यो डायरीको कथा होइन यो त त्यो केटीको कथा हो जो डायरी लेख्छे । तपाईहरु सोच्न सक्नुहुन्छ उसको डायरीको रंग कस्तो होला । वा डायरी लेखिसकेपछि उसले डायरी कहाँ राख्ने गर्थी वा गर्छे । वा उ डायरीमा के लेख्छे । वा उसको डायरी अरु कसैले पढेको छ वा छैन । हुनसक्छ उ एक्ली छ । वा हुनसक्छ उ कसैको प्रेममा छ । वा प्रेममा भएर पनि एक्ली छ । हुनसक्छ उ दुखी छ । हुनसक्छ उ सबैभन्दा खुसी छ । यी आकलनहरु हुन् । यी तपाईका मेरा हामी सबैका आ–आफ्ना तंरगहरु मात्र हुन् । हुन त जे पनि सक्छ । सोच्न त जे पनि सकिन्छ । सोच्दै गनुस् है ..........
प्रिय डायरी,
यो डायरी भित्रको डायरी हो । म यसलाई मेटा डायरी भन्ने गर्छु । कहिलेकाही डायरी भित्र डायरीमा लेख्न पर्ने कुरा हराउँछ । समय हराउँछ । दिन भनेको ठाउँमा लेख्ने अंक हराउँछ । म वाट सबै सबै चिज हराउँछ म तिमीलाई सम्बोधन गर्न सक्दिन । अंसम्बोधित यी अनेकौ दिनहरुलाई साक्षि राखेर म असम्बोधनलाई सम्बोधन गर्दै छु । समयले ल्याएको झरी र झरी सँगै आएको यो बाढीलाई सम्बोधन गर्दैछु । म पानिमा अडिएकी छु । तिमीलाई लाग्ला कोही पानिमा पनि अडिन सक्ला । तर म पानिको भेलमा पनि स्थिर छु । नबग्नुको नियतिलाई स्विकादैछु । हुनसक्छ तिमी भित्रका यी चञ्चल पानाहरुले मलाई अस्विकार्न पनि सक्नेछन् । वा भन्न सक्नेछन् त हाम्रा लागि स्विकारयोग्य छैनस् । सायद मैले पानाहरुको भावनालाई बुझेकी छु । बगेर पनि कहि नपुग्नुको नियतिलाई स्विकारेकी पनि छु । र भेलमा अडिएकी पनि छु ।
यो भेलमा केही नभएझै हाम्फाल्नुको कथा होइन । यो भेलको यात्रालाई बुझेर पनि यात्रालाई स्विकार्न नसक्नुको नियति हो । म कठोर भएकी छु । किनकिन कठोरतालाई शब्दमा बोल्न सकिँदैन । सायद केही महिना मैले कठोरतामा जिएँ त्यो जीउन सजिलो थिएन । म त आफ्ना अक्षर बाक्य र तिनका रफ्तारहरुसँगै बग्ने मानिस थिएँ । मेरा अनुभुतिका साक्षयात्कारहरु शब्दहरु मात्र हुन्थे । बिना अनुभूती बाच्नुलाई के बाच्नु भन्न,ु तिमी मलाई मृत घोषणा पनि गरिदिन सक्छौ । तथापी बाच्दै छु भन्न आज तिमीमाझ आएकी छु । आशा छ तिम्ले स्किार्ने छौ ।
शब्दमा मात्र पोखिनेका लागि शब्द बेगर बाच्नु एक कठोर तपस्या जस्तै रहेछ । चाहेर पनि शब्दमा ब्यक्त गर्न नसक्नु त्या सजिलो काम पक्कै थिएन । म कतै गुम्सिएको थिए । थाहा छैन त्यो गुम्साइ केको लागि थियो । कहिलेकाही केही चिज बिनाकारण भैदिन्छन् । सायद त्यो त्यही नै थियो । आज तिम्रै सामिप्यतामा फर्किएकी छु । जसरी बर्षौ पछि एक पर्देशी घर फर्कन्छ । एक यायावर यात्राबाट थाकेर विश्रामलाई स्विकार्छ । म त्यसलाई बिश्राम मान्छु । सायद म आफ्नै अनुभुतीवाट बिश्राम चाहन्थेँ । म चाहन्थे म मात्र बनु शब्दमा ब्यक्त भएका अनुभुतिहरु नबनु ।
आज शहरमा पानीको भेल छ । भेलसँगै बग्नेहरुले अर्को विश्रामको नियतिलाई स्किारेका छन् । भेलबाट बच्नेहरु म झै तपाईहरुलाई पनि लाग्ला आज मेरो भागमा न्यानोपन रहेछ । तर त्यो बाहिरी न्यानेपन थियो । नदेखिने बाढीसँगेै हामी धेरै बगेका छौ । कयौपटक बगेर पनि अडिएका छौ । अडिएका पाइलाहरु स्थिरताका बिम्बहरु हुन् । कहिलेकाही आफ्नै परिधिहरु र आफैँभित्रका स्थिरताले पनि पोल्छ । जसरी मेरा अनुभूतीहरु र मेरा अक्षरहरुको अडाइले मलाई पोल्छ । आज आएर मलाई मेरो स्थिरता र बगाइ दुबै शब्दमा अडिएको रहेछ । चाहेर पनि म डायरीका पानाहरु बेगर खुसी नहुदो रहेछु ।
आजलाई यति नै । यो धमिलो दिनको साक्षि राखेर मेरा अक्षरहरु बाढीझै बगेका छन् । म सधैँ अक्षरहरुको भेलमा बग्न चाहन्छु । प्रिय डायरी म तिमीलाई प्रेम गर्छु । तर यो कुनै आत्मिक प्रेम होइन । म मेरा सबै लगावहरुसँगै प्रेम गर्छु । आजलाई यति नै .......
No comments:
Post a Comment