Wednesday, November 20, 2024

प्रिय डायरी


करिब करिब दुई महिनामा फर्किएकी छु । फर्कनु पनि थियो तर कहाँ कसरी थाहा थिएन । अध्यारो केबल अध्यारो हो । निष्पट्ट अन्धकारले उज्यालो देखाउँदैन । मैले आफैँलाई भुलेकी थिए सायद तिमीलाई पनि । फर्केकोमा खुसी हुनुपर्ने केही छैन तर म धेरै नै खुसी छु । बुझ्दैछु कहिलेकाही आफैँलाई खोज्नु र आफैँलाई भेट्नु पनि खुसी हो ।

बाहिर अध्यारो छ । कुकुरहरु एकतमासले भुक्दैछन् । समय चिसो छ । मौसम पनि त चिसो छ । फूलहरु बिस्तारै फुल्न छोड्नेछन् । बिहानै चराहरु तुवालोले छेकिनेछन् । चिसो त उनीहरुलाई पनि लागेको छ । हामी असन्तोषी छौ मौसमले हामीलाई मात्र चिसो दिए झै लाग्छ ।

किबोडमा हातहरु सलबलाएका छन् । मन शान्त छ । कयौ दिनपछि म भित्र यति धेरै निष्पट्ट शान्ति छ । सायद अक्षरहरु पनि कोलाहलमा रिसाउँछन् र रोज्दछन् मौनताको बाटो । मलाई मौनताको पनि खोजी थियो तर त्यस्तो मौनता होइन जो कोलाहलमा भेटिन्छ । आज म भित्र कोलाहल छैन । 

भन्नु केही छैन । तथापी हातहरु सलबलाएका छन् । कहिलेकाही लाग्छ म कुनै चित्रकार हुँ जसलाई रेखाहरु मनपर्छ । यदाकदा लाग्छ अक्षर भनेका पनि रेखाहरु नै हुन् । हरेक खाली पानाहरुमा म चित्र कोर्छु । यो बन्न नसकेको चित्रकारको कथा हो जसलाई लाग्छ अक्षर भनेका पनि रेखाहरु नै हुन् ।

कतिलाई लाग्ला अक्षरहरु केही अर्थपूर्ण भावहरु हुन् । मौनतालाई अक्षरमा बोल्छु भन्नु भूल हो । थाहा छैन किन मलाई लाग्छ, मेरा लागि शब्दहरु मौनता र कोलाहल दुबै हुन् । मलाई न चिच्याउँनु छ न मेरो कुराहरुलाई अर्थपूर्ण बनाउँनु छ । म बेअर्थ शब्दमा बोल्छु । कहिलेकाही लाग्छ म चाहन्न मेरा कुराहरुले महत्व राखोस् । राखेर पनि केही हुनेवाला छैन । कुनै दिन म यहाँ रहनेछैन । नरहँदा पनि केही हुने छैन । यो यात्रा हो सायद शब्दहरुको यात्रा वा जीवनको यात्रा तर म चाहन्छु म हरेक पाइलाहरुमा मेट्टिउँ र कोही अरु बनुँ । र अनायासै बिदा लिउँ । 

हावा र बतासहरु झै अदृश्य बनु र हराउँ कही कतै बादलमा । हुनसक्छ यो कुनै मायावी सपना हो । या कुनै निराश मानिसको बिरत्ति भाव हो । वा केही होइन । तर एक अपरिचित र अदृश्य अस्तित्वमा जे छ त्यो केहीमा छैन । तर म निराश थिएँ । तर म आज निराश छैन । कुनै दिन म फेरी निराश हुन पनि सक्नेछु । जीवन न हो । 

म आज जे लेख्दैछु । त्यो अर्थपूर्ण रहनेछैन । म भित्रको कोलाहल र शुन्यता मैले शब्दमा उतारेको मात्र हो । यो म जे हुँ वा जे महशुस गर्दैछु त्यही हो । भन्नुपर्ने केही छैन । तर भनँे । सायद फर्केर फेरी हेरेँ भने केही भेट्रनेछु । आजलाई यतिनै ।


Sunday, October 20, 2024

अकथा


दिन ओसिलो छ । सडकमा मानिसहरु दौडिँदैछन् । हिमाललाई बादलले ठाकेको छ । भर्खरै एक कप चिया भ्याएकी छु । साथमा बुवाले दिएको पर्पल डायरी छ । डायरीमा केवल दुई वाक्यहरु छन् । “आजको लागि धन्यवाद, अझ धेरै पर पुग्नु छ “ यी दुई वाक्य बाहेक अरु केही छैन । 

हुन त म कथा लेख्न चाहन्छु । मलाई लाग्थ्यो कुनै दिन म आफ्ना कथाहरुसँगै  पर पुग्नेछु । पर पुगिसकेकी मलाई फेरी मेरा कथाहरुले डाक्नेछन् । म निमन्त्रणामा आउँनेछु । मेरा पात्रहरुले यदाकदा मलाई दुख पनि दिनेछन् । र पात्रहरु प्रति धेरैनै सम्बेदनशील बन्नेछु । तर त्यस्तो केही भएन । म कहि पुगिन । कहिलेकाही पुगेझै लागेपनि फेरी फर्केर आएँ । आफैलाई पुरानो स्वरुपमा लान खोजेँ । आफैलाई कहि नपुगेकोमा गालि पनि दिएँ ।

म अरुको भागको गालि पनि आफैँलाई दिन्छु कहिलेकाही । मेरा पात्रहरुले कहिल्यै गालि दिएका छैनन् । उनीहरु पनि म झै लेख्दा रहेछन् म झै रुँदा रहेछन् । म झै सोच्दा रहेछन् । कहिलेकाही सोच्छु आफैँलाई लेख्नु कथा लेख्नु हो र ? होइन । होइन भने म किन लेखेझै गर्दैछु । 

हुन त म कसैलाई गालि दिन चाहन्छु तर मलाई म मेरा पात्रहरु झै गालि दिन सक्दिन । मलाई लाग्छ गल्ति मेरो थियो । किन गल्ति सधै आफ्नो मात्र थियो झै लाग्छ । भर्खरै ह्रयान क्याङले साहित्यको लागि नोबेल पुरस्कार पाइन । भेजेटेरियनमा उनकी पात्र झै पाउँछु आफूलाई । र म आफूजस्ते निर्दा पात्रहरु जन्माउँछु ।

के यो कथाझै केही हो ? होइन, होइन भने बषौबर्ष म किन लेखिरहेछु । त्यस्को मसँग कारण छैन । बस् म लेख्न चाहन्छु । यो कारणसहितको यात्रा होइन । मैले लेख्न खोजेका हरेक शब्दहरु एक प्रकारले मेरो मौनताको लेख्न स्वरुप हुन् । यी म भित्रका ठूला यूद्घहरु हुन् जसबाट म जित हार होइन मूक्ति चाहन्छु । तर थाहा छ म मूक्त पनि हुन सक्दिन । 

यो अकथाको निरन्रता हो । सबैले कथा लेख्छन् भन्ने छैन् । वास्तबमा मलाई धेरैलाई गालि दिनु थियो तर म गालि दिन सक्दिन । त्यसेले शब्दहरु बन्छन् । आज लेख्नु अर्कै थियो । मलाई कोही अरु बन्नु थियो । अरु केही लेख्नु थियो । तर चाहेझै हुन्छ भन्नेछ छ र ? 

म कथाझै लाग्ने परिकथाहरु लेख्न सक्दिन ।  म जीवनको त्यो मोडमा छैन जसले जीवनलाई सोचेझै भेट्यो । कयौ सुन्दरझै लाग्ने चिजहरु कुरुपझै बनेर टुङ्गिए । तर मैले आफैँले त्यसलाई कुरुप भन्न सकिन । सायद त्यो म भित्रको बिरोधाभाष थियो । अथवा म हरेक कथाहरुलाई  अकथा मान्ने गर्छु ।

म मस्र्याङ्दी किनाराबाट यी बिद्रुप शब्दहरु लेख्दैछु । कथालाई अकथा र अकथालाई कथाझै ठान्दैछु । तर पर जानु छ कहाँ थाहा छैन । कहिलेकाही लाग्छ आफैँले गरेको यात्रालाई बिर्सनु छ । र कुनै अर्कै स्वरुपमा रुपान्तरित हुनु छ । यो अकथा लेख्नेको कथा हो । अकथा लेख्नेहरु पनि अकथा नै हुन् । समाजको कथाभित्र उनीहरु अट्दैनन् । 

Saturday, September 28, 2024

डायरी लेख्ने केटी– पार्ट २

 

यो डायरीको कथा होइन यो त त्यो केटीको कथा हो जो डायरी लेख्छे । तपाईहरु सोच्न सक्नुहुन्छ उसको डायरीको रंग कस्तो होला । वा डायरी लेखिसकेपछि उसले डायरी कहाँ राख्ने गर्थी वा गर्छे । वा उ डायरीमा के लेख्छे । वा उसको डायरी अरु कसैले पढेको छ वा छैन । हुनसक्छ उ एक्ली छ । वा हुनसक्छ उ कसैको प्रेममा छ । वा प्रेममा भएर पनि एक्ली छ । हुनसक्छ उ दुखी छ । हुनसक्छ उ सबैभन्दा खुसी छ । यी आकलनहरु हुन् । यी तपाईका मेरा हामी सबैका आ–आफ्ना तंरगहरु मात्र हुन् । हुन त जे पनि सक्छ । सोच्न त जे पनि सकिन्छ । सोच्दै गनुस् है ..........

प्रिय डायरी, 

यो डायरी भित्रको डायरी हो । म यसलाई मेटा डायरी भन्ने गर्छु । कहिलेकाही डायरी भित्र डायरीमा लेख्न पर्ने कुरा हराउँछ । समय हराउँछ । दिन भनेको ठाउँमा लेख्ने अंक हराउँछ । म वाट सबै सबै चिज हराउँछ म तिमीलाई सम्बोधन गर्न सक्दिन । अंसम्बोधित यी अनेकौ दिनहरुलाई साक्षि राखेर म असम्बोधनलाई सम्बोधन गर्दै छु । समयले ल्याएको झरी र झरी सँगै आएको यो बाढीलाई सम्बोधन गर्दैछु । म पानिमा अडिएकी छु । तिमीलाई लाग्ला कोही पानिमा पनि अडिन सक्ला । तर म पानिको भेलमा पनि स्थिर छु । नबग्नुको नियतिलाई स्विकादैछु । हुनसक्छ तिमी भित्रका यी चञ्चल पानाहरुले मलाई अस्विकार्न पनि सक्नेछन् । वा भन्न सक्नेछन् त हाम्रा लागि स्विकारयोग्य छैनस् । सायद मैले पानाहरुको भावनालाई बुझेकी छु । बगेर पनि कहि नपुग्नुको नियतिलाई स्विकारेकी पनि छु । र भेलमा अडिएकी पनि छु । 

यो भेलमा केही नभएझै हाम्फाल्नुको कथा होइन । यो भेलको यात्रालाई बुझेर पनि यात्रालाई स्विकार्न नसक्नुको नियति हो । म कठोर भएकी छु । किनकिन कठोरतालाई शब्दमा बोल्न सकिँदैन । सायद केही महिना मैले कठोरतामा जिएँ त्यो जीउन सजिलो थिएन । म त आफ्ना अक्षर बाक्य र तिनका रफ्तारहरुसँगै बग्ने मानिस थिएँ । मेरा अनुभुतिका साक्षयात्कारहरु शब्दहरु मात्र हुन्थे । बिना अनुभूती बाच्नुलाई के बाच्नु भन्न,ु तिमी मलाई मृत घोषणा पनि गरिदिन सक्छौ । तथापी बाच्दै छु भन्न आज तिमीमाझ आएकी छु । आशा छ तिम्ले स्किार्ने छौ ।

शब्दमा मात्र पोखिनेका लागि शब्द बेगर बाच्नु एक कठोर तपस्या जस्तै रहेछ । चाहेर पनि शब्दमा ब्यक्त गर्न नसक्नु त्या सजिलो काम पक्कै थिएन । म कतै गुम्सिएको थिए । थाहा छैन त्यो गुम्साइ केको लागि थियो । कहिलेकाही केही चिज बिनाकारण भैदिन्छन् । सायद त्यो त्यही नै थियो । आज तिम्रै सामिप्यतामा फर्किएकी छु । जसरी बर्षौ पछि एक पर्देशी घर फर्कन्छ । एक यायावर यात्राबाट थाकेर विश्रामलाई स्विकार्छ । म त्यसलाई बिश्राम मान्छु । सायद म आफ्नै अनुभुतीवाट बिश्राम चाहन्थेँ । म चाहन्थे म मात्र बनु शब्दमा ब्यक्त भएका अनुभुतिहरु नबनु ।

आज शहरमा पानीको भेल छ । भेलसँगै बग्नेहरुले अर्को विश्रामको नियतिलाई स्किारेका छन् । भेलबाट बच्नेहरु म झै तपाईहरुलाई पनि लाग्ला आज मेरो भागमा  न्यानोपन रहेछ । तर त्यो बाहिरी न्यानेपन थियो । नदेखिने बाढीसँगेै हामी धेरै बगेका छौ ।  कयौपटक बगेर पनि अडिएका छौ । अडिएका पाइलाहरु स्थिरताका बिम्बहरु हुन् । कहिलेकाही आफ्नै परिधिहरु र आफैँभित्रका स्थिरताले पनि पोल्छ । जसरी मेरा अनुभूतीहरु र मेरा अक्षरहरुको अडाइले मलाई पोल्छ । आज आएर मलाई मेरो स्थिरता र बगाइ दुबै शब्दमा अडिएको रहेछ । चाहेर पनि म डायरीका पानाहरु बेगर खुसी नहुदो रहेछु ।

आजलाई यति नै । यो धमिलो दिनको साक्षि राखेर मेरा अक्षरहरु बाढीझै बगेका छन् । म सधैँ अक्षरहरुको भेलमा बग्न चाहन्छु । प्रिय डायरी म तिमीलाई प्रेम गर्छु । तर यो कुनै आत्मिक प्रेम होइन । म मेरा सबै लगावहरुसँगै प्रेम गर्छु । आजलाई यति नै .......

Monday, August 5, 2024

बाटो

 

  बाटो खुल्ला छ । वरपरका मानिसहरु आफ्नै धुनमा छन् । सायद सडक भनेको कोलाहल नै हो चाहेर पनि हामी सडकको हुन सक्दैनौ । जेब्रा क्रसिङ नजिक छु । मानिसहरु हतारमा छन् सबैलाई कही पुग्नु छ । थाहा छैन उनीहरुलाई कहाँ पुग्नु छ । मलाई पनि त कहि पुग्नु थियो तर आज लाग्दैछ कही पुग्नु छैन । कही पुगेर फर्कनु पनि छैन । यो अशान्त तर स्थिर मन बोकेर हिड्दैछु । 

सडकले मलाई न केही दिएको छ  न केही लिएको छ । सदा लाग्छ यसलाई म चाहेर पनि बुझ्न सक्दिन । थाहा छैन मसँग सडक किन जोडिएन वा सडकलाई मैले किन बुझ्न सकिन वा सडकले मलाई किन बुझेन ।  यीनै बिसंगतीहरु बोकेर हिडेकी छु । सायद म आफैँ बिसंगतीले ग्रस्त छु ।

म लाफ्नै लयको यात्रामा छु । तर ढोकाहरु बन्द भएझै लाग्दैछ । सायद यो मेरो भ्रम हो । हुनसक्छ म भ्रममा बाच्दैछु । वा यो मेरो रोजाइ हो । थाहा छैन यो के हो । देशमा अनौठो तंरग भित्रिएको छ । बंगलादेशकी प्रधानमन्त्रिले देश छोडेकी छन् । कति भन्दै छन् कुनै दिन हामी पनि बङ्गलादेश जस्तै हुनेछौ । थाहा छैन यो केहो कुनै तंरग वा त्यो भन्दा पर अरु केही । तर म अचम्मित छु कुनै दिन गरिबका लागि बोल्नेहरु कुनै दिन गरिवकै शोषक किन बन्छन् । थाहा छैन शक्ति भनेको यस्तै पो हो कि ?

Saturday, July 27, 2024

क्षितिज


पर आकाशमा बादल छ । बिहान धुमिल छ । सायद चराहरु आफ्नै गुणमा छन् । सायद झरीको मौसममा सबैभन्दा ग्राहो कसैलाई पर्छ भने त्यो चराहरुलाई नै पर्छ । रुखहरु मस्त छन् । उनीहरुलाई के झरी, के बतास, के घाम, उनीहरुको जीवन एकतमासको छ । सायद संसारमा सबैभन्दा स्थिर कोही छ भने त्यो रुख नै छ । मलाई कहिलेकाही उनीहरुको स्थिरताले लोभ्याउँछ । तर त्यो उनीहरुको नियती हो । सायद हामी जस्तै उनीहरु पनि आफ्नै नियतीको दासी छन् ।

फूलहरु पनि मस्त देखिन्छन् सायद रुखहरुझै , तर देख्नेले त फूलेको मात्र देख्ने हो उनीहरुले भोगेको घाम पानी र झरीहरु उनीहरुसँग मात्र रहनेछ । सायद नियती यही हो । कहिलेकाही लाग्छ प्रकृतिले हामीलाई सँगै राखेर पनि हामी त एक क्षितिज र अर्को क्षितिज झै रहेछौ । हाम्रा आफ्नै टाकुराहरु र आफ्नै मैदानहरु रहेछन् । हामीले एकले अर्कालाई एक क्षितिजले अर्को क्षितिजलाई हेरेझै हेर्ने रहेछौ । कहिलेकाही लाग्छ हामी सँगै छौ पनि छैनौ पनि । सायद यही नै नियती हो यसरी नै संसार चलेको छ ।

यो बिहानी हो । बिहानीले सोच्न बाध्य बनाउँछ । यो सन्ध्याझै न अष्पस्ट हुन्छ न धुमिल । र पनि बाटामा हिडेका एक लर्कोे मान्छेहरुले तर्साउँछन् । भिडले कहिले पनि स्पष्टता बोल्दैन । भिडलाई कोलाहाल मात्र ठान्दिँदा मात्र पनि हुन्छ । हिडेझै गर्नेहरु हिडेर चै के गर्दैछन् कसैलाई थाहा छैन । कहिलेकाही लाग्छ उनीहरुलाई पनि थाहा छैन । तर थाहा नै हुनुपर्छ भन्ने पनि त छैन । के फूलहरुले किन म फूले भनेर सोच्दा हुन्, के चराहरुले आफ्नै उडानबारे प्रश्न गर्दा हुन् । सायद जीवन यस्तै हो हामी सबै जे गर्छौ बिना उद्घेश्य बिना कुनै महत्वकाक्षा नै गछौ । तर पनि यदाकदा आफैलाई प्रश्न गर्छु के यो सब सोचिबस्न आवस्यक थियो । एक मनले भन्छ थियो । अर्को मनले भन्छ थिएन । म आफ्नै दुबिधाहरुमा रुमलिन्छु । र आफैलाई मानिसहरुको भिडमा पनि अर्को क्षितिजको मानिसझै पाउँछु । सायद मसँग सोचिबस्न समय छ वा म यस्तै नै चाहन्छु वा मलाई यहि गर्न नै मनपर्छ । 

ममि पहिलेपहिले भन्नुहुन्थ्यो जसले बिहानीलाई गुमाउँछ उसले जीवनलाई हेर्ने धेरै कुरा गुमाउँछ । उहिले ममिको कुरा बुझ्न सक्दैनथे । सायद उहाँलाई लाग्थ्यो यति भनिदिएपछि केटाकेटी बिहानै उठ्छन् । त्यसैले अहिले पनि लाग्छ बिहानीलाई आज पनि नगुमाउँ । कहिलेकाही लाग्छ वोसन वोङले भनेझै आमा भनेको त समय हो । कहिलेकाही समयभन्दा अघि नै आमाले ति कुराहरु भनिदिन्छन् । 

यो शनिवारको बिहानी हो मानिसको आफ्नै लयहरु छन् । अरु दिनझै घडिको लयमा कोही पनि हिडेको छैन । नानीहरुले सायद आफ्नो ओछ्यानलाई अझै छोड्न सकेका छैनन् । चौर हरियो छ । प्रकृतिको यो बहाबलाई अरु कसैले बुझ्छ भने त्यो प्रकृतिले मात्र बुझ्छ । हामी त केबल दर्शक मात्र हौ प्रकृतिको अस्तित्वलाई कसैले  ब्याख्या गर्छ भने  त्यो अपब्याख्या पनि हुनसक्छ । तथापी हाम्रो अस्तित्व पनि प्रकृतिसँग नै जोडिएको छ । तर यो मेरो अर्ध बुझाइ मात्र हो चाहेर नचाहेर प्रकृतिको अंश हुनु प्रकृतिलाई बुझ्नु कदापी होइन । 

हात किबोडमा छन् । किबोडसँगै स्याली रुनिको “नर्मल पिपुल” छ । सायद उसले लेखेका अक्षरहरुले मलाई हेर्दै हास्दै छन् । सुन्दर लेख्नेहरुसँग डर लाग्छ । लेख्नेहरु सबैले सुन्दर नै लेख्छन् भन्नेछैन । कहिलेकाही लाग्छ सुन्दर लेख्नेसँग सुन्दर मन हुन्छ । मान्छेहरु आफू जे हो  त्यसरी नै लेख्छ । 

कहिलेकाही लाग्छ यी सोचाइका तंरगहरु पनि क्षितिज हुन् । कहिलेकाही उक्लनु छ कहिलेकाही झर्नु छ  र कहिलेकाही एकले अर्कोलाई नचिनेझै गर्नु पनि छ । 

Monday, July 22, 2024

जसले सिकाउँन र सिक्न बिर्सेनन्


निर्जला अधिकारी

हिजो गुरुपूर्णिमा थियो । त्यो दिन जहाँ ज्ञानलाई पुजिन्छ । सिकाउँनेलाई पुजिन्छ । सिकाए नभनी वा केही नभनी भन्नेलाई पनि पुजिन्छ । तथापी समय भन्दा बलियो गुरु केही रहनेछ । समयले नसिक्नेलाई पनि सिक्ने बनाउँदो रहेछ । वा केही नभनी सबैचिज भन्दो रहेछ ।

आज सबैलाई सम्झन चाहन्छु जसले सिकाए । ममी भन्नुहुन्थो अक्षर भनेको नदी हो । मलाई लाग्थ्यो ममी जे पनि भन्नुहुन्छ । तर अहिले आएर सम्झदा लाग्छ आमा सहि हुनुहुन्थ्यो । अहिले आएर लाग्छ आमाले गर्न नसकेको अक्षरको यात्रा मैले गर्दैछु । मेरा लागि अक्षरको यात्रा आमाले हिड्न नपाएको पदचाप हो । नदि किनारामा हुर्केकाले मलाई सधैँ लाग्थ्यो नदी भन्दा गहिरो र हिमाल भन्दा उचो केही छैन । सायद नदीले बग्न सिकायो हिमालले अग्लन । तर नदि र हिमालको गहिराइ र उचाइ बिम्बमा थियो । मैले बुझेको बिम्बको पहिलो स्वरुप नदी र हिमालनै थिए ।

भन्न त मान्छेहरुले पाठशालाको ठूलो बखान गर्छन् । तर कहिलेकाही पाठशालाहरु पाठशाला बन्दैनन् । मैले बुझेको स्कुल स्कुल थिएँ एक अमूक बिभेदयूक्त सस्था मात्र थियो । अहिले आएर फर्कदा यस्तो लाग्छ त्यो भन्दा बढी त मैले स्कुलका चौर र रुखहरुबाट सिकेको छु । पाठशाला न प्रिय बन्यो न अप्रिय । त्यो भन्दा प्रिय त बिश्वबिध्यालय बन्यो जहाँ आफूझै लाग्ने मानिसहरु थिए ।

कहिलेकाही कसैले तँ पनि केही होस् भन्दिए मात्र पनि त्यो सिकाई बन्दो रहेछ त्यो उत्प्रेरणा बन्ने रहेछ । बिश्वबिधालय मेरो लागि त्यही थियो । तँैले लेखेको कुराको पनि महत्व छ भनेर कसैले भन्दिनु सबैभन्दा ठूलो बन्दियो । मैले सबैभन्दा बलियो चिज बिश्वबिधालयबाट निस्कँदै गर्दा त्यही बोकेर हिडे ।

आज आफैँ पनि कसैलाई सिकाए झै गर्छु । तर शिक्षकनै हुँ भनेर शिक्षकका मानक भित्र कहिल्यै परिन । मेरा लागि मेरा केटाकेटीहरु म जस्तै अर्का मानिसहरु मात्र हुन् । कहिलेकाही म उनीहरुलाई त्यस्ता कुरा गर भन्छु त्यो मैले आफैँ कहिल्यै गर्न सकिन । कहिलेकाही लाग्छ म सिकाउँन भन्दा सिक्दैछु धेरै । कहिलेकाही उनीहरुले मलाई मान्छे बनाएझै लाग्छ । 

आज आएर लाग्छ यो सिकँ भन्न भन्दा सिक्न जरुरी छ र कहिलेकाही सिकेको कुरा बिर्सन पनि आवश्यक छ भन्नु रहेछ । अहिले महसुस हुन्छ सिक्नु र सिकेको कुरा बिर्सनु दुवै पर्छ । लाग्छ सिक्ने सिकाउँने चिज सधैँ चलिरहोस् । सिकाउनु भन्दा ठूलो कुरा सिकिरहनु रहेछ । त्यो भन्दा ठूलो कुरा मानिसलाई मानिसकै रुपमा माया गरिरहनु रहेछ ।

Tuesday, July 2, 2024

अप्रत्यासितता

 

निर्जला अधिकारी 

अक्टोवरको यो  महिला घामका किरणहरुसँगै रंगिन बन्दै गएको छ । अपाटमेन्ट र वोर्कप्लेस वरिपरिका बगैचा र पार्कहरु रंगिबिरंगी पातहरुले थप रंगिन भएका छन् । कामबाट एक हप्ताको र्बेक लिएको छु । थाहा छैन क्यामरा बोकेर ब्रुकलिन ब्रिजको वरिपरि टहलिनेछु वा खस्दै गरेका पातहरुको क्लोजअप सट लिदैँमा मस्त रहनेछु । वा यी सब केही गर्नेछैन । 

तर अबको एक हप्ता म  ल्यावको नियमितताबाट पर हुनेछु । यो रमाइलो समय हो । साथमा केही पुस्तकहरु र सिनेमाको लिस्ट छ । तर म नियमिततामा बाच्ने मानिस होइन । मलाई कहिलेकाही केही नगरिकन बस्न पनि रमाइलै लाग्छ । वा बिना  संकोच कुनै अपरिचित सँग बिनामतलब बोलिदिन पनि सक्छु । अहिले पनि म कुनै अपरिचितसँग र्यान्डम तर गहिरो कुराकानिको प्रतिक्षामा छु ।

देशबाट पर हुनुको बेफाइदा भनौ वा फाइदा जब तपाई काम गर्नुहुन्न तब तपाईसँग गर्नको लागि केही बाकी रहदैन । म न्यूओर्कमा भए पनि म वरीपरी नेपालीहरु खासै भेटिँदैनन् । त्यसैले टुईटरमा बहकिने गरेको छु । अपरिचित बनेर गरिने संवादहरु मलाई टेसिला लाग्छन् । जसले मलाई आफ्ना भावनाहरु बिना बन्देज पोख्ने स्वतन्त्रता दिन्छ । मेरो लागि टुईटर अप्रत्यासित  बहस गर्ने र मानिसहरु भेट्ने एक रमाइलो भर्चुअल कर्नर हो ।

एक हप्ताको लागि म एक गफ गर्ने मानिसको प्रतिक्षामा छु । जसलाई म आफ्ना र्यान्डम प्रश्नहरु सोध्न सकुँ । र्यान्डम विचारहरुसँग थप र्यान्डमनेस थप्न सकुँ । मेरो रोजाईमा ऊ परेकी छ । उ को हो म भन्न सक्दिन । म उस्लाई करिव एक बर्षदेखी टुईटरमा निहालिरहेको छु  । ऊ लेख्छे उस्को बारेमा मलाई थाहा भएको त्यति हो । लेखकहरुलाई म अरु मानिसहरुभन्दा अल्लि बढी नै प्रेम गर्छु । मैले कुनै लेख्ने ब्यक्तिसँग गरेको यो पहिलो संवाद भने होइन । र पनि म उसँग संवादको लागि आतुर छु ।

“हेलो, हाउ यू डुईङ ?” मैले उस्लाई गरेको पहिलो डिएम यहि थियो । मलाई लागेको थिएन उस्ले मेरो सन्देशको जवाफ पठाउछे तर त्यस्तो भएन ।  एक अप्रत्यासित सन्देशको मैले जवाफ पाएँ ।  ऊ प्रतिउत्तरमा लेख्छे, “तपाइको सन्देशले उत्साही भएको छु । थप संवादको आशा गर्छु ।” मलाई लागको थिएन उसले मलाई यस्तो रमाइलो जवाफ दिनेछे ।” त्यसपछि म कुराकानीलाई थप रफ्तारमा दौडाउँछु । 

ऊ मैले भर्चुवल दुनियावाट बोल्न थालेको पहिलो केटी होइन । म सँग यसरी सुरुवात भएको संवादको लामो फेरीस्त छ । मलाई थाहा छ केटीहरु सँग लामो समय संवादमा रहनु ठिक होइन । वा भनौ लामो क्याजुअल संवादमा रहनु थप राम्रो होइन । त्यसैले म चाहन्छु उसँगको संवाद एक हप्तामा टुङ्गिियोस् । त्यसपछि सदाझै म फेरी ल्यावको मैफिलमा बहकिन सकुँ । थाहा छैन ऊ मसँग  किन संवादमा छे । मेरो लागि यो एक हप्ताको लागि छुट्टाएको फन टाइम हो । त्यो बाहेक उसँग मेरा अपेक्षाहरु केही छैनन् ।

उसको प्रतिउत्तर र प्रतिक्रियाको बास्ता नगरी म सुरुवाति संवादमै सोधिदिन्छु, “तपाईको प्रेम,विवाह र यौन बारे कस्तो धारणा छ ?” । म सधैँ यस्ता र्यान्डम प्रश्नहरुको उत्तर भन्दा पनि प्रश्न पछिको प्रतिक्रियालाई लिएर उत्साहित रहन्छु । मलाई लागेको थियो  ऊ मसँग रिसाउँनेछे वा उत्तर दिनेछैन । तर त्यस्तो भएन । ऊ यसरी उत्तर दिन्छे मानौ त्यो कुनै परीक्षा पास गर्नको लागि सोधिएको प्रश्न थियो ।

मलाई उसँगको संवाद रमाइलो लाग्दैछ ।  त्यस्ता प्रश्नहरुलाई सजिलै लिने उ मेरो भर्चुवल दुनियामा आएकी पहिलो केटीमान्छे हो । म उसँग सजिलै जीवन र जगतका अप्ठ्यारा प्रश्नहरु सोधिदिन्छु । उ यसरी उत्तर फर्काउँछे मानौ उसँग प्रश्नहरुको रेडिमेट उत्तर छ । 

उसँगको संवादले मलाई अनौठो अनुभूति दिएको छ ,उबारे र आफैँबारे पनि । मलाई थाहा छ, उ सजिलै कसैसँग  बहकिने उमेरकी होइन । तिसको उमेरमा कसैसँग बहकिन सजिलो छैन । उ लेख्ने काम गर्छे त्यसकारण बहकिन्छे त्यो पनि मलाई थाहा छैन । तर म आफैसँग भाग्न सकेको छैन । खासमा म  उसँगको संवादले रोमाञ्चित छु । मलाई थाहा छैन अबका तिन दिनमा म संवादलाई बिट मारेर आफ्नो ल्यावको संसारमा पुग्न सक्नेछु वा छैन ।

म अहिलेसम्म  कसैसँग लामो सम्बन्धमा रहेको छैन । जो जो मेरो जीवनमा आए ति सँग म अनुग्रहित छु । मसँग उनीहरुलाई लिएर कुनै गुनासो छैन । जसरी आए जसरी गए म त्यसलाई एक क्याजुअल जीवनचक्रको रुपमा लिने गर्छु । सायद म स्वार्थि छु वा अरुभन्दा बढी नै आत्माकेन्द्रित । म जे गर्छु रमाइलोको लागि गर्छु । म नियमितताको बिम्वमा विश्वास गर्दिन । 

आज उसँगको संवादको चौथो दिन हो । अबका तिन दिनपछि म उसँग थप संवादमा बस्न चाहन्न । उ मसँग गहिरो संवादमा छे जसमा म पनि रमाइरहेछु । उ मलाई मेरोे बास्तविक नाम र परिचय सोध्छे । म भन्छु, “नाममा केही छैन, म एक यायावर हुँ अनियमिततामा विश्वास गर्ने यायावर , एक वैचारिक यायावर म सँग स्थिरता को कल्पना नगर्नुस्” । मैले उसँग यी कुराहरु गर्नु जरुरी थियो किनभने म चाहन्न उसले संवादपछि हामीविचको सम्बन्धको अरु कुनै आयाम बारे सोचोस् । त्यो मेरो लागि सुखद् बन्नेछैन ।

मलाई थाहा छ नारी र पुरुष बिच भावनात्मक गहिराइको हिसाबले तुलना गर्ने हो भने तुलनाको कुनै बिन्दु रहदैन । मलाई यो पनि थाहा छ, म जति हामी विचको सम्बन्धलाई क्याजुअल रुपमा लिन सक्छु उसले त्यसरी लिन सक्ने छैन । तर म चाहेर पनि सम्बन्धको नाममा नियमितता चाहन्न । मलाई लाग्छ सम्बन्धको लामो फेरीस्तले दुख मात्र निम्त्याउँछ । म दुखी बन्न चाहन्न ।

लेखकहरु भावनामा बिश्वास गर्छन्, भोगाइमा बिश्वास गर्छन् अनि कल्पनामा पनि । तर मैले गरेको जीवनको यात्रा भनको तर्कमा निहित छ । चाहेर नचाहेर म काममा झै जीवनमा पनि उपयोगिता र प्रमाणमा निहित धारणहरु बनाउँदो रहेछु । मेरो लागि उसँगको संवाद एक हप्ताको लागि गर्न मिल्ने एक रमाइलो कार्य हो । यस्तो गरिरहदा मलाई लाग्छ म कुनै अप्रत्यासित तर सुन्दर यात्रामा छु ।

ऊ भन्छे, “जीवन एक नियमितता हो । आज अनियमित लागेका धेरै चीजहरु भोली नियमितताको घेराभित्र पर्न पनि सक्छन्” । म उसको विचारसँग सहमत हुन सक्दिन र होइन पनि भन्न सक्दिन । बस् यति हो म नियमिततामा बाच्न चाहन्न । आज आफ्नै लाग्ने ल्याबको जीवनबाट थाहा छैन अबका दुई बर्षमा म अपरिचित बनिदिन पनि सक्छु । आज बोलेकासँग भोली नबोलिदिन पनि सक्छु । आज आफ्ना लाग्नेसँग भोली अपरिचित बनिदिन पनि सक्छु । तर म जीवनको नाममा पुनराबृत्ति चाहन्न । मलाई आफैँलाई पनि हिजोकोझै बन्नु छैन । मलाई बदलावहरु मनपर्छ ।

म उसँग संवादमा बदलावको खोजीमा छु । ऊ मलाई भन्छे, “ किताबहरु भन्दा मलाई सिनेमाहरु मनपर्छ  । सोचेझै बन्नसक्ने भए म मुभिमेकर बन्ने थिएँ । कहिलेकाही मलाई आफ्नै लिमिटेसन देखेर रिस उठ्छ । यू नो आइ एम अनलिमिटेड्लि लिमिटेड” । मलाई थाहा छ उसको र मेरो विचारमा समन्व्य हुन सक्दैन । म चाहेरै पनि बन्दन र घेराहरुमा बिस्वास गर्न सक्दिन । मलाई जीवनको असिमिततामा बिश्वास लाग्छ । तर म उसलाई भन्न सक्दिन तिमीले जे भन्दै छौ त्यो मेरो सत्य होइन । वा म त्यसमा विश्वास गर्न सक्दिन । 

आज उसँगको संवादको सातौ दिनमा छु । अब मैले भन्नुपर्छ अब म तिमीसँग संवादमा नरहन सक्छु । अब हामीले हाम्रो डिजिटल सम्बन्धको अन्त्य गर्नुपर्छ । तर सम्बन्धको अन्त्य गर्न सम्बन्ध छोटो नै भएपनि सजिलो छैन । ऊ सँगको संवादमा म रमाएँ त्यो सत्य हो । तर म यसलाई अझ गहिरो बनाउँन चाहन्न यो पनि सत्य हो ।

प्रिय डायरी

करिब करिब दुई महिनामा फर्किएकी छु । फर्कनु पनि थियो तर कहाँ कसरी थाहा थिएन । अध्यारो केबल अध्यारो हो । निष्पट्ट अन्धकारले उज्यालो देखाउँदै...