Skip to main content

प्रेम

         कतै सुनेको थिएँ लेख्न सबैभन्दा सजिलो विषय प्रेम हो र सबैभन्दा गाह्रो पनि । थाहा छैन प्रेममा खर्चिएका मसिहरु  कति हाँसो र आँशुले सिँचित छन् । समयको कठिन परिधिमा निस्सासीएका मानिसहरु किन प्रेम भन्ने बित्तिकै उन्मुक्त हुन्छन्? कति कुरा गर्न लजाउँछन्, कति प्रेम गर्छु भन्न डराउँछन् र कति पक्षिहरुझै आफ्नै प्रेमको उडानमा पर पर पुग्छन् । किन प्रेम आफैँमा पूर्ण भएर पनि अपूर्णझै हर प्रेमीहरुको इन्द्रेणीमा अर्को रंग बनेर घुल्छ ।
         प्रेम गर्नु भनेको कोमल हुनु हो । प्रेमको इतिहास कोमलताको इतिहास हो । कसैलाई तिमी कमजोरीसहित अपनाउँछौ, उसका गल्तिहरुमा हाँसिदिन्छौ र फेरी अर्को मौका दिन्छौ र कठोरताको कैंचीले उसको उडानलाई रोक्दैनौ भने त्यो प्रेम नै हो । तिमी हर  कसैलाई प्रेम गर्न सक्छौ तर प्रेमको बदला प्रेम नै म्याथको र्फमूला  माइनस माइनस प्लस जस्तो नहुन सक्छ । प्रेम गर्दिन कहिल्यै प्रेम गरिन भन्नेहरु पनि प्रेम गर्छन् । प्रेमको मैफिललाई नकार्नेहरु  जीवनको संगित र सिम्फोनीलाई पनि नकार्न सक्छन् । नर्कानु अर्को कुरा  तर कसैलाई प्रेम नै गरिन भन्नु मिथ्या मात्र हो ।
        हर प्रेमीहरु सुन्दर गुलाफ हुन् । प्रेम गर्न गाह्रो छ तर पनि उनीहरु प्रेम गर्छन् । कसैलाई प्रेम गर्नु भनेको आफ्नो जस्तै अर्को मानिसको अस्तित्व स्विकार गर्नु हो । प्रेमको लडाई इगोको लडाई होइन यो त  अपनत्वको लडाई हो, आत्मास्विकृतिको लडाई हो । प्रेमिहरु जस्ले प्रेम गर्छन् एकअर्कालाई ति संसारकै सुखी मानिसहरु हुन् सायद सुन्दर पनि । त्यसैले यो भूमण्डलको सबैभन्दा सुन्दर चीज त्यो केही हो भने त्यो प्रेम हो मात्र प्रेम ।
       मानिसहरु प्रेमलाई सम्बन्धसँग जोड्छन् र पो प्रेम कुरुप बन्दैछ । प्रेम प्रेम नै हो । सम्बन्ध र प्रेमबिच तात्विक केही सामञ्जस्यता छैन । यी त जीवनका छुट्टाछुट्टै स्वतन्त्र वृत्तहरु मात्र हुन् ।   प्रेम गर्नेसँग जीवन बिताउँने इच्छा प्राय सबैको हुन्छ तथापी यीनीहरुको  आ–आफ्नै सामाजिक, आर्थिक र धार्मिक चौघेराहरु छन् । हरेक प्रेम सम्बन्धहरु बिवाहमै गएर अन्त्य हुन्छन् भन्ने छैन । यदि प्रेम र सम्बन्धको गहिराइ नाप्ने हो भने प्रेमको गहिराइ सधैं गहिरो हुन्छ र हुनेछ । सम्बन्ध त समाजले बनाएको मापदव्ड मात्र हो । यसको मूल्याङ्कन   सायद अर्थशास्त्र र समावशास्त्रले बढि गर्ला । त्यसैले प्रेमको सुरुवात र अन्त्य दुवै बिवाह हो भन्नु चल्तिको भाषा बोल्नु मात्र हो । सबै बिकेका र स्थापित बिचारहरु ठिक हुन्  भन्न म सक्दिन ।
         कवि, चित्रकार, लेखक, कलाकार यी प्रेमका हिमायतीहरु हुन् । प्रेमलाई अभिब्यक्त गर्न खोज्नु  आफ्नै पाखण्डलाई आफ्नै शिल्पले छोप्नु हो । शब्द र कलाको भाषा बेगर प्रेमको अस्तित्व कहि कतै छ भने त्यो मौनतामा मात्र छ ।  प्रेमीहरु बिना भाषा पनि बोल्न सक्छन् । ठिक बिपरीत त्यही मौनतालाई कविले कविता बनाउँछ, लेखकले कथा बुन्छ, चित्रकारले चित्र । त्यसैले आफू भाषामा बोले पनि कसैले मौनतालाई प्रेम गर्छ भने त्यो कवि, चित्रकार, लेखक मध्धे कोही एक हो ।
        प्रेमको भाषा संसारकै सुन्दर भाषा हो । नबोलेरै बोल्नु भनेको संसारको बहुरंगी कोलाजबाट सुन्दर मौन सिम्फोनी  निकाल्नु हो । हुनसक्छ गीत गाउँनु, कविता लेख्नु, अभिनय गर्नु, चित्र बनाउँनु, मूर्ति बनाउँनु सायद प्रेमकै भाषा बोल्नु हो ।

Comments

Popular posts from this blog

नग्नता

  निर्जला अधिकारी ओछ्यानमा नाङ्गो पल्टिएको छु । जीउँका कपडाहरु लथालिङ्ग कोठाभरी छरीएका छन् । एकछिनअघि आगोझै तातेको शरीर सेलाएर चिसो भएको छ । शरीर शिथिल भएको छ र मन पनि । एक खाले ग्लानी मनभरी फैलीएको छ । तृप्त भएर पनि नभएझै आँखाभरी अनौठो सान्नाटाँ छाएको छ ।  उ गैसकेकी छ । शरीरमा अब रोमाञ्चकता बाकी छैन । छ त केवल  एक गाल्नी । शरीर नाङ्गो छ । नग्नता कुरुप हो वा सुन्दर मलाई थाहा छैन । तर किनकिन आफैलाई नियाल्दा आफै तर्सिदैछु । लाग्दैछ आजबाट म जो थिएँ त्यो रहिन । हिजोसम्म जसलाई म खराब ठान्थेँ आज म त्यहि खराब मानिस भएको छु । भोली आइतबार हो...... बिहानै उठेर गर्नुपर्ने कामको अर्को चाङ छ । र पनि आफैले आफैलाई सम्झाउँन सकेको छैन । कसरी केही मिनेटको सुखको लागि म आफ्ना पुराना सिद्वान्तहरुलाई एकाएक त्यागिदिन सक्छु । के सबै मानिसले शरीरको सुखको लागि सिद्वान्तको बोरा ओड्दैनन् । वा म त्यहि मानिसको जमात हँु जसको सिद्वान्त बन्द कोठाभित्र पस्ने बित्तिकै एकाएक मलिन हुन्छ । मैले कहिल्यै सोचेको थिइन, मैले पहिलोपटक कसैले चुम्ने काम शरीरको लागि मात्र गर्नेछु । हिजोसम्म मेरा लागि प्रेमको कसि पहिलो  र शरीर

मसिना कुरा –भाग ७

  दिन घमाइलो छ । आकाश खुल्ला छ । मानिसहरुको चहलपहल केही बाक्लो छ । पुजाकोठाबाट धुपको बास्नाले सडक र गल्लिहरु महकिँदै छन् । आजको बिहानी सोचेझै शान्त छैन । एकखाले चहलपहल हिजो देखीनै कायम छ । झ्यालमा बसेर बाहिर निहाल्दै छु । महिलाहरुमा बिसेष उत्साह छ, बिहानै नुहाएको कपाल फिजाउँदै दुवो र फूल टिप्दैमा उनीहरु मस्त छन् । यो तीजको बिहानी हो, आज टोल, छिमेक र सडक शान्त बन्न चाहेर पनि बन्न सक्दैन । आजबाट असोज लागेको छ । मौसममा चिसोपन बढ्न थालेको छ । बिस्तारै सयपत्रि र मखमली फूल्न थाल्नेछन् । हावामा सयपत्रिको महक मिस्निेछ । मलाई कहिलेकाही यो सब बारे सोचिबस्दा कुनै चक्रझै लाग्छ । हरेक बर्ष यसरी नै चाडबाडहरु भित्रने गर्छन् र यसरी नै हामीलाई लाग्छ यो कुनै नौलो चाड होइन र पनि नौलो हो । कहिलेकाही लाग्छ यी चाडबाडहरुलाई म अबलोकन मात्र गर्छु । म यसमा प्रत्यक्ष सहभागीता जनाउँदिन । हिजो जस्तो थियो मेरो लागि आज पनि उही हो । यति हो बाहिर हेर्दा अल्लि फरकझै लाग्छ । भर्खरै चियाको गिलास रित्ताएको छु । औलाहरु किबोडमा छन्, सिध्याउनुपर्ने काम चाङ लागेको छ । र पनि मलाई यसरी अक्षरहरुमा पोखिन रमाइलो लाग्छ ।  गर्

अन्त्य

 अन्त्य निर्जला अधिकारी यो यात्राको अन्त्य होइन । न सुरुवात हो । वा यो  उसले भनेझै जीवनको अप्रत्याशितताको उपज पनि हुनसक्छ । थाहा छैन यो के हो ...... जे पनि हुनसक्छ । सम्बन्धलाई धागोले नाप्न खोज्ने हो भने यो केही होइन । ऊ अब सदाका लागी टाढा जाँदैछ । म पनि अलबिदा भन्दैछु शुभकामनाका साथ । यो उसको अन्तिम बिदाई  होइन तर उसको र मेरो सम्बन्धको बिदाई भने पक्कै हो । थाहा छैन त्यो पनि होइन की । म दुबिधामा छु, भावनाहरु उर्लीएका छन् तर शब्द छैनन् । अन्त्यमा म लेख्छु “धन्यबाद, मैले तिमीलाई भेट,े यो भर्चुअल संसारमा भौतिक संसारमा नभएपनि । म खुसी छु र हुनेछु” ...... मेरो अन्तिम डिएम उसको लागी यही थियो  । उसले लभ रियाक्ट गर्यो । र यो हाम्रो अन्तिम संवाद रहने कुरा जनायो ऊ भोलीपल्टबाट टुइटरको संसारबाट बिदा लिदैँ थियो ।  जुन उसको र मेरो सम्बन्धको अन्तिम यर्थाथ थियो । म उस्लाई यो यर्थाथलाई बदलौ भन्न पनि सक्दैनथेँ । मेरो लागी टुइटरको दुनियामा भेटेको र त्यहीबाट छुटेको ऊ पहिलो र अन्तिम ब्यक्ति होइन । र पनि बिशेष पक्कै हो । म उसलाई यो ढुङ्गा माटोको संसारमा भेटेपनि चिन्नेछैन । म खोज्दै हिटेपनि भेट्ने छै