन । आमा बालाई भन्न सजिलो थिएन । तर आमालाई एक प्रकारको संका अवस्य थियो । यतिका महिना बस्दा उससँग कुनै सम्पर्क नभएको आमालाई सायद थाहा थियो । तर आमाले जान्न आवस्यक थियो । अरुले नबुझे पनि आमाले बुझ्नुहुन्छ भन्ने मलाई लागेको थियो । जब आमालाई भने आमाले केही भन्नुभएन तर मैले आफ्नो आशु रोक्न सकिन ।

खोइ आमाले बालाई के भन्नुभयो बाले मलाई केही सोध्नुभएन त्यसपछि । दिनहरु बित्दै गयो छोरी एक पुरा भएर दुईकी भएपछि । आमाले एकदिन “समाज खराब छ नानी, तँ हामीसँग बसी नराख । काम खोज बाहीर अनि अन्त कतै बस” । आमाले दिएको सल्लाह खराब थिएन । बिए पास गरेकी थिएँ । टिचिङ लाइसन पनि थियो बल्लबल्ल साना नानीहरुलाई पढाउँने काम पाएँ । तालघरे बाट म दमौलीमा बस्न थाले । 

बर्षहरु बित्दै गए । तर रमेशको कहिल्यै फोन खबर आएन । सासूआमाले भने कहिलेकाही गर्नुहुन्थ्यो । छोरीलाई फोनमा देखाइदेउ पनि भन्नेगर्नुहुन्थ्यो । समय सँगै बाध्यताहरु बढ्दै गए कमाउनुपर्ने । छोरीका आवस्यकताहरु पुरा गर्ने । उसको र मेरो सम्बन्ध त त्यही दिन सकिएझै भयो जुन दिन उसले मलाई रण्डी भनेको थियो ।  यतिका बर्षहरुमा म उसका लागि भोग्या मात्र बने ।

थाहा छैन आज उनीहरु किन आएँ । त्यो नामको मात्र सम्बन्धलाई के भनेर अन्त्य गर्ने वा के भनेर जोगाइराख्ने । यतीका बर्ष भएर पनि नभएझै भएको मेरो छोरीको बाउँलाई तेरो बाउ भनेर कसरी चिनाउँने वा कसरी नचिनाउँने । 

यतिकैमा छोरी भित्र पस्छे । मलाई थाहा छ उसले थाहा पाइसकेकी छ म पहिलेझै शान्त छैन । मामू चिया खानुहुन्छ बनाइदिउँ म उसका शब्दहरु झल्यासँ हुन्छु । मनले भन्छ म फर्कन चाहन्न तर हुँदै नभएको सम्बन्धलाई कागजमा छैन भनेर वा  तँ मबाट मूक्त भैस भनेर टुङ्ग्याउँन पनि चाहन्न ।

Thursday, January 11, 2024

छाया र प्रतिछायाको उन्मूक्त कोलाज : सकमबरी र स्परेन्जा


यी कुनै चित्रकारले क्यानभासमा कोरेका अस्तित्वका बाङ्गाटिङ्गा रेखाहरु होइनन् । यी कुनै बन्धनका प्रतिछायाहरु पनि होइनन् , न त जिविकाका लागी गरिएका जीवनका दुखेसाहरु । यी त प्रेमका पदचापमा भेटिएका उन्मूक्तिका बिम्बहरु हुन् । 

प्रिय सकमबरी

प्रिय स्परेन्जा 

सप्रेम मैले तिमीहरुलाई तिम्रा लेखकहरुले झै पात्रको चरित्रमा मात्र देख्न सकिन । लाग्छ, तिमीहरु बिना कविताका बिम्ब वा बिना बिम्बका कविताहरु हौ । कहिलेकाही सोच्छु तिमीहरु कविता होइनौ र पनि कविता हौ । पात्रलाई पात्र नठानेर साहित्यको सिंगो बिधा नै ठान्नु यो मेरो दुस्प्रयास हो , सायद प्रेमिल दुस्प्रयास । 

कहिलेकाही लाग्छ पारिजात आमा हो सकमबरी छोरी हो । साघुरो भूगोलभित्र आमा अट्छे भने छोरीको भूगोल त्यो भन्दा अति नै बृह्त कसरी बन्न सक्ला । सायद पारिजातको फराकिलो भूगोलको एक अंश सकमबरी हो  । हुनसक्छ पारिजात छाँया हो सकमबरी प्रतिछाया । छायाभित्र अटेको वा त्यो भन्दा पर पुगेकी सकमबरी सायद पारिजाताको कल्पनाको प्रतिस्थापन हो ।

पर अमेरिकाको सुदुरपूर्व गाउँ सिकागोको कुनै आप्रबासी घरबाट स्परेन्जा भन्छे, “ फ्ल्याट होइन । न कुनै अपाट्मेन्ट । वा कुनै पुरुषको घर । न पिताको नै । मेरा सुन्दर सिरानी र कुसनहरु , मेरा किताब र कथाहरु । मेरा एकजोर जुत्ता जो मेरो पलङमुनी मलाई कुर्दैछन् । बिना कुनै बन्धन, बिना कुनै खबरदारी । यस्तो घर जो मेरो आफ्नो मात्र हुनेछ ।” बेप्रबाह बिना पुरुषको घरको कल्पना गर्नु सायद स्परेन्जाको स्वतन्त्रता र उन्मूक्तिको घोषणा थियो वा सायदा सान्द्रा सिस्नेरोजको मेक्सिकन  साँघुरो पुरुषबादी घरप्रतिको बिद्रोह । तर स्परेन्जाले प्रेम र मूक्तिको बाटो रोज्छे “द हाउस अन म्याङ्गो  स्ट्टिट” मा जसरी सकमबरीले “शिरीषको फूल” मा रोज्छे । 

थाहा छैन सकमबरी जीएको काठमाडौँका कस्तो थियो, किन उँ हिड्न चाहन्थी निस्सारताको बाटो, किन एक अधबैसेँ सिपाहीको कसिलो चुम्बननै उसका लागी मूक्तिको बाटो बन्यो , किन उसले गर्न चाहिन बिद्रोह वा गरी आफ्नै ढङ्गले  , किन उसलाई लाग्थ्यो जीवन निस्सारताको अर्को नाम हो, यी यस्तै अपबाद ले सकमबरी पात्र भन्दा माथी उठ्छे र बन्छे एक निस्सार बिम्ब । मूक्तिको अर्को नाम,  एक अमूर्त चित्र । 

सकमबरी र स्परेन्जा सरसरती हेर्दा दुई भिन्न भूगोलबाट आएका दुई भिन्न पात्र हुन् । तर सारमा हेर्दा दुबै साघुरो कथाको क्यानभाषबाट बृह्त जीवनरुपी बिम्बमा रुपान्तरीत उन्मूक्ति र मोक्षका दुई चरम बिटहरु हुन् । निस्सारतामा सार देख्ने सकमबरी, आफ्नो भूगोललाई लेखेर भूगोलभन्दा परको संसार खोज्ने स्परेन्जा तपाई हामीले देखेझै कथाका पात्र मात्र होइनन आफ्नै भूगोलमा उम्मूक्तिको बिउ छर्ने दुई मूक्त आत्माहरु हुन् ।

यी दुबै पात्रहरु कथाका पानामा मात्र रहेनन् म जस्ता धेरैका हृदयमा बास बसेँ । जब कलमको निभबाट पात्रहरु आफ्नै यात्रामा निस्कन्छन् तब ति बन्द कथानकमा कैद एक बन्द अक्षरआत्मा मात्र रहदैनन् ति त मानिसका हृदयको यात्रामा पोख्त यायावर बन्छन् । समयक्रम सँगै यी दुबै यायावर भएका छन् र बनाएका छन् यात्राको अर्को भूगोल ।

पात्रको यात्रा प्रेम र हृदयको यात्रा हो । सकमबरी र स्परेन्जाको यात्रा पनि त्यही हो । सकमबरी निस्सारता र अमूर्तताको अनपेक्षित यात्रामा छ स्परेन्ज आफ्नै कथामा आफ्नै मूक्ति खोज्दै छ । यीनीहरुले तय गरेको यात्रा एक अनपेक्षित नारी बिम्बको बिम्व भूगोल हो । यी दुवैको यात्रा अप्रत्याशित उन्मूक्तिको बिश्वब्यापि  कथानक हो ।

यी कथाका नायीकाहरु हुन् तर नायीकाको बिश्वदृश्टिकोणबाट यी भिन्न छन् । यी तपाईहामीले धेरै भेट्ने कथाका सुन्दर नायीकाहरु होइनन् ,न यी क्षणिक सुन्दरताको ताजमा रमाएका छन् । एक मुडुलो टाउँको जसमा निकोटिनका धर्साहरु प्रसस्तै भेटिन्छन् जसलाई समग्रतामा महशुस गर्न मात्र सकिन्छ तपाईहामीले कल्पना गर्ने सकमबरी यही हो । झाडुजस्तो कपाल भएकी, आफ्नो नामाकरण आफैँ गर्न चाहने स्परेन्जा उसकै शब्दमा भन्दा एक धुमिल रंग हो । यी दुबै धुमिल देखिन्छन् , यीनलाई ब्याख्या गर्न भन्दा महसुस गर्न सजिलो छ । यी निराश देखिन्छन् तर निस्सार पक्कै पनि होइनन् ।

दुबैले जीवनलाई साझेदारी अर्को पर्याय मानेका छैनन् । यीनीहरुले आफू हुनुको अस्त्विलाई जीवनको साझेदाीसँग बाडेका छैनन् । सकमबरी भन्छे, “ प्रेम कुनै बाध्यता होइन । प्रेममा गएर पिल्सनैपर्छ, यो कुनै अनिवार्य छैन ।  एक्लो बाच्न सकिन्छ एक्लो ।” स्परेन्जा भन्छे , “ मलाई घर चाहिएको छ त्यस्तो घर जो हिउँ जस्तै शान्त,  त्यस्तो ठाउँ जहाँ म मात्र हुनेछु त्यस्तो जो कविता अघिको कागजझै सफा रहनेछ ।” दुबैको एकाङ्कीपनले उनीहरुको यात्राको भूगोललाई अझ बढी बिशिष्ट  बनाएको छ । उनीहरुले कठोर बन्धनयूक्त जीवनका साझेदारीहलेलाई खुल्लमखुल्ला नकारेका छन् ।

यीनीहरु पुरानो सहनशीलता, र नाजुताको नारी बिम्बलाई नकारेका साहित्यका र जीवनका आधुनिक मिथकहरु हुन् । यी प्रेमिल लाग्छन् तर प्रेममा पिल्सदैनन्,  यी उदार लाग्छन् तर उदारताको सिमानालाई नाघ्दैनन् , यी धुमिल देखिन्छन् तर विचारको तिख्खरतामा चहकिन्छन् । यीनको बिशेषता अब हाम्रो बिशेषता बनेको छ । अबको  उदारबादी समाजमा सकबरी र स्परेन्जाहरु प्रसस्तै भेटिन्छन् किनकी अब बन्धन र सिमानाहरुमा  संसार अट्न सक्दैन । अबको स्त्रित्वको परिभाषा केही हो भने सकमबरी र स्परेन्जाको जस्तै मूक्त स्त्रित्वको परिभाषा हो ।

यी लेखकको हातबात  आफ्नै लयको यात्रामा निस्केका दुई कबिताहरु हुन् । यी निराश र अनौठा लाग्छन् तर जे बोल्छन् त्यो भन्दा धेरै भन्छन् । बिम्बझै यीनीहरुको उपस्थिती प्रतिकात्मक लाग्छ । त्यसैले यीनीहरु कविता नभएर पनि कविता नै हुन् । लेखकले झै हामी पाठकहरुले यीनीहरुलाई अंश अंश मा ब्याख्या गर्न सक्दैनौ यीनिहरुको ब्याख्या सम्भव छ भने त्यो समग्रतामा मात्र छ  । 

सय पेजको उपन्यासमा अटाएका यी भिन्न भूगोलका तर आधुनिक समाजका यी तिख्खर नायीकाहरु अब हाम्रा पनि नायिकाहरु हुन् । चाहेर नचाहेर यीनीहरुको उपस्थितिले स्त्रित्वको परिभाषलाई नयाँ आयाम दिएको छ । सकमबरीको समग्र उपस्थिती नै ऊ हुनु हो उसलाई हामी अंश अंशमा परिभाषित गर्न सक्दैनौ । ऊ चुरोट खान्छे, फूलसँग रमाउँछे र जीवनलाई निस्सार ठान्छे यति मात्र भन्दा उसको उपस्थितीको समग्रतालाई हामीले अपब्याख्या गरेझै लाग्छ । ऊ जे हो र छ  त्यो समग्रतामा नै छ ।  स्परेन्जा उपस्थितीले त्यही समग्रताको रेखालाई अझ चककिलो बनाएको छ । सकमबरी झै ऊ पनि समग्रतामै जिउँछे, आफ्ना लागी नै जिउँछे ।

नायकको प्रेम र ब्याख्यामा लित्त हामीहरु बिरलै हाम्रा नायीकाहरु बारे सोच्छौ । यी दुई भिन्न भूगोलका तर सारमा एकै लाग्ने नायिका बारे मैले लेखेको यो प्रेम कथा हो । हुन त अबको समाजकमा को नायक को अनायक, तर समग्रतामा भन्दा हामी सबै नायक हौ र अनायक पनि । हामी सबै नायीका हौ र अनायिका पनि । यी कहिले कविताझै लाग्ने यदाकदा बिम्बको यात्रामा निस्केकका यायावर झै प्रस्तुत हुने आधुनिक नायीकाहरुबारे यो एक मूक्त ब्याख्या हो । र यो आलेख मेरो हृदयमा सधै रहने नायीकाहरुप्रतिको भरिभराउँ प्रेम हो । तपाईहरुले बुझ्न सक्नुहुन्छ प्रेम र यूद्धमा झै यसमा सही र गलतको कुनै पाबन्धी छैन । यो छाया र प्रतिछायाको उम्मूक्त कोलाज हो । 

प्रिय कविको नाममाः एक पाठकपत्र



आजकल कविहरु जहाँतही भेटिन्छन् । कवि हुन सजिलो छ , केही शब्दहरु वा भावहरुलाई इन्टर दिई दिई लेख्दा हुन्छ । छाप्न पनि सजिलो छ कविता भनेर पढाउँनुस् तपाई सजिलै छापिनुहुन्छ । अथवा मेलोडा«माटीक भएर केही लयमा बोल्नुस् तपाईको नाम जताततै फिजिनेछ । तर कविताझै कवि हुनेहरु यो सहरमा गुमनाम छन् । सायद सहरले कविताको मौनतालाई बुझ्दैन । वा भनौ सहर कविहरुको मौनता प्रति बेखवर छ ।

आज म कविताझै लाग्ने एक कवि बारे बोल्दैछु । कविहरु प्रेमिल हुन्छन्, उनीहरु बारे हल्ला गर्नु  प्रेमिलताको नियमलाई तोड्नु हो । सायद नियमहरु तोड्नकै लागि बनेका हुन् । नियमको सुन्दरता त्यसलाई तोड्नुमा पो छ कि ? आज त्यही गर्दैछु ।

प्रसन्न घिमिरे मेरो लागि कवि र कविता दुबै हुन् । उनी हल्ला गर्दैनन् , शब्दमा निशब्दता खोज्छन् । कविता शब्दहरुको कोलाहाल होइन । कवि कुनै हाट बजार चिच्याउँने नटकी पनि होइन । कवि शब्द र भाव दुबै हो । जब शब्दहरुको कोलाहलमा कवि फस्छ तब कवि कवि रहदैन । कविता कविता बन्दैन । 

मलाई लाग्छ सहरले उनलाई विरलै चिन्छ । सहरले कोलाहललाई सुन्छ, यहाँ चिच्याउनेको कमि पनि त छैन ।  थाहा छैन “मिझोर” लेखेपछि उनी कहाँ हराए । सहरले उनलाई खोज्दैन । वा उनी चिच्याउँन जान्दैनन् । दुवै हुनसक्छ । उनी बेखबर छन् । 

उनको पहिलो कृति थियो “र निशब्द” जहाँ उनले शब्द मार्फत निशब्दता बोले । उनी भिडमा भेटिदैनन् । र भिडभन्दा पर ७४ मा “मिझोर” लिएर लाए । कविताका पाठकको लागि मिझोर एक सुन्दर उपहार थियो । उपहार दिएपछि उनी फेरी पर...... भागे । गर्नु नगर्नु गर्छौ यार !, घृणाको ठूलो समुन्द्रमा प्यारको सानो डुङ्गा चलाएर भन्दै भागे ।

उनका कविता उनीजस्तै भिडभन्दा बिलकुल अलग छन् । उनका कविता भिडमा पुग्दैनन्, उनको कविताको यात्रा उनकोझै शब्दहरु मार्फत गरेको निशब्दताको यात्रा हो । उनले कवितालाई पनि आफ्नै लयमा लेखेँ । उनले लेखे  झैँे अरु कसैले लेखेनन् । उनी भन्छन्, “ जिन्दगी हो यो, जिन्दगी

यसलाई 

यस्तो उस्तो 

जुनसुकै फेसन बनाएर चलाउँदा हुन्छ 

कविताको उनको फेसन पनि त्यस्तै छ । उनले लगाएको कविताको फेसन दिनहुँ बजारमा भेटिने कविताको फेसन होइन । उनी आफ्नै फेसनमा हिड्ने कवि हुन् । 

प्रसन्नको कविताको शिल्प नियाल्दा यस्तो लाग्छ यी कुनै मोक्ष आवाजहरु हुन् । उनी वैराग्यतामा पनि प्रेमिलता भेट्छन् । र प्रेमिलतामा पनि वैराग्यता । उनी नियममा बाधिदैनन् । शिल्पमा चुक्दैनन् । उनी प्रेममा झै कवितामा पनि सहि र गलतका पर्खालहरु देख्दैनन् । उनी सजिलै भनिदिन्छन् 

भन्नु के सबै कुरा भन्नु

बिन्ती माया गर्छु नभन्नु

उनी कवितामा प्रेमको लागि जुनतारा झार्ने कुरा गदैनन् बिछोडको नाउमा अलापबिलाप गर्दैनन् । हुनसक्छ उनका कविता कुनै सन्त आत्माको आत्मालेखन हो ।

उनका कविता यात्रामा भोगेका तर कहिल्यै बुझ्न नखोजेका मानव आयाम झै लाग्छन् । उनी लेख्छन् ः

यस्तैमा, यस्तैमा

भर्खर आँखामा आएकी तिमी पनि पो गइसकिछौ 

जानू जिन्दगी, जानू

तिमी पनि यसै गरी जानू

यात्राझै उनका कविताले पनि बेलाबखत रमाइलो रोमाञ्चकता थपिदिन्छन् । यस्तो लाग्छ ति कविताहरु जीवनमा अनायासै मिलेका सर्पाइजहरु हुन् ।

उनका कविताहरु बिम्बको पुनराबृत्तिमा अड्किएका क्लिसेहरु होइनन् । ती त शिल्पको यात्रामा निस्केका रंग र रेखाहरु हुन् । जब कविता कुनै चित्र झै मूर्तता र अमूर्तता भन्दा पर पुग्छ तब त्यसले गर्ने यात्रा मौनताको यात्रा हो । उनका कविताले त्यही यात्रा गरेझै लाग्छ । शिल्पको यात्रामा निस्केका यायावर झै यीनीहरुले मानव अनुभूतिका पत्रहरुलाई सजिलै छिचोलिदिन्छ । उनी भन्छन् ः

जता जेमा पनि अर्थ उघाएर

अल्झिन्छौ तिमीहरु

बल्झिन्छौ तिमीहरु

जब देख्छु तिमीहरुलाई, एकदम बेवकूफ देख्छु ।

उनी अनुभूतिलाई अर्थ सँग जोड्दैनन् । सहि र गलत भनेर ठोकुवा गदैनन् । यस्तो लाग्छ उनका कविता मानव अनुभूतीका उज्याला क्षितिजहरु हुन् ।

रगत नबगेको त्यो चोट छ

त्यो बतास छैन

जानेहरु किन यस्तो गर्छन् ?

नजाने चोट

छाडी जान्छन् ।

कविहरु छोडिजानेका वारेमा सारै गुनासो गर्छन् कति त गालि दिन पनि दिन पछि पदैनन् । संसारमा बिछोड असाद्घै धैरै बिक्छ, कविहरुमा पनि त्यो विक्ने रोग नदेखिएको होइन । तर उनले विछोडलाई मिहिनताका साथ प्रस्तुत गर्छन् । यसरी प्रस्तुत गर्छन् लाग्छ जानेहरुसँग गुनासो गर्न सकिएला तर गालि होइन । छोडि जानेको उज्यालो क्षितिजबारे उनी सधै नतमस्तक हुन्छन् । 

अहिले कविता भनेर लेख्नेहरु भेट्न सजिलोे छ । कवि बन्न पनि सजिलो छ । सामाजिक सञ्जाल छिर्नुस् हरेक सयमा दश कविझै लाग्छ । तर यो कविताको जंगलमा कविता नै लेख्नेहरु र कवि झै बाच्नेहरु कति छन् छुट्टाउन गाह्रो छ । तर प्रसन्न घिमिरे त्यस्ता कवि हुन् जो कविताको जंगलमा हराउँदैनन् । जो हल्लामा पनि मौनता बोकेर हिड्छन् । यसरी निशब्दतामा रमाइदिन्छन् यस्तो लाग्छ उनी कविता लेख्नकै लागि मौन बसिदिन्छन् ।

जब कविताले मौनताको क्षितिज पार गर्छ र निशब्दतामा शब्द बोलिदिन्छ तब कवि कवि मात्र रहदैन ऊ कुनै अमूर्त चित्रको रंग झै निराकार र आकार दुबै बन्न पुग्छ । कहिलेकाही लाग्छ प्रसन्न छिमिरे त्यस्तै केही हुन् । उनका कविताले आन्दोलनमा बोलिने शब्दहरुझै आगो ओकल्दैनन् । न उनी चिच्याउँछन् न उनका कविताले चिच्याएर कसैलाई सम्बोधन गर्छन् । लाग्छ उनको कविता यात्रामा नसुनेर पनि सुनेझै लाग्ने भावनाको गहिराइबाट निस्केका मौन सिम्फोनिहरु हुन् ।

जब कविता शब्द भन्दा पर पुगेर आवाज जस्तो र आवाज भन्दा पर पुगेर ध्वनी जस्तो बन्छ तब कविताको यात्रा मोक्षको यात्रा झै लाग्दो रहेछ ।  सायद उनी शब्दबाट भाव र भावबाट मूक्तिको यात्रामा छन् । मूक्त हुन सजिलो छैन हामी मायाजालको सांसारिकतामा जेलिएका छौ । तर कवि साच्चिकै कवि तब बन्छ जब यी बन्धनबाट मूक्त हुन सक्छ वा यी सबै मायाजाललाई अल्लि परबाट हेरिदिन सक्छ । उनी भन्छन्ः

उहिल्यै उहिल्यैको कुरा 

कति गर्छौ ? छोड न

खसेको सिक्काको हिसाब गर्न 

छोड न ।

उनी जीवनका स–साना अनुभूतिहरुलाई उत्सव झै मान्छन् तर ति अनुभूतिसँग जेलिँदैनन् । उनी एक कोस दुरीबाट तिनिहरुलाई हेरेर रमाइदिन सक्छन्  । कविको रुपमा उनको यो खासियत शिल्प र खुवि दुवै हो । यसले उनका कृतिहरुलाई बिशेष बनाएको छ ।

धेरै फूलहरु झार्ने त्यो बतासलाई 

लागेको होला के के न गरेँ

भनिदिनु उसलाई भनिदिनु

फूल एउटा फूलाएर देखाइदिनु

कविले देखाउँने संसार भनेको कोमलताको संसार हो । भिडझै कवि पनि भिडनै बोल्न थाल्यो कवि कवि रहदैन कविता कविता बन्दैन । कविताको मैफिल भिडको जंगल होइन त्यो त भिडमा पनि अलग सुनिने एक शान्त आवाज हो । उनका कवितामा त्यो आक्रोस भित्रको शालिनता सधै भेटिन्छ ।

यो मैले प्रस्तुत गरेको आलेख कविको मौनताप्रतिको शब्दमार्फत गरेको मौन प्रेम हो । यी शब्दहरु, मैले देखेको कविको काब्य खासियतको एक रुमानी यात्रा हो, यो उनका शब्दहरुलाई देखेर प्रस्तुत गरिएको एक अबलोकनजन्य बिश्लेषण हो । म उनलाई  देखेर पनि भेट्न चाहन्न, भेटेर पनि बोल्न चाहन्न । मलाई सधै लाग्छ कविहरुलाई टाढैबाट प्रेम गरेको राम्रो, बुझ्नका लागि त कवितानै काफी छ । कविहरु अमूत चित्रझै हुन् उनीहरुको रंग टाढैबाट सुन्दर देखिन्छ । र पनि एकाएक उनी हराएकोमा पाठकको रुपमा मेरो सधै गुनासो छ । यो लेख  मेरो प्रिय कविको नाममा हुलाकमा छोड्दा पनि हुने एक पाठकपत्र हो, एक पाठकको प्रेमपत्र ।

महिला बिनाका पुरुषहरु

 

    पुरुष बिनाका महिलाहरुबारे समाज जमेर चर्चा गर्छ । पुरुष बिना जीवन चलाएका महिलाहरुलाई कि त बहादुर ठान्निछ कि त लहडी । साहित्यमा पनि त्यहि लागु हुन्छ । पुरुष बेगरका महिलाबारे जति लेखिएको छ महिला बेगरका पुरुषबारे त्यसको तुलतामा असाध्दै कम लेखिएको छ । एक्ला पुरुष जसले आफ्नो जीवनमा अति नजिकका महिलाहरु गुमाएका छन्  उनीहरुका भित्रि कथा, जापानि लेखक हारुकी मुराकामी आफ्नो कथासंग्रह “ म्यान उइथवाउट उमनमा” प्रस्तुत गर्छन् । आख्यानको यो पुस्तकले बाहिरबाट हेर्दा कठोरजस्ता देखिने पुरुष भित्रका एक्ला र कोमल कथाहरु पत्रपत्रमा कहन्छ । 

सातवटा कथा सम्मिलित पुस्तकको पहिलो कथा रहेको छ “डा«इभ माइ कार” जसमा लेखकले श्रीमती गुमाएका एक्ला तर उनकै यादमा थप जीवन ब्यतित गरेका काफूकोको कथा प्रस्तुत गर्छन ् । जसमा कथाका प्रमुख पात्रले आफ्नो आँखामा आएको समस्याको कारण एक २४ बर्षीय महिलालाई आफ्नो निजि र्डाइभरको रुपमा राख्छन् र आफ्ना कथाहरु कहन्छन् । काफूको पेषाले एक रँगमञ्च अभिनेता हुन् । करिब दश बर्ष पहिले उनले  श्रीमती गुमाएका थिए । श्रीमतिसँगको बिछोडका साथै  अन्य घटनालाई सामान्य भवितव्य मानेर उनी  जीवनमा अघि बढ्न सकेका छैनन् । उनकी श्रीमती जब जिबित थिइन् तब उनकी श्रीमती  अरु पुरुषहरुसँग सम्बन्धमा रहेको थाहा पाउँदा पाउँदै पनि उनले प्रश्न गर्न सकेका हुँदैनन् । तर उनको मृत्यू पश्चात उनलाई उक्त कुराले अझ दुखी बनाउँछ  । तब उनी उक्त कुराको कारण पत्ता लगाउँन त्यो ब्यक्तिसँग साथी बन्छन् जोसँग उनकी श्रीमती मृत्यूअघि  अन्तिमपटक सम्बन्धमा थिइन । उनी उक्त ब्यक्तिसँग साथी त बन्छन् तर उक्त कुराको कारण पत्ता लगाउँन सक्दैनन्  । उनको श्रीमतीसँग सम्बन्धमा रहेका पुरुषसँगको संगतर्मा उनको मृत्यूले आफू जतिक ै उ पनि दुखि भएको थाहा पाउँछन् । तब उनी अझ दुखी बन्छन् । उनले उक्त कुरा आफ्नो डा«भरलाई सुनाउँछ तब उनलाई एक खाले शान्ति मिल्छ । २४ बर्षिय डा«इभर, मिसाकिका उनको त्यतिबेलासम्मको भ्रमलाई तोडिदिन्छिन् । उनका अनुसार काफूकोकी श्रीमती प्रेमको खोजीको कारण नभइ ति मानिसहरुसँग शारीरीक सम्बन्धमा रहेको उनले थाहा पाउँछन् जसले उनलाई एक खाले शान्ति दिन्छ । यसरी कथामा लेखकले एक एक्लो पुरुषको एक अध्यारो कथा भन्छन् । जसले महिला र पुरुष बिच बर्षौ गर्न नसकेको र बुझ्न नसकेको एक अपुरो संवादलाई प्रस्तुत गर्छ ।

पुस्तकको दोस्रो कथाले प्रेम, यौन र साथित्वमा अल्झिएको, महिला र पुरुष बिचको अर्को रोचक सम्बन्धलाई प्रस्तुत गर्छ । हामी धेरैलाई लाग्छ महिला र पुरुष बिचको सम्बन्धलाई यौनले परिभाषित गर्छ । तर कथा त्यस्तो पात्र भेट्छौ जसले आफ्नो प्रेमीकालाई यौनको आँखाले हेर्न सक्दैन तर स्नेह र प्रेमको आँखाले सधैँ हेर्छ । 

मेरो कथा


 

सायद यो कथा मैले भनिन  भने अरु कसैले भन्ने छैन । वा अरु कसैले भने पनि यहि रुपमा भन्ने छैन । मैले अहिलेसम्म मेरो आफ्नै कथा आफ्नै हो भनेर भन्ने आट गरेकी छैन । यो साहस म भित्र बर्षौ सम्म मलाई विथोलेका तमाम बिरोधाभासको उपज हो । वा ति तमाम दुर्घटनाहरु जसका कारण आज पनि म बथोलिन्छु । यो मेरो निर्तान्त ब्यक्तिगत कथा हो तर म यसलाई ब्यक्तिगत मात्र भनेर अघुताभाषमा अन्त्य गर्न चाहन्न । यो कथा जति ब्यक्तिगत छ त्यतिनै राजनैतिक पनि छ । मेरा तमाम आफन्त र परिवारलाई नभनेको भए हुन्थ्यो भन्ने लाग्न सक्छ  वा यो पढेपछि दुखी पनि हुन सक्नुहुन्छ । मलाई अहिले पनि लाग्छ मेरो परिवारले यो नपढोस् ।

यो कागजझै कच्याकुचुक भएर डल्लो परेर म भित्र बर्षौ बाचिरहेको एक अध्यारो कथा हो । यो एक बिष्मृतिको संगालो हो जो आज पनि म सँगै छ । म यस्लाई एक सग्लो पाना बनाएर प्रस्तुत गर्न सक्दिन । लेख्दा खेरी यो लयमा नलेखिन पनि सक्छ । यो भन्दै गर्दा तपाईलाई म अल्लि बढी संकुचित, कुण्ठित र निराश लाग्न पनि सक्छ । तर यसलाई समुच्चतामा नबुझिदिनु होला । यो मसँगै बाचेका तमाम म मध्धेकोे एउटा म हो । सायद सबैभन्दा बिथोलिएको म ।

यो कथाको सुरुवात म जन्मेसँगै हुन्छ । छोरी जन्मदैगर्दा थाहा छैन आजका बाआमाले कस्ती छोरी चाहन्छन् । मैले मेरा बाआमालाई पनि अहिलेसम्म सोधेकी छैन उहाँहरुले कस्तो म चाहनुहुन्थ्यो । मेरी आमाको अनुसार म महिना नपुगी जन्मेकी हुँ रे अहिलेको भाषामा भन्दा म एक प्रिम्याचियोर बेबी रहेछु । सबैले भन्छन् म जन्मदै सानि थिएँ । एक हातमा बोकेर नुहाउँन सकिने । सानि र मेरो छालाको रंग धेरैले छोरीको नहोस् भन्ने चाहने अल्लि बढी धुमिल छ । छोरी जन्मदैगर्दा धेरैले भन्छन् छोरी उन्याली होस् म उज्याली थिइन । मेरा बाआमाका लागि त्यो उज्यालो जस्तो लागे पनि अरुको लागि त्यो पक्कै थिएन ।  – तिमी किन यस्तो, छोरीलाई अल्लि खुवाउँने गर्नुस्, यो त कस्ती भै, कसकी छोरी हो यस्ती – मेरो  हास्नेखेल्ने उमेर यी यस्तै प्रश्नहरु बेगरको कहिल्यै रहेन । जसले मलाई आज पनि म अरुजस्तै संग्लो मानिस हुँ भन्न कठिन लाग्छ ।

केटाकेटि उमेर अल्लि सजिलो थियो  कसैले मलाई तँ किन यस्ती भनिहाल्दा पनि लाग्थ्यो म पछि ठूली हुनेछ । त्यो समयमा ठूलीको मतलब थियो मोटी र अग्लि । मलाई लाग्थ्यो म पछि त्यस्तै बन्नेछु त्यसपछि कसैले भने भने पनि काली मात्र भन्नेछन् । तर मैले सोचेझै  म अग्लि पनि भैन मोटी पनि भैन । म सदाझै फुच्चि नै भै राखेँ । जब तपाई समाजले कल्पना गर्ने छोरीझै एक सग्लो र राम्री देखिने छोरीमान्छे रहनुहुन्न तब मानिसहरुले तपाईलाई सबै भएर पनि एक अपूर्ण मानिस झै सोच्ने बनाउँछन् । थाहा छैन रंगको कथा नेपाली समाजमा कसरी आयो । तर यसरी आएको छ तपाई को रंग अल्लि कालो हुनेबित्तिकै यदि तपाई छोरी हुनुहुन्छ भने सबैले तपाईलाई समस्याग्रस्त देख्न थाल्छन् । धेरैले एउटा खाले मात्र बिभेद कि रंगको कि शारिरिक बनावटको भोग्ने गर्छन् तर मेरो केसमा ती सबै  बिभेदहरु मेरा लागि बनिदिए ।  आजको भाषामा भन्दा म एक भन्दा धेरै बिभेदको सिकार बनेँ ।

मलाई आज पनि आफन्तको ठूलो जमघटमा नजानुनै बेस लाग्छ । जाँनै परेमा नजाउँझै लाग्छ । गैहालेमा पनि म गएका बिहे बर्तबन्ध र चाडबाड कुनै त्यस्ता छैनन् जसमा मेरो छालाको रंग र मेरो शारिरिक बनावट बारे प्रश्न नगरिएको । प्रश्न गर्नु एउटा कुरा तर उत्तर बिनाका प्रश्नहरु मानिसहरु किन सोध्छन् म आज पनि बुझ्दिन । थाहा छैन किन एक छोरी बढ्दै गर्दा आफ्नो शरीर र रंगले मात्र त्यति धेरै जाँचिन्छे । किन शरिर नै उ बिक्ने पहिलो आधार बन्छ ? वा ऊ हुर्कदै गर्दा ऊ सँग किन समाज यति धेरै कठोर बनिदिन्छ ।

सरसर्ति हेर्दा यस्ता कथाहरु सामान्य झै लाग्छन् । तर भोग्दा यि सामान्य कहिल्यै बन्दैनन् । यात्रामा बटुलेका  तिता अनुभवहरु सायद मसँगै सिद्घिनेछन् वा यो केही होइन भनेर एक अघु आवाज बन्नेछन् ।  सपना देख्ने उमेरमा कसैले तपाईलाई हेरेरै केही हुदिनस् भन्दिन्छ भने त्यो भन्दा कुरुप केही बन्दैन । कसैलाई प्रेम गर्दै गर्दा तँ उसको प्रेमको लायक छैनस् भन्ने आवाज जब आफैँ भित्रबाट आउँछ त्यो भन्दा कठोर केही नहुन सक्छ । वा बषौ कसैलाई प्रेम गरेर पनि उसले गर्दिन भन्दा म अरुझै नभएर हो की भन्ने आवाज आफैँ भित्रबाट आउँछ त्यो सबैभन्दा बिद्रोही आवाज बन्दो रहेछ । मेरो लागि त्यो त्यस्तै आवाज बन्यो । सायद कसैले कसैलाई मन नपराउँनु, प्रेम नगर्न सक्नु उसको स्वतन्त्रता थियो, वा उसको भागको जीवन । तर बषौ सम्म मलाई सधै लाग्यो म जस्तो देखिन्छु त्यसको कारण मान्छेले मलाई सजिलै प्रेम गर्न सक्दैन, मनपराउँन सक्दैन । यी हेर्दा सामान्य लाग्ने बिभेदको एक जटिल परिणाम हो ।

जब एक छोरीमान्छे चौबिस पच्च्सिकी हुन्छे तब उसको शरिर र रंगलाई अझ बढी गम्भिरताका साथ लिइन्छ । बिहे त्यस्तो संस्था हो जसले यी यस्ता समस्याको खुलेर वकालत गर्छ । छोरीका बाआमालाई सबैभन्दा ठूलो चिन्ता आज पनि उसको बिहेकै लाग्दो रहेछ । जब तपाई समाजले सोचेको बिहेको उमेरको पुग्नुहुन्छ  र तपाई समाजले हेर्न खोज्ने टाइपको छोरीमान्छे हुनुहुन्न भने त्यही तपाईलाई रिजेक्ट गर्ने कारण बन्न सक्छ । वा धेरैले तपाईलाई तँ यस्ती छस् त्यसैले जस्तोले हुन्छ भन्छ त्यसैेलाई हस् भन भन्न सक्छन् । वा अरु छोरीहरुलाई झै तपाइलाई आफ्नो जीवनसाथी आफ्नो ढङ्गले छान्ने स्वतन्त्रता छैन भनेर समाजले सजिलै भनिदिन्छ । वा तैले यस्तो भन्दा वढी कल्पना नगर भनेर समाजले एउटा दायरा तोकिन्छ जो तपाईभन्दा उज्याला र समाजले मानेका राम्रा देखिनेका लागि कहिल्यै नबन्न सक्छ । यी सबै सबै तपाई.....  भनेर सम्बोधन गरे पनि मेरा कथाहरु हुन् । मसँगै बाचेका र मजस्तै देखिने तमाम छोरीहरुका कथा हुन् ।

महिलाको शरिर बर्षौ देखि कि शारीरीक र यौन शोषणको शिकार बन्यो वा तँ अरुजस्तै छैनस् भनेर त्यहि चिज बिभेदको कारण बन्यो । आज पनि मजस्ता युवतिहरु कि राम्रीको उपमा पाएर शोषित भएका छन् वा कुरुपको उपमा पाएर बिभेदको सिकार भएका छन् । वा कतिको केसमा दुबैखाले समस्यासँग ठोकिएका छन् । अझै पनि महिलाको रंग र शरिरको कथा कसैले भन्छ भने सामान्य नमान्नु होला त्यो समाजले बर्षौदेखि सम्बोधन गर्न नसकेको राजनैतिक कथा हो । अब पनि हामी यसलाई स–साना अनुभवका कथा ठानेर सुन्न छोड्यौ भने तपाई हाम्रा वरिपरिका महिला शरिरहरु शरिरभन्दा माथि कहिल्यै उठ्न सक्नेछैनन् । यो मैले भनेको मेरो ब्यक्तिगत तर पूर्ण राजनैतिक कथा हो ।  सायद मैले नभनेको भए मेरो कथा कसैले भन्ने थिएन वा यहि रुपमा  मानिने थिएन । हामीसँग यी यस्ता धेरै शरिरका कथाहरु छन् । आशा छ अब हामीले सदाझै शरिरका कथालाई झिना ठानेर सुन्न छोड्नेछैनौ ।

Tuesday, January 9, 2024

असफलताः मसिना कुरा भाग १०

 

चिसो दिन छ । चिसो बिहानीमा चिसा नै शब्दहरु बोकर आएकी छु । पुसको महिना न्यानोपन केवल एक कल्पना वा दिवासपना हो । डिसेम्बरलाई बिदा दिइसकेका छौ । चिसो भएर पनि फूलहरु फूल्न छोडेका छैनन् । नदीहरु वगिरहेका छन् । चराहरु आफ्नै उडानमा छन् । जानेर र आउनेहरुको लर्को छोट्टिएको छैन । संसार एक तमासले चलिरहेको छ । संसारसँगै चल्दिन भन्नु सायद संसारको अस्तित्वलाई अस्विकार गर्नु हो । तर किन थाहा छैन चाहेर पनि स्विकार्न सकिरहेको छैन ।

पुस त्यसै पनि एक चिसो महिना हो यसलाई केही घटनाहरुले अझ चिसो बनाएको छ । पुसको मध्यान्नमा हामीले सुजन र बिरेन्द्र लाई बिनाकारण नबाँच भनिदियौ । बाच्नेहरुको लिस्टबाट उनीहरु एकाएक हराए । सायद मर्नेहरुको वा मारिनेहरुको अंकमा दुई अंकहरु थपिए । केही आक्रोशहरु सडकमा, अखवारमा अनि सोसल मिडियाका भित्ताहरु थपिएँ । तर समाजलाई लागेन उनीहरुको मृत्यु हामी सबै असफल हुनुको एक मानक थियो । मानिसको रुममा, समाजको रुपमा अनि देशको रुपमा । तर एक दुई दिनमै सबै सामान्य बन्यो सायद अर्को महिना उनीहरु बारे कसैले हामीलाई सोध्यो भने हामी बेखवर बनिदिनेछौ । उनीहरुलाई जानेहरुको लिस्टमा हामीले बिनाकारण थपिदियौ । हामीलाई लागेन कसैको पद र कसैले चडेको गाडीभन्दा मानिस ठूलो हो । उनीहरुको जीवन एक असफल बिम्ब बनेर हामीबाट हरायो । थाहा छैन आदेश दिनेका, आदेश सिरोपर गर्नेका हात सुनपानीले चोख्याएझै चोखिनेछन् वा चोखिनेछैनन् । यो समाजमा गरीव र असफल हुनु भनेको तँ बाच्न योग्य छैनस भनेर अयोग्यको ट्याग भिर्नु जस्तै हो ।

यही महिना एउटा हिन्दी सिनेमाले फेरी हाम्रा अखबार र सोसल मिडियाहरु भरिए । सायद अघिल्लो भन्दा बढी । हामी धेरैलाई लाग्यो सिनेमाझै सबैको जीवन हुनुपथ्र्यो । हामलिे हामी भित्रकै मनोज र श्रद्घालाई खोज्न थाल्यौ । महिलाहरुलाई लाग्यो उनीहरुको जीवनमा मनोजझै कोही हुनुपर्छ । पुरुषहरुलाई लाग्यो उनीहरुको जीवनमा श्रद्घाझै कोही आउँनुपर्छ । हामीले फेरी मानिसको जीवनमा आउँने एक सामान्य सफलतालाई मानकको रुपमा लिन थाल्यौ । यसरी हेर्दा सफलताहरु सधै मानक बन्दा रहेछन् । श्रद्घा र मनोज  एक प्रतिकको रुपमा हामी बिच रहेँ त्यसै गरी सायद सुजन र विरेन्द्र कहिल्यै रहने छैनन् । सायद हामीलाई लाग्यो सम्झनको लागि पनि कोही प्राप्तीको बाटो हिड्नु पर्ने रहेछ । कसैको अगाडी योग्यझै बनिदिनु पर्ने रहेछ । समाज सधै शक्ति, सत्ता र सफलताको वाटो मात्र हिड्दो रहेछ । त्यो बाहिरका कथाहरु सायद बिरलै सम्झनलायक कथा बन्नेछन् । हुनसक्छे हामी सबै श्रद्घा र मनोजको खाजीमा रहिरहनेछौ । 

सुजन र विरेन्द्रको मृत्यु सायद एक सामान्य मृत्युझै हामीबाट हराउनेछ । हामी धेरैलाई लाग्नेछ उनीहरुको गएकोमा हामीले सम्झिराख्नु अथवा बुझिराख्नु आवस्यक छैन । यहाँ सफलताहरु शक्तीका मानक बन्छन् । अनि समाजलाई मानक बाहिरकमा मानिसहरु बारे किन बोल्नु, किन लेख्नु किन सम्झनु वा किन उनीहरुको मृत्युलाई गहिरेर बुझ्नु भन्ने लागिरहनेछ । सायद संसार यसरी नै चल्छ । हरेक असामान्य चिज एक सामान्य परिघटनाझै बन्न पुग्छ । अनि हरेक सामान्य घटना असामान्य झै । हामीलाई लाग्छ असामान्य नै सामान्य हो अनि सामान्य नै असामान्य हो । सुजन र बिरेन्द्रको मृत्युलाई हामीले सामान्य घटना ठानेर बिस्तारै बिर्सनेछौ । र श्रद्घा र मनोजलाई एक असामान्य सफलता ठानेर सधैँ सम्झिरहेछौ ।

सायद यी यस्तै चिसा समाचारहरुले हामीलाई छुनेछन् वा नछोएझै बाहिरिनेछन् । हामीलाई लाग्नेछ संसार यस्तै नै हो । असफलता र सफलता एक नियती मात्र हो । जो सफलताको मानक भित्र पर्छ वा जो त्यो बाहिर पर्नेछ त्यसलाई हामी सामान्यकरण गर्नेछौ । र एक भागदोडको तछाडमछाडको नियतीलाई स्विकार्नेछौ । समाजको मानक भित्र पर्ने सफलताहरु समाजले सम्झनेछ जसले बाच्नको लागि गोली खायो उ केबल एक खराब नियती बनेर सधैको लागि बिदा हुनेछ ।

थाहा छैन किन तर यो समयको साक्षी भएकोमा दुखमात्र लाग्नेछ । यदाकदा ६० को दशकमा गिन्र्सवर्गले भनेझै यो समयका सबैभन्दा असल मानिसहरु भोकमरी र गरीबिले ग्रस्त छन् झै लाग्छ । बिनाकारण पद र शक्तिमा पुग्नेहरुमा पदको मात यती चढेको छ कि उनीहरुलाई लाग्छ उनको पद र शक्ति भन्दा मानिस ठूलो होइन, मानिसलाई बुझ्न आवस्यक छैन । प्रिय सुजन र विरेन्द्र, यी सबैसबै शब्दहरु तिमीहरुका लागि थिए । गयौ तर जाँदै गर्दा समाजलाई तिमीहरुलाई गुमाउँनु मानिस गुमाउँनुझै लागेन । सायद अब यस्तो कहिल्यै नहोस् तिमीहरु जसरी कोही जानु नपरोस् ।

Monday, January 1, 2024

सोलोटार्भलर


निर्जला अधिकारी

म लजको माथिल्लो तलाबाट पर सेताम्मै भएर निस्किएका बादलहरुलाई हेरीरहेछु । उनीहरुको उडानले मलाई लोभ्याउँदैछ । चाहेर पनि किन म उड्न सक्दिन । सपनामै सहि म उड्न चाहन्छु । मलाई उड्नेहरु देखेर सधै लोभ लाग्छ । 

किन बारम्बार आफैलाई भनिरहेछु आज तेरो जन्मदिन हो केटी तँ खुसी हुनुपर्छ । तर किन किन जन्मदिनमा पनि म दुखी छु । यो दुखी हुनुपर्ने दिन होइन । हुन त जन्मिनुमा मेरो कुनै योगदान छैन । जन्मेको मै खुसी हुनुपर्ने कुनै कारण पनि छैन । तर म आफूलै आफैलाई आजबाट चौँतिसको मान्न तयार छैन । मलाई हरेक जन्मदिन पश्चात आफ्नो उमेरमा थप्नुपर्ने अर्को थप अंकले सधै पिरोल्छ । हिजोसम्म तेत्तिसको म आज एकाएक कसरी चौत्तिसको हुनसक्छु । मलाई अंकहरुको यो खेल देखेर रिस उठ्छ ।

लजको  दिदी खाना खान बोलाउनुहुन्छ । म तल झर्छु । थालको एक छेउ राखीएको रायोको सागले मन खुसी हुन्छ । दिदीलाई थाहा छ मलाई रायोको साग मनपर्छ । आज जन्मदिन भएको कारण भन्दा पनि रायोको साग खान पाएको कारण म खुसी छु । दिदि भन्नुहुन्छ, “यो बर्खामासमा किन आयौ ? मलाई लागको थियो तिमी दशै पछि आउँछ्यौ” । “त्यसै दिदी” म भन्छु । म भन्न सक्दिन जन्मदिन भएर, बिरक्तिएर वा आफैसँग भाग्न । 

हुन त म दशैपछि आएको भए पनि हुन्थ्यो । तर दशैपछि आमालाई लाग्छ छोरी केही दिन भएपनि आफैँसँग बसोस् । आमा हुनुको खुसी र पिडा अर्कै छ । म लहडीझै घुमेकोमा आमा सधै पिरलो गर्नुहुन्छ । उहाँलाई लाग्छ छोरी भनेको अडिग हुनुपर्छ लहडी होइन । आमाको अगाडी म आफ्नो अहडीपन लुकाउँन पनि त सक्दिन । 

लजको झ्यालबाट पर हेर्दै एक तमासले आफैँमा हराइरहेछु । बेलुकिको नौ बजेको छ । एक्कासी आमाको फोन आउँछ । आमा सोध्नुहुन्छ, “खाना खाइस्” । संसारमा कसैले खाएको र नखाएकोमा चिन्ता गर्छ भने त्यो आमाले मात्र गर्छ । के गर्दैछस् म पढ्दैछु भन्छु । आज पनि आमा सबैभन्दा खुसी मैले पढ्दैछु भन्दा हुनुहुन्छ । उहाँले आज मेरो जन्मदिन हो भन्ने भुल्नुभयो । मलाई सम्झाउँन लाज लाग्यो । ................ यतिकैमा हाम्रो फोन संवाद टुङ्गियो ।

थाहा छैन यो चौँतिसौ जन्मदिन मनाउँने ठिक तरिका हो वा होइन । लहडिएर एक्लै यात्रामा निस्किएको छु ।  बाटामा रुख, बादल र नदिहरुले साथ दिएका छन् । उनीहरुसँगको संवाद मलाई सधै प्रिय लाग्छ । हुन त मैले एक अन्जान फोटोग्राफरलाई पनि भेटेँ । तर ऊ मलाई रुखो लाग्यो । चाहेको भए ऊ मसँग केही बेर बोल्न सक्थयो । तर ठिकै छ बाटामा भेटिनेहरुसँग यो भन्दा बढी आशा राख्नु सायद ठिक होइन ।

यो मेरो सिमपानीको पहिलो बसाई होइन । यो लजमा मेरो पहिलो रात पनि होइन । एक खाले अपनत्वको कारण म बिना संकोच बहकिन सक्छु यो ठाउँमा । बिहानै बिहानै दुध चियाको चुस्कि लगाउँछु ।  भ्यू टावरसम्म एकछिन हिडौँकी भन्ने  लाग्छ । दिदीलाई भन्छु,, “ दिदी माथी सम्म पुगेर आउँछु लन्चलाई केही ढिला होला ।” 

बिस्तारै उकालो लाग्छु । गाउँलेहरु आफ्नै सुरमा बिहानी धन्दामा मस्त छन् । बर्खामासमा गाउँमा फूर्सदिलाहरु भ्ोट्न मुस्किल छ । बाटो चिप्लो छ । बाटाबाटामा बर्खे मुलहरु पलाएका छन् । जता हेर्यो त्यतै खोलानालाहरु गर्जिएका छन् । बाटाभरी खोलानालाको आवाज मात्र गुन्जिन्छ । करिब एक घण्टाको हिडाइपछि  भ्यूउ टावर पुग्छु । दशैताका आएको भए भ्यूउ टावर वरपर मान्छेहरुको भिड हुनेथियो । तर आज सुनसान छ । बिस्तारै माथि उक्लिन्छु । पर कोही भएजस्तो लाग्छ । एक्कासी उही फोटोगार्फर देख्छु जोसँग हिजो म छुट्टिएको थिएँ । हुन त उसले बिहानको सूर्योदय कभर गर्छु भनेको पनि त थियो ।  तर मैले सोचेको थिइन ऊ त्यहाँ हुनेछ । 

“ओहो हाम्रो भेट फेरी भयो है” मलाई देख्नेबित्तिकै ऊ भन्छ । 

“सायद फेरी भेट हुन लेखेको रैछ तर हिजो तपाई अर्कै बाटो लागेपछि मलाई लागेको थियो हाम्रो भेट हुनेछैन ।” उ हाँस्दै हो है भन्छ र आफ्नै लेन्सहरुमा मस्त हुन थाल्छ । 

“यहाँ तपाईको पहिलोपटक हो ?” मलाई फेरी उ सँग बोल्न मन लाग्छ । “होइन नि, तपाईको ?” मेरो पनि होइन म भन्छु । यो बर्खामासमा सूर्योदय कभर गर्न आउँनु मलाई अचम्मको काम लाग्छ । कताकता लाग्छ सायद ऊ पनि म जस्तै बादल प्रेमी हो । त्यतिबेला ऊ बादलकै फोटो खिच्दै रहेछ ।

उ आफ्नै लेन्सहरुमा मस्त छ । म आफ्नै अनुभूतीहरु सँग । ऊ सँग सम्वादको लागि क्यामरा छ । म सँग आफ्नै अनुभूतिहरु मात्र छन् । यो भ्युउ टावरमा मेरो पाँचौ पटक हो । तर हरेक पटक जब म यहाँ उक्लिन्छु मैले आफूलाई आफैँ त्यही पाउँदिन । देख्नेहरुको लागि म उहि हुँ । उही जागिर, डेबिड र क्रेडिटको अत्यासलाग्दो दैनिकी । उहीँ रंग , उहीँ क्यानभाष र उही कुचिहरु । तर अब मैले कोर्नुपर्ने जीवनको चित्र उही हुनेछैन । अब मैले आफ्नै चित्र कोरेँ भनेपनि मैले कोर्ने आकारहरु केही स्पष्ट हुनेछन् । सायद मैले आफैँलाई ब्याख्या गर्ने गरेको रातो रंग केही कम हुनेछ । यो अनौठो अनुभूती हो । 

उ आफ्नो ध्यान क्यामराबाट हटाउँदै भन्छ, “एउटा प्रश्न सोधौ हैै” , “सोध्नुस् न” म हाँस्दै भन्छु । “एउटा एकाउन्टेन्ट कसरी घुम्ने लतमा फस्यो म अन्योलमा छु ।” 

“अन्योलमा हुनु ठिकै हो तर सबै एकाउन्टेन्ट नम्बरको खेलमा मात्र रमाउँछन् भन्ने कुरा आजबाट तपाईले बिर्सनुपर्छ । म अंकहरुको खेलमा रमाउँन नसकेको एकाउन्टेन्ट हुँ । खासमा म आफूलाई चित्रकारको रुपमा बढी पाउँछु तर बिडम्बना सुरुमै चित्रकार हुँ भनेर भन्न धकाउँछु ।” 

उ हाँस्दै भन्छ , “आजबाट त्यो धक हटाउँनुपर्यो । सेम इज अ ब्याड थिङ, यूउ नो ।” म उसको कुरामा सहमती जनाउँछु । 

उ भन्छ, “हिजो नै तपाईले आफूलाई चित्रकार भनेको भए, थाहा छ,  म तपाईसँग केही समय थप बिताउँनेथिएँ । मलाई लाग्यो म नम्वरमा कमजोर छु हाम्रा संवादका बिषयहरु मिल्दैनन् ।” 

म भन्छु, “चित्रकार र एकाउन्टेन्ट हुनु भनेको एक अनौठो बिरोधाभाष हो । त्यसलेै अरुलाई बुझ्न सजिलो हुन्छ कि भनेर म उकाउन्टेन्ट मात्र भनिदिन्छु ।”

उ मैले भनको कुरामा सहमति जनाउँछ र आफ्नै धुनमा मस्त हुन थाल्छ । मलाई लाग्छ केही सोधु उस्लाई । तर फेरी लाग्छ ...... नसोधु । पर आकाशमा एक बादलको मुस्लो घुमिरहेछ । टावरबाट तल देखिने बजार छेकिएको छ । नजिकैका फाँटहरुमा  धान हरियो भैसकेको छ । जताततै हरियाली छ । यो दृष्य मेरो लागि नौलो होइन । म यस्तै गाँउघरमा हुर्केकी हुँ । तर पनि आज मन बहकाउँन आफ्नो झै लाग्ने परको गाउँ आइपुगेकी छु । कहिलेकाही परिचितहरुको भिडले म निस्सासिन्छु । लाग्छ कसैले नचिन्ने बनिदिउँ । त्यही खोजिमा म यहाँ आइपुगेकी छु ।  तिस बसन्तहरुले मलाई आफैलाई बुझ्ने कुनै अर्को आयाम दिन सकेनन् । आज म त्यसैको खोजीमा छु । 

फोटोगार्फर आफ्नै क्यामरामा मस्त छ । अब म उसँग थप सम्बादको आबस्यकता देख्दिन । मलाई संवादका लागि मात्र गरिने संवादहरुले त्यति लोभ्याउँदैनन् । मानिससँग संवादमा रहनु एक सुन्दर भ्रम मात्र हो । म उस्लाई बाई भन्न सक्थे । तर भनिराख्न जरुरी ठानिन । सायद.... अब जरुरीकै लागि गर्नैपर्ने केही छैन जीवनमा । म जीवनको एक मध्य बिन्दुमा छु । पार गरेको आधा यात्राबारे म गुनासो गर्न सक्दिन ................

जानेहरुको नाउँमा

  यो समथर कथा होइन । सायद म यहाँ कहिँ कतै खुम्चिएकी छु । कहिँ कतै रोकिएकी पनि छु । यो जानेहरुको कथा हो । सायद हामी सबैको साझा कथा हो । यो मह...