Tuesday, November 26, 2024

प्रतिक्षा

 उसको कोठामा छु । सेता पर्दा सेतो तन्ना आकाशे रंगका कुशनहरुले कोठा उज्यालो देखिएको छ । ओछ्यानमा हरेक हप्ता उसलाई मनपर्ने सेतो रंगको तन्ना ओछ्याइदिन्छु । आज पनि अघिल्लो हप्ताझै अर्को सेट सेतो तन्ना ओछ्रयाएको छु । हरेक दिन उसको किताबमा जम्मा भएको धुलो पुछ्ने गर्छु । उसले बनाएका सबै चित्रहरुलाई फ्रेम गरेर राखेकी छु । उ छैन तर यी सबै चीजहरुले उ भएझै महसुस गराउँछन् । उसको यो बाइसौ जन्मदिन हो । बाइसौ जन्मदिनमा उसको लागि बाइिस वटा किताबहरु ल्याएकी छुु । थाहा छैन उसले यो देख्छे वा देख्दिन । तर मलाई लाग्छ उसले यो देखोस् । मेरो अगाडी उसले लेखेको अन्तिम डायरी छ..........................

डेट– १५ डिसेम्बर, २०२२

“हिजो रुपि कौरको होम बढी पढेँ ।  त्यसपछि रातभर स्याली रुनिको “कन्र्भसेसन बिथ  फेन्डस्”को सय पेज पढेँ । सधै झै हिजो पनि निद्रा लागेन । सुत्न नसेकेको तिन महिना भैसकेको छ । जब रात पर्न थाल्छ मुटु धड्किन्छ । सुत्न सक्दिन । बाच्छुझै वा बाचौँझै लाग्न छोडेको छ । थाहा छैन यस्ता निराश दिनहरु म कसरी काट्नेछु ।

मामूलाई धेरैपटक भनेको हो । तर मामूले पत्याउँनुहुन्न । म निदाउँन सक्दिन । केही नराम्रो कुरा सुन्नेबित्तिकै हात काम्छ । मेरा आँखाहरुले जे पनि डार्क र निराश देख्छ । पढ्न पनि आजकाल त्यहि मन लाग्दैन । हुन त सबैले मलाई किताबको किरो भन्छन् । तर आजकल पहिलेझैँ पढ्न सक्दिन । मलाई लेख्न मनपथ्र्यो तर आजकाल लेख्न पनि सक्दिन । नयाँ पेन्टिङ नबनाएको पनि कयौ महिना भैसक्यो ।

बाबाको अफिसको केही भर छैन । कहिले सेमिनार कहिले लेटनाइट मिटिङ । उहाँलाई मामूलाई दिने समय पनि छैन मेरो लागि त परको कुरा । मलाई एदाकदा लाग्छ मैले बाबालाई चिनेकै छैन । सानोमा स्कुलको प्यारेन्स डेमा पनि कहिल्यै आउँनु भएन । सबैका मामू बााबा एकैसाथ आएको देख्दा मलाई कस्तो कस्तो फिल हुन्थ्यो । 

मैले मामू र बाबा खुसीसाथ बसेको कहिल्यै देखेको छैन । थाहा छैन बाबा सधै किन घरबाट पर बस्नुहुन्छ । तर मामूले आफ्नो कुरा केही सेअर गनुहुन्न । उहाँलाई लाग्नसक्छ म अझै केटाकेटी नै छु । तर आइ ह्याव क्रस ट्वान्टी, आइ क्यान सेन्स इट । 

मलाई मूराकामी मनपथ्र्यो तर आजकाल मुराकामी पनि पढ्न सक्दिन । थाहा छैन के भाछ । मामू सधै भन्नुहुन्छ धेरै पढेर हो । उहाँ मेरो कुरा बुझ्नुहुन्न । इन्र्टोभट भएर होला मेरा मिल्ने साथीहरु पनि छैनन्  । 

अनिस सँग छुटिएको पनि एक वर्ष भै सकेछ । तर किनकिन आजकल लाग्छ म उसँग रिलेसनसिपमा हुँदा यति धेरै स्याड थिइन । कहिलेकाही त लाग्छ ठिकै भयो । तर सधैँ त्यस्तो लाग्दैन ।  हाम्रो सम्बन्ध  सम्बन्धमा रहेर पनि सम्बन्ध जस्तो थिएन । खोइ किन उ कमिटमेन्ट देखी डराउथ्यो । महिनौ हराउँथ्यो अनि फेरी पहिलेझै बोल्न लाउथ्यो । लास्ट टाइम हाम्रो ब्रेकअप हुनु अघि पनि उसँग म तीन महिनापछि भेटेकी थिएँ । किन किन मलाई लाग्यो उसले मेरो फिलिङलाई रेस्पेक्ट गर्न सकेन । मलाई त अहिले पनि लाग्छ उसको लागि सिचवेसनसिप मात्र थियो । उ आफ्नो स्केसुअल निडको लागि मात्र मसँग नजिक भएको थियो । मेरो लागि मात्र त्यो सम्बन्ध थियो । त्यो अन्तिम  भेटमा पनि मेरा आँखाबाट मात्र आँशु झरे । उसका आँखामा मैले केही भेटिन माया त परको कुरा ।

 तर कहिलेकाही उसको कम्पनी पनि मिस गर्छु । लाग्छ मलाई बुझिदिने कोही होस् । निद्रा नभएको बेला बोलिदिने कोही होस् । मलाई लाग्छ म इमोसनल्ली हेल्दी छैन । तर किनकिन मामू यो कुरा बुझ्नुहुन्न । मामूलाई लाग्छ धेरै पढ्नेहरु यस्तै हुन् । बिहान एक घण्टा  मेडिटेसन गर्छु तथापी दिनभर उदासीले छोड्दैन । आजकाल मामूले नदेख्ने् गरेर स्मोक पनि गर्न थालेकी छु । मलाई थाहा छ स्मोकिङ राम्रो होइन । तर किनकिन यसले एकछिन भए पनि उदासी कम गर्छ । मलाई कहिल्यै लागेको थिएन मैले बिस कटेपछि स्मोक गर्न थाल्नेछु । तर स्याड्ली आइ स्टाटेड याफ्टर ट्वान्टी । 

कलेजको सेमिस्टर ब्रेक भएको छ । थाहा छैन, यो एक महिना म कसरी बिताउँछु । मोबाइल छुनै मन पर्दैन । मोबाइल छुनेबित्तिकै हात काम्छ । कसैले गरेको फोनले मुटु फुटेझै धड्कन्छ ।  सोसल मिडिया सबै डियाक्टीभ गरेकी छु । पहिले पहिले बिदाको समय एक्लै बसन्तपुरतिर घुम्न जान्थेँ । यस्तो लाग्थ्यो बसन्तपुर कथाहरुको अलिखित संग्रह हो । तर आजकल जान मन लाग्दैन । कतै पनि निस्कन मन लाग्दैन । कोठाको पर्दाहरु पनि खोल्न मन लाग्दैन । मलाई उज्यालो कोठा मन पथ्र्यो तर आजकल उज्यालो देखेर पनि डर लाग्छ ।

कहिलेकाही लाग्छ मलाई यस्तो भएको मेरो अनयुजल चाइलहुडको कारणले हो । मैले मामुलाई पनि  यो कुरा अहिलेसम्म भन्न सकेको छैन । आइ युज टु बुलिड एट स्कुल । मलाई साथीहरुले लामखुट्टे भन्थेँ किनभने म दुब्लो र अग्लो थिएँ । मलाई स्कुल जान कहिल्यै मन लागेन । मेरो क्लासमेटहरुले ब्वाइफेन्ड बनाउँने टाइमसम्म पनि मैले बेस्ट फेन्ड पनि बनाउँन सकेको थिइन । आइ युज टु फिल ब्याड एवाउट माइसेल्फ । मलाई ऐनामा हेर्दा राम्री महसुस कहिल्यै भएन ।

अनिस मेरो पहिलो बोइफेन्ड थियो । मैले उसलाई टिन्डरमा भेटेको थिएँ । उसले आफ्नो बायोमा लेखेको थियो । “एन अनयुजल गाइ हु वान्ट टु सि अनयुजल गल” । मलाई लाग्यो उ मेरो लागि उपयुक्त छ । म पनि उ जस्तै अनयुजल हँु । तर समयसँगै उ खासै लोयल लागेन । उसको लागि म भन्दा अरु धेरै कुराहरु प्रिय थिए । बस् कहिलेकाही भेटेको बेलामा उ मसँग फिजिकल इन्टिमेसी मात्र चाहन्थ्यो । मलाई उसँग भन्नको लागि कति धेरै कुराहरु हुन्थ्यो । तर उ चाहन्थ्यो म उँग फिजिकल्ली मात्र इन्टिमेट बनुँ । कहिलेकाही राती भेटेर फर्केपछि उ मलाई न्यूड पठाउँन आग्रह गथ्यो । तर म त्यसको लागि कम्फरडेबल थिइन । मैले उसले भनेको नमानेपछि उ कयौ दिन मसँग बोल्दैनथ्यो । सधै यस्तै नै हुने गथ्र्यो बिस्तारै मलाई लाग्न थाल्यो उ र म सम्बन्धबाट एकै चिज चाहँदैनौ । मैले एक्लै हिड्ने बाटो रोजे ।

तर उसँग छुट्टिएसँगै अनेकौ कुराहरुले पिरोल्न थालेको छ । मलाई उसँग फिजिकल्ली इन्टिमेट भएकोमा नि रिग्रेट हुन्छ । तर माया गरेकोमा हुँदैन । मेरो लागि प्रेम शरीर मात्र थिएन । सायद उसले मेरो कुरा कहिल्यै बुझेन । 

 किन किन बिस्तारै बाच्नुको सार देख्न छोडेकी छु । थाहा छैन आइराख्ने सोसाइडल थटबाट कहिले बहकिने छु । थाहा छैन यो खालीपनले कहिले छोड्नेछ वा कहिल्यै छोड्नेछैन  । कहिले म पहिलेझै बन्न सक्नेछु । वा कहिल्यै बन्नसक्नेछैन । आजकल त म मरेपछि रुने मान्छेहरु बारे पनि सोच्ने गर्छु ।  मामूबारे सोच्छु नराम्रो फिल हुन्छ । उहाँको संँसार नै म हुँ । तथापी उहाँलाई म इमोस्नल्ली ठिक छैन भन्दा विस्वास लाग्दैन ।के डेथबारे सोच्नु नराम्रो हो ? मलाई लाग्छ म बाचेभन्दा मरेँभने मलाई शान्ती हुनेछ । म यी बिनानिद्राका खाली र उदास रातहरु कतिदिन झेल्न सकुँला । कहिलेकाही त राती आफ्नो धड्किएको मुटुको आवाजले आफैँ तर्सन्छु । निद्रा बिनाका रातहरु कसैका नहुन् । म शान्ती चाहन्छु । म चाहन्छु मैले केही फिल नगरुँ.....................................................................................

आज छोरीको जन्मदिन हो र उ नभएको ४५ दिन पनि । उ भएको भए अर्को उल्लास हुने थियो । अपूर्व पनि छोरीको जन्मदिनको लागि भनेर घरमा हुने थियो । उ गएपछि अपूर्व घर बिरलै आउँछ । थाहा छैन उ के महसुस गर्छ । केही नभनेपनि, यदाकदा लाग्छ यो सब हुनुमा उ मलाई दोसी ठान्छ । कहिलेकाही मलाई आफैँलाई पनि त्यस्तै लाग्छ । 

उसको  जन्मदिनमा उसका डायरीहरु पढ्दैछु । यो उसले लेखेको अन्तिम डायरी थियो । उसले मृत्यूवरण गर्नु करिव एक महिना अघिको । डायरीका हरेक शब्दहरुले मलाई पिडा दिँदैछ । लाग्दैछ यो मैले पहिल्यै पढ्नुपथ्र्यो । यी ४५ दिनहरु मलाई ४५ लाख जुनीझै भएको छ । आँमाले सन्तानको मृत्यूको कल्पना कहिल्यै गर्न सक्दिन । यो गर्न नसक्ने कल्पना यर्थाथ भैदिएको छ । 

मलाई लाग्थ्यो उ म जस्तै छ । नबोलिकनै धेरै कुरा बुझ्ने । तर आजकल लाग्दैछ मैले उसलाई बुझ्न नसकेको रहेछु । आमा भएर आमाझै हुननसकेको पिडा सधै रहनेछ । उ सजिलै जीवनमा आएकी थिइन । बिहे गरेको सात बर्षसम्म पनि केटाकेटी नभएपछि हामी दुबैको सम्बन्धमा रोमाञ्चकता थिएन । मलाई एडप्ट गरेर वा आइ बि एफ गरेर भए पनि सन्तानको आमा बन्न मन थियो । अपूर्वलाई त्यो कुरा मन्जुर थिएन । बिहे भएको सात बर्षसम्म बिना सन्तान बैबाहिक जीवन बिताउँन सजिलो थिएन । मलाई लाग्छ उसको मेरो सम्बन्धमा त्यही समयदेखी चिसो भएको हो ।

म ओम हस्पिटल एक्दै भए पनि कयौपटक गएँ । अपूर्व सन्तान त चाहन्थ्यो तर सन्तानको लागि हस्पिटल जान तयार कहिल्यै भएन । मलाई कहिलेकाही लाग्छ मेरो मातृत्वको यात्रा पनि एक्लो यात्रा थियो । अपूर्व र मेरो ओछ्यानको मिलन बाहेक ।  उ आएपछि हामी बिचको सम्बन्धमा केही समयको लागि भएपनि पनि उल्लास छाएको थियो । छोरी मेरो पेटमा आएसँगै मेरो र अपूर्वको परिवारमा पनि खुसीयाली छाएको थियो । उ जन्मेको दिन सासुआमाले तिमी पनि आजदेखी पूर्ण भयौ भनेको कहिल्यै बिर्सन सक्दिन । उसको नाम त्यसैले प्रतिक्षा राखेका थियौँ । उसकै लागि भनेर त्यसपछि मैले जागिर खाइन ।  म उसलाई पूर्ण रुपमा हुर्केको हेर्न चाहन्थेँ । 

उ मैले चाहेझै थिइ । पढाकु, ज्ञानी । तर उसको कम बोल्ने बानीले कहिलेकाही मलाई पिरोल्थ्यो । अरु केटाकेटी झै उसले हासी मजाक गरेको मलाई कहिल्यै थाहा छैन ।  बस कि पढ्ने कि स्केच गर्ने उसको दैनिकी थियो । मलाई लाग्थ्यो कुनै दिन उ राम्रो चित्रकार बन्नेछ । मलाई उसको रंगसँग खेल्ने बानी असाध्दै मनपथ्र्यो ।

जब उसले एसइइमा ए प्लस ल्याएर पास गरी सबैले भन्थे अपूर्वले छोरीलाई डाक्टर बनाउँछ होला । तर उसलाई डाक्टर बन्न मन थिएन । मलाई पनि उ डाक्टर नै बन्नुपर्छ भन्ने थिएन । ए लेवल पछि केयूमा फाइन आर्टस्  पढेकोमा मलाई कुनै गुनासो थिएन । उसको बाबा पनि खुसी हुनुहुन्थ्यो । हामी दुबै उ खुसी भएको देख्न चाहन्थ्यौ ।

अरुका केटाकटी झै उसका धेरै साथीसंगती सँगको संगत मैले कहिल्यै देखिन । उसको पढ्ने लत भने बच्चा देखीनै थियो । अल्लि पछि मलाई लाग्थ्यो उ किताबमा मात्र नभुलोस् । बोरु घुम्न निस्क्योस् साथी बनाओस् । उसको एक्काइसौ जन्मदिनमा मैले उसलाई यात्रामा जाउँ भनेर दुई दिनको लागि चित्लाङको हाइकिङ ट्रिप बुक गरिदिएको थिए । तर उ जान मानिन । त्यसको सट्टा एक्काइस वटा पुस्तकहरु मैले उसलाई दिएँ उ खुसी देखिन्थी  । उ  कलेजबाट आएपछि कि चित्रहरु मात्र कोर्थी कि किताबहरु मात्र पढ्थी ।

  तर केही समयदेखी उ केही निराश देखिन्थी । मलाई लाग्थ्यो, नचाहिदा पुस्तकहरु पढेर हो । मलाई लाग्थ्यो धेरै पढ्नेहरु धेरै सोच्छन्, धेरै सोचेर हो । उसले मलाई म निदाउँन सक्दिन भनेकी पनि थिइ । मलाई लाग्यो कहिलेकाही होला ।  सधै होइन ।

जीवनमा यसरी उसलाई गुमाउँछु भन्ने कहिल्यै थिएन । उ नरहेपनि अपूर्व पनि बिरलै घर आउँछ । लाग्छ केही बर्षदेखी उ कोही अरुसँग सम्बन्धमा छ । हामी विचको सम्बन्ध सधै यस्तै नै थियो । उ भएकाले छोरी छ भन्ने आधार थियो । अपूर्व बाहिर कोहीसँग हिडेको कुरालाई म थाहा पाएपनि नपाएझै गर्थे । मलाई लाग्थ्यो छोरीले यो सब थाहा नपाओस् । म छोरीको नजरमा उसको पिताको डार्क साइड देखाउँन चाहदैनथे । तर उसको यो डायरी पढेपछि थाहा भयो उसको पनि उसको पितासँग गुनासो रहेछ ।

उ भैइनजेल उ आफ्नै काममा ब्यस्त भएपनि मलाई एक्लो कहिल्यै महशुस भएन । म त उसको बिहेबारे पनि सोच्न सक्दैनथेँ । हुन त उसको उमेरका भएपछि धेरै बाआमाले बिहेबारे सोच्ने गर्छन् । तर मलाई लाग्छ उसले बिहे गर्दिन भनेकी भए पनि मलाई कुनै गुनासो रहँदैनथ्यो । म उ खुसी भएको मात्र देख्न चाहन्थेँ ।

थाहा छैन, उ बिनाका एक्ला र निराश दिनहरु म कसरी बिताउँनेछु । उसका उमेरका केटाकेटीहरु म सडकमा पनि देख्न सक्दिन । एक्कासी मुटु दुखेर आउँछ । आजकल उसँगै छु भन्ने महशुस गराउँन उस्ले पढ्ने पुस्तकहरु पढ्छु ।  उ प्राय अंगे्रजी पुस्तकहरु पढ्थी । तर मेरो अंग्रजी उसकोझै नभएपनि पढेझै गर्छु । लाग्छ यी पुस्तकहरुमा उ कहि कतै छ ।  उसको स्पर्शको महशुस हुन्छ ।

कहिलेकाही लाग्छ, मैले उसलाई कसरी बुझ्न सकिन ?  आमाले आफ्नो सन्तानलाई बुझ्न नसक्न पाइन्छ ? थाहा छैन कहिले मैले आफैँले आफैलाई माफी दिन सक्नेछु । .....................................................................................................


No comments:

Post a Comment

जानेहरुको नाउँमा

  यो समथर कथा होइन । सायद म यहाँ कहिँ कतै खुम्चिएकी छु । कहिँ कतै रोकिएकी पनि छु । यो जानेहरुको कथा हो । सायद हामी सबैको साझा कथा हो । यो मह...