दिन ओसिलो छ । सडकमा मानिसहरु दौडिँदैछन् । हिमाललाई बादलले ठाकेको छ । भर्खरै एक कप चिया भ्याएकी छु । साथमा बुवाले दिएको पर्पल डायरी छ । डायरीमा केवल दुई वाक्यहरु छन् । “आजको लागि धन्यवाद, अझ धेरै पर पुग्नु छ “ यी दुई वाक्य बाहेक अरु केही छैन ।
हुन त म कथा लेख्न चाहन्छु । मलाई लाग्थ्यो कुनै दिन म आफ्ना कथाहरुसँगै पर पुग्नेछु । पर पुगिसकेकी मलाई फेरी मेरा कथाहरुले डाक्नेछन् । म निमन्त्रणामा आउँनेछु । मेरा पात्रहरुले यदाकदा मलाई दुख पनि दिनेछन् । र पात्रहरु प्रति धेरैनै सम्बेदनशील बन्नेछु । तर त्यस्तो केही भएन । म कहि पुगिन । कहिलेकाही पुगेझै लागेपनि फेरी फर्केर आएँ । आफैलाई पुरानो स्वरुपमा लान खोजेँ । आफैलाई कहि नपुगेकोमा गालि पनि दिएँ ।
म अरुको भागको गालि पनि आफैँलाई दिन्छु कहिलेकाही । मेरा पात्रहरुले कहिल्यै गालि दिएका छैनन् । उनीहरु पनि म झै लेख्दा रहेछन् म झै रुँदा रहेछन् । म झै सोच्दा रहेछन् । कहिलेकाही सोच्छु आफैँलाई लेख्नु कथा लेख्नु हो र ? होइन । होइन भने म किन लेखेझै गर्दैछु ।
हुन त म कसैलाई गालि दिन चाहन्छु तर मलाई म मेरा पात्रहरु झै गालि दिन सक्दिन । मलाई लाग्छ गल्ति मेरो थियो । किन गल्ति सधै आफ्नो मात्र थियो झै लाग्छ । भर्खरै ह्रयान क्याङले साहित्यको लागि नोबेल पुरस्कार पाइन । भेजेटेरियनमा उनकी पात्र झै पाउँछु आफूलाई । र म आफूजस्ते निर्दा पात्रहरु जन्माउँछु ।
के यो कथाझै केही हो ? होइन, होइन भने बषौबर्ष म किन लेखिरहेछु । त्यस्को मसँग कारण छैन । बस् म लेख्न चाहन्छु । यो कारणसहितको यात्रा होइन । मैले लेख्न खोजेका हरेक शब्दहरु एक प्रकारले मेरो मौनताको लेख्न स्वरुप हुन् । यी म भित्रका ठूला यूद्घहरु हुन् जसबाट म जित हार होइन मूक्ति चाहन्छु । तर थाहा छ म मूक्त पनि हुन सक्दिन ।
यो अकथाको निरन्रता हो । सबैले कथा लेख्छन् भन्ने छैन् । वास्तबमा मलाई धेरैलाई गालि दिनु थियो तर म गालि दिन सक्दिन । त्यसेले शब्दहरु बन्छन् । आज लेख्नु अर्कै थियो । मलाई कोही अरु बन्नु थियो । अरु केही लेख्नु थियो । तर चाहेझै हुन्छ भन्नेछ छ र ?
म कथाझै लाग्ने परिकथाहरु लेख्न सक्दिन । म जीवनको त्यो मोडमा छैन जसले जीवनलाई सोचेझै भेट्यो । कयौ सुन्दरझै लाग्ने चिजहरु कुरुपझै बनेर टुङ्गिए । तर मैले आफैँले त्यसलाई कुरुप भन्न सकिन । सायद त्यो म भित्रको बिरोधाभाष थियो । अथवा म हरेक कथाहरुलाई अकथा मान्ने गर्छु ।
म मस्र्याङ्दी किनाराबाट यी बिद्रुप शब्दहरु लेख्दैछु । कथालाई अकथा र अकथालाई कथाझै ठान्दैछु । तर पर जानु छ कहाँ थाहा छैन । कहिलेकाही लाग्छ आफैँले गरेको यात्रालाई बिर्सनु छ । र कुनै अर्कै स्वरुपमा रुपान्तरित हुनु छ । यो अकथा लेख्नेको कथा हो । अकथा लेख्नेहरु पनि अकथा नै हुन् । समाजको कथाभित्र उनीहरु अट्दैनन् ।