ममि भन्नुहुन्थ्थो अक्षर भनेका नदी हुन् यीनले तिमीलाई पर लग्नेछन् । लाग्थ्यो अक्षरले कसरी मलाई पर लग्नेछन् । तर नदी मैले बुझेको यर्थाथ थियो । मस्र्याङ्दी किनारामा हुर्केकाले नदीको यर्थाथ म बुझ्छु भन्ने लाग्थ्यो । आज पनि लाग्छ नदी र हिमाल मैले बुझेको यर्थाथका पहिला बिम्बहरु हुन् ।
अक्षरहरु मेरा लागि बिम्बहरु हुन् । सायद आमाले कोरीदिएका पहिला बिम्बहरु । म अक्षरलाई अक्षरमात्र ठान्न सक्दिन । यदाकदा लाग्छ सायद अक्षरको यात्रा गर्न पाउँनु आमाले गर्न नसकेको यात्रा मैले गर्नु हो ।
जीवनका हलचलहरु सजिला कहिल्यै भएनन् । देख्दा बिना हलचल किनारामा बाचेझै लाग्नेहरुको जीवनमा पनि बतासझै अनेकौ झोक्काहरु ठोक्किदा रहेछन् । सायद ठोक्निु जरुरी थियो । ति कठोरदिनहरुमा मायाले अंगाल्नाको लागि अक्षरहरु थिएँ ।
आज पनि मैले गर्ने दिनको सुरुवात र अन्त्य अक्षरबाटै हुन्छ । यदाकदा लाग्छ यी देख्दा आफैँझै देखिने यी झिनामसिना रेखाहरुले संसारको सबैभन्दा निर्ममलाई पनि शक्तिशाली बनाइदिन्छ । शक्तिको सबैभन्दा सुन्दर स्वरुप केही हो भने त्यो अक्षर नै हो ।
कहिलेकाह िलाग्छ देख्दा यात्राझै नदेखिएँ पनि ... म भित्रको यायावरले लामो यात्रा गरिसकेको छ । लाग्छ किनारामा छु तर नदीझै बग्दै छु । यी सुनसान रातहरुमा..... मानिसै मानिसको कोलाहलमा..... वा कोलाहलबाट पर निस्केपछि कुनै निस्सार सडकपेटिहरुमा म भित्रका अक्षरहरु अनायासै यात्रा गर्छन् ।
कहिलेकाही लाग्छ म अक्षरको क्यानभाषमा आफ्नै रंगहरु पोत्दैछु । अक्षरहरु निराकार बनेर जीवनमा छिरेका हुन् आकार दिने म आफै हुँ । यदाकदा लाग्छ म अक्षरहरुमा हाँसीदिन्छु र बिनाकारण रोइदिन्छु ।
के जीवनलाई पनि अक्षरझै निकारकारबाट आकारमा बदल्न सकिन्छ । वा बिनाआवाजको कुनै ध्वनीझै हुनु र नहुनुको कुनै मझधारमा रुमलिन पुग्छ ।