मुड ठिक छैन । कसलाई भनुँ । सायद आफैँलाई । भन्नलाई पनि त कोही छैन । पिरियड हुन एक हप्ता बाकी छ । के यो पियमयस हो । अरुले परै जाओस् मुडले पनि मलाई साथ दिन छोडेको छ । इन्स्टा खोल्छु लेख्छु, “ भिडभन्दा पर एकान्तमा” साथमा फोटो याट्याच गर्छु भूइमा झरेका पातको । कहिलेकाही लाग्छ म आफैँ पतझर हुँ । सायद म कसैको प्रभावमा पनि बहकिन सक्छु । या त्यो मानिस हुँ जसको अस्तित्वलाई नगन्य ठान्दा हुन्छ ।
हातमा ह्यान क्यानको “भेजिटेरिएन” छ । उपन्यासकी पात्र एकाएक साकाहारी भएपछि उसको लोग्ने एकाएक चिन्तित भएको छ । हुन त उ चिन्तित हुनुपर्ने कुनै कारण देख्दिन । मलाई लाग्दैन उसले कहिल्यै आफ्नी स्वास्नीलाई प्रेम गर्यो । उपन्यासले झन् मलाई रिसाहा बनाएको छ । लाग्दैछ किन छोरामान्छेहरु यति धेरै अप्रेमिल हुन्छन् । किन छोराीमान्छेको मिलेको शरीरलेमात्र उनीहरुलाई पगाल्छ । किन उसले बिनाप्रेम केही सिमित फाइदा हेरेर उसलाई बिहे गर्यो ? के उपन्यासकी नायिका प्रेमको हकदार थिइँन । के प्रेमको हकदार बन्न पनि तपाई अरुले सोचेझै भैदिनुपर्छ । मलाई किन किन लाग्दैछ म पनि त्यही नायिकाझै हुँ ।
आफैँ देखेर रिस उठ्दैछ । भएभरका पुराना कथाहरुले फेरी पिरोल्दैछ । कहिलेकाही लाग्छ यी सबै बिर्सिदिउँ । तर बिर्सिन्छु भन्दैमा बिर्सने हो र ! उसले मलाई प्रेम नगरेकोमा पछुतो छैन । तर उसले मेरो बिनम्रतालाई नबुझेकोमा छ । मलाई आफू हुनुपर्नेभन्दा बढी अपोलोजेटिक भएकोमा पनि छ । उसले तँलाई कहिल्यै प्रेम गर्न सक्दिन भनेको दिन पनि मैले किन उसलाई सरी भने भनेर पछुतो छ । के मैले उसलाई प्रेम गर्नु पाप थियो, सँगै यात्रा गर्न चाहनु पाप थियो ? थिएन, भने मैले किन माफी मागेँ ? के माफी मेरा लागि मात्र बनेको हो ? मलाई कहिलेकाही यी सबै कुराहरुले पोल्छ जस्तोकि आज । लाग्दैछ म किन बिनम्र हुन्छु ? के म अरुझै भैदिँदा हुँदैन ?
कथाको पाण्डुलिपि डेक्समा बसेको दुई बर्ष भैसकेको छ । तर प्रकाशकलाई पठाउँन सकेको छैन । यदाकदा त्यो कथाको पाण्डुलिपिले कतै उसलाई दुखी त बनाउँदैन भनेर सोच्छु पठाउँन सक्दिन । तर म किन सधै उसको खुसीको बारेमा सोचुँ जसले मेरो खुसीको बारेमा कहिल्यै सोचेन भने । म पनि त उसले अस्विकार गरेपछिका कयौ रातहरु रोएर बिताएकी थिएँ । के उसले कहिल्यै ठिक छस् भनेर सोध्यो । के उसले मैले भनेका कुराहरुले तँ दुखी त छैनस् भनेर सोध्यो ? तर म किन उ बारे सोचिबसौ । हो मेरा कथाहरुमा उ पनि छ । तर मैले तैँ मेरो पात्र होस् भनेर भनेको पनि त छैन । तर म उ झै बन्न सक्दिन त्यसैले दुखी छु ।
कहिलेकाही आफ्नै उदारताले दुखी बनाउँदो रहेछ । यूट्यूबमा केही भिडियोहरु हेर्छु सबैको एउटै सुझाब छ “गिब रेस्पेक्ट टु योर डिक्निटि” । के म आफ्नो आत्मासम्मान जोगाउँनको लागि अरु कोही झै बन्नुपर्ने हो । यदाकदा लाग्छ सबैझै नहुनुको ऋण तिर्दैछु । आमा चाहानुहुन्थ्यो छोरी आफूझै सरकारी जागिरे बनोस् । केटाकेटी बेलामा आफैँलाई पनि नलागेको होइन । तर जबदेखी अक्षरको प्रेममा परेँ मलाई कामका लागि गरिकएका कामहरु सब बेर्थ लाग्न थालेँ। सबैको नजरमा लहडी बनेँ । सोलोटार्भल भन्दै बनारस सम्म पुगेँ तर बाआमाले खोजेझै परिपक्क बनिँन । आज पनि मेरा किताब ठेलीहरुले परिवारलाई सुखी भन्दा दुखी बनाउँछ ।
कहिलेकाही लाग्छ छोरी हुनुको अनौठा मूल्यहरु चुकाउँदैछु । त्यो भन्दा बढी आफूजस्तै हुनुको मूल्य चुकाउँदैछु । यदाकदा लाग्छ बेप्रवाह कुनै बिरानो मुलुकमा छिरिदिउँ । तर डेक्सटपमा रुमलिएका पाण्डुलिपिहरुले रोक्छन् । जति नै बिरक्तिएपनि म कथाका पाण्डुलिपिहरुलाई बेप्रबाह मिल्काउँन सक्दिन । इन्स्टाको भर्खरको पोस्ट हेरेर कोही नयाँ मानिसको म्यासेज आएको छ । तर किनकिन म रिप्लाई गर्ने मूडमा छैन । दुईचार दिन अचम्मै गरेझै गर्नेहरु केही समयपछि परपर भागेको दुष्टान्तहरु छन् । आजकल लाग्छ नजिकिनु ब्यर्थ हो । म यूफोरियाले पुलकित हुन चाहन्न । किनकिन एक्लोपनले मलाई धेरै दिएको छ । म खुसी भएको समयमा लेख्न सक्दिन । बिना पिडा लेख्न गाह्रो छ ।
केही दिनका लागि पर कहि जान चाहन्छु एक्लै । एक्लोपनले अनौठो साहस दिन्छ । यस्तो लाग्छ आफ्नै पदचापहरुले आफैलाई बोलाउँदैछन् । मलाई यदाकदा लाग्छ मेरा कथाहरुले यिनै यात्राहरु हुन् । शब्दले गरेका यात्राहरु । शब्दमा यात्रा गर्न सजिलो छ पनि छैन पनि । कहिलेकाही पात्रहरुले आफ्नै यात्रा रोज्छन् जस्तो कि आज । म चाहन्नथेँ उ आफ्नो मरिसकेको अप्रेमिल लोग्नेलाई सम्झेर नरोओस् तर उ रुन्छे । म शब्दहरुलाई रोक्न सक्दिन । म पनि उसँगै रोइदिन्छु । सायद ह्यान क्यानबाट पनि त्यही भयो । उसले अप्रेमील लोग्नेलाई प्रेम गर्नबाट रोक्न सकिन । सायँद यो हामी महिलाहरुको समस्या हो हामी कठोरतामा पनि कोमलता खोज्छौ । म बाट कयौ पटक त्यस्ता गल्तिहरु भएका छन् ।
कथाको पाण्डुलिपिलाई बोकेर हिड्नु गह्रौ छाती बोकेर हिड्नु हो । अप्रकाशित कथाहरुले कहिलेकाही रुवाउँछन् । यदाकदा मलाई लाग्छ मैले कथाहरुमा मझै लाग्ने अनेकौलाई बोकेर हिडेकी छु । छोडिजानेको खोपलाई बोक्नुभन्दा गाह्रो त लेख्नेहरुको पिडालाई बोक्नु रहेछ । म चाहेर पनि प्रेमिल कथाहरु लेख्न सक्दिन । मेरा कथाका नायक नायिकाहरु बिरलै एक हुन्छन् । छोडिजाने बेलामा नायक रुदेँन नायिका नरोएझै गरेँपनि रुन्छे । यस्तो लाग्छ मैले आफैँलाई लेख्दैछु ।
हुन त प्रेमको कथा लेख्न पनि प्रेमलाई भोग्नुपर्ने रहेछ । बर्षौ अस्विकृति र एकाङ्कीका पानाहरु छिचोलेर यहासम्म त आइपुगेँ तर अघि बढ्ने बाटो पनि अध्यारै देख्छु । मैले शब्दमा बियोग मात्र लेख्ने रहेछु । वा यो मेरो रोजाई हो । सायद म यस्तै चाहन्छु । मैले हिडेको बाटो मेरो आफ्नो हो । के म आफ्नो भोगाइलाई सर्बमान्य हो भन्न सक्छु कदापी सक्दिन । तर पनि यो मेरो भोगाइ हो म यस्लाई खेस्रा पानाझै फाल्न सक्दिन ।
यी सब सोच्दा सोच्दै अघिको इन्स्टाको म्यासेज खोल्छु,
हाइ,
लेख्नेहरुले फोटो पनि सँगै पोस्ट गर्दा अनौठो लाग्दो रहेछ । तर तपाईको फोटोले तपाईको लेखाईलाई दोहोरिरहने क्लिसेझै बनाइदिएको छ । कृपया सक्नुहुन्छ भने केही प्रेमिल लेख्नुस् ।
– धुमिलता मननपराउँने मान्छे .............................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................
कृपया तलको बाकी स्पेस आफैँले भर्नुहाला ......पूर्ण कथाको खोजीमा । कथाकारको भोली जन्मदिन भएकाले उसको अपूर्ण जन्मदिनको लागि अपूर्ण कथा लेखेकी हो । कथालाई पूर्णता दिनेकोहीसँग कथाकार कफिडेटमा जान पनि सक्नेछ .....
उही पतझर
No comments:
Post a Comment