Thursday, June 27, 2024

धुमिलता


यो सपना थियो वा सपना थिएन । सपना नै भए पनि सपनाहरु बद्लन्छन् । अनौठो सपनाबाट बिउँझिएकी छु । बिहान भएको छ तर बिहानी भैसकेको छैन । चराहरु सायद आफ्नै गुडमा छन् । नानीहरुको रुवाई सुनिएको छैन । बाटोमा हिड्नेको पदचापका आवाजहरु मेरा कानमा आइसकेका छैनन् । बिहानी एक मधुर आवाज बोकेर सायद आफ्नै धुनको यात्रामा छ ।

सायद यो बिहानलाई आफ्नै लयमा अर्काइभ गर्दैछु । सायद म चाहन्छु म जे होइन त्यो मेरो बिहानीमा नआओस् । सायद म चाहन्छु त्यसलाई भन्न सकुँ । त्यसैले बिहानीनै रोजेकी छु । यो निर्मम समय हो । तपाई रातलाई झै बिहानी ठाट्न सक्नुहुन्न । तपाई नचाहेर पनि तपाइलाई पोखिदिनुहुन्छ सायद म त्यही गर्दैछु ।

यी मेरा वाक्यहरु मैले जीएको बिहानीका साक्षिहरु हुन् । म चाहन्छु बिहानीहरु बिहानी नै बनुन् । तर किनकिन कहिलेकाही बिहानीहरु पनि रातझै बनिदिन्छ । सायद यो यस्तै यात्रा हो । अनुभूतीको यात्रा । आफ्नोझै लागेर आफ्नो नभएको बिहानीको यात्रा । सायद जीवन भनेको यस्तै नै हो समयसँगै सबै चिजलाई केही नभएझै निहाल्नुपर्छ र एक कुरुप सपना ठानेर बिर्सिदिनुपर्छ । सायद सपनाका पनि डोबहरु रहनेछन् । सायद डोबहरुले कहिलेकाही बिजाउँनेपनि छन् ।

सायद यात्रा न हो । नदीझै यसको गति कुनै दिन फरक भैदेला । आज कुरुप झै लागेको चिज कुनै दिन सुन्दर झै पनि बनिदिएला । एक शान्त तर सान्नाटामय बिहानीमा साचमग्न आयामहरुले बिचलित छु । त्यसैले शब्दहरुले पोखिएकी छु ।

प्रिय सपना फेरी अर्को पटक आउँदा केही स्थिरता बोकेर आउँनु । बिहानीझै बनिदिनु ।  रातको चमकता केही दिनको हो । मलाई त सधै उदाउँने सुन्दर बिहानी चाहिएको छ ।

Tuesday, June 25, 2024

प्रिय डायरी,

 

यो खुल्ला डायरी हो । यो सायद डायरीहरुको सामूहीक कोलाज हो । सायद यो लेख्नेहरुको एक भाष्यात्मक अभिब्यक्ति मात्र हो । यो केही हो र केही होइन पनि । यो शब्दहरुको सिम्फोनी पनि हो । यो शब्द बिहिनता पनि हो । यो जे हो त्यो होइन तर सबै चिज हो ।

म चाहन्थे मेरा डायरीहरु मेरा बनुन् । तर मेरा डायरीहरु मेरा मात्र रहेनछन् । मैले बाचेका समयका पनि रहेछन् । म सँग जेडिनेका पनि रहेछन् । र म भन्दा पर भाग्नेहरुका पनि रहेछन् । सायद मलाई लाग्थ्यो डायरी भनेको मेरो मात्र हो तर त्यो रहेन । आजबाट मेरो डायरी तपाइको पनि बन्यो । सायद यो कसैले पढिरहेछ भने पढ्नेको पनि हो ।

तर मलाई लाग्छ आज म जे लेख्दै छु त्यो मेरो होइन । अथवा मैले जे लेख्न चाहिरहेको छु त्यो लेखिरहेको छैन । सायद हुनसक्छ म डायरीसँग पनि डराउँछु ।  मलाई सधैँ लाग्छ मेरा शब्दहरु कठोर नबनुन् । तर किन किन म भित्र कठोरता पनि जन्मदैछ । सायद म भित्रको कठोरतालाई म सलेब्रेट गर्न चाहन्न तर म नर्कान पनि सकिरहेको छैन । 

कहिलेकाही लाग्छ म समयभन्दा अगाडी छु । कहिले लाग्म म समयभन्दा पछाडी छु । तर म आज अगाडी बढ्न चाहन्न । मलाई शब्दमा आफ्ना केही अनौठा भावनाहरु पोख्नु छ तर किनकिन लागिरहेछ म चाहेर पनि पोख्न सक्दिन । कहिलेकाही लाग्छ नि कसैका अगाडी रुन सकियोस् । एक नाङ्गो मानिसझै एकपटक फेरी त्यही बन्न सकियोस् जो आफू बन्नु हो । तर म चाहेझै बन्न सकिरहेको छैन । सायद म भित्र अर्को लेएर जम्मा भएको छ जसले मलाई भन्दैछ तँ तीसको भैस केटाकेटी झै नभएस् ।

तर म आज स्रोहको महशुस गर्दैछु । मलाई लाग्दैछ म मज्जाले रिसाउँ र मज्जाले रोइदिउँ । न रिसाउँन सजिलो छ न रुन । एक मौन यात्रामा छु । तर भित्रभित्र सब कोलाहल मात्र छ । त्यस्तो कोलाहल जसले आफैलाई प्रश्न गर्दैछ । तर यो मेरो आफ्नो यात्रा हो चाहेर पनि म आफ्नो यात्रालाई नर्कान सकिरहेको छैन । सायद हामी सबै यस्तै नै छौ । सायद यी शब्दहरुले हामीलाई कि चाहेभन्दा निर्मम बनाउँछ कि चाहेभन्दा कठोर । तर म चाहन्छु म जे महसुस गर्दैछु त्यो भन्न सकुँ । सायद म चाहन्छु म भित्र जे छ त्यो पोखियोस् । जम्नु भन्दा पोखिनु बेस् म जम्नभन्दा पोखिन चाहन्छु । म आफैँलाई चिसा पर्खालहरुले बाध्न चाहन्न । सायद यो म हुनु हो । 

तर थाहा छैन किन म आफैँ बन्न सकिरहेको छैन । म चाहन्थे म भित्रका आधि र  हुरीहरु चिसा पहाडहरु नबनुन् । तर म समयसँगै चिसो  बन्दैछु जो म होइन । आफैँले आफैलाई अपरिचित भेट्दैछु । आफूले आफैलाई नचिन्नु अनौठो अवस्था हो । प्रिय डायरी कुनै दिन तिमीले मलाई चिनेझै ठान्यौ एक पटक फर्केर बोलाउँनु ल । 

Wednesday, June 19, 2024

डायरी लेख्ने केटी


यो डिजिटल डायरीको कथा हो । यस्तो कथा जसलाई नभन्दा पनि हुन्थ्यो । तर भन्न चाहेँ । यो डायरी लेख्नेको कथा हो । यो डायरी लेख्ने केटीको कथा हो । यो त्यो केटीको कथा हो जसलाई लाग्यो कुनै दिन उ आफ्नाजस्तै मान्छेहरुको कथा भन्नेछ । र आज पनि उसलाई त्यही नै लाग्छ ।

उ कथा सानैदेखी भन्थी । तर उसलाई कहिल्यै लागेन उसका कथाको केही महत्व छ । उसको कथा भन्ने साथी थियो उसको काठको पुतली । उसकी आमालाई सबैभन्दा चिन्ता उसले त्यही काठको पुतली खेलेकोमा लाग्थ्यो । तर उ आमासँग लुकीलुकी भएपनि खेल्ने गर्थी । उसको लागि उसकी पुतली साथी मात्र थिइन उसको कथाकी पात्र पनि थिइ । आमालाई चिन्ता थियो छोरीले कहिल्यै काठको पुतली छाड्दीन की भन्ने । छोरीलाई चिन्ता थियो आमाले कुनै दिन आफ्नो काठको पुतली फाल्दी हाल्छिन् कि भन्ने । तर आमाको हठको अगाडी उसको केही चलेन । एक दिन आमाले उसको पुतली जलाइदिइन् ।  त्यसपछि उसको र उसको काठको पुतलीको भेट कहिल्यै भएन । 

यो त्यही केटीको कथा हो जसले आज पनि डायरी लेख्ने गर्छे ।  आज पनि आफ्ना केही डायरीहरु लुकाएर राख्छे । कसैले पढ्दिइ हाल्छन् कि भन्ने कुराहरु अंगे्रेजीमा लेख्छे ।

आमाले काठको पुतलीलाई जलाइदिएको केही समयपछि उसलाई लाग्यो अब उसले आफ्ना कथाहरु भन्ने नयाँ साथी खोज्नुपर्छ । उसले डायरी भेटी । उसलाई लाग्यो डायरी पनि उसको साथी नै रहेछ । आज पनि उसलाई लाग्छ डायरीभन्दा असल साथी अरु कोही हुन सक्दैन ।

सायद उसलाई लाज पनि लाग्छ उसका कथाको महत्व कहीँ छ भने डायरी मै छ । केही वर्षपछि कसैले भनिदियो ब्लग बनाउँ । कसैले बनाइदियो पनि । र उसको डायरी उसको ब्लग बन्यो । आज पनि उसको लागि उसको ब्लग उसको डायरी नै हो । डायरीले सायद स्वतन्त्रता दिन्छ सायद आफ्नोपन पनि दिन्छ । सायद यो ब्लगको कथा हो । सायद यो डायरीको पनि कथा हो । सायद यो लेख्नेहरुको कथा हो । सायद यो लेख्छु भन्न लाज मान्ने तर लेखिरहनेको कथा हो ।

ब्लगको कथा ब्राह बर्षको भयो । ब्राह बर्षहरुमा जीवनमा धर्काहरु थपिएँ । भन्नका लागि कथा थपिएँ । केही धर्काहरु अल्लि चहकिला र केही अल्लि धुमिल बन्दै गएँ । र केही मेटीए पनि । सायद केही मेटिने तरखरमा छन् । तर उसका डायरीका कथाहरु सिद्घिएका छैनन् । सायद कहिल्यै सिद्विने पनि छैनन् । सायद कुनै दिन उ रहनेछैन । सायद उसका कथाहरु उ सँगै सिद्विने पनि छन् । वा छैनन् पनि । तर यो यात्रामा उसले लेखेका कथा उसकै बनेर जानेछन् ।

उसलाई दावी गर्न कसैले सिकाएनन् । छोरीहरुलाई दावी गर्न कसले पो सिकाएको छ र । तर उसलाई आज लाग्छ उसले आफ्ना लागि केही भन्न सिक्नुपर्छ । सायद उसका डायरी उसका उदासीका र असन्तुष्टिका केही रंगहरु मात्र ्होइनन् । सायद यी ब्यक्तीगत भएर पनि यी ब्यक्तिगत मात्र होइनन् ।

अनुभूतीका केही भाष्यहरु बाकेर उसले सुरु गरेको उसको यो यात्रालाई थाहा छैन उसले आफैले फर्केर हेर्दा केही अर्थ राख्नेछ  वा छैन ।  अहिलेसम्म उसले जे देखी जे महसुस गरी त्यही लेखी । कहिलेकाही आफूभित्रको खुसीले कही लेख भन्यो कयौपटक आफैभित्रका केही दुखेसाहरुले । सायद दुखेको बेला मान्छेले धेरै लेख्ने गर्छ । हुनसक्छ उ दुखेका कुराहरु धेरै छ । आफैभित्र बोकिआएका अप्राप्तीका पर्खालहरु छन् ।

देख्नेहरुले लाग्न सक्छ उसले बाचेको जीवन एक सरल रेखा हो । एकले अर्काको जीवन हेर्दा त्यस्तो सबैलाई  लाग्छ ।  तर उसलाई लाग्छ उसले किनारामा बाची र किनारामै बाच्नेहरुको लागि लेखी । 

सायद अहिले पनि उ त्यही काठको पुतलीको खोजीमा लेख्ने गर्छे । वा पुतलीझै उडेका उसका सपनाको खोजीमा लेख्ने गर्छे । कथा अझै बाकी छ बाकी अर्को दिन .........................

Sunday, June 16, 2024

अन्तिम वाक्य


केही भन्नु थियो तर नभनी भन्नु थियो । कहिलेकाही लाग्छ नि नभनीकन कसैले बुझिदियोस् । एक सानाटा..... । म त्यही चाहन्थे । मैले नभनी कसैले सुनिदियोस् । जसरी कहिलेकाही कुनै उकालोम थाकेको बेला अनायासै चिसो बतासले छुन्छ । कहिलेकाही तिर्खाएको बेला पानीको मुहान भेटिन्छ । म त्यसैगरी केही नभनी भन्न चाहन्थेँ ।

मलाई वाक्यले बोल्नु थिएन । कहिलेकाही वाक्यले भन्दा मौनताले धेरै बोल्छ । तर ....सजिलो छैन केही नभएझै शान्त भैदिँन । नबोलेझै गरी बोलिदिँन । मलई सधै लाग्छ संवादको अन्तिम वाक्य त्यसै छोडिदिउँ । मैले नलेखेको त्यो वाक्यलाई कसैले पुरा गरिदियोस् । तर सदा झै आज पनि म आफ्ना संवादहरु बिना अन्त्यका भेट्छु । र हतारमा केही छुटेका शब्दहरु बोदिदिन्छु । 

कहिलेकाही लाग्छ के म त्यो अन्त्य हुँ जसले संवादका लागि वा भनौ निरन्तरताका लागि केही अपुरा शब्दहरु बोलिदिन्छ । र केही नभएझै हिडिदिन्छ ।  कस्तो कुरुप अन्त्य । कस्तो कुरुप अवस्था । 

 ..................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................

Friday, June 14, 2024

प्रतिबिम्ब

 

“के तिम्रो नाम छाँया हो ? होइन मलाई प्रतिबिम्ब भन्नुस् ।”

“म तिमीलाई छाँया भन्न चाहन्छु । तपाईल ेभन्दैमा म छाँया बन्ने होइन म आफूलाई प्रतिबिम्ब भनेर सम्बोधित भएको सुन्न चाहन्छु”

“दिएर इज नोथिङ इन नेम । आई डिन्ड एक्सपेक्ट दिस काइन्ड अफ कन्भेनसनल एटिटिउड फ्रम यू”

“तपाई सोच्न सक्नुहुन्छ ।  आइ एम क्वाइट रिजिड रिगाडिङ माइ नेम”

यो हाम्रो पहिलो भेट हो । यो पहिलो भेट हो तर सजिलो भेट पक्कै होइन । म उसलाई इन्स्टामा फलो गर्थे । उसको चित्रकारीता देखेर प्रभावित थिएँ र छु पनि । तर कारण त्यो मात्र होइन म बस् उसलाई भेट्न चाहन्थे । मलाई लागेको थियो उसका चित्रहरु झै जीवन बारे पनि उ केही खुल्ला छे । तर भेट्दा मलाई लाग्यो उ धेरै रिजिड छे । मैले सोचेको जस्तो वा कल्पना गरेजस्तो उ छैन । 

उ केही उदास देखिन्छे । म पहिलो भेटमै उसलाई तिमी किन निरास छौ भन्न सक्दिन । सायद उ त्यस्तै हो । सायद चित्रकार हुनु उदास हुनु हो । मैले भेटेको उ पहिलो चित्रकार हो । सायद यो चित्रकारहरु बारे रहेको मेरो आम धारणा हो । तर म उसँग निराशाबारे केही भन्न सक्दिन । तर निराश देखिँदैमा कोही निराश नै हुन्छ भन्ने पनि त छैन । देख्न त म पनि खुसी  देखिन्छु तर म पनि त निरास छु । 

उ आफ्नो लागि क्यापचिनो मगाउँछे र मेरो रोजाइ सोध्छे । म पनि क्यापचिनो नै भनिदिन्छु ।  म आफ्नो रोजाइ उसको अगाडी भन्न सक्दिन । म र्यान्डम गफ निकाल्छु । किनकिन मलाई सधैँ लाग्ने गर्थो उ पनि म जस्तै सिनेमा प्रेमी हो तर फेरी अर्को पटक म गलत ठहरीन्छु । उ भन्छे, “मलाई सिनेमाहरुले खासै तान्दैन । “ कहिलेकाही हामी आफ्नै प्रतिबिम्ब अरु कसैमा खोज्छौ सायद म बाट त्यही भयो ।

फेरी अर्को पटक त्यसै बसेको देखेर व्यटर आइपुग्छ, उ फेरी अर्को पटक पनि कफी नै मगाउँछे । म पनि कफी नै भनिदिन्छु । उ म बारे केही सोध्दिन म केही र्यान्डम कुराहरु निकालिरहन्छु । मलाई फेरी पनि लाग्छ उ केही निराश छ तर निरास त म पनि छु । तर म उ जस्तो निरास देखिन्न ।

खोइ उसलाई के लाग्यो उ अनायासै सोधिदिन्छे, “के तपाई निरास हुनुहुन्छ जीवनप्रति इन जेनरल” । म भन्न सक्दिन म निरास छु । तर उसले कसरी भनी म निरास छु भनेर । मेरा साथीहरुलाई सधै लाग्छ म सधै खुसी छु भनेर ।

सायद उ पनि निरास छ । सायद एक निरास आँखाले अर्को निरास आँखालाई चिन्न सक्छ । तर उ सँग खुसी भएझै देखाउँछु । हुनसक्छ हामीसबैले एक अर्कासँग यसै गर्छौ । तर म उसलाई “तिमी पनि निरास छौ झै लाग्छ “ भन्न सक्दिन । उ आफूले भर्खरै पढीभयाएका केही किताब बारे कुरा गर्छे । उ भन्छे, “मलाई किताबमा भेटिएका अनलब्भडहरु साँच्चै भेटिनेभन्दा मायालु लाग्छ । किन संसारमा कसैलाई  प्रेम मात्र मिल्छ र कसैलाई अप्रेम मात्र ? मलाई सधै अप्रेमीलहरु  प्रेमिल लाग्छ । “ 

म उसले भनेको कुरा बुझ्छु पनि बुझ्दिन पनि । तर म प्रतिक्रिया दिन्न । उसलाई सुन्दैछु झै देखाउँछु मात्र । जवाफमा मैले भर्खरै हेरीभयाएका केही र्यान्डम फिल्मबारे कुरा गर्छु । उ सुनेझै गर्छे तर केही प्रतिक्रिया दिन्न । उ फिल्मबारे त्यती जिज्ञासु नभएपनि मलाई केही भन्दिन । उ आफ्नो नाममा झै थाहा छैन किन अरु कुरामा त्यती रिजिड देखिन्न ।

म उसँलाई उसको चित्रहरु बारे सोध्दिन । हुन त मलाई चित्रकारीता बारे थाहा पनि त छैन । तर म उसलाई केही चिज सोध्न सक्थे तर म सोध्दिन । यो मेरो त्यस्तो पहिले भेट हो कसैसँग जसमा हामी दुबै आ–आफ्ना कुराहरु मात्र गरीरहेछौ । उ उसको कुरा म मेरो कुरा ।

तर उसलाई कसरी थाहा भो म निरास छु भनेर । के तीसपछि सबै निराश नै हुन्छन ्? मलाई थाहा छैन उसको उमेर कति भयो । सायद उसले पनि तीस काटी मैले जस्तै । तर म उसलाई उसको उमेर सोध्न सक्दिन । हुन त केटीमान्छेको उमेर नसोध्नु भन्छन् । तर म कसैलाई पनि सोध्न सक्दिन । 

फरी अर्को पटक उसका आँखाहरु हेर्छु तर उसले अन्त कतै हेरेको बेला । खोई किन मलाई उसका आँखाहरु निरास लाग्छन् । 

“तपाईको उमेर ?” उ अनायासै सोधिदिन्छे । “आई एम इन माई थट्टी” म भन्छु । “आइ अलरेडी गेस्ड इट बिकज यू लुक स्याड एन्ड कन्फियूज्ड । तीसमा बाच्नु भनेको यही हो । “ उ मैले जे सोच्दै थिएँ त्यही भन्छ । तर उसलाई कसरी थाहा भो तीस काटेपछि मानिस अल्लि बढी निरास बन्छ भनेर । उ भन्छे, “अरल्ली थट्टी इज अल एबाउट क्राइसीस । म तपाईलाई बुझ्न सक्छु । “ उसले मलाई कसरी बुझी । एकले अर्कालाई त्यसै कसरी बुझ्न सक्छ । तर म उसलाई त्यो भन्न सक्दिन । म दुबिधामा छु यो पनि सत्य हो । म जीवनप्रति निरास छु यो पनि सत्य हो । उसले बुझेकी पनि हो । तर म चाहन्न उसले मलाई बुझोस् ।

कसैले कसैलाई बुझ्नु भनेको सजिलो अवस्था पक्कै होइन । बुझेपछि बुझ्न बाकी केही रहन्न । सब चिज असुन्दर झै लाग्छ । म उसका अगाडी असुन्दर बन्न चाहन्न । तर के उसले मलाई बुझेकी नै हो । तर म उसलाई तिमीले कसरी बुझ्यौ भन्न सक्दिन ।  

“आर यू इस्टिल थिङ्किङ एवाउट सेम ? आइ वाज जस्ट किडिङ” उ सजिलै भन्छे । तर मलाई उ जिस्किएकी झै लाग्दैन । म उसका आँखामा जिस्किएको जस्तो केही देख्दिन । म मुस्कुराएझै गर्छु उ मुस्कुराएझै गर्छे । उ भन्छे “अब निस्कनुपर्छ“ म “हस्” भन्छु । हामी दुबै निस्कन्छौ । 

बाटोभरी म उसका उदास आँखालाई भुल्न सक्दिन । तर मेरा आँखा पनि उदासै देखिँदा रहेछन् । के एक उदास आँखाले अर्को उदास आँखालाई चिन्न सक्छ ? .....................................................

Wednesday, June 12, 2024

किनारा


कोलाहलको बिच पनि कोही किन यति शान्त भैदिन सक्छ । कोही किन अरु कसैको केन्द्रमा रमाइदिन सक्छ । थाहा छैन तिम्रो हृदयका डोबहरु किन अरुकाझै गहिरा छैनन् । भेट्नेहरुलाई लाग्छ तिमी केही होइनौ । एक छिन सुस्ताउँदा पनि मानिस नदी बनिदिँदो रहेछ । नदी सँगै बग्दो रहेछ र तिमीलाई केही नठानी फर्कदो रहेछ । तिमी हिजो पनि थियौ आज पनि छौ सायद भोली पनि रहनेछौ । सायद मानिसलाई अस्थिरता मनपर्छ । गडगडाउँदो आरोह र अबरोह मनपर्छ । क्षणभरमै डुबाउँने गहिराइ मनपर्छ । र क्षणभरमै उडाउँने बतास मनपर्छ ।

यो तिम्रो कथा हो तर तिमी होइनौ । थाहा छैन तिमी अरुले सोचेझै शान्त छौ वा छैन । वा तिमीबिचको कोलाहल मैले साचेझै क्षणिक छ वा छैन । यो मैले कोरेको तिम्रो चित्र हो । सायद म आफ्नै  लयमा तिमीलाई कोर्छु । कहिलेकाही लाग्छ एउटा किनाराले अर्को किनारालाई बुझ्छ । यो हाम्रो कथा हो । यो किनारझै आफूलाई सम्झने सबैको सामूहिक कथा हो ।

यो तिम्रो मात्र होइन यो त नदी किनारामा जन्मेर पनि नदिलाई मात्र सम्झनेको कथा पनि हो । हुर्कदै गर्दा कहिल्यै लागेन तिमी पनि छौ । मेरो लागि उपस्थितिका बिम्बहरु नदी र हिमाल मात्र थिएँ । नदीसँगै जोडिएको तिम्रो प्रतिबिम्ब एक अपरिचित प्रतिबिम्ब थियो । यतीका वर्षसम्म मैले तिमीलाई अपरिचित ठानिरहेँ । सबैभन्दा परिचित त तिमी रहेछौ । र सबैभन्दा नजिक पनि तिमी नै रहेछौ । यो क्षितिज काटिसकेपछि भित्रिएको अनूभूती हो । सायद म किनारामा मै रहिरहेको भए किनाराबारे बुझ्ने थिइन । सायद दुरीहरु दुरीहरु मात्र होइनन् बुझाइ पनि हुन् । 

आज म तिमीलाई बुझ्छु पनि बुझ्दिन पनि । तर तिमीमा आफैलाई कताकता भेट्ने गर्छु । सायद  यो बतास हावा र आधिहुरीको कोलाहल बिच कहि कतै तिम्रो न्यानोपन पनि खोजिबस्छुु । न्यानेपनको आशा बताससँग छैन । भिडमा केही नबुझिने कोलाहलसँग पनि छैन । उचाइको प्रतिबिम्ब लाग्ने हिमालसँग पनि छैन । सायद यो बुझाइको पहिलो बिन्दु हो । कुनै दिन अर्को पाइला चालेँ भने फेरी तिम्रै छायाँमा आफ्ना पैतालाका डोबहरु सहित फर्कनेछु ।

Monday, June 10, 2024

प्रिय तिमी,

 

    आज जीवनको अर्को मोडमा छु । आफ्नै छायाँले आफैलाई तर्साउँदैछु । तिमी जीवनमा आयौ वा आएनौ । म निर्कोल गर्ने मूडमा छैन । तिमी थियौ या थिएनौ म उपस्थितिका प्रश्नहरु गर्न सक्दिन । भरीएकी पनि छु र खाली पनि छु । यो कस्तो अनुभूती म भन्न सक्दिन ।

    यतिका बर्षहरुलाई फेरी फर्केर हेर्दै छु  । आफैँलाई हेर्दैछु तर बिलकुल अपरिचित । थाहा छैन कुनै मैले आफ्नै चित्रलाई कोर्न खोजेँभने कस्तो बनाउँनेछु । सायद संसारको सबैभन्दा शुस्म रेखाहरु मेरा लागि हुनेछन् । केही धुमिल रंगहरु म आफ्ना लागि राख्नेछु र कुनै अमूर्त चित्रझै जीवनका सबै मानकहरुलाई अपरिभाषित गरिदिनेछु ।

    चाहेर पनि मैले खोजेको अर्थको कुनै मूल्य छैन । भरिएको हृदयलाई पोख्न पनि चाहेको हो । तर म सदाझै आफैँलाई दावी गर्न सक्दिन । म जे चाहन्छु भन्न पनि सक्दिन । सदाझै कोमल हृदय बोकेर र्हेर्छु र पोखिन्छु मात्र ।

    सायद शब्दहरु थिएनन् भने म सँग केही रहेनछ । मैले बुझेको र मैले बुझ्न नसकेका जीवनका अनुभूतीहरु पनि अक्षरमा मात्र जीवीत रहेछन् । कहिलेकाही लाग्छ मृत्यू त केबल एक बिम्ब थियो र रहनेछ । मृत्यु नभएर पनि मृत्यूझै लाग्ने हजारौ मृत्यूहरुको घोषणा गरीदिउँ । आज यति भने जुन भन्न सजिलो छैन । कुनै दिन कथामा यी शब्दहरु ा ब्यक्त गरेँ भने बुझिदिनु यो सजिलो कथा होइन । सायद बर्षहरु चाडै बित्नेछन् आज गह्रौ लाग्ने चिजहरु केही हलुका पनि लाग्न सक्नेछन् । तर मेरा कथा पढ्दै गर्दा कसैले पनि मेरो जीवनलाई एक सरल रेखा नठानिदिनु ..........

जानेहरुको नाउँमा

  यो समथर कथा होइन । सायद म यहाँ कहिँ कतै खुम्चिएकी छु । कहिँ कतै रोकिएकी पनि छु । यो जानेहरुको कथा हो । सायद हामी सबैको साझा कथा हो । यो मह...