निर्जला अधिकारी
चिनिया लेखक लु सुन आफ्नो कथा “माइ बोल्ड होम” मा बिस बर्ष पछि आफ्नो गाउँ फर्कदा आफूमा रहेका स्मृति र यर्थाथ बिचको द्वन्दलाई कथा मार्फत प्रस्तुत गर्छन् । जब उनी गाउँ पुग्छन् उनको स्मृतिमाझै गाउँ सुन्दर पाउँदैनन् एक भगनावशेषको रुपमा मात्र भेट्छन् । बिसौ शताब्दीको चिनिया समाजको चित्रण गरीएको उक्त कथा र अहिलेको नेपाली समाजलाई गहिरेर हेर्दा बिरलै भिन्नताहरु भेटिन्छन् । रविन गिरीको सम्पादनमा रहेको “संकथन” भनेर नामाकृत यस म्यागजिनले हामी सबैलाई हाम्रा गाउँघरको सामाजिक, आर्थिक, राजनैतिक र भौगोलिक यात्रामा लग्नेछ । अकेजनल म्यागजिनको रुपमा लिईएको यस म्यागजिनको पहिलो खण्डका अधिंकाश सामग्रीहरु अनुसन्धात्मक किसिमका भए पनि यो अनुसन्धात्मक जर्नल भने होइन । तर नेपाली पत्रकारीतामा र विचार निर्माणमा म्यागजिनमा पाइने गहन सामग्रीको संकटको समयमा यसले हामीलाई केही बेर घोत्लने र केहीबेर आफ्नै गाउँघरबारे सोच्न अवस्य बाध्य बनाउँछ ।
म्यागजिनको पहिलो खण्डलाई गाउँ–सहर भनेर नामाकरण गरिए पनि अधिकांश सामाग्रीहरु गाउँकेन्द्रित छन् । रविन गिरी म्यागजिनको प्रारम्भमै लेख्हुन्छ “ गाउँमा रहँदा सहरको सपना अनि सहर पुगेपछि सपनामा गाउँ नै गाउँ देख्ने चेतन÷अचेतन उपक्रम किन कहिल्यै सकिँदैन” (४) म्यागजिनको पहिलो खण्डका सामग्रीहरुले यसैको उत्तर दिन्छन् । जब समाजमा आधुनिकताका किरणहरु भित्रन थाल्छन् गाउँ पहिलेझै गाउँ रहँदैन । जीविकाका लागि, सुविधाका लागि सहर छिर्नेहरु त्यही सुदुर गाउँबाट आफूलाई अलग राख्न सक्दैनन् । स्मृतिरमण भनेर भनिएको निजात्मक निबन्धहरुमा बसन्त थापा, बिष्णु सापकोटा, दिपक अर्याल, सुबिन भट्टराई, बसन्त बस्नेत, जीवा लामिछानेको गाउँस्मृति लु सुनको कथा भन्दा फरक भेटिदैन ।
प्राध्यापक अभि सुवेदी आफ्नो पुस्तक फ्लानरको डायरीमा लेख्नुहुन्छ, “ अर्को स्विकृति म गाउँले मानिस हुँ म जति सहरहरुमा भौतारिए पनि म कहिल्यै त्यस सहर परिवेशको भित्रि मानिस हुन सकिनँ । मभित्र एउटा गाउँले लज्जा सधै रह्यो । अलिक हर्किएर पछि बस्ने अनि लुक्ने बानिले मलाई कहिल्यै छोडेन ”(१२) । फ्रान्सेली शब्द फ्लानरको बिम्बमा आफूलाई उभ्याउँदै एउटा गाउँले मानिस सहरमा सधै एक आउटसाइडर वा अन्य को अस्तित्व बोकेर कसरी बस्छ भन्ने कुरा उहाँले भन्नुभएको छ । सुवेदीझै म्यागजिनका अधिकांश सामाग्रीहरुले त्यही फ्लानरको प्रतिबिम्बलाई बोकेर हिड्छन् । सहरमा रहेर पनि धेरैले आफ्नो सहरको प्रतिबिम्बलाई एक आउटसाइडरको प्रतिबिम्बको रुपमा लिएका छन् । उनीहरुको लागि सहर अन्य र अदर हो । बर्षौ सहरमै रहेर पनि उनीहरु आफ्नो अस्तित्व गाउँमै भेट्छन् ।
केही बर्ष अघिसम्म हाम्रा पाठ्यपुस्तकहरुमा नेपाल गाउँनै गाउँले भरीएको देश हो भन्ने वाक्य सजिलै भटिन्थ्यो । गाउँ हाम्रा लागि शुद्वताको, निश्चलताको, स्वच्छताको मानक थियो । हामीलाई लाग्थ्यो हाम्रो परिचय त्यहि हो । बितेका तिस बर्षहरुमा गाउँहरु बिस्तारै मानिस बिहिन बन्दै गए, हामीलाई लाग्यो जीवनलाई सार्थक बनाउँनु भनेको सहर छिर्नु हो, सहरमा घर घडेरी किन्नु हो, देश बिदेश पुग्नु हो । प्रबिधिको बिकाससँगै यी सबै कुरा सजिला पनि बने । तर मानिसका लागि आफ्नो जीवनका सुरुका दश, पन्ध्र बर्ष बिताएका ठाउँ अति नै महत्वपूर्ण हुन्छन् । अधिकांश लेखकले आफ्ना बाल्यकाललाई एक स्वर्णिम समयको रुपमा ब्याख्या गर्दा सायद यहि मनोबिज्ञानले काम गरेको छ । पिताम्बर शर्मा आफ्नो गाउँ पर्वतको फलेवासलाई ब्याख्या गर्दा यसरी नै गर्नुहुन्छ । गाउँका बिभिन्न आयामहरु, समयसँगै गाउँमा आएका बदलावहरुको ब्याख्या गरिरहँदा पनि सायद उहाँलाई लाग्यो आफ्नो गाउँ सबैभन्दा सुन्दर गाउँ हो ।
त्यसैगरी हरि शर्मा गाउँलाई एक बहुआयामीका दृष्टिकोणबाट हेर्नुहुन्छ । उहाँ गाउँ र सहर अनि राज्य बिच रहने शक्ति संरचनाको बिषयमा बोल्नुहुन्छ । राज्यको दृष्टिकोणबाट गाँउलाई हेर्ने हो भने गाउँको स्थान जहिल्यै एक सिमान्तको रुपमा रहन्छ । उहाँको यो अभिब्यक्तिले सायद गाउँ दर्शनमा अर्को इट्टा थपेको छ । म्यागजिनभरी सबैभन्दा बलियो आलेख कसैको छ भने त्यो सबिन निङ्लेखुको छ । उहाँले गाउँमा सडक भित्रिएपछि कसरी गाउँ गाउँ रहेनन् भन्नुभएको छ । उहाँ लेख्नुहुन्छ, “ सडकको आफ्नो कुनै गन्तव्य हुँदैन । कतै जाने माध्यम भयो सडक । “बिकास” सम्म आइपुग्ने माध्यम । गाउँ सडक जस्तै हो । अथवा भनौँ, गाउँको दर्जा अब सडकमा झर्न गयो ” (२८) । गाउँलाई सडकको बिम्बमा जसरी सबिनले लेख्नुभएको छ त्यसले बिकासको प्राविधिक ब्याख्याले गाउँहरु कसरी निर्जन बन्दैछन् भन्नेकुरा बोल्छ ।
मोहन मैनाली र नविन पौडेल समयसँगै नवलपरासरीको एउटा गाउँमा आएको रुपान्तरण कलम चलाउँनुहुन्छ् । उहाँहरुले प्रस्तुत गरेको समयसँगै गाउँले देखेको बद्लावले धेरै नगरउन्मुख गाउँको भित्रि मर्म बोल्छ । मोहन शाही “घर छन्, मान्छे नाइँ” भन्दै डोटिको त्यस्तो गाउँबारे लेख्नुहुन्छ जसले संसारमा बिक्ने मान्छे त जन्मायो तर जन्माउँने ठाउँ बत्तिमुनिको उन्यालोझै सधै अध्यारो नै रहिरह्यो । वसन्सप्रताप सिंहको , “गाँउ हराए के होला !” ले बिकाससँगै राजनिति घुसेसँगै गाउँले आफ्नो गाउँलेपन गुमाएको कथा बोल्छ । मोहन शाही र बसन्तप्रताप सिँहका दुई लेखहरुले पश्चिम नेपालको गाउँघरलाई बुझाएका छन् ।
राकेशप्रसाद चौधरी आफ्नो लेख, “पहिले वज्र देहात, अहिले देहात भन्दै” समयसँगै तराइका गाउँ देहातमा आएको परिवर्तनबारे बोल्नुहुन्छ । समयसँगै के बद्लियो के बद्लिएन गाउँ देहातमा यी कुरा उहाँलाई पढ्दा भेटिन्छ । गोपाल दाहाल गाउँका लागि बन्ने बजेट बारे लेख्नुहुन्छ । बिकासलागि बजेटको महत्वबारे उहाँको लेखले बोल्छ । सुजाता तमाङ आफ्नो लेख “मेरो गाउँको पात्रो” मा समयसँगै हामीले खाने खाध्यान्नमा आएको रुपान्तरण र त्यसले ल्याएको असरबारे बोल्नुहुन्छ । त्यसैगरी इन्दु थारु समयसँगै हाम्रा ग्रामीण मौलिकताहरु कसरी मासिँदैछन् र त्यसलाई किन जोगाउँने बारे “मौलिकता लिकबाहिरमा” लेख्नुहुन्छ ।
क्रान्तिबाट मात्र परिवर्तन सम्भव छ भनेर दश बर्षे जनयूद्व लडेका बाबुराम भट्टराई गुरुङ सुसान्तसँगको कुराकानीमा अब गाउँबाट क्रान्ति आवश्यक छैन भन्नुहुन्छ । जसले उहाँमा आएको वैचारीक रुपान्तरण झल्काउँछ । त्यसैगरी समाजशास्त्री सुरेश ढकाल ग्रामिण अर्थतन्त्रबारे कलम चलाउनुहुन्छ । उहाँका अनुसार मौलिक र स्वाधिन अर्थतन्त्र बिना समुन्नत गाम्रिण बिकास सम्भव छैन ।
अध्येता भाष्कर गौतमको “मान्छे खोजिरहेको गाउँ” ले गुमनाम र अपहेलित गाउँको बिम्बले समग्र मानव बिकास र इतिहासमा के कस्ता चुनौतिहरु थप्नेछ भन्नेबारे बोल्छ । त्यस्तै मिनराज अधिकारीको आलेख “बसाँइ हिड्नेहरुको कथाले” समग्र बसाँइसराइले ल्याएको परिबर्तनलाई ब्याख्या गर्छ । तथ्याङ्कको प्रचुर प्रयोग गरेर लेखिएको उहाँको आलेखले बसाँइसराइ र गा्रमिण यर्थाथलाई तथ्याङ्कीय हिसाबले ब्याख्या गर्छ ।
म्यागजिनको अर्को बलियो लेख शिवहरी ज्ञवालीको रहेको छ । “गाँउ सुन्दर छैन” भन्ने शिर्षक दिए पनि यसले गाउँलाई सिमान्तकृत आँखाबाट हेर्छ । गरिव, महिला, दलित, आदिवासि र अल्पसड्ख्यको लागि गाउँ सुन्दरताको बिम्ब होइन भनेर ज्ञवाली आलेखमा भन्छन् । धेरै लेखकहरुले गाउँलाई एक स्वर्गिय बिम्बको रुपमा मात्र ब्याख्या गरिरहदा उनको आलेखले गाउँका बेतिथि र पिडडिलोपनबारे मज्जाले बोल्छ । म्यागजिनभरी ज्ञवालीमात्र त्यस्ता लेखक हुनुहुन्छ जसले गाउँलाई एक फरक आँखा हेर्छ । त्यसैगरी प्रकाश वस्तीले ग्रामीण न्यायप्रणालीको इतिहासबारे जानकारी दिनुहुन्छ । उहाँ ग्रामीण न्याय प्रणालीलाई प्रवद्र्वन गर्न पनि जोड दिनुहुन्छ ।
दिपक चौधरी डिजिटलाइजेसन सँगै गाउँले जीवनमा आएको रुपान्तरण बारे लेख्नुहुन्छ । त्यसैगरी सोमत घिमिरे गाउँको पूर्नजागरणबारे कलम चलाउँछन् । उहाँको लेखले गाउँलाई कसरी जोगाउँनेबारे बोल्छ । अवनी अधिकारी गाउँ सहरको अन्तरघुलित अवधारणाबारे लेख्नुहुन्छ । अधिकारीका अनुसार, अब हामीले चाह्यौ भने अन्तरघुलित गाउँ र सहरहरु बनाउँन सक्छौ । प्रकृति र भौतिक विकासको उचित अन्तरघुलनबाट यो सम्भव छ भन्ने तर्क उहाँ प्रस्तुत गनुहुन्छ ।
जगत देगजा गाउँ र कृषिको अन्तरनिर्भरताबारे आफ्नो लेख “गाउँ भन्नु नै किसानी” मा लेख्नुहुन्छ । किसानीलाई सम्मानजनक पेषाको रुपमा हेरीनुपर्नेमा उहाँ जोड दिनुहुन्छ । पत्रकारहरु केदार शर्मा र नारायण वाग्लेले सविना देवकोटासँग गरेको कुराकानीले सहर देखेर फेरी गाउँतिर लोभिएका मानिसहरुको कथा बोल्छ । कुन्द दिक्षितको “गाउँ फर्क अभियान” ले अब फेरी मानिसहरु किन गाउँ फर्कनछन् र पर्यावरणीय हिसाबले गाउँको महत्वबारे प्रस्ट पार्छ ।
हरिबहादुर थापाको गाउँगाउँमा “राविसे” ले करिब पँचास वर्ष अघि हामीलाई लग्छ । यस म्यागजिनमा प्रकाशित लेखहरुमध्ये मलाई अत्यन्त रोचक लागेको आलेख मध्धे यो पर्छ । देश र समाज बुझ्नको लागि राष्ट्रिय विकास सेवा अझै सान्दर्भिक किन छ भन्ने बारे यसले प्रस्ट पार्छ ।
यो समिक्षा म्यागजिनको पूर्ण समिक्षा भने होइन । दोस्रो खण्ड, साहित्यबारे यसले बोल्दैन । पहिलो खण्डलाई हेर्दा प्रकाशक, सम्पादक, लेखक सबैको काम प्रशम्सनीय छ । बिषयका हिसाबले सकेसम्म बिबिधता र समावेशी नजरले गाउँलाई हेर्न खोजिए पनि केही भूलचुकहरु अवस्य भएका छन् । पहाडी गाउँघरबारे जति सामग्रीहरु छन् त्यसको तुलनामा तराइ र हिमाल थोरै छ । अझ हिमाली गाउँ त कहि कतै भेटिँदैन । त्यसले समग्रतामा एकखाले खल्लोपन अवस्य दिएको छ ।
गाउँ–सहर भनेर नामाकरण गरे पनि यसले सहर बारे खासै बोल्दैन । अधिकांश लेखहरुले गाउँको वैभवबारे बढि तर गाउँका अफ्ठ्याराबारे कम बोल्छन् । शिवहरी ज्ञवाली र सबिन निम्लेखुन केही अपवाद हुन् । दलित, अल्पसङ्ख्यक र पिडडिएका वर्कको गाउँ अनुभव कमै आएका छन् । सहर र गाउँलाई शैद्वान्तीक हिसाबले कम ब्याख्या गरीएको छ । अनुभवजन्य सामग्रीहरु बढी भएकाले कतिपय विचार र अवधारणाहरु दोहोरीएका छन् । सायद गाउँ र सहरलाई समान रुपमा स्थान दिइएको भए अझ सान्दर्भिक बन्थ्यो कि भन्ने पाठकको रुपमा अवस्य लाग्छ ।
समग्रमा भन्दा, म्यागजिनले जे गनुपर्ने हो , बिचार र ज्ञानको निर्माणको हिसाबले यसले गरेको छ । किल्कबिटको दौडमा रुमलिएको अहिलेको नेपाली पत्रकारीतामा यसले त्यो भन्दा पर बौद्विक र वैचारीक खुराक पस्केको छ । गम्भिर पाठकका लागि यसको पठनयात्रा अवस्य सुन्दर बन्नेछ । यसले हामीलाई फेरी आफ्नै गाँउघरतिर फर्काउँनेछ ।
सन्दर्भ सुचि
गिरी, रविन । २०८० । संकथन । काठमाडौ । निरज भारी ।
सुवेदी, अभि । २०७२ । फ्लानरको डायरी । काठमाडौः बिएन पुस्तक संसार ।
सुन, लु । १९२१ । सेलेक्टेड स्टो।िज अफ लु सुन । पेकिङः फरेन ल्याङ्व्वेज प्रेस ।