Monday, January 21, 2019

उत्तर

कुनै दिन फकृएका  आफ्नै आशाहरुलाई
साक्षी राखेर.................
केही प्रश्नहरु सोधेकी थिएँ
लागेन म गलत छु !
पुर्व फर्केको सुर्यलाई पश्चिममा खोज्नु
सायद गल्तीनै हो .........
समयको चिसो पाठशालाले
विनाप्रश्न उत्तरहरु दिँदै छ । ।
प्रश्नैप्रश्न मात्र अट्ने कुनैबेलाको स्वप्निल हृदय
आजकल उत्तरैउत्तरको कोलाज
शब्दकोशजस्तो भएको छ
शब्दकोश...............
यो भन्दा उजाड म केही भेट्दिन..
हुनसक्छ समयका उत्तरहरु सायद यस्तै हुन्छ्न्। 

Friday, January 4, 2019

सरल भर्सेस कठिन

सारै सरल हुनु र सारै कठिन हुनु आफैंमा सुन्दर कुरा रहेछ । लेखनमा पनि किन सरल लेख्नुपर्छ र किन कठिन लेख्नुपर्छ भन्नेबारे सधैं बिवाद रहिरह्यो । र प्राय कठिनता र सरलतालाई हामीले एउटै वृत्तमा राखेर  कहिल्यै हेरेनौं र  भनिरह्यौं कठिन लेख्नुभन्दा सरल लेख्नुनै ठिक । तर पनि कहिलेकाही जव  सरलता र कठिनता दुवैले सुन्दरताको एउटा हद पार गर्छन तव दुवै सुन्दर लाग्दो रहेछ  कल्पनाशीलताको अन्तिम विन्दु वास्तबिकता हो भनेझै  ।

आज म एउटा धृस्टता गर्दैछु भिन्न परिबेशका दुई लेखकहरुबिच  केही सामञ्जस्यता र केही भिन्नता देखाउँदैछु । बिशेषतः उनीहरुको लेखन शैलीबारे कुरा गर्दै छु ।  किन किन म यी दुवै लेखकहरुबारे कुरा गर्दा अल्लि बढि भाबुक र अल्लि कम क्रिटिकल हुने गर्छु । यी दुबै मेरा प्रिय लेखकहरु हुन् । पहिलो रहेकी छन् सान्द्रा सिस्नेरोज, मेक्सिकनअमेरिकन लेखक,  ( द हाउस अन  म्याङ्गो स्ट्रिट ) जस्तो सरल तर अतिनै सुन्दर कृति लेखेर विश्वमाझ चिनिइन् । उनले सधै आफूलाई चिनाउँदा नोबडिज वाइफ एन्ड मदर भन्ने गर्छिन । तर पनि उनको खास बिशेषता चैं उनको सरलता नै रह्यो । उनी सारै सरल र कम शब्दमा लेख्न सक्ने लेखक हुन् जसको कृति पढ्न एक सिटिङ नै काफी हुन्छ । एउटा निम्नमध्यमवर्गिय मेक्सिकन अमेरिकन समाजमा जन्मेहुर्केकी उनले अन्ततोगत्वा  आफ्नै समाजका कथाहरु  लेखेर  अमेरिकाको मूलधारको साहित्यलाई एउटा छुट्टै बैकल्पिक शिल्प र बिषयवस्तु दिइन् । र उनको कृति मजस्ता गैरअंग्रेजी पाठकहरुबिच  अझै प्रिय बन्नपुग्यो । प्राय अंगेजी कृतिहरु पढ्दा डिक्सनेरी पल्टाउनुपर्ने झन्झट  उनको कृति पढ्दा कहिल्यै गर्नुपरेन । र कथा र लेखनशैली यती आफ्नो लाग्छ की कहिलेकाही उनको कृति पढ्दा उनकी नायीका  इस्परेन्जा आफूनै
हू  की  भन्ने  महशुस गरिरहन्छु ।

 सान्द्राले विशेषगरी आफ्ना कृतिहरुमा मेक्सिकन अमेरिकन महिलाका हकअधिकारलाई यति सुन्दर ढंगले उठाइनकी  त्यहा कुनै नारा लगाउनुपर्ने आवश्यकता परेन । र एउटा कृतिले तय गर्ने यो भन्दा  सुन्दर यात्रा अरु के होला । उनको पहिलो कृति द हाउस अन  म्याङ्गो  स्ट्रिटमा  इस्परेन्जको माध्यमबाट मेक्सिकन अमेरिकन महिलाको अस्तित्वलाई यति सरल तर कवितात्मक लयमा प्रस्तुत गरिएको छ की त्यसले लेखकीय  सुन्दरताको र उत्कृष्टताको एउटा हद पार गर्छ । र सबैले भन्ने नगरेको सरल सुन्दर पनि हुन पुग्छ ।


थाहा छैन पारिजात र सान्द्रा दुबैको लेखन शैलीलाई तुलना गरेर मैले कति मूर्खतापूर्ण काम गरिरहेको छु । र पनि किनकिन  म यीनीहरुको भिन्नतामा पनि केही सामञ्जस्यता देखिरहन्छु ।  पारिजातको कुरा गर्दा पनि सान्द्राको जस्तै म अल्लि बढि भावुक हुनेगर्छु । पारिजातको लेखन शैली सान्द्राको जस्तो सरलता त छैन तर  तर कठिनताको सर्वमान्य शिद्घान्तभन्दा भिन्न छ त्यसैले सुन्दर लाग्छ। कठिनताले पनि केहिलेकाही यति मिठो सन्तुष्ठी दिंदो रहेछ त्यो सुन्दर लाग्दो रहेछ पारिजातको हकमा पनि त्यही लागुहुन्छ । जब म पारिजातकी सकमबरि  र सान्द्राकी  इस्परेन्जा  तुलना गर्छु दुबै एकमानेमा उस्तैउस्तै लाग्छ ।  एउटाले कठोरताको पराकाष्ठा नाघ्छे अर्कोले कोमलताबाट सिक्छे । एउटाको लागि जीवन फगत जीवन मात्र हो अर्कोको लागि  जीवन भन्नु आफ्नै खोजी हो,  ऊ आफ्नो जीवनलाई आफ्नै ढंगले लैजान चाहन्छे कसैसँग सम्झौता नगरीकन । एक मानेमा दुबैले आफ्नो स्पेस खोज्छन् बिशेषगरी पृत्रिसतात्मक समाजमा । यसरी बिल्कुलै भिन्न लाग्ने दुबैका पात्रहरुमा एकप्रकारको मिठो समानता पाइन्छ । पारिजात र सान्द्राको लेखनशैलीमा पनि यही लागुहुन्छ उनीहरुको पात्रमा जस्तै । दुबैले कठिनता र सरलताको पूर्वमान्य शिद्घान्तलाई यसरी भत्काएका छन् की आफ्ना कृतिहरुमा गहिरिएर सोच्दा दुवै एउछै रुखका दूईटा हाँगाजस्ता लाग्छन् ।


अन्त्यमा पारिजात र सान्द्रको लेखकीय शिल्प भने बिल्कुलै भिन्न छ । सान्द्रको लेखनमा लोभ्याउने सरलता पाईन्छ  पारिजातकोमा लोभ्याउले कठिनता ।  एकमानेमा दुबैले लेखकीय सरलता र कठिनताको सर्वमान्य  चौघेरालाई नाघ्छन् र एृउटा बैकल्पीक सोच र शिल्प दिन्छन् । यसहिसाबले हेर्दा दुबै बिलकुल फरक छन् तर बिलकुल एक छन् ।

Tuesday, January 1, 2019

मूर्तता /अमूर्तता

मूर्तता.......
 अमूर्तता........
किन कहिल्यै देख्दिन सङ्लो छु
भन्नेहरुको सङ्लोपन
सुन्दर छु भन्नेहरुको सुन्दरता
पिएर बसेको पियक्कडझैं
हरेक पटक.…
किन अर्थहिन लाग्छ सबै अर्थपूर्ण कुराहरु
र मात्र देख्छु पिकासोलेझैं कोरेका
जीवनका तिनै  अमूर्त बाङ्गटिङ्गा रेखाहरु
किन प्रश्नहरु प्रश्नजस्ता लाग्दैनन्
भन्नबाकी  उत्तरजस्ता लाग्छ्न्
किन कोही  भन्दैनन्
बुझ्नु नबुझ्नु हो भनेर …….
मौनता आवाज हो भनेर ….
आज किन जटिल प्रश्नहरुजस्तो
सबैकुरा जटिल मात्र देख्दैछु । 

अन्तिम दिन

बर्षहरु चाडै बिदा लिन्छन् । तर दिनहरु बाकी रहन्छन् । थाहा छैन कुनै दिन दिनहरु सिद्घिए भने के रहनेछ ? घाम उदाउँने छ वा छैन । आकाश रहने छ वा...