Wednesday, November 20, 2024

प्रिय डायरी


करिब करिब दुई महिनामा फर्किएकी छु । फर्कनु पनि थियो तर कहाँ कसरी थाहा थिएन । अध्यारो केबल अध्यारो हो । निष्पट्ट अन्धकारले उज्यालो देखाउँदैन । मैले आफैँलाई भुलेकी थिए सायद तिमीलाई पनि । फर्केकोमा खुसी हुनुपर्ने केही छैन तर म धेरै नै खुसी छु । बुझ्दैछु कहिलेकाही आफैँलाई खोज्नु र आफैँलाई भेट्नु पनि खुसी हो ।

बाहिर अध्यारो छ । कुकुरहरु एकतमासले भुक्दैछन् । समय चिसो छ । मौसम पनि त चिसो छ । फूलहरु बिस्तारै फुल्न छोड्नेछन् । बिहानै चराहरु तुवालोले छेकिनेछन् । चिसो त उनीहरुलाई पनि लागेको छ । हामी असन्तोषी छौ मौसमले हामीलाई मात्र चिसो दिए झै लाग्छ ।

किबोडमा हातहरु सलबलाएका छन् । मन शान्त छ । कयौ दिनपछि म भित्र यति धेरै निष्पट्ट शान्ति छ । सायद अक्षरहरु पनि कोलाहलमा रिसाउँछन् र रोज्दछन् मौनताको बाटो । मलाई मौनताको पनि खोजी थियो तर त्यस्तो मौनता होइन जो कोलाहलमा भेटिन्छ । आज म भित्र कोलाहल छैन । 

भन्नु केही छैन । तथापी हातहरु सलबलाएका छन् । कहिलेकाही लाग्छ म कुनै चित्रकार हुँ जसलाई रेखाहरु मनपर्छ । यदाकदा लाग्छ अक्षर भनेका पनि रेखाहरु नै हुन् । हरेक खाली पानाहरुमा म चित्र कोर्छु । यो बन्न नसकेको चित्रकारको कथा हो जसलाई लाग्छ अक्षर भनेका पनि रेखाहरु नै हुन् ।

कतिलाई लाग्ला अक्षरहरु केही अर्थपूर्ण भावहरु हुन् । मौनतालाई अक्षरमा बोल्छु भन्नु भूल हो । थाहा छैन किन मलाई लाग्छ, मेरा लागि शब्दहरु मौनता र कोलाहल दुबै हुन् । मलाई न चिच्याउँनु छ न मेरो कुराहरुलाई अर्थपूर्ण बनाउँनु छ । म बेअर्थ शब्दमा बोल्छु । कहिलेकाही लाग्छ म चाहन्न मेरा कुराहरुले महत्व राखोस् । राखेर पनि केही हुनेवाला छैन । कुनै दिन म यहाँ रहनेछैन । नरहँदा पनि केही हुने छैन । यो यात्रा हो सायद शब्दहरुको यात्रा वा जीवनको यात्रा तर म चाहन्छु म हरेक पाइलाहरुमा मेट्टिउँ र कोही अरु बनुँ । र अनायासै बिदा लिउँ । 

हावा र बतासहरु झै अदृश्य बनु र हराउँ कही कतै बादलमा । हुनसक्छ यो कुनै मायावी सपना हो । या कुनै निराश मानिसको बिरत्ति भाव हो । वा केही होइन । तर एक अपरिचित र अदृश्य अस्तित्वमा जे छ त्यो केहीमा छैन । तर म निराश थिएँ । तर म आज निराश छैन । कुनै दिन म फेरी निराश हुन पनि सक्नेछु । जीवन न हो । 

म आज जे लेख्दैछु । त्यो अर्थपूर्ण रहनेछैन । म भित्रको कोलाहल र शुन्यता मैले शब्दमा उतारेको मात्र हो । यो म जे हुँ वा जे महशुस गर्दैछु त्यही हो । भन्नुपर्ने केही छैन । तर भनँे । सायद फर्केर फेरी हेरेँ भने केही भेट्रनेछु । आजलाई यतिनै ।


No comments:

Post a Comment

जानेहरुको नाउँमा

  यो समथर कथा होइन । सायद म यहाँ कहिँ कतै खुम्चिएकी छु । कहिँ कतै रोकिएकी पनि छु । यो जानेहरुको कथा हो । सायद हामी सबैको साझा कथा हो । यो मह...