Wednesday, November 29, 2023

मसिना कुरा– भाग १२

 

अनौठो सपनाहरुले निस्सासिँदै बिउँझीएकी छु । बिहानको तीन बजेको छ । बाहीर निस्पट्ट अध्यारो छ । मानिसझै गाडी, सडक, टोल र बस्तीहरु सब सुनसान छन् । सडक पनि सुनसान भेट्नु नियमको बिपरीत जानुझै हो । सायद यो निस्पट्ट बिहानीलाई साथ दिनु त्यही गर्नु हो । 

यो मौनताबिच आफैँलाई खोज्दैछु । थाहा छैन खोज्दाखोन्दै कहाँ हराउँनेछु वा कहाँ पुग्नेछु । मलाई नदी किनाराझै बन्नु छैन । अशान्त स्थिरताले सधै पोल्छ । छालहरुले बिक्षिप्त भएर पनि किनाराले नयाँपन देख्दैन मलाई किनाराझै बन्नु छैन । तर समयले कहिलेकाही किनारामै छु कि भन्ने पनि बनाउँछ । सायद यी यस्तै भूलभूलैयाबिच नै जीवन चलिरहन्छ । 

चलाउँनको बिकल्पलाई छोड्न नसकिँदो रहेछ । कहिलेकाही स–साना नानीहरु गुमाएका आमाहरुलाई जब देख्छु यस्तो लाग्छ जीवन जे सहेर पनि चलिरहन्छ । यो गतिशिलता हो वा दोहोरीने प्रकृया बुझ्न ग्राहो छ । कहिलेकाही दोहोरीएझै लाग्छ कहिलेकाही बाचेझै । सायद बाचेँझै गरेर कयौ दिन हामी मरेका छौँ ।

जीवनका यीनै बिष्मयहरुलाई साक्षि राखेर कहिलेकाही दौडेझै लाग्छ, कहिलेकाही हिडेझै र कहिलेकाही सुनसान त्यसै बसिरहेझैँ पनि लाग्छ । यी अनुभूतिका तंरगहरु मात्र हुन् । र पनि यी सबै थोक हुन् । यदाकदा लाग्छ यीनै अनुभूतिहरु छन् र त जीवन छ ।

  यीनै अनुभूतीका बिच बिहानीलाई साथ  दिएकी छु । केही समयपछि उज्यालो हुनेछ । मानिसहरु सडकमा निस्कनेछन् । पढ्न निस्कने नानीहरु किताबले गरुङ्गा बनेका झोलाहरु बोकेर स्कmुभित्र छिर्नेछन् । आमाहरुका पुजाकोठाबाट धुपको बास्ना आउँनेछ । भान्छाकोठाहरुबाट चियाका बाँफहरु  निस्कनेछन् । धेरैलाई लाग्नेछ जीवन भनेको यही नै हो । कहिलेकाही आफैलाई सोध्छु – जीवन भनेको यही हो? 

थाहा छैन के हो । कहिलेकाही यी दोहोरीरहने बिम्बझै लाग्ने जीवनका दोहोराइहरुले पनि नलोभ्याउँने कदापी होइन । बिहानको पहिलो मिठो चियाले कहिलेकाही बाचेझै पनि अनुभूत गराउँछ । सायद यीनै स–साना खुसीहरुलाई जीवन मान्दा हुन्छ । फूल फुलेकोमा , चराहरु उडेकोमा र नदीहरु पहिलेझै बगेकोमा खुसी भैदिँदा पनि हुन्छ । मान्छे हो अनेक चिज खोज्दो रहेछ ।

यी खोजीहरुबिच आफैँलाई चियाउँछु र एक निम्सरो मान्छेझै पाउँछु । मलाई आज पनि लाग्छ म किनारा नै हुँ । केन्द्रलाई यी सब सोचिबस्न फूर्सद पनि त छैन । यो सब सोचिबसेकोमा लेखेकोमा बर्षौ पछि आफूले आफैलाई हेर्दा थाहा छैन कस्तो अनुभूती हुनेछ ।

    अनुभूती गर्ने समयमा म हुनेछु वा हुनेछैन । कहिलेकाही जीवनको अप्रत्याशितताको अनुभूती पनि हुन्छ । तर कहिलेकाही आफैँले आफैँलाई जीउँदैछस् भनेर प्रत्याभुतिको लागि पनि केही जम्मा गर्नुपर्ने रहेछ । मलाई लाग्छ मैले अक्षरका हुलहरुलाई जम्मा गर्दैछु । थाहा छैन यसले केही अर्थ राख्छ वा राख्दैन ।.......................................................................................

Monday, November 27, 2023

मसिना कुरा– भाग ११

 

कुकुरहरुको भुकाइसँगै बिउँझिएकी छु । सायद उनीहरु केही भन्दैछन्, के भन्दैछन् म बुझ्न सक्दिन । कहिलेकाही लाग्छ उनीहरु पनि  हामीले झै सोच्दा हुन् । बिग्रीएको प्रकृति, उन्मूक्त बिना लगामका र दायित्व बिहिन मानिसहरु देखेर आजित हुँदा हुन् । हामीहरुलाई गाली गर्दा हुन् । कहिलेकाही लाग्छ हामीले आफ्नो घर भनेर अरु कसैको घरलाई पनि उजाड बनाउँदैछौ ।

  यी यस्तै सोच्दै छु । घडिमा बिहानको पौने पाँच भएको छ । बाहिर झ्यालबाट देखिने दृश्य निष्पट्ठ अध्यारो छ । स्कुल कलेजका लागि हिड्ने केटाकेटीहरु बिउँझि सकेका छैन । यो शान्त बिहानीमा किबोड चलाउँदैछु । आफ्नै अनुभूतीहरुलाई पोख्दैछु । मलाई यसरी किबोड अगाडी नबसेका दिनहरु अत्यासलाग्दा लाग्छन्  । कहिलेकाही लाग्छ म मान्छेहरु भन्दा किबोडसँग धेरै बोल्छु ।

मलाई लेख्ने प्रकृया बोल्नेझै लाग्छ । म भित्रका कयौ आवेगलाई म शब्दले मात्र ब्यक्त गर्न सक्छु । भाषाको यात्रा मलाई सधै सुन्दर लाग्छ । जब त्यो लेख्य स्वरुप आउँछ यस्तो लाग्छ यो कयौ बर्षपछि आफैँलाई फर्केर हेर्ने समययात्रा हो । यसरीनै दिनहरु बित्दैछ । कयौ बिहानीहरु मैले यसरी नै बिताएँ, सायद यसरीनै जीन्दगी सिद्घिनेछ ।

मलाई सुरुवातझै अन्त्य पनि रसिक लाग्छ । कहिलेकाही आफ्नै मृत्युबारे पनि आकलन गरि बस्छु । म मरेको दिन कसले के भन्लान भनेर पनि कल्पना गर्छु । मृत्युबारे सोचेपछि मलाई जीवन साँघुरो लाग्छ । यस्तो लाग्छ बाच्ने दिनहरु साँघुरीदै छन् । गर्ने कामहरुको लर्को लागो छ । तर जीवनले आज म  सिद्घिदैछु भनेर पनि त जाँदैन । सायद कुर्नै अर्को अप्रत्यासित बर्हिगमन झै मृत्युलाई अगाल्न सजिलो छैन ।  

हिजो थालेको पुस्तक भ्याइसकेको छैन । आजकल धेरै पुस्तकहरुलाई छिचोल्न सक्दिन । कमजोर शिल्पले तानिरहन सक्दैन । लेख्नेहरुको सुन्दर शिल्पले सदा तान्छ । बिना शिल्पको शब्द यात्रा चाहेर पनि छिचोल्न ग्राहो छ । सायद सुन्दर लेख्नेहरु लयमा लेख्छन् । सान्द्रा सिस्नेरोज लेखकको रुपमा असाद्घै मनपर्छ । यस्तो लाग्छ राम्रो लेख्नु भनेको उनीलेझै लेख्नु हो । शब्दले भूगोलभन्दा पर यात्रा गर्छन् । ओसन बोङ र सान्द्रा सिस्नेरोज त्यस्तै लाग्छ । कहिलेकाही लाग्छ उनीहरु यतै असनका गल्लिहरु र पाटनका पसलहरुकमा कतै रुमलिँदैछन् । त्यी शब्दका जादुगर हुन् । कम शब्दमा धेरै चिज बोलिदिन्छन् ।

सायद आज पनि हिजोझै यीनै कुरा भन्नु रहेछ । मलाई लेख्दै जाँदा आफ्नै सिमितता र असिपितता दुबैको अनुभूती हुन्छ । हामी नचाहेर पनि दोहोरीरहन्छौ । कहिलेकाही लाग्छ आफ्नै सिमितताले आफैँलाई थिच्दैछ । म चाहेर पनि खुल्ला बन्न सकिरहेको छैन । चाहेर पनि आफ्नो क्षितिजलाई नाध्न सकिरहेको छैन । सायद सबैलाई यस्तै लाग्दो हो । अनुभूतीहरु ँसाझा कुरा हुन् । धर्म लिङ्ग र जातले केही मान्यता राख्दैन । त्यसैले लेखक कलाकारले भूगोललाई नाघ्छन् । बाधिएर पनि उनीहरु बाधिएका हुँदैनन् ।

अहिले लाग्दैछ जे भन्न खोजेथेँ त्यो भनिन आज । सधै सोचेको कुरा भन्न सकिँदैन ।  हुनसक्छ आज त्यस्तै कुनै दिन हो ......................................

Saturday, November 25, 2023

मसिना कुरा – भाग १०

 

यो अध्यारो घाम उदाउनुको अघिको बिहानी सायद चित्र र्कोनु अघिको क्यानभाष जस्तै हो । सबैचिज शान्त छ । गाडीहरु सडकमा छैनन् । बिहानी हिड्नेहरु निस्केका छैनन् । एक अनौठो सान्नाटा छ । चाहेर पनि म त्यो यो सान्नाटालाई ब्याख्या गर्न सक्दिन ।

तिहार पछि घर छोडेको एक हप्ता भएको छैन । घर छोडेर आएको हप्ता शहर बिरानो लाग्छ  । घर छोडेका यतिका बर्ष भैसक्दा सबैभन्दा प्यारो घर नै लाग्दो रहेछ । यहाँ बोल्ने र बोलाउँने कम छन् । एकतमासले जीवन बितेझै लाग्छ । काम बिनाको काठमाडौं अरसिक लाग्छ । कहिले रुमलिए पनि यो रुमलिने सहर होइन । 

मलाई सहर कथाहरुको संग्रह झै लाग्छ । यहाँ खोजी बस्ने हो भने हरेकसँग रुवाउँने कथाहरु छन् । तर सहरको रोदनलाई यसको झिलीमिली पनले छोपीदिन्छ । यस्तो लाग्छ निराश हुनु पनि सहरमा रमाउँनु हो । सायद यसको अस्तित्व यसैको चहकमहकमा कतै रुमलिएको छ । 

यो एकतमासको दैनिकीबाट कहिलेकाही केही फरक भैदियोस् भन्ने पनि लाग्दो रहेछ । कहिलेकाही लाग्छ पर दुर आफ्नै सुरमा हिडिदिउँ । आफ्नै प्रतिबिम्बले आफैँलाई छोपेझै लाग्छ । सायद सबैलाई यस्तै लाग्दो हो ।

खुसीझै निराशालाई पनि कहिलेकाही रमाइलो झै ठान्नुपर्ने रहेछ । कहिलेकाही खुसीहरु आएझै लाग्छ फेरी निमेशभरमै सिद्घिएझै लाग्छ । तर पनि यात्राझै नलाग्ने यात्राको कुनै बिकल्प छैन हिड्नु त छँदैछ ।

Friday, November 24, 2023

मसिना कुरा– भाग ९

 

आकाश धुमिल छ । अबका केही महिना चराहरुको उडान देख्न सक्दिन । बिहान बिहानै आफ्नै यात्राको उडानमा उडिँरहेका चराहरु देख्दा कहिलेकाही संसार चलेझै महसुस हुन्छ । फूलेका फूलहरु पनि चिसोले चिम्सा भएर बसेका छन् । उनीहरु फर्केको हेर्न केही घण्टा कुर्नु पर्नेछ । बिहानै हिड्नेहरुको लर्को कम हुन थालेको छ । सायद सबै चियाका बाफहरुमा रुमलिरहेछन् ।

बिहानै उठेकी छु । सब सुनसान छ । यो सुन्यता सुन्दर लाग्छ । दिन ठल्कदै जाँदा बिहानको सुन्यता फेरी अत्यासलाग्दो एकात्मकता बन्न पुग्छ । तर बिहानीमा यो सुन्दर नै लाग्छ । यो सुनसान बिहानीको साक्षि बनेकी छु । सायद अस्तित्वको यो सुन्यतामाथी कसैले प्रश्न गर्यो भने कठगरामा म पनि उभ्भिनेछु ।

केही दिनदेखी भिडलाई देखेर तर्सदैछु । हिजो सडकमा एक हुल मानिसहरु धर्मको नाममा नारा लगाए । भोली कसैले भन्देला हिन्दुहरु मात्र महान् हुन् । मलाई आस्थाका नाममा लगाइएका नाराहरु कुरुप लाग्छ । यो सुन्यता र सहअस्तित्व मात्र हो । धर्मको नाममा नारा लगाउँनु निर्ममको छातीमा टेकेर आदर्शको शब्दहरु बोल्नु जस्तै हो । यो कुरुप समयको साक्षि भएकोमा सदा पिडाबोध हुन्छ ।

जब जब धर्मको नारा लाग्छ म आफ्नै छिमेकीहरुलाई सम्झन्छु । हिजो पनि उमर खालीदको भिडियो हेरेँ र आफ्ना आँखाहरु भिजाएँ । मेरो सूभेच्छ्याले केही हुन्न भन्ने पनि थाहा छ तर यदाकदा उसको लागि पनि म केही माग्छु । त्यो कुरुप इतिहास मेरो परिवारले नभोगोस् झै लाग्छ । मेरो भुगोलमा नआइपुगोस् झै लाग्छ । 

बोल्नेहरु के बोल्दैछन् ले आम मानिसहरु बिथोलिनु, मानिसबिच भाइचारा र सहअस्तित्व नहुनु सायद यहि जीवनको यर्थाथ हो । सायद यसरी नै देश, भूगोल र पर्खालहरु  बने । यसरी नै मानिहरुले आफ्नो अस्तित्वलाई संसारकै सबैभन्दा महान् र उत्कृष्ठ यर्थाथ ठाने ।

कहिलेकाही लाग्छ केका लागि हुन् यी चर्का आवाजहरु, यी तालिहरु र यी ढुङ्गाहरु । कसरी आफूले हाफैलाई  म महान् हुँ भनेर दावी गर्न सक्छ ? त्यो दावीलाई कसरी कसैले पत्याएर हिड्न सक्छ ? तर संसारमा यही चलिरहेछ । सायद संसारलाई लाग्दो हो चर्को बोल्ने नै सत्य बोलिरहेछन् । 

यो समयको साक्षी हुनु सायद कठोरता र कुरुपतालाई आफ्नो ठान्नुझै हो । यी यस्तै कुराहरु बिहानै अक्षरहरुमा उर्तानु कुरुप यूद्वलाई फाटोमा कैद गर्नु जस्तै हो । थाहा छैन यसले केही अर्थ राख्छ वा राख्दैन । वा म झै अर्को कोही पनि यही चिज सोच्छ वा सोच्दैन । यी भावनाका तंरगहरु हुन् । यी सायद बाच्दैछु भनेर भन्न सकिने हृदयका केही हलचलहरु मात्र हुन् ।

यी यीनै कुराहरुले बिथोलिँदैछु । सायद बाँच्दैछु । यी बाचेको छु भनेर भन्न मिल्ने अस्तित्वका छालहरु मात्र हुन् । हिजोझै आज पनि लाग्दैछ फेरी लाग्दैछ हिजोझै आज पनि फेरी चर्को आवाजलाई यर्थाथ ठानेर भिड आफै नरुमलियोस् ।

Tuesday, November 21, 2023

मसिना कुरा– भाग ७

 

कहिलेकाही चिसो बिहानी चिसो मानिसझै लाग्छ । आकाश तुवालोले ठाकेको छ । चराहरु तिनै तुवालोमा हराएका छन् । फूलका पातहरुमा शितका थोपा अड्किएका छन् । संसार चल्दैछ । करिब एक महिनाको बिदापछि काममा फर्कनु छ । अब फेरी यो गर, यो पढ भन्ने दिन सुरु हुँदैछन् । कहिलेकाही लाग्छ मैले उनीहरुलाई होइन मलाई उनीहरुले सिकाउँदैछन् । जीवन सिकाइको चक्रझै लाग्छ ।

दिनहरु असाद्घै चाडो जान्छन् । हिजो साना देखेका नानीहरु आज हलक्क बढेको देख्दा बुढो भएभmै महसुस हुन्छ । आफैँले आफैलाई हेर्दा उस्तै झै लाग्छ । सायद सबैलाई त्यस्तै लाग्दो हो । फरक त आफ्नो अनुहार अरु कसैको ऐनामा हेर्दामात्र लाग्ने रहेछ ।

फेरी अर्को बर्षले बिदा लिँदै छ । बर्षको अन्त्यमा किन केही नगरेझै महसुस हुन्छ । गर्नुपर्ने कामको चाङ छ तथापी आदी सकेको कामको थुप्रो बोकर जिवन चलाउँदैछु । सामान्य देखिने चिजहरु असामान्य बन्दैछन् । सफलता असफलता बिच बाचेझै गर्नुको नियतीले छोछ्न सकेको छैन । तथापि गुनासो छैन । गुनासो गरिराख्नु राम्रो पनि होइन ।

यी चिसा दिनहरुमा चिसा बिचारहरु आउँनु नौलो पनि होइन । किनकिन मलाई चिसो कठोर लाग्छ । चिसो दिनझै चिसा मान्छेहरु जीवनमा नआउँन भन्ने पनि लाग्छ । 

न्यानोपन चिसोपन सायद जीवनका अटुट पाइलाहरु हुन् । चाहेर नचाहेर यिनिहरुको उपस्थितिलाई नर्कान सकिँदैन । कहिलेकाही लाग्छ बाँचेझै गरेर अगाडी बढाएका यी पाइलाहरु कसरी रोकिनेछन् । रोकिएपछि जमिनमा डोब रहनेछ कि छैन । वा मेरा पाइलाहरुको उपस्थितीले म हुनु र नहुनुको यर्थाथलाई सम्बोधन गर्छ वा गर्दैन । आफैँलाई केन्द्रमा राख्दा  आफ्नो उपस्थिती महसुस गर्नु सामान्य हो तर संसारको बृहतताको अगाडी आफू हुनुको नगन्यपनलाई पनि एदाकदा पिरोल्छ ।

चौँतिस

निर्जला अधिकारी बाटो लामो छ हिड्नुपर्ने, हिडेको केही घण्टा त भयो । किन म यति धेरैे थाक्दैछु । यो थाक्ने उमेर पनि त होइन । सायद हो कि ? हुन त...