Saturday, April 15, 2023

अन्तिम

 

निर्जला अधिकारी

क्याफेको एक कुनामा म छु अर्को कुनामा उ छ । भन्नैपर्ने केही छैन । दुबैको हातमा चिनि सहितको कफि छ । उ शान्त देखिन्छ । सायद म पनि शान्त देखिन्छु । यो अन्तिम दिन हो हामीले एक अर्कालाई हक सहित भेट्न मिल्ने । सायद यसपछि कुनै दिन बाटोमा भेटिनेछौ । वा दोबाटोमा आँखाहरु जुध्नेछन् तर एक अर्काअर्कालाई नाम सहित बोलाउँन सक्नेछैनौ । वा देखेपनि नदेखेझै गर्नेछौ । वा कहिल्यै भेट्नेछैनौ ।..... केही थाहा छैन ।

उसलाई भेट्दा म बिसकी थिएँ आज अठ्ठाइसकी भएछु । कहाँ गए ति नौ बर्षहरु म खोज्दैछु । थाहा छैन ति बर्षहरु जीवनका स–साना बिन्दुहरु मात्र भएकी । सायद यो शून्यता वा मौनता आवश्यक थियो कि । वा थिएन कि । अब त हामी विच सम्बन्धको नाउँमा उपस्थिति मात्र बाकी छ । र केही समय पछि त्यो पनि रहनेछैन । सायद केही नहरनु विच पनि केही रहने पो छ कि ।

“अब बिदा हौ” उसले मलाई नहेरी भन्छ । म शिरमात्र निहुर्याउछु । “तिमी एक्लै जान्छेउ कि म पुर्यादिउँ ।” उ सोध्छ । म एक्लै जान्छु । म भन्न सक्दिन । भदौको महिना छ म उसको बाइक पछाडि चिसि भएकी छु । म उसलाई पहिलेझै अगाल्न सक्दिन । उ मलाई समाउ भन्न सक्दैन । म सँग आसु छैन तर मन गरुङ्गो छ । भोलीबाट  उसलाई मैले ऊ मेरो साथी भनेर चिनाउँन पनि ग्राहो हुनेछ ।  मलाई उसको भन्दा पनि हाम्रो साथित्वको माया लाग्दैछ । तर म भन्न सक्दिन, “ किप इन टच, लेट्स बि अल्वेज फेन्डस्, लेट्स् भर्गेट एर्भिथिङ” ।

अनामनगरबाट  रानीबारी कसरी पुगेँ मलाई केही थाहा छैन । मेरो रानीबारीको डेरा अगाडी उ टक्क बाइक रोक्छ । किन किन मलाई लागिरहेछ उसलाई केही भन्नु छ । “केही भन्नु  छ” म उसलाई नहेरी सोध्दैछु, । किन किन मसँग आज उसँग आँखा जुधाएर  केही भन्ने साहस छैन । उ मुन्टो हल्लाएर छैन भन्छ । मलाई धन्यवाद  भन्न मन छ तर म भन्न सक्दिन । म सरासर दोस्रो तला उक्लिन्छु । मलाई थाहा छैन उ कसरी फर्कियो । मलाई केही भन्यो । अथवा केही भनेन.................. । यो सम्बन्धको कुरुप अन्त्य होइन । तर सुन्दर पनि त होइन । मैले उसलाई अन्त्यमा अगाल्न सक्नुपथ्यो । यतिका बर्षको साथका लागि धन्यवाद भन्न सक्नुपथ्यो । किन यो शून्यता....... किन यो मौनता......... किन यो पिडा ?

सरासर कोठाभित्र छिरेर चुकुल लगाउँछु । सबै सिध्धिएझै लाग्छ । उ थियो म थिएँ । बषौ सँगालेका आसाहरु थिएँ । यदाकदा दुबै रिसले भड्किएको बेला पनि भोली उसले फेरी पहिलेझै बोलाउनेछ भन्ने आशाहरु बाकी रहन्थे । आजबाट त्यो पनि बाकी छैन । सँगै हुदा रिसाएर नबोलेका रातहरु मात्र रहन्थे । अब त त्यस्तो केही बाकी छैन । उ आयो जीवनमा उ गयो जीवनबाट निजोडमा लेख्नुपर्यो भने पनि यतिमात्र हुनेछ । 

नौ बर्ष उसले मलाई माया गर्यो वा मैले उसलाई माया गरेँ मलाई थाहा छैन । वा हामी दुवैले गरेनौ त्यो पनि मलाई थाहा छैन । वा माया गरेझै गर्यौै तर गरेनौ । वा नगरेझै गर्यौ तर गर्यौ । थाहा छैन के गर्यौ के गरेनौ । कल सेन्टरमा काम गर्दागर्दै उ मसँग नजिकियो । कसरी नजिकियो म भन्न सक्दिन । उ मेरो ग्राहक वनेर जीवनमा छिर्यो । त्यसपछि साथी बन्यो । त्यसपछि साथी भन्दा अल्लि बढी । पहिलो भेटमा उसले मलाई भनेको थियो मलाई तिम्रो स्वर मनपर्छ । मलाई सबैभन्दा कर्कश आफ्नो स्वर नै लाग्थ्यो । मलाई स्कुलमा धेरैले केटाजस्तो धोत्रो स्वर भएकी केटी भनेर चिन्ने गर्थे । उ पहिलो ब्यक्ति थियो जसले मेरो स्वर मनपराएको थियो ।

मैले चाहेको त्यो थिइन तर किनकिन उसले तिम्रो स्वर मनपर्छ भनेपछि म उसको मायामा परेझै भएँ । उसले मसँग बषौबर्ष कुरुप बनेर बसेको चिजलाई एकाएक सुन्दर बनाइदिएको थियो । उसले भनेको  त्यो छोटो वाक्यलाई सम्झदा आज पनि म भावुक हुन्छु । नसम्झौ भन्ने चिजहरु पनि धेरै छन् । तर किनकिन आज उससँगका सुन्दर क्षणहरु मात्र सम्झदैछु । म चाहन्थेँ उसले मलाई माया गर्छु भनोस् । यी नौ बर्षहरुमा उसले माया गर्छु कहिल्यै भनेन तर माया गरेझै कयौ पटक गर्यो । मलाई लाग्यो उ मलाई माया गर्छ । 

कयौ महिना उ बेपत्ता भयो । कयौ महिना म उसँग नबोलेझै गरे । तर हरेकपटक केही नभएझै, पहिलेझै हामी दुबै फक्यौ । दुबैले दुबैलाई बर्षौ पछि भेटिएका दिदीबहिनी झै स्विकार्यौ । यी नौ वर्षहरुमा धेरै भयो तर दुबैले केही नभएझै गर्यौ । हामीले सम्बन्धलाई सम्बन्धको रुपमा लिएनौ तर सम्बन्धमा रहिरह्यौ । सम्बन्धको आयातन साघुरो थिएन । बन्धनहरु कम थिए । 

जब एक महिना उ मलाई नभनी बनारस गयो । मलाई एक पल त लाग्यो उ हरायो मेरो जीवनबाट । उ बनारसका गल्लिहरुमा रुमालियो । म काठमाडौँका गल्लिहरुमा रुमालिएँ । कहिलेकाही लाग्थ्यो सायद उ असनका गल्लिहरुमा एक्कासी भेटिनेछ । त्यस्तो केही भएन । करिव एक महिनापछि उ मेरो इमेलमा एक्कासी झुल्कियो .......

प्रिय रसिका,

तिमी मसँग रिसाएकी हौली वा यो इमेल नपढ्न पनि सकौली । तर म तिमीसँग भाग्न खोजेर हराएको होइन । मलाई सधै लाग्छ तिमी अनुपस्थित भएर पनि सधै उपस्थित छौ मेरो जीवनमा । तर मैले आफूले आफैँ भेटिन  । र आफैँलाई खोज्न बनारसका गल्लिहरुमा भड्किए । यो एक महिनामा मैले जीवनको अर्को आयाम देखेँ । हजारौ मुर्दाहरु बिच सैलाइरहेका असिमित आत्माहरु भेटेँ । अन्नत, हामी सबै एक रहेछौ रसिका । हाम्रो अन्त्य एकै रहेछ । यो जीवनको नाममा गरिएको होडवाजि त केवल एक मिथ्या रहेछ । हामीले गन्त्वयको बाटोलाई भुलेछौ र बिच बाटोमै भड्किरहेछौ ।  म चाहन्न तिमी र म पनि त्यहि भड्किएको आत्मा बोकेर हिडौ । यति सुनिसकेपछि आशा छ तिमीले मलाई माफि दिनेछ्यौ । र भोली १२ बजे नयाँबानेश्वरको नाङ्लो बेकरीमा भेट्न आउनेछ्यौ ।

उही 

निसान्त

उसको इमेलले म खुसी त भैन तर आफैलाई बाधेर नजान सकिन । करिब दुई महिनापछि उसलाई मैले फेरी त्यहि बेकरी क्याफेमा भेटेँ । उ केही दुब्लाएको थियो बनारसको घामले केही कालो पनि भएको थियो । उसलाई देखेपछि मलाई रिस पनि उठ्यो माया पनि लाग्यो । तर...... म सदाझै उसँग खुलेर बोल्न सकिन । सायद ति दुई महिनाहरुमा हामी बिच नचाहेर पनि केही दुरी बनिसकेको थियो । के भनौ भनौ लागेर मैले भने , “के ल्याइदियौ मलाई बनारसबाट ?” उसले हाँस्दै माया भन्यो । ति दुई अक्षहरुले म पुरै पग्लिएँ  । मलाई लाग्यो उसले मलाई माया गर्छ तव अरु के चाहियो । सायद त्यो ठट्टा थियो । वा माया नै थियो आज पनि मलाई थाहा छैन ।

मैले प्रेमलाई कहिल्यै बन्धन ठानिन न सम्बन्धलाई । बस यति हो मलाई लाग्थ्यो उ मलाई सुन्दछ र बुझ्दछ । उसका आँखाहरुमा म सधै मेरा लागि प्रेम देख्थे । उ हराउँथ्यो.... म खोज्दथेँ... भेट्दैनथेँ । फेरी उ फर्कन्थ्यो र अर्को इमेल लेख्थ्यो र सदाझै त्यहि क्याफेमा बोलाउँथ्यो । म सदाझै भेट्थेँ र सबै बिर्सन्थे ।

हुन त हामीले एकअर्कालाई प्रेमी प्रेमिका भनेर न कहिल्यै घोषणा गर्यौ । न कहिल्यै माया गर्छु भन्यौ । उ सधै भन्थ्यो तिमी मेरा लागि बिशेष छौ मलाई सधै लाग्थ्यो उ मेरो लागि अझ बिशेष छ । बस् उसले एकपटक मलाई बनारसबाट माया बोकेर आएको छु भनको हो । तर मलाई सधै लाग्यो उसले मलाई माया गर्छु भनेको  हो । हामीले एकअर्कालाई बुझ्यौ पनि बुझेनौ पनि । वा बुझेर पनि नबुझेझै गर्यौ । 

हिजो करिब तिन महिनापछि फेरी उसले अर्को इमेल लेख्यो र फेरी  त्यही क्याफेमा बोलायो । मलाई लागेको थियो उसलाई भेटेपछि सब पहिलेझै हुनेछ । उसले क्याफेमा यात्राका केही संस्मरणहरु सुनाउँनेछ र हामी दुबै पहिलेझै खुल्नेछौ । तर सबै दिनहरु हामीले सोचेझै नहुदा रहेछन् । उसलाई महिले आज नौ वर्षमा कहिल्यै नभेटेको मानिस झै भेटे ।  भेट्टनेबित्तिकै मैले सोधे यतिका दिन कता हरायौ । उसले अरु बेलाझै हासेर होइन शिर निहुर्याएर भन्यो प्रेममा हराएँ । ति वाक्यहरु उसका लागि र मेरा लागि दुवैका लागि सहज थिएनन् । किनकिन मलाई आज लागेन उसले ठट्टा गर्दैछ । उसले भन्यो, “ तिमीलाई नराम्रो लाग्ला रसिका, तर म कसैको प्रेममा छु तर  त्यो तिमी होइनौ । म तिम्रा आँखाहरुमा मेरा  लागि झल्कने प्रेमलाई नर्कान सक्दिन । तर म कोही अरुको प्रेममा छु सायद यो तिम्ले जान्नु जरुरी छ । सक्छ्यौ भने मलाई माफी देउ सक्दिनौ भने मलाई भुलिदेउँ ।”  यी कुरा भनिसक्दा न उसले मलाई हेर्न सक्यो न मैले । बस् दुबैले कालो कफि भ्यायौ ।

मैले चाहेर पनि उसलाई केही सोध्न सकिन । उसले चाहेर पनि थप मलाई केही भन्न सकेन ।  सायद यो अन्त्यको नियम हो...... जुन सधै छोटो, संक्षित र धुमिल हुन्छ । 

No comments:

Post a Comment

जानेहरुको नाउँमा

  यो समथर कथा होइन । सायद म यहाँ कहिँ कतै खुम्चिएकी छु । कहिँ कतै रोकिएकी पनि छु । यो जानेहरुको कथा हो । सायद हामी सबैको साझा कथा हो । यो मह...