निर्जला अधिकारी
भर्खरै बिहानी भएको छ । शहरमा हलचल बढीसकेको छैन । आकाशमा बादल यथावत नै छ । सदाझै आज पनि बिहानै बिउँझिएकी छु । आज काममा जानु छैन तथापी सुतिरहन सक्दिन । बाहीर आकाश हेर्छु मलाई बिना हलचलका शान्त बिहानीहरु मनपर्छ । झ्याल खोलेर बाहिर एकटङ्कारले हेर्दै छु ।
अबका पाँच दिन मेरा आफ्ना हुन्, कसैलाई बाड्नु नपर्ने केबल आफ्ना । आधि पढिभ्याएको किताब सिरानीमा छ । आधि जाचेका कापीहरु अर्को टेबलमा छन् । ल्यापटप बन्द छैन । सबै चीज अधुरो यात्रामा छन् । सायद म जस्तै । यो अधुरोपन सायद मेरो आफ्नो हो । म गरीभ्याएको कामलाई सेलेब्रेट गरेर बसीरहन सक्दिन । अप्राप्तीले सदा पोल्छ ।
यहि अधुरोपनमा आफैलाई खोज्छु कहिलेकाही । यदाकदा लाग्छ, जे देखे जे जीउँदैछु मेरो आफ्नो हो । आफैसँग गुनासो नभएको पनि होइन तर कहिल्यै लाग्दैन कोही अरुको मूलबाटोमा हिडेँ । आफू वरीपरीका मानिसहरु भेट्छु सबैको गुनासो छ समय नभएकोका । आफूलाई हेर्छु, चाहिनेभन्दा बढी समय पाउँछु ।
मसँग समयनै समय छ । हप्ताको एउटा पुस्तक प्राय पढ्छु । आफैसँग बोलिरहन्छु । आफैलाई मनलागेको चिज गर्छु । समयसँग गर्नुपर्ने गुनासाहरु केही छैनन् । बन्धनहरु छैनन् बाध्यताहरु छैनन् । केही मनोकामनाहरु नभएका होइनन्, माया मोह र बासना बाहेक हरु चिजलाई हेर्ने हो भने म एक जोगीझै हुँ । मसँग बाध्यता र जिम्मेबारीका गह्रौ पोकाहरु छैनन् ।
भर्खरै मार्खेजको पुस्तक पढिभ्याएकी छु । मलाई हृदयले लेख्नेहरु असाध्दै मनपर्छ । जीवनलाई नचाहिने ढङ्गले रोमान्टीसाइज गर्नेहरु देखेर हाँसो पनि उठ्छ । सतहमा बाच्नेहरुलाई लाग्ला जीवन जे देखिन्छ त्यही मात्र हो गहिरेर हेर्दा हामी सबैसँग अत्यासलाग्दा निरास रातहरु छन् । हृदय खालेर बोल्यौभने हाम्रा आँखा ओभाना बाकी रहँदैनन् । सपनाका, सम्बन्धका अनैकौ चोटहरुको साक्षी हामी सबै भएका छौ । तर दुनियासँग यस्तो भैदिन्छौ लाग्छ हामीसँग हिडिआएको बाटामा फूलहरु मात्र थिएँ ।
अचेल काठमाडौ अत्यासलाग्दो लाग्छ । कहिलेकाही लाग्छ यो निराशाको पुञ्ज हो । मैले जीएको काठमाडौ यो भन्दा निराश कहिल्यै थिएन । नानीहरुलाई लाग्छ सपना भनेको पैसा हो । मेरा हाइस्कुल भ्याइसकेका बिथार्थीहरुलाई तिमीले जे बुझ्दैछौ त्यो सत्य होइन भनेर सम्झाउँन सक्दिन । उनीहरुलाई लाग्छ पैसा भनेको सपना हो । सायद यहि समयको काठमाडौँलाई कोही कविले चित्रण गर्यो भने ग्रिन्सबर्गले साट्ठिको दशकका लेखेका कविताभन्दा फरक नबन्ला । आदर्शबादी हुनु, कम्यूनिष्ठ हुनु अबको समाजको लागि आउटडेटेड हुनु हो । कहिलेकाही लाग्छ यो सहर सुपरमार्केट हो यहाँ केही चर्चा हुन्छ भने त्यो डेबिट क्रेडिट कार्डको हुन्छ ।
यहि गतिमा सहर अघि बढ्यो भने यस्तो समय आउँनेछ, सहरले अफिसमा काम गर्ने कर्मचारी भेट्ने छैन । विचार निर्माण गर्ने अध्यताहरु रहेनेछन् । स्कुलहरुले शिक्षक नपाउँन सक्छन् । तर यस्तो झुर कल्पना कसले गरीबस्छ यो सहरमा । यस्तो काम काम नभएका म जस्ताको हो जोसँग सोच्ने समय मात्र छ ।
सहरमा साथीहरु कम छन् । नाटक हेर्न र पुस्तक किन्न एक्लै हिड्न थालेको बर्षै भैसक्यो । यदाकदा “गु जस्तो देश” भनेर अमूक देशबारे कसैले निर्कोल गरिदिन्छ । लाग्छ देश नछोड्नेहरु किराझै हुन् । हुन त किरा हुनु र मानिस हुनु अस्तित्वको हिसाबले एउटै हो । तथापी आफ्नो भागको गल्ति पनि देशकै हो भन्न सक्दिन ।
बिस बाइसका नानीहरु मेरो लोग्नेले जाँड खाँदैन भनेर टिकटक बनाउँछन् आमाहरु छोरीले संसारै जीतिझै गरी सेअर गर्छन् । लागेको थियो म पछिका बैनीहरुको लागि सपनाका आयतनहरु र जीवनका परिभाषाहरु फराकिला बन्नेछन् । तर समाज उल्टो बगेझै लाग्छन् । बैनीहरु लोग्ने जाँड नखानेको परेकोमै खुसी छन् ।
लेखीरहँदा लाग्यो मसँग पनि गुनासाका पोकाहरु मात्र रहेछन् । गुनासाहरु पोखेकै राम्रो है................................................................................................................................................................................................................
No comments:
Post a Comment