निर्जला अधिकारी
दिन शान्त छ । मनमा शान्ति भएको बेला बादलले भरीएको दिन पनि मनपर्छ । घण्टाघर तल छु । घण्टाघर आफ्नै लयमा घुमिरहेको छ । सायद समय यसरी नै घुम्छ । बिस्तारै थाहा नपाएझै गरी । सायद यो जीवनको गति हो । सायद मानिस पनि आफ्नै लयमा घुम्न चाहन्छ । हत्तारीँदै हिडेर कही पुग्नु छैन । हामी सबैको गन्तब्य एकै हो । थाहा छैन हत्तारीँदै हिड्नेहरु कहाँ पुग्छन् । सायद लामा पाइला चाल्नेहरुको यात्रा छोटो हुन्छ । यात्रा अयात्राको हामी घुमिरहेका छौ , सायद यही नै जीवन हो ।
चियापसलमा छु । भर्खरै एक मधुर मुस्कानले छोडेर गएको छ । मुस्कान एक सामुहिक भाव हो । दुख पिडालाई हामी सामूहिक बनाउँन सक्दैनौ । सायद मुस्कान नै त्यस्तो अनुभूती हो जसले सामूहिकता रोज्छ । मुस्काउँदै हिड्नेहरुले अनौठो अनुभूती दिएर जान्छन् । उसले त्यही दिएर गएको छ ।
शहर आफ्नै गतिमा छ । चाहेर पनि हामी शहरको गतिलाई रोक्न सक्दैनौ । चियापसलबाट शहरको एक दृश्य कैद गर्दैछु । शहरले आफ्नै सौन्दर्य बोकेको हुन्छ । सबै आफ्नै लयमा पाइला चाल्दैछन् । किन कहाँ कसैलाई थाहा छैन ।
यो पाइलाहरुको कोलाहलमा आफ्नो पाइला खोज्दैछु । सायद म पनि आफ्नै दौडमा छु अरुजस्तै । तर थाहा छैन मलाई कहाँ पुग्नुछ, के पाउँनु छ । के मेरा पाइलाहरु प्राप्तिको दौडमा छन् ? तर थाहा छैन मेरो गन्तब्य के हो । आफैलाई खोज्दाखोज्दै म कहाँ पुग्नेछु ।
के सब यी दौडिरहेका मानिसहरु आफैलाई खोज्दैछन् । वा शहरको धुनमा त्यसै नाच्दैछन् । मलाई अरुको लयमा नाच्नेहरु अनौठा लाग्छन् । थाहा छैन नाच्दानाच्दै उनीहरु कहाँ पुग्नेछन् , के पाउँनेछन् । सायद यो शहरको बिशेषता हो । यसले आफ्नै धुनमा नचाउँछ । तर सबैसँग आफ्नै परिकल्पनाको शहर हुन्छ ।
हामीले बुझेको शहरको कल्पना एकात्मक हो । यो एकात्मकताको बिम्बमा अडिएको छ । मैले शहरमा रहनुको अनुभूतीलाई सामूहिकतामा ब्याख्या गर्न सक्दिन ।
गाडी गुडेका छन् । मानिसहरु हतारमा छन् । चिया पसलबाट चियाका बाफहरु उड्दैछन् । यो शहरको बिहानी हो । सायद शहर यसरीनै बिउँझन्छ । स–साना नानीहरु स्कुलका लागि निस्कदैछन् । नानीहरुले शिरमा लगाएको रिबनका फूलहरुले थप सौन्दर्य थपेको छ । यी अनुभूतीका तंरगहरुलाई म कैद गर्न चाहन्छु । म चाहन्छु मसँग यस्ता अनुभूतीहरु रैरहुन् । सायद हामी सबै यी यस्तै अनुभूतीका भोका छौ । बिष्मृतिहरु छोटा हुन्छन् सायद हामी सबै स्मृतिमा बाच्न चाहन्छौ ।
No comments:
Post a Comment