Saturday, August 12, 2023

किताबको यात्रा


किताब नभएको भए के हुन्थ्यो ? यो प्रश्न मलाई अहिलेसम्म कसैले सोधेको छैन । तर आफैँले आफैलाई कयौ पटक सोधेकी छु । उत्तर सजिलो छ म आज जे छु त्यो हुँदैनथेँ  । सायद कसैसँग गफ गर्ने कुराहरु रहदैनथेँ । अथवा मैले आफैँले बुझ्नको लागी सायद थोरै केही साघुरा बाटाहरु मात्र बच्थेँ होलान् ।

मलाई पुस्तकको संसार सदा फराकिलो मूलबाटो लाग्छ । मैले पैसाका लागि, नामका लागि, पदका लागि कहिल्यै पढिन । मलाई यो भनीरहँदा कुनै गुनासो छैन । मेरा लागि पुस्तक आधुनिक भाषामा भन्दा साधन साध्य केही पनि होइन ।  र पनि  सबैचिज हो । 

कयौ बर्षहरु आफैँले आफैँलाई झिनो ठानेर बिताएँ । कहिल्यै लागेन आफूझै अरु कोही पनि छ । एक एक्लो बालकको लागि पुस्तक रमाइलो साथि हो । मैले आज पनि पुस्तकलाई साथीको रुपमा बुझ्ने गर्छु । ममि भन्नुहुन्थ्यो यो नदिझै हो यसले तिमीलाई पर लग्नेछ । ममिका शब्दहरु अनौठा लाग्थे । बुझ्दैनथेँ तर बुझ्थेँ पनि । मलाई आज पनि लाग्छ कि म नदीलाई बुझ्छु कि अक्षरहरुलाई । मेरा लागि नदी र अक्षर दुबै एकै हुन् । मलाई लाग्छ मैले देखेका सपनाका अग्ला र सग्ला स्वरुपहरु यी दुई मात्र हुन् ।

मलाई कहिलेकाही अक्षरहरु आफैँझै लाग्छन् खिरिला साना तर उनीहरुको ओजिलो उपस्थितिले मलाई आफ्नो उपस्थितिको पनि अनुभूती हुन्छ । लाग्छ सानो र खिरीलो हुनु उपस्थिीति बिहिन हुनु होइन । सायद त्यसैले मान्छेहरुले मेरो लेख्य स्वरुपमा बुझे भने खुसी पनि लाग्छ ।

साँच्चै भन्दा मलाई भाषाको लेख्य स्वरुप असाध्दै प्रिय लाग्छ । सम्भव हुँदो हो त म सबैसँग लेखेरै संवाद गर्थे । आज पनि मलाई फोनमा बोलेर केही भन्नु भन्दा लामा इमेलमा आफ्ना कुराहरु भन्न सजिलो लाग्छ । बिना संकोच लामालामा चिठिझै लाग्ने इमेलहरु लेख्छु । 

मेरो आमाको लागि पढाई यात्रा थियो सायद आफूले पुरा गर्न नसकेको एक अपुरो यात्रा । उहाँलाई सधै लाग्छ मैले त्यो पुरा गरुँ । यदाकदा लाग्म मैले गरेको यात्रामा मेरा आमाका पदचापहरु छन् । 

आज पनि म लेख्नेहरुसँग खुलेर बोल्न सक्दिन । कयौ पटक आफूलाई मनपर्ने लेखकसँग नजिकै पर्दा नबोली हिडेकी छु । मलाई मान्छे बुझ्नको लागि उहीसँग बोल्नुपर्छ भन्ने लाग्दैन । साँच्चैभन्दा मलाई लेखकहरुलाई भन्दा  उनीहरुका पात्रहरु प्रेमील लाग्छ । मेरो लागि पारीजात भन्दा सकमबरी, सान्द्रा सिस्जेरोज भन्दा इस्परेन्जा, हेमिङवे भन्दा लिटल बोइ, ओसन ओङ भन्दा लिटल डग अझ धेरै प्रिय छन् । म पात्रहरुलाई पात्रमात्र ठानेर छोड्न सक्दिन । मलाई कहिलेकाही लाग्छ म स्परेन्जा नै हुँ मलाई पनि उसलाई झै आफ्ना वरीपरीकाको कथा भन्नु छ । मलाई पनि उसलाई झै आफ्ना किताब र कापीहरु बोकेर कही पर पुग्नुछ  र फेरी फर्कनु छ । मलाई पनि आफ्नो सानो घर आफैँ बनाउनु छ । मलाई कहिलेकाही सान्द्रा देखर रिस पनि उठ्छ किन उसले परको भूगोलबाट मैझै लाग्ने अर्को मानिसबारे लेखीँ । कहिलेकाही लाग्छ उसले नलेखेको भए सायद मैले लेख्ने थिएँ ।

यो खिरिलो लाग्ने झिनो मानिसले देख्दा झिनो र खिरिलो देखिएपनि संसार हल्लाउँने शब्दको यात्राबारे गरेको एक ब्यक्तिगत अबलोकन हो । मलाई सदा लाग्छ पुस्तकको यात्रा मेरो आफ्नो यात्रा हो । मलाई यसको बास्ना स्वरुप र बनोट सबैको उपस्थिितिले संसार अझै उज्यालो भएझै लाग्छ । शब्दहरुले अस्तित्वको नाजुकतालाई बोल्छन् । यो भूगोलभन्दा पर मान्छेलाई मान्छेकै स्वरुपमा लिइदिने अभिब्यक्तिको एक सुन्दर स्वरुप हो । आफूलाई कयौ पटक भाग्यमानी र कृतज्ञ ठान्छु मैले बाचेको संसारमा पुस्तकको उपस्थििती गहिरो र रोचक छ । 

No comments:

Post a Comment

डायरी लेख्ने केटी– पार्ट २

  यो डायरीको कथा होइन यो त त्यो केटीको कथा हो जो डायरी लेख्छे । तपाईहरु सोच्न सक्नुहुन्छ उसको डायरीको रंग कस्तो होला । वा डायरी लेखिसकेपछि...