शून्य कस्तो मिठो शब्द है ! आज शून्य बर्षको अन्तिम दिनमा छौ । आज पनि तीन पछाडी शून्य नै छ । दिन हिजो जस्तै छ । बादलले आकाशलाई छोड्न सकेको छैन जसरी खोकीले मलाई छोडेको छैन । सायद आकाश र म समय र भोगाइको उहीँ रफ्तारमा छौ । तर यो बिष्मयको कथा होइन । बर्षहरु त नियती हुन् । नियतीलाई त हामीले अंगाल्न सक्नुपर्छ । अथवा यसलाई सामान्निकरण गर्नुपर्छ जसरी यो महिना खोकिलाई मैले गरेँ । जसरी आकाशलाई बादलले गर्यो ....
बर्षहरु चाडै जान्छन् हैँ । तथापी यीनिहरुलाई बिदा गर्न मन लाग्दैन । भोलिबाट नै म फेरी अर्को अंक थप्न तयार छैन । तर बितेका दिनहरुलाई फर्केर हेर्न तयार छु । जसरी बर्षौ अगाडीका पानाहरुलाई म बिना झनझट पल्टाउँछु । समय कुनै चित्र भएको भएँ समयसँगै रंगहरु फिक्का हुँदै जान्थे होलान् । छाँया र प्रतिछाँयाहरु बादलहरु भ्mै धुम्म पर्थे होलान् । तर यो समयको क्यानभाष हो । मेरो लागि बुढो समय अरु कसैको लागि यौवन पनि हुन सक्नेछ । सायद समय र बर्षहरु नियतीका बिम्बहरु मात्र हुन् । वा यी चित्रमा कतै हराएका धुमिल रेखाहरु मात्र हुन् ।
कहिलेकाही लाग्छ समयलाई मैले बुझिन वा समयले मलाई बुझेन । वा हामी दुबै घमण्डी छौ एकले अर्काको अस्तित्वलाई स्विकार्दैनौ । यो समयको द्वन्द हो । सायद हामी सबै यसैको किनारामा कहि कतै अल्झिरहेछौ । आफ्ना पदचापहरुलाई हामी दौडाउँन सकिरहेका छैनौ । वा दौडिए पनि दौडिनुको उद्वेश्यलाई बुझ्न सकेका छैनौ । कहिलेकाही रुख देखेर ईश्र्या लाग्छ कहिलेकाही नदी किनारा । मलाई लाग्छ उनीहरुले समयको नियतीलाई बुझ्छन् । सायद जति नै बगेपनि रोकिनु त किनारमै छ । जति नै उडेँपनि सायद टेक्नकै लागि जमिननै चाहिन्छ । हुनसक्छ रुख र नदी किनारालाई बुझ्नु समयलाई बुझ्नु हो । तर म आफूलाई बुझाउँन सक्दिन । मलाई दौडनु छ, उड्नु छ म आफ्नै पदचापले अत्यासिएकी छु ।
तर यो पदचापको कथा पनि होइन । म मेरा अक्षरहरुले भर्खरै जे भने त्यो भन्न चाहँदैनथेँ । मलाई कहिलेकाही अनायासै लेखिएका केही बाक्यहरु र अनुच्छेदहरु देखेर पनि रीस उठ्छ । म जे भन्न चाहन्थे उनीहरुलाई लाग्र्छ त्यो भन्नु हुन्न । सायद उनीहरु चाहन्छन् म कुनै शान्त आत्माझै मूक्त शब्दहरु बोलँु । तर म मूक्तिको मार्गमा छैन । म भड्किएकी छु । तर शब्दहरुलाई लाग्छ मैले भड्किएको कुरा गर्नु हुन्न । मलाई यो बर्ष देखेर रीस उठेको छ म क्रोधले बिक्षिप्त छु । तर उनीहरु मलाई शान्त देखाउँन चाहन्छन् । देखाएझै कोही शान्त बन्न सक्छ र ? मलाई कहिलेकाही लाग्छ यी रुखहरुसँग पनि आधिहुरीका कथाहरु छन् सायद मेरा अक्षरहरु झै म उनीहरुको शान्ततालाई मात्र ब्याख्या गर्न चाहन्छु । म मेरा अक्षहरुझैँ ठोङ्गी छु ।
म फेरी भड्किएँ मलाई भन्नु अरु नै कुरा थियो । मलाई बर्ष इतिहास भन्नु थियो । तर मैले भन्ने इतिहासमा हिरोहरु रहँदैनन् । यो त हारेको मानिसको कथा हो जसलाई हामी बिष्मय ठानेर बिर्सन चाहन्छौ । हामीलाई लाग्छ यसले हामीलाई पिडा मात्र दिन्छ । तर म चाहन्छु मान्छेहरुले आधिहूरी र बिष्मयहरुलाई पनि बुझुन् । बिनाकारण कसैको गोलीले बानेश्वरको चोकबाट बिदा लिएका बिरेन्द्र र सुजनलाई पनि सम्झुन् । के बिनाकारण मरेकाहरुलाई हामीले बिर्सनै पर्ने हो । कहिलेकाही लाग्छ उनीहरुको नाउँ बालुवाटारको कोठामा लेखियोस् ता कि फेरी त्यो ठोकाभित्र छिर्नेहरुले उनीहरुलाई नभुलुन् । उनीहरु बिम्ब बनुनन्, रेखाहरु बनुनन्, आख्यानका पात्रहरु बनुन् तर गुमनाम नबनुन् । यो क्रोधको शब्द हो आज म यही भन्न चाहन्थेँ । किन बर्षहरुको कुरा गर्दा हामी फूलेका फूलहरुलाई मात्र सम्झन्छौ ? मलाई अनायासै निमोठियका फूलहरुलाई सम्झनु छ । म उनीहरुको कथानकलाई बादल र आकाशलाई झै सामान्नीकरण गर्न सक्दिन ।
कति उराठ कुरा गरुँ तर बर्ष उराठ थियो । धेरै नहुनु पर्ने कुराहरु भए र हुनुपर्ने कुराहरु भएनन् । आधीहुरुलाई पनि मानिसहरुर्ले बताझै ठानेँ । बतासलाई आधिहूरी सम्झेँ । मैले आफैँले पनि त्यही गरेँ । तर केही राम्रो पनि भयो । मैले कोजीमालाई भेटेँ । मैले गोपीलाई भेटेँ । लिटल डगलाई पनि फेरी भेटेँ । उनीहरुको आधिहूरी पनि आफ्नै झै लाग्यो । सायद एक किनाराको मानिसलाई अर्को किनाराको मानिस आफ्नोझै लाग्छ । सायद त्यही भयो ..............
यो समयको कथालाई आधिबाटोमै टुङ्ग्याएकी छु । लाग्यो समयको गन्तब्य हुँदैन, यात्रा न हो ............
No comments:
Post a Comment