Saturday, July 27, 2024

क्षितिज


पर आकाशमा बादल छ । बिहान धुमिल छ । सायद चराहरु आफ्नै गुणमा छन् । सायद झरीको मौसममा सबैभन्दा ग्राहो कसैलाई पर्छ भने त्यो चराहरुलाई नै पर्छ । रुखहरु मस्त छन् । उनीहरुलाई के झरी, के बतास, के घाम, उनीहरुको जीवन एकतमासको छ । सायद संसारमा सबैभन्दा स्थिर कोही छ भने त्यो रुख नै छ । मलाई कहिलेकाही उनीहरुको स्थिरताले लोभ्याउँछ । तर त्यो उनीहरुको नियती हो । सायद हामी जस्तै उनीहरु पनि आफ्नै नियतीको दासी छन् ।

फूलहरु पनि मस्त देखिन्छन् सायद रुखहरुझै , तर देख्नेले त फूलेको मात्र देख्ने हो उनीहरुले भोगेको घाम पानी र झरीहरु उनीहरुसँग मात्र रहनेछ । सायद नियती यही हो । कहिलेकाही लाग्छ प्रकृतिले हामीलाई सँगै राखेर पनि हामी त एक क्षितिज र अर्को क्षितिज झै रहेछौ । हाम्रा आफ्नै टाकुराहरु र आफ्नै मैदानहरु रहेछन् । हामीले एकले अर्कालाई एक क्षितिजले अर्को क्षितिजलाई हेरेझै हेर्ने रहेछौ । कहिलेकाही लाग्छ हामी सँगै छौ पनि छैनौ पनि । सायद यही नै नियती हो यसरी नै संसार चलेको छ ।

यो बिहानी हो । बिहानीले सोच्न बाध्य बनाउँछ । यो सन्ध्याझै न अष्पस्ट हुन्छ न धुमिल । र पनि बाटामा हिडेका एक लर्कोे मान्छेहरुले तर्साउँछन् । भिडले कहिले पनि स्पष्टता बोल्दैन । भिडलाई कोलाहाल मात्र ठान्दिँदा मात्र पनि हुन्छ । हिडेझै गर्नेहरु हिडेर चै के गर्दैछन् कसैलाई थाहा छैन । कहिलेकाही लाग्छ उनीहरुलाई पनि थाहा छैन । तर थाहा नै हुनुपर्छ भन्ने पनि त छैन । के फूलहरुले किन म फूले भनेर सोच्दा हुन्, के चराहरुले आफ्नै उडानबारे प्रश्न गर्दा हुन् । सायद जीवन यस्तै हो हामी सबै जे गर्छौ बिना उद्घेश्य बिना कुनै महत्वकाक्षा नै गछौ । तर पनि यदाकदा आफैलाई प्रश्न गर्छु के यो सब सोचिबस्न आवस्यक थियो । एक मनले भन्छ थियो । अर्को मनले भन्छ थिएन । म आफ्नै दुबिधाहरुमा रुमलिन्छु । र आफैलाई मानिसहरुको भिडमा पनि अर्को क्षितिजको मानिसझै पाउँछु । सायद मसँग सोचिबस्न समय छ वा म यस्तै नै चाहन्छु वा मलाई यहि गर्न नै मनपर्छ । 

ममि पहिलेपहिले भन्नुहुन्थ्यो जसले बिहानीलाई गुमाउँछ उसले जीवनलाई हेर्ने धेरै कुरा गुमाउँछ । उहिले ममिको कुरा बुझ्न सक्दैनथे । सायद उहाँलाई लाग्थ्यो यति भनिदिएपछि केटाकेटी बिहानै उठ्छन् । त्यसैले अहिले पनि लाग्छ बिहानीलाई आज पनि नगुमाउँ । कहिलेकाही लाग्छ वोसन वोङले भनेझै आमा भनेको त समय हो । कहिलेकाही समयभन्दा अघि नै आमाले ति कुराहरु भनिदिन्छन् । 

यो शनिवारको बिहानी हो मानिसको आफ्नै लयहरु छन् । अरु दिनझै घडिको लयमा कोही पनि हिडेको छैन । नानीहरुले सायद आफ्नो ओछ्यानलाई अझै छोड्न सकेका छैनन् । चौर हरियो छ । प्रकृतिको यो बहाबलाई अरु कसैले बुझ्छ भने त्यो प्रकृतिले मात्र बुझ्छ । हामी त केबल दर्शक मात्र हौ प्रकृतिको अस्तित्वलाई कसैले  ब्याख्या गर्छ भने  त्यो अपब्याख्या पनि हुनसक्छ । तथापी हाम्रो अस्तित्व पनि प्रकृतिसँग नै जोडिएको छ । तर यो मेरो अर्ध बुझाइ मात्र हो चाहेर नचाहेर प्रकृतिको अंश हुनु प्रकृतिलाई बुझ्नु कदापी होइन । 

हात किबोडमा छन् । किबोडसँगै स्याली रुनिको “नर्मल पिपुल” छ । सायद उसले लेखेका अक्षरहरुले मलाई हेर्दै हास्दै छन् । सुन्दर लेख्नेहरुसँग डर लाग्छ । लेख्नेहरु सबैले सुन्दर नै लेख्छन् भन्नेछैन । कहिलेकाही लाग्छ सुन्दर लेख्नेसँग सुन्दर मन हुन्छ । मान्छेहरु आफू जे हो  त्यसरी नै लेख्छ । 

कहिलेकाही लाग्छ यी सोचाइका तंरगहरु पनि क्षितिज हुन् । कहिलेकाही उक्लनु छ कहिलेकाही झर्नु छ  र कहिलेकाही एकले अर्कोलाई नचिनेझै गर्नु पनि छ । 

No comments:

Post a Comment

डायरी लेख्ने केटी– पार्ट २

  यो डायरीको कथा होइन यो त त्यो केटीको कथा हो जो डायरी लेख्छे । तपाईहरु सोच्न सक्नुहुन्छ उसको डायरीको रंग कस्तो होला । वा डायरी लेखिसकेपछि...