Monday, October 30, 2023

दुरीहरु


कापीका एक साइडमा एक बिन्दु अर्को साइडमा अर्को बिन्दु रहेको छ । सायद उनीहरुलाई लाग्ला उनीहरु बिचको दुरी कहिल्यै मेटिदैन । दुई बिन्दु बिचको यो दुरी नै सायद हामी सबै बिचका दुरीहरु हुन् । 

यो घर छोड्ने दिन हो । घर छोड्ने रात म आफैले पार गरेका दुरीहरु सम्झन्छु । सायद हामी सबैसँग आफैले सोचिराखेका दुरीहरु रहन्छ । कहिलेकाही लाग्छ के मेट्दैमा मेटिन्छन् वा मेटेर पनि डोबझै बाकी रहन्छ दुरीहरु ।

यी पैतालाका दुरीहरु मात्र होइनन् । सायद यी चक्रझै चल्ने नियतीका दुरीहरु हुन् । पहिलेपहिले लाग्थ्यो घर छोड्दैमा छोडिन्छ र घर ? पैतलाको डोबसँगै बड्छन् र दुरीहरु ? तर समयसँगै लाग्न थाल्यो पैतलासँगै सबै चिज छुड्दो रहेछ । छुटेकालाई भेट्न नसकिँदो रहेछ । पार गरेको दुरीलाई फेरी फर्केर हेर्दा धमिलो डोबमात्र बाकी रहदो रहेछ ।

हामी आफैँ बिच पनि एक आफू र अर्को आफू बिच कोसौका दुरीहरु रहने रहेछन् । कहिलेकाही लाग्छ म भित्रका महरुले एकले अर्कालाई चिन्दैनन् । एक भन्छ जे गर्दैछस् राम्रो गर्दैछस् जीउँने यसरी नै हो । अर्को मन भन्छ यसरी जीवन चल्दैन । कहिलेकाही लाग्छ यी दुरीहरु कहिल्यै मेटिदैनन् । सायद समयसँगै बढ्नेछन् । जीउँने नाममा एकअर्कालाई नचिनेझै गर्नेछन् । देखे पनि नदेखेझै गर्नेछन् ।

कहिलेकाही लाग्छ पाना एक र अर्को कुनाका दुबै डटहरु म नै हुँ । जोडिन सक्ने पनि म नै हुँ । नजोडिन चाहेकी पनि म नै हुँ । यी बिरोधाभाषहरु  बिच आफैँलाई खोज्दैछु । कहिले एउटा बिन्दु हावी भैदिन्छ कहिले अर्को बिन्दु । तर दुबै बिन्दुलाई लाग्छ एक अर्काको मिलन सम्भव छैन । अरुसँग त परको कुरा कहिलेकाही आफैँबिचका दुरीहरुले पनि पिरोल्छ ।

यीनै दुरीबिच आफैँलाई खोज्दैछु ।  चाहेर नचाहेर हामी यीनै स–साना बिन्दुहरु रहेछम् । जोसँग दुरीहरुका कथाहरु छन् । नमेटिएका यीनै दुरीहरुलाई साथ लिएर मानीसहरु दुरदुरको यात्रामा निस्कन्छन् । देशदेसावरको यात्रा बिच लाग्छ घर बिरानो भयो मानीसहरु बिराना भए । चरा र फूलहरु बिराना भए ? कहिलेकाही  लाग्दैन आफ्नो आफू नै बिरानो भयो ?

Thursday, October 26, 2023

यो कुनै आकाश होइन

 'यो कुनै आकाश होइन। चाहेर पनि तिमीले अनन्त शान्त खुल्ला मैदान भेट्ने छैनौ। ताराहरू र ताराहरू बेगरका शान्त अँध्यारा रातहरू केवल एक कल्पना हो। तिमी अन्धकारमा चाहेर पनि शान्ती भेट्ने छैनौ। हामी बन्धनमा छौ। र हाम्रा आफ्नै बन्धनहरू छन्। हामी असीमित बन्धनहरूले सीमित छौ। मानिस केवल सीमितताको पर्याय हो, असीमितता त केवल एक भ्रम हो।'

ऊ एक फोटोग्राफर हो, ऊ आफ्ना फोटोहरूमा लामा-लामा क्याप्सन लेख्ने गर्छ। मलाई उसका फोटाहरूभन्दा उसले लेखेका क्याप्सन मनपर्छ। माथिका अक्षरहरू उसको रात्रीकालीन फोटोको एक क्याप्सन हो।

उसका फोटाहरूमा म बिरलै उज्याला दिनहरू भेट्छु। किन ऊ अँध्यारोलाई यति धेरै प्रेम गर्छ, मलाई थाहा छैन। मेरो नाम सन्ध्या भए पनि मलाई उज्याला दिनहरू मनपर्छ। तर किन-किन मलाई ऊ पनि मनपर्छ र उसले लेख्ने क्याप्सनहरू पनि। उसका क्याप्सन झैँ ऊ अनौठो छैन। उसलाई देख्दा मलाई कहिल्यै लाग्दैन ऊ कुनै फोटोग्राफर हो र ऊ यति सुन्दर क्याप्सन लेख्छ।

मैले उसलाई कुनै फोटोग्राफरको रुपमा चिनेको पनि होइन। उसले मलाई मेरा फोटाहरू कस्तो लाग्छ भनेर सोध्दा पनि सोध्दैन। म उसलाई 'गोपी' भन्छु, नाम गोपाल भए पनि। ऊ मलाई सन्ध्या नै भन्छ। ऊ मेरो डेरावाला छिमेकी हो। जब म ग्वार्कोबाट चाबहिल बस्न पुगेँ ऊ अनायासै मेरो छिमेकी बन्न पुग्यो। यदाकदा चाबहिलको गणेस्थान वरपर क्यामरा बोकेको देखेपछि मात्र मलाई ऊ फोटोग्राफर हो भन्ने थाहा भएको हो।

मैले उसलाई खासै कोठामा देख्दैन थिएँ। एकदिन क्यामरासहित देखेपछि प्वाक्क सोधेकी थिएँ, 'तिमी फोटो पनि खिच्छौ हो?'

उसले हाँस्दै 'हो' भनेको थियो। म फोटोप्रति त्यति धेरै जिज्ञासु नभएको कारण मैले थप केही भनिनँ। एकदिन अचानक केही कारणबस उसको कोठामा छिर्दा बल्ल थाहा पाएँ कि ऊ कुनै मामुली फोटोग्राफर होइन रहेछ, ऊ सुन्दर क्याप्सन लेख्ने लेखकीय फोटोग्राफर रहेछ।



त्यसपछि भने म ऊ बारे जिज्ञासु भएकी हुँ। उसका प्रत्येक फोटाको क्याप्सनले मलाई अनौठो महसुस गराउँछ। मैले अहिलेसम्म यति लामो र सुन्दर क्याप्सन लेख्ने फाटोग्राफर भेटेकी छैन। त्यसैले पनि ऊ मलाई चाखलाग्दो लाग्छ। उसका प्रत्येक फोटो तल लामा-लामा क्याप्सन हुनेगर्छ जसले मलाई क्याप्सन सुन्दर कि फोटो भन्ने कुरामा सधैँ झुक्याउँछ।

यदाकदा 'किन तिमी यति लामा क्याप्सन लेख्छौ?' भन्दा ऊ सधैँ भन्छ, 'कलाले दिने परिणाम सधैँ एकोहोरो हुँदैन, म एक माध्यमले मात्र आफ्ना कुरा भन्न सक्दिनँ, यो मेरो कमजोरी हो सन्ध्या।'



मलाई किन-किन उसले प्रयोग गर्ने दुई माध्यम उसको कमजोरी हो जस्तो कहिल्यै लाग्दैन।

ऊ शान्त देखिन्छ। ऊ भित्रको हलचल मैले उसको अनुहारमा कहिल्यै देखेको छैन। ऊ सामान्य लाग्छ। अधिकांश फोटोग्राफरजस्तो लाग्ने उसमा केही त्यस्ता संकेतहरू छैनन्। ऊ रातमा कैद गरेका दृष्यहरूमा अनौठा क्याप्सन लेख्छ।

'अँध्यारामा दूरीहरू देखिँदैनन्। देखिन्छन् त केवल क्षितिज नाघेर आएका प्रकाशका कथाहरू। देख्नेहरूले त केवल नाघिआएका प्रकाशहरू मात्र देख्छन्। नाघ्नेहरूको सिंगो संसार कहीँकति तिनै दूरीहरूमा अड्किरहन्छ। र बन्छ एक अकल्पनीय अँध्यारो नजिर।'

रातमा परबाट आएको प्रकाशलाई उसले कैद गरेको यो पछिल्लो फोटोको क्याप्सन हो। जसले मलाई फेरि अर्कोपटक उथलपुथल बनाएको छ। तर ऊ शान्त लाग्छ। ऊ आफ्नै क्यामराका कामहरूमा मग्न हुन्छ।

म भन्छु, 'थाहा छ गोपी, तिमी जति सरल देखिन्छौ त्यति नै तिम्रा क्याप्सनहरू मलाई सरल लाग्दैनन्। मलाई थाहा छैन तिमी कसरी र किन फोटोग्राफर बन्न पुग्यौ तर तिम्रो सरलता भित्र लुकेको यो अनौठोपनले यदाकदा मलाई अचम्मित बनाउँछ।'

उसले केही प्रतिक्रिया दिँदैन र भन्छ, 'आज पनि म राति फोटो खिच्न जाँदैछु, राति फोन गर्छु गेट खोल्देऊ ल।'

म 'हुन्छ' भन्छु र ऊ सरासर आफ्नो बाटो लाग्छ।  

राति एक बज्दै गर्दा उसको फोन रिङले मलाई बिउँझाउँछ।

'ए तिमी आयौ?' भनेपछि 'अँ' भन्दै ऊ आफ्नो कोठाभित्र छिर्छ।

मलाई लागेको थियो उसले त्यस दिन कैद गरेका दृश्यहरूबारे केही भन्छ। भोलिपल्ट कतिबेला उसले कोठाको ढोका खोल्छ र म उसका फोटाहरू र क्पापसन पढ्न पाउँछु भनेर म हतारिन्छु। तर १२ बजिसक्दा पनि ऊ ढोका खोल्दैन।

बिरामी पो भएको छ कि भनेर ढोका ढकढकाउँदा थाहा पाउँछु ऊ बिउँझिसकेको रहेछ। 'तिमी किन अहिलेसम्म बाहिर ननिस्केको?' भन्दा ऊ त्यसै भनेर फेरि ढोका लगाउँछ।

यी यस्तै उसका बानीहरूले मलाई ऊ बारे निराश बनाउँछ। म चाहेर पनि ऊसँग नजिकिन सक्दिनँ। उसका फोटाहरू हेर्न र क्पाप्सन पढ्न पनि मैले धेरै नै कष्ट गर्नुपर्ने हुन्छ। किन-किन अघिल्लो रात उसले खिचेका फोटाहरूभन्दा मलाई उसका फोटाका क्पाप्सनहरू पढ्न हतार हुन्छ।

त्यस दिन पनि करिब चार बजेतिर हतारिँदै 'के छ गोपी? हिजोको फोटो देखाउन' भन्दै म उसको कोठाभित्र छिर्छु। ऊ डेक्सटपमा फोटोहरूमा क्पापसन लेख्दै रहेछ। रातको समयमा नदीमा बग्दै गरेका छालहरूलाई कैद गरेको फोटो तल ऊ लेख्छ,

'बगेर जानेहरूको कथा सायद यात्राको कथा हो। तर नबगेका हलचलबारे किन कोही बोल्दैन? चाहेर पनि बग्न नसक्नु कम पीडादायक हुँदैन। यात्राझैँ तरलता र बगाइका कथा मात्र किन मान्छे लेख्छ? यो अनौठो विस्मयको कथानक हो। चाहेर पनि यात्रा गर्न नसकेको अयात्राको कथा। आफ्नै परिधिमा कष्टपद लोप हुन पर्ने किल्लाको कथा। यो नदीहरूमा हराएका छालहरूको कथा हो।'

उसको क्याप्सनले फेरि अर्कोपटक मलाई हुरुक्क बनाउँछ। म भन्छु, 'कसरी तिमी यति सुन्दर क्याप्सन लेख्छौ गोपी?'

ऊ हाँस्छ र विस्तारै 'मलाई थाहा छैन सन्ध्या, सायद म दृष्यहरूमा बग्छु, भावनामा जस्तै।'

मैले सोधेका प्रश्नहरूमा उसका उत्तरहरू जहिले छोटा हुन्छन्। म चाहेर पनि अरु थप केही भन्न सक्दिनँ।

आज किन-किन म उसलाई केही प्रश्न सोध्ने मूडमा छु तर किन-किन सोध्न सक्दिनँ। उसले किबोर्डमा चलाएका अक्षरहरूमा मेरा आँखा पर्न जान्छन्। ऊ लेख्छ,

'यो सन्ध्याको उज्यालो हो, उज्यालोका आफ्नै परिभाषाभित्र पर्न नसकेको अँध्यारोको उज्यालो। यो जुनेनी रात होइन र पनि दिन झैँ उज्यालो छ। यो निराशामा फूलेको आशाको कथा हो। अँध्यारोको निमेशतालाई बुझेको यो उज्यालोको अर्को पाना हो। त्यस्तो पाना जहाँ बिना किरण फूल फुल्न सक्छ, घाम लाग्न साक्छ र मानिसहरू सदाझैँ प्रेमका गीतहरू गाउन सक्छन्।'

रातमा देखिएको चकमन्न जूनलाई कैद गरिएको उक्त फोटोको यो आशावादी क्याप्सन देखेर मलाई ऊ खुसी रहेछ कि भन्ने महसुस हुन्छ। म विस्तारै सोध्छु, 'के तिमी खुसी छौ हो आज?'

'किन?' ऊ भन्छ।

'किन-किन तिम्रो क्याप्सन पढ्दा यस्तै लाग्छ।'

केही प्रतिक्रिया नदिई ऊ भन्छ, 'अब म फोटो खिच्न जान्छु ल, म राति नआउन पनि सक्छु।'

म केही भन्दिनँ। ऊ क्यामरा बोकेर सरासर निस्कन्छ।

मलाई लाग्छ ऊ राति हिजोझैँ फर्कन्छ र म केही उसका बारे सोध्न सक्छु। तर आज रातिको दुई बझ्दासम्म पनि ऊ फर्केको छैन। म लामा-लामा क्याप्सन लेख्ने फोटोग्राफरको पर्खाइमा अत्तालिएकी छु। प्रश्न त मैले आफैलाई सोध्नुपर्ने भएको छ- किन म उसको पर्खाइमा उत्तालिदैँ छु?

बाहिर हेर्छु चकमन्न अँध्यारो छ। यस्तो लाग्छ, कसरी त्यो सरल देखिने गोपी यति असामान्य लाग्ने अँध्यारोमा फोटो खिच्दै हिँड्छ? किन ऊ रातदेखि डराउँदैन? थाहा छैन किन ऊ त्यस्तो गर्छ! तर मैले ऊ बारे सोचिरहनु आवश्यक छैन।

सोच्दासोच्दै म निदाएछु। बिहान ढोका खोलेर हेर्दा उसको कोठा बन्द नै छ। थाहा छैन ऊ आएपछि सन्धयाकालीन कस्ता दृष्यहरू र तीमाथि कोरिएका कस्ता अक्षरहरू बोकेर आउँछ। थाहा छैन फोटो र क्याप्सनमा अँध्यारो बोकी हिँड्न उसले उज्यालोलाई कसरी लिन्छ, प्रेमलाई कसरी लिन्छ?

म सोध्न चाहन्छु तर उसको र मेरो सम्बन्धको आकाश खुल्ला छ। म चाहन्न प्रश्न गरेर असीमितताको आकाशलाई सीमिततामा बदलुँ।

Saturday, October 14, 2023

राम्री


निर्जला अधिकारी

“त्यसै त यति राम्री छौ, भोली कस्ती हौली” सायद बिहे अघिको उसको यो अन्तिम म्यासेज हो । रातको एघार बजेको छ । घरभरी मान्छे छन् । हातमा उसको नामको मेहेन्दी सजिएको छ । तर म निदाउँन सकेकी छैन । दिदी र म एउटै खाटमा सुतेका छौ । दिदी निदाइसकेकी छ । 

घर माला र तोरणहरुले सजिएको छ । बिहेकै लागि भनेर थप बत्तिहरु थपिएका छन् । चारैतिर उज्यालो छ । त्यो उज्यालो म भित्र छैन । मन भित्रभित्र कुडिएको छ । सानै देखी बिहे भनेपछि भुतुक्कै हुने म ,आफ्नै बिहेका लागि उत्साहित छैन । “बस् जे हुन्छ राम्रो हुन्छ” एक मन भन्छ तर आँखाहरुले दिदीको मलिन अनुहारलाई छाड्न सकेका छैनन् ।

दिदी म भन्दा एक बर्ष जेठी छ । तर भन्नेले अग्लो भएकाले मैलाई दिदी भन्दिन्छन् । उ सुनिता अनि म अनिता । खासमा उ मलाई होइन मेरी दिदीको लागि हेर्न आएको थियो । ऊ आउँने दिन बाआमाले दिदीलाई भन्नुभएको थियो , “अल्लि राम्री भएर बस तँलाई हेर्न कोही आउँदैछ । घरपरिवार राम्रो छ, केटो पनि इन्जिनियर हो रे उसले मन परायो भने नाइ नभनेस् ।” दिदी केही बोलिन । ऊ दिदीको लागि हेर्न आएको पहिलो केटो थिएन । यो भन्दा पहिले कयौले उसलाई हेरे ।

आमाबासँग केही नभने पनि त्यो पटक दिदी खुसी देखिन्थी । उसलाई पढेका मान्छे मनपथ्र्यो तर जब बिहेका लागि कुरा चल्थ्यो उसको भागमा प्रमाणपत्रका धनिहरु कहिल्यै पर्दैनथे । उ बेलाबखत भन्थी, “मैले बिबिएस पास गरेर के काम लाग्यो त । “ तर कुरा चलाउँनेहरुले उसका लागि पढेकाहरु कहिल्यै देखाएनन् । उ पहिलो केटो थियो जो दिदीले खोजेझै पढेको थियो ।

आमाबाले हामीलाई उसको नाम भन्नुभएन । उ कस्तो छ के गर्छ त्यो पनि भन्नुभएन । तथापी दिदीका आँखाहरुमा एक खालको चञ्चलता देखिन्थ्यो । ऊ त्यस दिन अफिसबाट चाँडो घर फर्कि । बाआमाले भनेझै राम्री बन्न उसलाई सुहाउने कुर्था लगाई । अनुहारमा अलिअलि लिपपोत गरी ।

म र दिदी सँगै हिड्दा दिदीलाई राम्री कसैले भन्दैनन् । केटाकेटी बेला मलाई रमाइलै लाग्थ्यो दिदी भन्दा म राम्री रहेछु भनेर । अहिले पनि मलाई राम्री भन्नेले उसलाई राम्री कहिल्यै भन्दैनन् । आजकल कहिलेकाही मलाई राम्री भनिदिएकोमा दुख लाग्छ । म किन राम्री उ मेरो अगाडी किन नराम्री ? सँगै हुर्केका उ र म विच राम्री र नराम्रीको भेद सधै रहिरह्यो । 

उ हेर्ने आउँने दिन आमाले मलाई सुटुक्क भान्छामा बोलाएर भन्नुभयो “आज ति मान्छे आएका बेला दिदीको नजिक नगएस्” । मैले किन भनेर सोध्न सकिन । घरमा एकाएक नौला मान्छे आए । बैठक कोठामा चहलपहल सुरु भयो । दिदी निराश नभएपनि आत्तिएकी थिइ । आमाले बोलाएपछि उ पनि बैठकतिर गै । मलाई कताकता खसखस भयो । आफू पनि जाउँजाउँ भयो । एक्कासी सबै भए छेछ टपक्क टप्किएँ । आमाले झस्केर मलाई हेर्नुभयो ।  बाले बिस्तारै कान्छि छोरी भनेर सबैलाई चिनाउँनुभयो । मैले सबैलाई नमस्ते गरेँ । दिदीलाई हेर्न आएको ऊ दिदी छेउ थियो । एकछिनपछि दिदी र उसलाई अर्को कोठामा गफ गर्न पठाइयो । उ र दिदी गए । के गफ गरे मलाई थाहा भएन । उसँग को गफ पछि दिदीको आँखामा निराशा भने प्रष्ट देखिन्थ्यो ।

हामी तपाइहरुलाई पछि खबर गर्नेछौ भन्दै उनीहरु घरबाट निस्के । आमाले दिदीलाई कस्तो लाग्यो केटो भन्दा दिदीले ठिकै मात्र भनी । एकाएक त्यसपछि दिदी मसँग कम बोल्न थाली । भोलीपल्ट खबर आयो केटोले दिदीलाई होइन मलाई मनपरार्यो रे भनेर । त्यस दिन बाआमा केही बोल्नुभएन । दिदी अफिस गई आई तर कोहीसँग बोलिन । ... घरमा एकाएक सन्नाटा छायो  । दिदीलाई कसैले मनपराउँदिन भनेको, राम्री रैनछ भएको त्यो पहिलो पटक थिएन तर घरमा एकाएक मौनता छाएको थियो ।

भोलीपल्ट बिहान आमाले फेरी मलाई भान्छामा बोलाउँनुभयो । “आमा किन बोलाउँनुभएको” भन्दै म गएँ । “तँसँग एउटा कुरा गर्नुछ” आमाले भन्नुभयो । “दिदीलाई हेर्ने आएकोलाई तँ मनपरेछ । दिदी होइन तँ पाए बिहे गर्छु भन्छ रे , गर्छेस् त त्योसँग बिहे ? घरपरिवार राम्रो छ । हामीले निर्णय गर्यौ भने नाइ नभनेस् । दिदीको नभएनि तेरो गर्न पाएँ हाम्रो आधा शिर हल्का हुने थियो । त्यसैनि छोरो छैनन्ं..... दिदी छोरा भएर बस्नेछ ।” आमाले आँखामा टल्पलाएका आशु पुछ्दै भन्नुभयो । मैले आफ्ना आँखाका आशुहरु रोक्न सकिन । कोठाभित्र छिरे भित्रैभित्र बेस्सरी भक्कानिए ।

बेलुका फेरी बाले बोलाउँनुभयो । सधै दिदी बहिनीलाई सँगै बोलाउँने बाले आज मलाई मात्र बोलाउनुभयो । दिदी र आमा भान्छामा हुनुहुन्थ्यो । “तँलाइ एउटा कुरा भन्नुथियो कान्छी” कोठाभित्र छिर्नेबित्तिकै बाले भन्नुभयो ।  “ तेरी आमाले र मैले त्यो केटासँग तेरो बिहे गर्दिने निर्णय गर्यौ । घरपरिवार राम्रो छ । केटो पनि राम्रो स्वभावको छ भन्छन् सबैले । तेरो जीवन खुसी हुनेछ । हुन्छ भन” बाको बोलीले मलाई झन् बोल्न नसक्ने बनायो । ....दिदीको अनुहार सम्झे .... हुन्छ भन्न सकिँन । तर बाआमाको प्रस्ताबलाई नाई भन्न पनि सकिँन । आँखाका आँशुलाई रोक्न सकिँन.... बालाई नहेरी हुन्छ भनिदिएँ । 

बेलुकीको खानापछि सदाझै कोठामा छिरे । दिदी एकतमासले झ्याल बाहिर हेरेर बसेकी थिइ । सदाझै मैले दिदी भनेर बोलाउँन सकिन । त्यो दिन दिदी अरु दिनभन्दा चाडै सुती । म भित्रैभित्र भक्कानिय तर दिदीलाई भन्न सकिँन । .... त्यो मेरो जीवन पहिलो सान्नाटा थियो । म पहिलोपटक राम्री भएकोमा दुखी भएँ । त्यस दिन मैले आकाशका ताराहरुसँग बिताए । देख्दा चम्किला देखिने ति रातका किरणहरुझै मैले पनि एक्लो र चिसो महशुस गरेँ ।


भोलीपल्ट म नउठ्दै दिदी कलेज गैसकेकी थिई । आमाले चिया यहाँ छ कान्छी भनेपछि बल्लबल्ल ओछ्यानबाट बाहिर निस्के । मंशिरको महिना बाहिर चिसो हावा चल्दै थियो । आमाले आज दिउसो कुरा पक्का गर्न उनीहरु आउँछन् कही नगयस् भन्नुभयो । आमाले भनेझै गरीब दुई बजेतिर उनीहरु आए । आमाले मलाई आफ्नो लागि किनेको गुलाबि रंगको साडी लगाइदिनुभयो । सधै साडी लगाउँदा फरुङ्ङ हुने म, मन भित्रका कोलाहलहरुलाई छिचोलेर रमाउन सकिन । दिदी कलेजबाट डाइरेक्ट अफिस गैसकेकी थिई । देख्दा ठिकै देखिने उ मलाई देखेर दङ्ङ देखिन्थ्यो । एकअर्कालाई औठि लगाएपछि उसले मलाई उसँगै सेल्फी खिच्न आग्रह गर्यो । मैले हुनेवाला लोग्नेको त्यो आग्रहलाई टार्न सकिँन । तर आँखाले दिदीको मौनतालाई छोड्न सकेन ।

सदाझै अफिसबाट करिब ६ बजे दिदी घर फर्की । आमाबाका आँखा पनि उदास थिए । मैले मेरो हातको औठि उसलाई देखाउँन सकिन । तर दिदीले आफूभित्रको सान्नाटालाई कता छोडेर आइ त्यो दिन, आउँनेबित्तिकै, “खै कस्तो ल्याएछन् औठी देखाँ त” भनी । उसले केही नभएझै गरी । त्यो हृदयको कोलाहल खै कहाँ लुकाएर राखी उसले । 

त्यस दिनप्रश्चात उसको आगमन भयो मेरो जीवनमा तर उसको आगमनले न म खुसी थिए,ँ छु , न उत्साहित । मेरो लागि बस् उ हुने वाला लोग्ने हो ।

बिहेको लागि एक हप्ता पछिको दिन जुराइयो । उ मसँग भेट्न चाहन्थ्यो तर किनकिन मलाई उसलाई देखेपछि दिदीका आँखामा छाएको उदासी याद आउँथ्यो । “तिम्रा यी आँखाहरु मलाई असाध्दै मनपर्छ “ उसले एक दिन भन्यो मैले त्यही क्षण मेरा दिदीका आँखाहरु सम्झे ्। 

  आज उसको नामको मेहेन्दी लगाएको छु तर आँखामा दिदीको उदासी बोकेकी छु । दिदी खुसी भएझै देखाउँछे । भोली बाट उसलाई कुरुप ठान्नेलाई उसले ज्वाई भन्नुपर्छ । कुन हृदयलाई साक्षि राखेर उसले ज्वाई भन्नेछ ? वा कुन आँखाहरुले  उसले मेरो लोग्नेलाई स्वागत गर्नेछ ? वा कुन स्वाभिमानलाई कुल्चेर उ केही नभएझै गरी हास्नेछ ? थाहा छैन ... म कुन हृदय बोकेर दिदी छेउ उ मेरो लोग्ने भनेर चिनाउँनेछु ।

यो एक हप्तामा हृदय भरीएको छ । म उसलाई लोग्ने मान्दै गर्दा मसँगै हुर्केकी मेरी दिदीको हृदयलाई कुल्चनु पर्नेछ । भरीएको हृदयलाई म पोख्न चाहन्छु......तर कसरी थाहा छैन ......

प्रिय दिदी, 

थाहा छैन कुन भावनाको कोलाज बोकेर तँ बाचेकी छस् ? मेरो हातमा लेखिएको उसको नाम देख्दै गर्दा तँलाई कस्तो महसुस भयो ? तँलाई अस्विकार्नेलाई भोली तँ ज्वाई मानेर कसरी स्विकार्नेछस् ? म  बेहुली हुँदै गर्दा  तेरा उज्याला आँखाहरु देख्न चाहन्थे, यो अध्यारो क्यानभाषलाई साक्षि राखेर म कसरी जीवनमा उज्यालो रंग पोत्नेछु ? यी यस्तै प्रश्नहरुले म रुमलिएकी छु । मलाई माफी दे केटी । तँ जसरी उज्यालो भएर मसँग उभिस् त्यसरी म पनि अडिग भएर उसको प्रस्तावलाई कुल्चन सक्नुपथ्यो । तर मैले सकिन केटी म काँतर रहेछु ।  जाँदैगर्दा तँलाई खुसी भएको देख्न चाहन्छु । तर यो पढ्दै गर्दा आँखाबाट आँशु नझारेस् । 

जानेहरुको नाउँमा

  यो समथर कथा होइन । सायद म यहाँ कहिँ कतै खुम्चिएकी छु । कहिँ कतै रोकिएकी पनि छु । यो जानेहरुको कथा हो । सायद हामी सबैको साझा कथा हो । यो मह...