Monday, February 19, 2024

तीसका तीस कुरा


प्रिय तीस,

सायद म अंकहरुलाई कहिल्यै बुझ्न सक्दिन । नबुझ्दा नबुझ्दै थाहा छैन कसरी एक दिन आमाले अचानक भन्दिनु भयो तँ तीसकी भैस । तीस मेरा लागि अनौठो नम्बर थियो जस्तोकी स्रोह । स्रोह मेरा लागि गीतमा, सिनेमामा अथवा पुस्तकमा ब्याख्या गरीएझै उज्यालो थिएन । आज पनि म मेरो स्रोहलाई सम्झन चाहन्न । जसरी स्रोहले मलाई तर्साएको थियो त्यसैगरी मेरो  उमेरमा थपिएको तीनले मलाई हेरक दिन तर्साउँछ । कहिलेकाही लाग्छ म भित्रको तीनलाई छोडिदिउँ फेरी दुईमा फर्किदिउँ । वा  तीनलाई छोडेर चारमा फड्किदिउँ । वा दुईलाई आफूभित्र रहेको बच्पना ठानि लुकाइदिउँ र त्यसैमा रमाइदिउँ ।

गएका सायद दशवटा जन्मदिन मेरा लागि अनौठा थिएँ । सामाजिक सञ्जालमा पाइने सुभकामनाहरुले म पुलकित हुन्थेँ । सायद त्यो दुईको बच्पना थियो । तर जब तीनले मलाई पच्छ्याउँन थाल्यो म मेरा सामाजिक भित्ताहरु थपिएको नम्बरलाई अपनाउँन तयार थिइन । बिहानै भाइलाई भने आज मेरो जन्मदिन भनेर फेसबुकमा नलेखेस् । सायद त्यो तीनले ल्याएको चैते हुरी थियो । सायद समयले देखाएको जीवनको  उराठता । 

तीन जोर नम्बर होइन यो समयले ल्याएको बिजोडिपन पनि हो । तीसले छुनेबित्तिकै तपाई बिसलाई सम्झन थाल्नुहुनेछ । बिस श्वर्गझै लाग्न थाल्नेछ । तर तीसलाई अपनाउँन गाह्रो पर्नेछ । आज तीसमा आइलागेका तीस कुराहरु गर्न जादैँ छु ।

१. तीसले तपाईको अनुहारमा अरु तीन मात्र होइन तीस धर्काहरु पनि थप्न सक्नेछ । त्यसलाई सामान्य मान्नुहोला कहिलेकाही हरेक दिन नयाँ धर्का थपिएझै पनि महसुस हुनेछ ।

२. तीसले तपाईलाई अल्लि बढी अल्झि पनि बनाउँने सक्नेछ । त्यो पनि सामान्य नै हो तपाईसँग बिसमा झै जाँगर नहुनसक्नेछ ।

३. बिसमा हुँदा दिनको तीस कप चिया खाएँ पनि केही नहुने तपाईलाई अब चियाले रुचाउँन छाड्नेछ । कहिलेकाही चियासँग तपाईको झगडा पनि पर्न सक्नेछ । 

४. आमाबाले थप सुझाव दिन छोड्नुहुनेछ । चाहिएको बेला पनि सुझाव दिनेको कमी महशुस हुन सक्नेछ ।

५. बिसमाझै तपाइले हेरेको सिनेमा, पढेको पुस्तक र भेटेका मानिसहरुको प्रभाव कम पर्न थाल्नेछ । सायद तपाई अब केही प्रभावको लागि बाहिर खोज्न छोड्नुहुनेछ ।

६. बिहानको तीन बजे बिनाकारण बिउँझन पनि थाल्नुहुनेछ तपाईलाई अबको थप तीस बर्ष कस्तो हुनेछ भनेर चिन्ता लाग्न थाल्नेछ ।

७. एक्कासी जीवनको आर्थिक पाटोतिर थप चासो बढ्नेछ । अहिले नकमाए कहिले कमाउँने भन्ने पनि लाग्न थाल्नेछ ।

८. यदि तपाई महिला र तीसमा पनि सिङ्गल हुनुहुन्छ भने तपाईले भेट्ने हरेका पुरुष तपाई भन्दा साना छन् कि भन्ने पनि लाग्न सक्नेछ । किनभने अझै पनि हाम्रो समाजमा आफूभन्दा उमेरमा सानो पुरुषसँग डेट गर्न बिहे गर्न ठिक होइन भन्ने भ्यालु सर्वमान्य छ ।

९. आमाबा बुढाबुढी हुँदै गएकोमा चिन्ता लाग्न थाल्नेछ ।

१०. पुरुष हुनुहुन्छ भने कपाल झरेकोमा र महिला हुनुहुन्छ भने वजन बढ्कोमा थप चिन्ता हुनेछ ।

११. फूलेको कपाललाई कुल ठानेर त्यसै छोड्न छाड्नुहुनेछ । हरेक महिना कपाल रंग्याउँनको लागि थप पैसा खर्च हुनेछ ।

१२. अरुको अगाडी आई एम सलेब्रेटिङ थट्टी भनेपनि मिडलाइफ क्राइसिसले सताउँन चाल्नेछ ।

१३. बिर्सने बानीमा थप मलजल हुनेछ । 

तीस कुराहरु भन्न बसेपनि तेह्र कुरामा टुङ्ग्याएकी छु । यो उमेरको कथामा तपाईका थप सत्र अनुभूतीहरुको आशा छ । यो मेरो प्रिय लेखक सान्द्रा सिन्नेरोज प्रति समप्रित छ । उहाँको इलाभेन भन्ने कथा पनि पढ्नुहोला ।

Saturday, February 3, 2024

नोटिफिकेसन


निर्जला अधिकारी

मोवाइलमा नयाँ नोटिफिकेसन आएको छ । इमेल रहेछ । मलाई इमेलहरु पढ्न सदा अल्छि लाग्छ । कोही किन यतिधेरै फर्मल बन्छ इमेलमा । मलाई सधै लाग्छ इमेलको सट्टा बोरु कसैले चिठ्ठि लेखोस् । मलाई कसैले चिठ्ठि लेखेको छैन आजसम्म मैले पनि त लेखेको छैन । म चाहन्छु कसैले त लेखोस् ।  इमेल खोल्छु नाम छ संस्कृति । को संस्कृति ? कहाँकी संस्कृति.... म चिन्दिन । हुनसक्छ उ कोही मैले नचिनेकी हो  । इमेल खोल्छु ..........

प्रिय विज्ञान, 

म तिमीलाई सञ्चै छौ भन्दिन । मलाई लाग्छ आज पनि कुनै घाट छेउ तिमी आफ्नै क्यामरामा मस्त छौ । हामी एकअर्काका लागि बेमेल मानिसहरु थियौ । र पनि सबैले सोचेझै हामी एक अर्काका बाट पर..... रहिरहन सकेनौ । समयसँगै हामीले एकअर्कालाई अपनायौ । हामी सँग दुरीहरु धेरै थिएँ । नदिका दुई किनाराझै मलाई लाग्थ्यो हाम्रो मेल कहिल्यै हुनेछैन । 

तिम्रो र मेरो जीवन दुई क्षितिजको यात्रा थियो । दुई क्षितिजको मिलन चाहेर पनि सम्भव थिएन । न तिमी मलाई अपनाउँन तयार थियौ न म तिम्लाई । मलाई सधै लाग्थ्यो तिम्रो उपलब्धि केबल एक क्षणिक भ्रम हो । संसार तिमीले सोचेझै सपाट छैन । बाच्नको लागि बिश्वासको आवश्यकता छ । तर तिमी मानव शरीरमा यति लिप्त थियौ कि तिमी  मृत शरीरमा पनि रासायनिक मिश्रण मात्र भेट्थ्यौ ।

तिमीलाई सधै लाग्थ्यो म बिश्वासको नाममा भ्रम फैलाउँछु । मेरो सोचाई केवल एक नशाको तालमा बोलिएको बकबकझै हो । म चाहेर पनि तिमीझै परिर्वतनशील बन्न सक्दिन । तिमीले सधै परिवर्तनमा बिश्वास गर्यौ र तिमीलाई सधै लागिरह्यो म तिमी झै छैन । तिमी र म बिच सोचाइका बेमेलहरु धेरै छन् । तिमीले चाहेर पनि मलाई आफूझै बनाउँन सक्दिैनौ  । थाहा छैन हामी किन दुई विपरित धुर्वझै भयौ । चाहेको भए हाम्रो मेल हुन पनि सक्थयो की ? तर सधै लाग्यो त्यो सम्भव छैन ।

एक दिन अचानक तिमीलाई भेटेकी थिएँ । तिमी क्यामरका लामा लेन्सहरु लिएर पशुपति मन्दिर नजिकैको आर्यघाटमा  आफ्नै लयमा मस्त थियौ । म त धर्म कमाउँन गएकी थिएँ.... तिमी ति मृत शरिरका अन्तिम अस्तुहरुलाई नियाल्दै फोटो खिच्दै थियौ । मलाई तिमी अनौठो लाग्यो मृत देहको खरानीमा किन तिमी त्यतिधेरै जिज्ञासु छौ । म त मृत्युलाई सत्यको एक अंश त मान्थे तर मृत शरिरको जैविक प्रक्रियामाथि मलाई न कुनै चासो थियो न कुनै जिज्ञासा । तथापि तिमी बारे सोच्न बाध्य भए । कसरी तिमी मृत्यूबारे यति सरल भैदियौ ? त्यो नै तिमीलाई बुझ्न चाहने पहिलो कारण थियो ।

त्यस दिन यता तिमी झै म पनि सदा पशुपती जान थालेँ । सायद म तिमीबारे जिज्ञासु थिएँ त्यसैले । तिमी लगातार तिम्रा लेन्सहरुमा ब्यस्त रहन्थ्यौ । म सधै तिमीमा । मलाई भिडले कहिल्यै लोभ्याएन । तिमी त्यो भिड थिएनौ । तिमी त समुन्द्रको एक छेउ सुस्ताइरहने टापुझै थियौ । थाहा छ पानीको बिचमा सम्बन्धका रेखाहरु खोज्न सहज छैन । तथापि एक लहडीझै मैले ति सब गरेँ । तिमीले मलाई पहिलो पटक  धर्मको नाममा एकोहोरो बिश्वास बोक्ने एक लहडीको उपमा दिएका थियौ । त्यस बखत मलाई लाग्यो लहडी त तिमी हौ । मरेर गएकाको खरानीको फोटो खिच्नेलाई लहडी बाहेक अरु केही भन्न सकिँदैन । तिमीलाई लाग्थ्यो तिमी जे गर्दैछौ त्यसले मानव विज्ञानलाई केही दिनेछ । मलाई त्यो तिम्रो लहडी यात्रा मात्र लाग्थ्यो । 

तिमी र म विच धर्म र विज्ञानको नपुरिने खाडल थियो । तिम्रो लागि मन्दिर केवल एक मूर्ति राख्ने घर थियो । मेरो लागि सम्पूर्ण संसार । मलाई आज पनि अचम्म लाग्छ एक नास्तिकसँग म कसरी जोडिन पुगेँ । मृत शरीरसँगको तिम्रो सम्बन्ध विज्ञानको आधारमा अडिएको एक प्राज्ञिक यात्रा थियो । मेरो लागी बिश्वासको एक अन्तिम बिम्ब तथापी किन म तिमीसँग नजिकिन चाहेँ म अचम्मित छु । मलाई थाहा छैन हाम्रो अस्तित्वको दुई धुर्वलाई केले जोड्न पुग्यो । कसरी दुई असमानान्तर बिचार बोकेका दुई मानव शरीरलाई लाग्न थाल्यो हामी विच त्यति धेरै तात्विक भिन्नता छैन ।

मलाई थाहा छ तिमीलाई अझै लाग्ला म को हुँ मैले त्यसबखत तिमीलाई मेरो नाम मिरा भनेकी थिएँ । हो म त्यहि मिरा हुँ । जसलाई तिमीले पशुपतिका ति उराठ साझहरुमा भेटेका थियौ । तिमीसँग एकखाले उत्साह थियो । तिमी मृत देहवाट निस्केका धुमिल छाँयाहरुलाई सजिलै क्यामरामा कैद गथ्यौ । मरेर जानेहरुको खरानिलाई सजिलै बोटल्थ्यौ ।मलाई लाग्थ्यो ति तिम्रो कठोरता हो । तर यो होइन कि म तिम्रो कठोरताले पग्लेकी हुँ । आज पनि मलाई तिमी कठोर नै लाग्छ । 

दुई यूवा मनहरु आकर्षित हुन त्यति कठिन हुन्छ भन्ने मलाई लाग्दैन । थाहा छैन त्यो कुनै युवायुवतिलाई एक अर्कालाई देखेपछि लाग्ने झिनो आकर्षण पो थियो कि । थाहा छैन म आफैँलाई नकारेर होइन भन्न पनि सक्दिन । तर लगातार तिम्रा लेन्सहरुलाई हेर्नु मेरो दैनिकी बन्यो । मैले विर्सन थालेँ तिमी त्यहि ब्यक्ति होै जसलाई धर्म र अफिम एकै हो भन्ने लाग्छ । पशुपति घाट नजिकै मन्दिरमा टेकेको मैले तिमीलाई कहिल्यै भेटिन । तिमी त्यति अधार्मिक कसरी बन्यौ म अचम्मित छु । 

तिम्रो लागि सायद म तिम्री आमाझै एक आदिम मानव थिए । जसले विश्वासको नाममा आज पनि विना प्रमाणका चिजहरु पत्याइदिन सक्छ । एक दिन तिमीले भनेका थियौ , “थाहा छ मिरा मलाई किनकिन लाग्छ मेरी आमा र तिमीमा उमेरको मात्र भिन्नता छ । तिमी कसरी मेरी आमाझै भयौ” । मैले अचानक भनेकी थिएँ, “ सायद तिम्रो उपस्थितिले, सायद तिम्रो सोचाइले, तिमीले चाह्यौ भने मलाई अझै भिन्न मान्न पनि सक्छौ ।” सायद त्यो दिन मैले भनेको तिम्ले बुझेनौ वा बुझ्न खोजेनौ ।  तिमी चुपचाप फेरी आफ्नो क्यामरामा नै मस्त हुन थाल्यौ ।

करिब पन्ध्र साझहरु हामी दुवैले पशुपतिका छाटहरुमा बितायौ । त्यो मेरो लागि जीवनका अति सुन्दर साँझहरु थिए । थाहा छैन तिम्रा लागि के थिएँ । तिमी सधै भन्थ्यौ अबको केही दिनमा तिमी मलाई यहाँ पाउँने छैनौ । मलाई लाग्थ्यो तिमी ठट्टा गर्दैछौ तर त्यो होइन रहेछ । एक दिन अचानक तिमी ति साझँहरुबाट.... एकाएक  हरायौ । मलाई लाग्थ्यो अन्तिम दिन तिमीले मलाई यो अन्तिम दिन हो भनेर भन्नेछौ । तर.... तिमीले कैद गरेका खरानिका कणहरुझै.... तिमी एकाएक हरायौ । मलाई तिमी हराएको भन्दा पनि नभनि गएकोमा गुनासो छ । एक साँझ तिमीले मलाई भनेका थियौ , “ तिमी र ममा खोन्दै जाँदा बेमेलहरु मात्र भेटिन्छ र पनि किन किन म तिम्रो उपस्थितिमा रमाउँन थालेको छु ।  यो मेरो यस्तो पहिलो अनुभूति हो ।” 

पन्ध्र दिनमा तिमीले र मैल धर्म र विज्ञानका तर्कहरु गरेनौ । तिम्रो र मेरो  सम्वन्धमा विचार र विश्वासहरु हावि भैदिएको भए हामी दुवैसँग कटुता मात्र बाकि रहन ेथियो। आजकल किनकिन लाग्छ हामीसँग भिन्नताहरु थिए तर हामी भिन्न थिएनौ ।  सायद तिमीले जान्छु नभनी जानुको कारण त्यहि थियो । तिमीलाई लाग्यो हामी विच भिन्नताहरु मात्र छ । सायद ठिकै गर्यौ । तर किनकिन तिमीसँग राम्रो बर्हिगमनको म कल्पना गर्दथे ।

तिमीलाई भन्न अरु केही छैन । नभनी जानेहरुको नाममा यो मेरो पहिलो डिजिटल पत्र हो । थाहा छैन यो पत्र तिमीले पढ्छौ वा पढ्दैनौ । पढिहाल्यौ भने बुझ्नु यो एक आस्थिकले नास्तिकको लागि लेखेको पहिलो मायालु पत्र हो ।

संस्कृति

इमेलले अनौठो चस्का दिएको छ ।   यो त्यस्तो डिजिटल चिठि  हो जसको पखाई मलाई बर्षौ देखि थियो ।  र पनि म खुसी छैन । मिराबाट यस्तो सुन्दर इमेलको कल्पना मैले कहिल्यै गरेको थिइन । पशुपति आर्यघाटका ति पन्ध्र दिनहरु मेरा लागि सुन्दर दिनहरु थिए । उसले सोचेझै मेरो लागि पनि मृत्यू त्यति सहज चिज पक्कै होइन । एक विज्ञानको विध्यार्थीको हिसाबले यो मेरो काम हो । म मेरो कामप्रति इमान्दार छु । मैले वर्षौवर्ष बिभिन्न घाटहरुमा बिताएँ तर कोही यूवतिसँग नजिकिन पुगिँन । ऊ त्यस्तो पहिलो यूवति हो जसलाई मैले घाटमा भेटेँ । सायद म उसको सामिप्यता मन पराउँथे । तर हामी विचका भेदहरु जसलाई मलाई लाग्छ हामीले कहिल्यै मेट्न सक्नेछैनौ ।

उसले सोचेझ,ै मलाई हामी विचका भिन्नताहरुले पिरोल्यो । र मैले सम्बन्धलाई त्यहि अन्त्य गर्न चाहेँ । एक अपरिचित कै रुपमा । सायद त्यो मेरो गल्ति थियो वा मान्छेको रुपमा मेरो एक कमजोरी । म कमजोरी भरिपूर्ण छु...उसले सोचेझै सपाट छैन । उसको लागि मैले अर्को पत्र लेख्नुपर्ने भएको छ तर विज्ञानले मलाई यति कठोर बनाएको छ सायद लेख्दैगर्दा पनि म उसको आस्था माथि कुठाराघात गर्नेछु । 

एघार


सान्द्रा सिस्नेरोज

यो उमेरको कथा हो । हामीलाई जस्तै तपाईलाई पनि लाग्दो हो तपाई कि त आफ्नो उमेरभन्दा ठूलो हुनुहुन्छ कि सानो । हामी ठिक आफ्नो उमेरको बिरलै महशुस गर्छौ । सान्द्रा सिस्नेरोजको यो कथा यस्तै उमेरको कथा हो । “बुमन होलरिङ क्रिक एन्ड अदर स्टोरिज ” नामक कथाको किताबमा प्रकाशित यस कथाले उमेरको यिनै उतारचडाबलाई ब्यक्त गर्छ । यो अनुवाद हामी निर्जला अधिकारी र मुना सापकोटाको संयूक्त काम हो आशा छ तपाइहरुलाई मनपर्ने छ ।

जन्मदिनबारे मान्छेहरुले बिरलै बुझ्छन्  सायदै भन्छन् कि जब हामी एघारको हुन्छौ हामीभित्र  दश, नौ , आठ, सात, छ, पाँच, चार, तिन, दुई र एक पनि हुन्छ । एघारौं जन्मदिन भएपनि उठ्नेबित्तिकै हामीलाई एघारको महशुस हुँदैन । आँखा खोल्दा हिजोको जस्तै लाग्ने सबैकुरा आजको भैसकेको हुन्छ । तर हामीलाई एघारको जस्तो पटक्कै लाग्दैन, हामीलाई लाग्छ हामी दशकै हांै ।  उमेरले हामीलाई कताकता एघारको बनाउँछ । जस्तो कि कुनै दिन केही उट्पट्याङ कुरा भन्नुपर्ने हुनसक्छ, त्यो हामीभित्रको दश हो । कहिलेकाही डराएको बेला हामीलाई आफ्नो आमाको काखमा बस्नुपर्ने हुनसक्छ त्यो हामीभित्रको पाँच बर्षे पाटो हो । सायद ठूलो भै सकेपछि पनि कूनैदिन तिनबर्षे बालकझै रुनुपर्नेछ, त्यो पनि ठिकै हो । यहि कुरा म मेरी आमालाई उहाँ निराश र भावुक हुँदा भन्छु । लाग्छ उहाँ अहिले तिनको महशुस गर्दै हुनुहुन्छ ।

किनभने हामी बुढो पनि प्याजका पत्रहरु अथवा रुख भित्रको गुदी जसरी  वा मेरा काठका पुतलीजसरी  हुन्छौ एक अर्कोभित्र अटाउने जस्तोकी एउटा वर्ष अर्काे भित्र अटाउँछ । यहि नै एघार वर्ष हुनु हो । तिमी तत्कालै एघारको महशुस गर्दैनौ । यसलाई समय लाग्छ कहिलेकाही दिन, कहिलेकाही हप्ता र कहिलेकाही महिनानै । कसैले उमेर सोध्दा पूर्ण एघारको महशुस गर्न तिमी बाह्रको नजिक पुग्नुपर्छ । यो बर्षहरुको खेल यस्तै हो ।

आजै मात्र मलाई लाछ मसँग एघार वर्षहरु मात्र छैनन् जो म भित्र खुत्रुकेका सिक्काहरुझै एकअर्कासँग  जुध्दैछन् । बरु म एघारको सट्टा एक सय दुई भैदिएको भए मलाई थाहा हुन्थ्यो प्राइस मिसलाई के जवाफ दिने । जब उहाँले त्यो रातो स्विटर मेरो डेक्समा राख्नुभयो, मसँग निशब्द अनुहारको सट्टा उहालाई दिने उत्तर हुन्थ्यो । 

मिसले “कसको हो यो?” भन्दै स्विटर माथि फाल्नुभयो ताकी कक्षाका सबैले देखुन् । “मेरो होइन” सबैले भने ।  “कसैको त पक्कै हो“ मिसले भन्नुभयो तर कसैले सम्झेनन् त्यो कसको हो । त्यो फाटेको थोत्रो स्विटर, रातो प्लास्टिकको टाक भएको, गला र बाहुला उध्रिएको डोरी बनाएर खेल्न मिल्ने किसिमको छ । हुनसक्छ त्यो बर्षौ बर्ष पुरानो मेरो आफ्नै स्विटर हो तर म भन्दिन त्यो मेरो हो । हुनसक्छ म पातली भएर हो वा उहाँलाई म मन पर्दैन, त्यो मूर्ख साल्भिया साल्दिभार भन्छे, “ मलाई लाग्छ यो राचेलको हो ।” मिसले उसले भनेको पत्याउँनुहुन्छ र त्यो थोत्रो  स्विटर मेरो डेक्समा राख्हुन्छ । म केही बोल्न सक्दिन ।

“यो मेरो होइन, हुदै होइन” अन्त्यमा मैले मधुर स्वरमा भन्छु हुनसक्छ यो म भित्रको चार हो ।

“ साँच्चिकै यो तिम्रो हो” मिस भन्नुहुन्छ । “तिम्ले एकपटक लगाएको मैले सम्झेकी छु ।”

किनकी उहाँ शिक्षिका  र म भन्दा ठूली पनि उहाँ सहि हुनुभयो म गलत  । “मेरो हुँदै होइन”।।।।। मिसले किताब पल्टाउनुहुन्छ पेज न ३२ गणितको समस्या नम्वर ४ ।

मलाई थाहा छैन किन म भित्रभित्रै बिसन्चो महशुस गर्दैछु , म एक्कासी आँखा मिच्छु, दाँत किट्छु र सम्झाउँछु आफूलाई म एघारको हुँ । आमा आज साँझको लागी केक बनाउँदै हुनुहुन्छ, अनि जब  बा आउँनुहुन्छ सबैजनाले मलाई गीत गाउँदै जन्मदिनको शुभकामना भन्नेछन् । जब मलाई सञ्चो भएजस्तो लाग्छ म आँखा खोल्छु तर त्यो रातो स्विटर म अगाडि पहाड उभिए जसरी उभिन्छ ।

म त्यो रातो स्विटरलाई अर्को कुनामा धकेल्छु साथै  म मेरा किताब, पेन्सिल र इरेजरलाई पनि धकेल्छु धेरै पर । कुर्चीलाई पनि म आफ्नो देर्बेतिर सार्छु । यो मेरो हुदै होइन, म सोचिरहेछु टिफिन टाइम सम्म मात्र हो त्यसपछि म त्यसलाई स्कुलको चउरमा फाल्न सक्छु वा स्कुलको पार्किङमा झुन्ड्याउन सक्छु वा त्यसलाई गुटुमुटु बनाएर गल्लिमा फाल्न । मात्र गणित कक्षा सिधियोस्, मिस ठूलो स्वरमा भन्नुहुन्छ, “ राचेल बन्द गर, अति भो” किनकि उहाँले  मैले स्विटर कुनामा धकेलेर त्यसलाई झरना जसरी झुन्डाएको देख्नुभयो तर मलाई केही मतलब छैन ।

“राचेल!” मिस रिसाएर बौलाएझै  गन्र्नुहुन्छ, “ तिमी यो स्विटर लगाइहाल, अहिल्यै लगाउ, धैरै नखरा नदेखाउ, छिट्टो, अहिलेनै” तब मलाई लाग्छ यो म भित्रको एघार हैन किनभने म भित्रका दश, नौ, आठ, सात, छ, पाँच, चार, तिन, दुई र एकले मलाई धेरै पर धकेल्दैछन् । जब म आफ्नो एक हात स्विटरको बाहुलाभित्र घुर्साछु  त्यो कुहिएको नौनी जस्तै गनाउँछ  र अर्को बाहुला म भन्दा धेरै पर भएजस्तो लाग्छ जस्तो कि त्यसले मलाई पिडा दिन्छ, चिलाउने, किटाणु नै किटाणु भएजस्तो जुन मेरो होइन ।

त्यसपछि बिहानदेखि सँगालेको सबै भडार पोखिन्छ, म सबैको अगाडि रोइदिन्छु । म चाहन्छु म अदृश्य बनु तर म सक्दिन । म एघारको भएँ र आज मेरो जन्मदिन हो तर म सबैको अगाडी तिन बर्षे बालकझै रोहिरहेछु । म टाउको डेक्समा राखेर त्यो थोत्रो स्विटरले आफ्नो अनुहार पुच्छु । मेरो अनुहार तातो भएको छ र मूृखबाट रिहाल चुहिँदैछ  किनकी म भित्रको त्यो सानो जनावररुपि आवाज मबाट निस्कदैन जबसम्म मेरो आँशु रित्तिदैन । अब मेरा आँशु रित्तिदैछन् र म यसरी हिकहिकाउँदैछु जसरी म तातो दुध छिटोछिटो पिउँदा हिकहिकाउँछु । तर दुखको कुरा उतिखेरै टिफिनको घण्टि बज्छ । त्यो ग्वाजे फिलिप लोपेज जो सिल्भीया भन्दा पनि मूर्ख छे भन्छे, “ उसलाई याद भयो त्यो स्विटर उसको हो” म उतिखेरै फुकालेर उसलाई दिन्छु । मिस केही नभएजस्तो गर्नुहुन्छ ।

राचेल धेरै ढिला भैसक्यो । म एघार, दश, नौ, आठ, सात, छ, पाँच, तिन, दुई र एक  हँु तर मलाई लाग्छ म एक सय दुई पनि हँु ।  म एघार बाहेक सबै हँु ।  लाग्दैछ म धेरै पर आइसकेके छु, धेरै पर, हातबाट फुस्केको बेलुन वा आकासमा रहेको त्यो सानो शून्य जसलाई देख्न पनि तिम्ले आँखा चिम्लनुपर्छ ।

Friday, February 2, 2024

प्रिय म


    कहिलेकाही लाग्दैन आफैँले आफैँलाई प्रिय भनिदिउँ । तर यो कुनै स्याबासी होइन । कुनै राम्रो काम गरेबात पाएका सुनौला शब्दहरु पनि होइन । तर कहिलेकाही जब अनौठो परिस्थतिमा अड्किएको महसुस हुन्छ  आफैँले आफैँलाई प्रिय भनिदिउँ जस्तो लाग्छ । यी तिनै शब्दहरु हुन् जसलाई भन्न आवस्यक थियो ।

    जीवनको अनौठो मझदारमा अड्किएको छु । गाडिमा लगाएको ब्रेकझै अगाडी बढ्न खोज्दा पछि धकेलिएझै महसुस हुन्छ । हारेको महशुस हुनु अनौठो अनुभूती रहेछ आजकाल महसुस हुन्छ । आफूले आफैँलाई शक्तिहिन ठान्नु कुरुप अवस्था हो । तर एक मनले भन्छ म यस्तो अनुभूत गर्न चाहन्न । अथवा चाहेको पनि होइन । तर परिस्थतिसँग भागिरहन पनि त सक्दिन । एक मन भन्छ अध्यारा दिनहरु सधैँ रहँदैनन् हरेक अध्यारा दिनपछि उज्याला दिनहरु पनि आउँछन् । तर पनि लाग्छ के सधैँ यस्तै त रहँदैन ।

    यी प्रश्नहरु पनि आफ्नै थिएँ । उत्तरको प्रतिक्षा पनि आफ्नै थियो । तथापी आफैले आफैँलाई मनाउँन सकिरहेको छैन । यस्तो लाग्छ सबैसँग लुकेर हिडिदिउँ । आफूले आफैँलाई हारेको साबित गरिदिउँ । हार्न भन्दा पनि आफूँले आफैँलाई हारेको सावित गर्न ग्राहो रहेछ । हरेका हारहरु भन्दा हार्नुको स्वअनुभूती अझै गह्रौ पर्दो रहेछ ।

    म यसरी आफू हुनुको निर्धोपनलाई अनुभूत गरीरहेछु यस्तो लाग्छ यसले मलाई आफ्नै अगाडी अप्रिय बनाउँदैछ । आफ्नै नजरमा आफैँ अप्रिय बन्नु.........यो सजिलो अवस्था होइन । तथापि अगाडि बढ्नु त छँदैछ आफ्नो अगाडि वा आफूभन्दा अगाडीका मानिसहरुका लागी । तथापी यहि अनुभूती बोकेर अगाडि बढ्न चाहन्न । सायद कतै छुटेको आफैभित्रको आफ्नोपन कहि कतै रोक्दैछ । सायद त्यैले आफैले आफैँलाई प्रिय भन्दैछु

    प्रिय म र मजस्तै अनुभूतीसँग हिडिरहेका धेरैधेरै सायद  यो कठिन समय धेरै चल्नेछैन । जीवनमा हारेको अनूभूती अब हामी कसैले गर्न नपरोस् ..........................................................................................................................................................................................................

चौँतिस

निर्जला अधिकारी बाटो लामो छ हिड्नुपर्ने, हिडेको केही घण्टा त भयो । किन म यति धेरैे थाक्दैछु । यो थाक्ने उमेर पनि त होइन । सायद हो कि ? हुन त...