निर्जला अधिकारी
अदालतबाट कसरी घर आइपुगेँ थाहा छैन । अन्तिमपटक उसलाई बाई भन्न सजिलो थिएन । अनौठो उल्लास बोकेर उ मेरो जीवनमा आएको थियो । उसको आगमनले अनौठो उल्लास र उत्साह दिएको थियो । अहिले अनौठो सान्नाटा र पिडा छ मसँग । थाहा छैन म कहिले पिडामूक्त हुनेछु । कहिले आफैँले आफैँलाई प्रेम गर्न थाल्नेछु ।
थाहा छैन यो जीवनको कुन मोड हो । यो कल्पना होइन , यो पूर्ण कल्पना पनि होइन । यो जीवनमा नजोडिएका बिन्दु झै पो हो की । बिन्दुले उपस्थितिको पूर्णतालाई जनाउँदैन । कहिलेकाही लाग्छ म उपस्थितिको त्यही अबस्थामा छु जसलाई अनुपस्थित भन्दा हुन्छ । उ थियो जीवनमा तर उसको उपस्थितिलाई उपस्थिति मात्र मान्दिदा हुन्छ । आज बाट उ थियो भनेर भन्दा हुन्छ । उ गएकोमा मलाई कुनै गुनासो पनि छैन । कहिलेकाही लाग्छ चिच्याएर भनिदिउँ तिमीहरु सबै उस्तै हौ । म मेरो आफ्नो लागि काफी छु .........................
उसँग करिब एक बर्ष बिरानो देशमा बिताएँ । लागेको थियो कसैले छाडे पनि उसले मलाई सम्हाल्नेछ । टुटेकालाई प्रिय ठान्नेहरु मलाई अझ प्रिय लाग्छ । म टुटेकी थिएँ । मलाई लाग्यो उसको उपस्थितिले सब सामान्यझै बन्नेछ । बिडम्बना म फेरी पहिलेको टुटेकी छु ।
म किन टुटेँ कारण छ । बिनाकारण कोही टुट्छ र ? उसको नाम अंगत थियो । उ मेरो कान्छी काकीको साथिको भाई । किनकिन काकीलाई लाग्यो उसको र मेरो जोडी जम्छ । काकीले आमालाई भन्नुभयो, आमाले बालाई । कालन्तरमा कुरो मसम्म पुग्यो । आमाले भन्नुभयो , “आफन्तनै हुन् सबै कुरो मिल्यो भने बिहेका लागि नाई नभनेस्, पढ्ने, जागिर खाने कुरा बिस्तारै गर्दा पनि हुन्छ” । त्यतिखेर म भर्खर एक्काइस बर्षको थिएँ । अरुको बिहे देख्दा रमाइलै पनि लाग्थ्यो । आमालाई देखाउँन नसके पनि भित्रभित्र खुसी थिएँ । उ काकीको घरमा आयो, म पनि काकीको घरमा गएँ । एक छिन गफ गरेँझै गर्यो जब फक्र्यो बिहेको लागी हुन्छ भन्ने खबर आयो । घरमा खुसीयाली छायो । म भित्र अनौठो उल्लास र खुसी दुबै । मलाई लागेको थियो उ फर्केपछि मलाई फेसबुकमा रिक्वोस्ट पढाउनेछ, अरुको देखेझै म पनि उसँग बिहेअघि मजाले बोल्नेछु । तर त्यस्तो केही भएन । उसले न रिक्वोस्ट पठायो, न फोन गर्यो । रिक्वोस्ट मैले आफैले पठाए तर बोल्न सकिन ।
घरकाले जिस्क्याउँथे, बोल घुम भन्थेँ म पनि बोल्दैछु झै गर्थे । करिब एक हप्तापछि बिहे छिन्ने दिन फिक्स भयो । एक महिनापछि बिहे गर्ने टुङ्गो पनि लाग्यो । इन्गेजमेन्टको दिन पनि उसको र मेरो गफ हुदै भएन । त्यसदिन पछि मलाई लाग्यो सम्बन्धहरु देखेझै नहुँदा रहेछन् । जीवनमा एकखाले सान्नाटा छाएको थियो । तर म कसैलाई भन्न सक्दैनथे । दाईलाई भनु कसरी भनु, आमालाई भनु कसरी भनु । मैले साथीहरुलाई पनि भन्न सकिन ।
बिस्तारै दिनहरु बित्दै थिएँ । बाआमाको लागि बिहेको लागि जोड्नुपर्ने र मिलाउनुपर्ने अनेक काम थिएँ । म कलेज जान्थेँ आउथेँ जीवन पहिलेझै थियो । तर पहिलेझै म खुसी थिइँन । एक दिन कलेजबाट फर्कदै गर्दा बाआमाको न्याउरो अनुहार देखे तर सोध्न सकिन । मलाई लाग्यो छोरीको बिहेको चिन्ताले होला । खाना खाएँ । कपडा धोएँ । तर बेलुकासम्म पनि उहाँहरुको अनुहार उस्तै थियो । दाई आयो खोई किन दाई पनि निराश देखिन्थ्यो । बेलुका दाईले मलाई बोलायो । दाईसँग मेरो खासै गफ हुँदैनथ्यो ।
म भित्र पसेँ उसले ठोका लगायोँ । “कल्प, तँलाई एउटा कुरा भन्नु थियो” उसले भन्यो । भन्नुन मैले भनेँ तर किनकिन मेरो मुटु बेस्सरी धड्किएको थियो । दाईले कामेको श्वरमा भन्यो , “त्यसले अर्कै केटी भगाएछ, बिहे नहुने भयो” । दाईले यति भनेपछि केही भन्न सकेन ।
म कोठामा फर्के ......सबै देखेर रिस उठ्यो । त्यस रात किनकिन आमा पनि मसँगै सुत्न आउँनुभयो । तर आमाले मसँग केही भन्नुभएन । मलाई लागेको थियो त्यो सामान्य कुरा हो केही दिन पछि सबैले बिर्सनेछन् । तर त्यस्तो भएन जति समय बित्दै गयो मान्छेहरुले अझ सम्झाउँदै गएँ ।
धेरैले मेरो लागि प्रयोग गर्ने “बिचरा” शब्द देखेर मलाई असाध्दै रिस उठ्थ्यो । साँच्चैभन्दा आज पनि उठ्छ । घरमा बिहेको कुरा चलेपनि त्यहि कारणले धेरैले मलाई रिजेक्ट गर्थे । कहिलेकाही मलाई लाग्थ्यो ममा केही कमी पो छ कि । एक दिन आकाशको कुरा आयो । सबैले भने उमेरमा केही ठूलो भएपनि बिदेशमा बसेको केटो हो यसको जीन्दगी राम्रो हुन्छ । तर अघिल्लोपटक झै त्यो पटक बाआमा भने खुसी हुनुहुन्नथ्यो न म नै थिएँ । उ सबैका लागि राम्रो बन्यो । पहिलेझै त्यसपटक पनि मैले नाई भन्न सकिन । केही मिनेट बोलेपछि सबै फिक्स भयो । अरुले झै उसले मेरो टुटेको इनगेजमेन्टबारे सोधेन । मलाई लाग्यो उसले म भित्रका तमाम तित्ततालाई पखाल्नेछ । चाडैनै बिहेको कुरा टुङ्गियो । यदाकदा हुने फोन कलमा उ मलाई राम्रो मानिसझै लाग्थ्यो । सायद मान्छेलाई आफ्नोझै लागेपछि सब राम्रो नै लाग्छ । एक हप्ताभित्र बिहेपनि भयो । मलाई लाग्यो म पूर्ण भए ।
केही दिनमा उ क्यानडा फक्र्यो । उ सँगको बिछोड सजिलो थिएन । उसले मलाई चाडैनै बोलाउँने कुरा गर्यो । उ फर्केपछि मलाई लाग्यो यी भूगोलका दुरीहरु मात्र हुन् । प्रेमलाई दुरीहरुले केही प्रभाव पार्दैन । उ दिनको एकपटक भिडियो कलमा बोल्थ्यो । त्यो मेरो लागि सबैभन्दा सुन्दर समय थियो । तर बिस्तारै फोन कलहरु पातलिन थाल्यो । उसले मलाई उता लाने कुरा पनि कम गर्न थाल्यो । मलाई एदाकदा लाग्थ्यो सायद यही जिन्दगी हो । तर म त्यसैलाई यर्थाथ मानेर स्विकार्न तयार थिइन ।
यतिकैमा दुई बर्षहरु बिते न उ फक्यो न म गएँ । सम्बन्ध सम्बन्ध जस्तो मात्र रह्यो । समाजलाई साक्षी राखेर लोग्ने स्वास्नी बनेका हामी समाजका लागि मात्र लोग्ने स्वास्नी बन्यौ । करिब दुई बर्षपछि हजुरआमाको तेह्र दिनको कामलाई उ नेपाल फर्कयो तर न पहिलेझै मसँग बोल्यो न माया ममता नै देखायो । मलाई कहिलेकाही लाग्थ्यो म मक्किएको घर भैसकेकी छु कुन दिन ठल्छु थाहा छैन । तर त्यो पटक फर्किएको खोला झै उसले मलाई क्यानडा बोलाउँने कुरा गर्यो । उ हप्ता दिन पनि नबसी फक्र्यो । एक महिनापछि म उता जाने सबै बन्दोबस्त मिल्यो । बाआमा, सासुससुरा सबै खुसी हुनुभयो ।
म क्यानडा पुगेँ, बषौसम्म उसँग सँगै बस्ने सपना पुरा भएको थियो । तर खै किन म उसको आँखामा मेरा लागि केही भेट्दैनथेँ । उ काममा जान्थ्यो कहिले फर्कन्थ्यो कहिले फर्कदैनथ्यो । हामी समाजका लागि लोग्ने स्वास्नी थियौ तर लोग्ने स्वास्नी जस्तो नभएको बर्षौ भै सकेको थियो । म भित्र अनेको आवेगहरु थिएँ जुन बर्षौ देखी अतृप्त थिएँ । कहिलेकाही लाग्थ्यो सबैतिर ठिकै देखिनेहरुको जीवनमा पनि आँधि र हुरी चलिरहेको हुन्छ । क्यानडा गएको करिब ६ महिना पछि एक दिन अचानक किचन टेबलमा उसले मेरा लागि लेखेको सानो नोट भेटेँ ......
प्रिय अर्धकल्प
थाहा छैन कहाँ बाट सुरु गरौ । भन्नको लागि धेरै कुरा छ तिमीलाई तर तिमीछेउ आएर म भन्न सक्दिन । मलाई तिम्रा आँखाहरु देखेर डर लाग्छ । तिमीसँग बिहे गर्नु एक जोक झै लाग्छ । थाहा छ .... तिमीले एक श्रीमतीले गर्नुपर्ने सबै धर्महरु निभाएकी छौ । सबैभन्दा धेरै मलाई त्यसैले पोल्छ । तिमीलाई मैले मननपराइकन बिहे गरेको पनि होइन । तर जब म यता फर्के ..... दुरीले मात्र तृप्त हुन सकिन । सायद म स्वार्थी भएँ । नगर्नुपर्ने धेरै चिज गरेँ । सायद त्यसैलाई प्रेम ठानेर अरु कसैको प्रेममा परेँ । यो शरीर पापी हुँदो रहेछ कल्प, तिम्रो मायाले मात्र मलाई बाध्न सकेन । यहाँ तिमीजस्तै मेरो अर्को पनि कोही छ, म उसलाई पनि त्याग्न सक्दिन तिमीलाई तर परको कुरा । तर यदायदा लाग्छ तिमीले कोही अरु भेटेको भए हुने । मलाई तिम्रो इमान्दारिताले अझ धेरै पोल्छ । थाहा छैन यो सुनेपछि तिमीले के कदम चाल्नेछेउ । मलाई आशा छ तिमीले आफ्नो खुसी रोज्नेछेउ । यो भन्दा अरु केही म लेखीरहन सक्दिन ।
तिम्रो खुसी चाहने
उही म
त्यो पढेपछि चुकिसकेकी म एकाएक फेरी नराम्ररी टुक्रिए । भनु कसलाई भनु भनु त्यो बिरानो मुलुक अझ बिरानो लाग्न थाल्यो । उ त्यो रात घर फर्केन । भोलिपल्ट फक्र्यो तर मलाई केही भन्न सकेन । मलाई किन किन लाग्यो अब उ मेरो लोग्ने होइन । मैले उसका अगाडी चाहेर पनि आँसु झारीन किनकिन लाग्यो त्यो आँशुलाई पनि गरेको अपमान हो । मैले उसलाई केही नभनी भने मलाई नेपाल फर्कने टिकट काटिदेउ । उसले भन्यो, “ केही समय बस तर आफ्नो खुसी रोज । म तिमी खुसी भएको देख्न चाहन्छु ।” उसले त्यो भनेपछि मैले आफ्ना आशुहरु रोक्न सकिन । छ महिनापछि सबै मिलाएर नेपाल फर्के ।
करिब एक बर्षपछि उसको र मेरो सम्बान्ध टुङ्ग्याएर आएकी छु । जताततै सुनसान निशब्दता मात्र भेट्दैछु । यो निशब्दताको सायद यी शब्दहरुले पुरै बोल्दैन । सायद यो सान्नाटा म भित्र सधै रहनेछ । वा समयसँगै बिर्सनेछु । मलाई किनकिन बिर्सने मन छ ।
No comments:
Post a Comment