Wednesday, April 2, 2025

एक अन्त्य एक सुरुवात


फेरी अर्को दिन भैसकेको छ । चराहरु उड्न थालेका छन् । बादलहरु आकाशभरी मडारिएका छन् । मानिसहरुको आवाज गुन्जिन थालेको छ । केटाकेटीहरु निद्राबाट बिउँझिसकेका छन् । हिजोको म आज हुनेछैन । एक अन्त्य एक सुरुवात ।

कथाले आज अर्को मोड लिनेछ । खै किन मैले अरोचक लागेर बिचमै टुङ्ग्यादिएकी एक नायिका मेरो सपनामा आएर उसको अन्त्यको बिरोध गरी । उसको बिरोध माथी मैले बिरोध गर्न सकिन । मलाई पनि कसैले कुनै समय केही नभनी बिचमै अरोचक ठानेर छोडिदिएको थियो । म उसको भावनालाई बुझ्छु । आफ्नो अस्तित्वलाई अरुले नगन्य ठान्नु के हो त्यसको अनुभूती मसँग पनि छ । तर म स्वार्थी लेखक हुँ । वा हरेक लेखक स्वार्थी नै हुन्छन् । हामीले हाम्रो स्वार्थको संसार कल्पना गर्छौ । मैले पनि त्यही गरेँ जुन राम्रो काम थिएन । तर म उसलाई फेरी आफ्नो कथामा भित्रयाउन सक्दिन । चाहेर पनि सक्दिन । नचाहेर पनि सक्दिन । 

उसको बिरोधको म अनुयायी हु । प्रसंम्सक हु । मैले पनि त्यो समय बिरोध गर्न सक्न पथ्यो तर सकिन । म उसको आटलाई सम्मान गर्छु । तर म स्वार्थी छु उसलाई कथामा फेरी अर्को चरित्र दिन सक्दिन । सायद संसार यस्तै नै हो । हामी सबै स्वार्थी नै छौ । हामी बुझेर पनि स्वार्थी छौ अबुझ भएर पनि स्वार्थी छौ । उ अरोचक छ भन्ने ठान्दा ठान्दै मलाई किन लाग्यो उ मेरो कथाको नायिका बन्छे ? फेरी बिचमै किन लाग्यो बन्न सक्दिन भनेर । मलाई आफैँ देखेर लाज लाग्दै छ । आफ्नै काम देखेर लाज लाग्दै छ ।

हो यसरी कल्पनाको सपनालाई सम्झेर मैले मेरो दिनको सुरुवात गरेँ । यो केहीको अन्त्य पनि हुनसक्छ । यो केहीको सुरुवात पनि हुनसक्छ । हिजोझै आज म निराश छैन यो सत्य हो । तर म मेरो बिचबाटोमै छोडिदिएकी नायिका बारे दुखी छु यो पनि सत्य हो । हो म अलिअलि खुसी र अलिअलि निराश छु । तर म आज हिजोझै हुन चाहन्न । म इतिहासलाई सम्झन चाहन्छु कहिलेकाही सम्झन पनि चाहन्न । तर जिउँनु त आजलाई छ । एक अन्त्य एक सुरुवात ........................


Tuesday, April 1, 2025

एक सपनाको अन्त्य

 

बिहानै चराहरु उड्न थाले । बादलहरु आकाशमा भरिए । मानिसहरुको पाइला सडकमा पर्न थाल्यो । सपनाहरुको भिडमा मैले एक सपना गुमाए । सायद संसार यहि नै हो । वा संसारको लागि यो केही होइन । तर मन हो मान्दैन । फेरी टुक्रिनु छ एकपटक फेरी जुट्नु छ अर्कोपटक ।  एक निरन्तरता....

म टुक्रिनुको निरन्तरतालाई तोड्न चाहन्थे । एक सपना बोकेर अर्को सपना छेउ पुग्न चाहन्थे । पहिलोपटक कक्षा चारमा चौंथो हुँदा जसरी टुटेकी थिएँ आज फेरी अर्कोपटक त्यसरी नै टुटेकी छु । कहि जानु थियो । कहि भाग्नु थियो, आफैँबाट , समाजबाट वा भनौ आफन्तबाट । जहाँ म छु त्यहा म निस्सासिएकी छु । मलाई हरेक मंशिर, बैशाख असार र फागुनहरुले नयाँ ट्रमा दिएर जान्छन् । मलाई त्यो ट्रमाबाट भाग्नु पनि छ । र कहि कतै गएर आफैँलाई खोज्नु पनि छ । तर दौडिएर समात्न खाजेका सपनाहरु मेरा मुठ्ठिहरुबाट भाग्छन् ।  सायद उनीहरुलाई अरु कसैको मुठिमा पुग्नु छ । यी खाली हत्केलाहरु बोकेर फेरी हिड्नु छ, दौडनु छ र कहि नपुगी फर्कनु छ अर्कोपटक ।

कहिलेकाही बिहानीहरु बिहानी बोकेर आउँदैनन् । खबरहरु अध्यारो रात बोकेर आउँछन् । आज बिहानै कसैले मलाई अर्को अदिनो रात खबरमा पोको पारे पठाइदिएको छ । अब मसँग बिहानी छैन । बिना बिहानीको दिनको प्रतिक्षामा छु । यी अध्यारा बिहानीहरुले सपनाको अन्त्य गरिदिन्छन् । मैले आज त्यसरीनै एक सपनाको अन्त्य गरेँ । हिड्ने मान्छे लड्छ भन्छन् । यदि मान्छे हिड्ने बित्तिकै लडेर उठ्नै सकेन भने के गर्ने ? हो म त्यसरीनै लडेको लड्यै छु । तपाइहरुले पढ्ने यी सुन्दर शब्दाबलीको पछाडी कयौ अध्यारा दिनहरु साक्षि छन् ।

  प्रिय समय, किन तिमी सपनाको समाप्तिको मात्र खबर बोकेर आउँछौ । यी बिरक्तीका अक्षरहरु लेख्दादेख्दा म थाकिसकेँ ..........................

एक अन्त्य एक सुरुवात

फेरी अर्को दिन भैसकेको छ । चराहरु उड्न थालेका छन् । बादलहरु आकाशभरी मडारिएका छन् । मानिसहरुको आवाज गुन्जिन थालेको छ । केटाकेटीहरु निद्राबा...