आफैँसँग बेखुस भएर शहरका गल्लिहरुमा भौतारिँदैछु । थाहा छैन के पाउँनु छ के गुमाउनु छ । थाहा छैन यी बेखुसीका श्रीङ्खलाहरु कहिलेसम्म चल्नेछन् । उही सडक, उही क्याफे, उही मानिसहरु, उही चियाका कपहरु । यस्तो लाग्दैछ म पुनराबृत्तिका जिउँदैछु । कुनै दिन कसैले भनेको थियो जीवन भनेको दोहोरीनुनै हो । थाहा छैन उ कहाँ केमा दोहोरीरहेको छ । तर म दोहोरीन चाहन्न । मलाई पुनराबृत्तिले पोल्छ ।
किनकिन यो भिडमा आफैलाई खोज्दैछु । लाग्दैछ म भिडनै हुँ । भिडसँग झै मसँग पनि कोलाहल छ । तर चिच्याउँन सक्दिन । यो कोलाहलमा आफैँलाई खोज्नु आफ्नै अस्तित्वको कोलाहललाई सम्बोधन गर्नु नै रहेछ ।
भिडमा आफैँलाई खोज्नु ठिक हो वा होइन मलाई थाहा छैन । म त नदि किनारकी केटी हुँ । म त बग्न चाहन्थेँ । मलाई डुब्न र तैरिन दुबै आउँछ झै लाग्थ्यो । म त्यो केटी थिएँ जसलाई आफ्नो मानक आफैँ बनाउनु थियो । म आफ्नो यात्राको मालिक आफैँ बन्न चाहन्थेँ । तर किनकिन आज नदी किनाराझै महसुस हुँदैछ । म चाहन्न म डोबहरुझै एकनासको छालहरुसँग मात्र लडुँ ।
दिनहरु कति छिटै बित्छन् है ? आफैलाई सम्बोधन गर्दागर्दा कयौ बर्षहरु बितेछन् । कहिलेकाही लाग्छ मसँग आफ्नै लागी पनि केही भ्रमहरु मात्र बाकी छन् ।
कहिलेकाही एकान्तले असाध्दै पोल्छ तर सधै होइन । हिजो नै जस्तो लाग्छ आफूजस्तै कोही अर्को भेटेकी थिएँ । कहिलेकाही लाग्छ त्यो दुरदुरको सत्संग थियो । यदाकदा दुरीहरुले असाध्दै पोल्छ । लाग्छ हामी कहिल्यै भेटिनेछैनौ । म यी दुरीहरुलाई नाध्न सक्दिन ।
एक भुगोलमा उ छ अर्को भुगोलमा म छु । सोचेकी थिएँ दुरीहरु क्षणिक हुन् । तर आजकल यस्ता सपनाहरु देख्न छोडेकी छु । पर आकाशमा एक्लै बत्तिएझै लाग्छ । कहिलेकाही बिना पखेटाको पन्छिझै महसुस गर्छु । दुरीहरुले मतलब त राख्छ तर नियती ठान्छु । म चाहेर पनि नियतीलाई बदल्न सक्दिन । हुनसक्छ हामी सबै यस्तै नियतीहरुले बाधिएका छौ ।
कोही एउटा अर्को फिरंगीझै देखिने अर्को टेबलमा बसेको छ । थाहा छैन उ केको खोजीमा छ । भाषाले मानिसलाई यति धेरै बाध्दो रहेछ पहिलोपटक महसुस हुँदैछ । उ केही भन्न चाहन्छ तर भन्न सकिरहेको छैन । उसलाई देखेर माया लाग्दैछ । यस्तो लाग्दैछ मनै उसलाई बोलाइदिउँ । आफ्नो टुटेफुटेको अंग्रेजीको उपयोग गरुँ । उ नजिकैका अर्का दुई स्कुले नानीहरुसँग बोल्न खोज्दैछ । नानीहरु उत्तर फर्काउन सकिरहेका छैनन् । अरु टेबलका मानिसहरु पनि उसैलाई हेर्दैछन् । उ सोध्दैन, “तिमीहरुको पनि सपनाको देश अमेरीका होला है, उनीहरु खुसीसाथ हो भन्दैछन् ।
कस्तो अनौठो बिष्मयमा हामी बाचिरहेका छौ । अरु कसैले आफ्नो सपना सोध्दा कुनै अमूक भुगोलको नाम लिन्छौ । यी अनौठा सपनाहरु हुन् । मानिसहरु सपनाका दासी हुन् । मलाई कहिलेकाही हाम्रा सपनाका परिधिहरु देखेर माया लाग्छ । हामी त सपनामा पनि गरिब छौ झै लाग्छ । किन हामीसँग पैसाका सपनाहरु मात्र छन् । आफैलाई परपर लग्न सक्ने उन्मूक्तिका सपनाहरु छैनन् ? कसैले सपनाको कुरा गर्दा हामी कुनै अमूक मुलुकको नाम लिन्छौ । आउने जानेको लामो लर्को छ सडकमा । यस्तो लाग्दैछ म त्यही बिष्मयको साक्षी बनेकी छु ।
सबैभन्दा कठोर भिडमा आफूलाई खोज्नु रहेछ । भिडले कथाका कोलाहललाई सँकेत गर्छ । कहिलेकाही लाग्छ यो भिड मेरो कथाको साक्षी भएको छ । आफ्नै कथालाई आउटसाइडर भएर चिहाउँन सजिलो हुँदो रहेनछ । त्यो अप्ठ्यारोपनको महसुस भएको छ । तर म अप्ठ्यारोपनलाई त्याग्न सक्दिन । सायद यो मेरो रोजाइ हो ।
यी शब्दहरुका भिडमा मान्छेहरुको भिडको कथा पनि मिस्सिएको छ । न यो सुरुवात हो न अन्त्य । मान्छेहरुको ध्यान अब त्यो गोरो छाला भएको अंग्रजी बोल्ने कुनै अमूक मुलुकको मानिसबाट म तिर सरेको छ । आज पनि एक्लै एक्लै क्याफेमा बसेर डायरीमा कलम चलाउँने छोरीमान्छेलाई देखेर भिड अचम्म मान्दो रहेछ । मान्छेहरु अचम्मित नजरले मलाई हेर्दैछन् । सायद अब मैले अन्त्य गर्नुपर्छ । उनीहरुलाई थाहा छैन मैले उनीहरुकै कथा लेख्दैछु । सायद मैले लेख्ने नियतीको कथा यहि हो । सायद यी गल्लिका कथाहरुले कहि कतै मैलाई गिज्याइरहेछन् ।
No comments:
Post a Comment